नरेन्द्र बहादुर न्याछ्यों : ०४५ सालको नाकाबन्दीका सहजकर्ता अर्थात् यातायात व्यवस्थापनका ‘पायोनियर’

नरेन्द्र बहादुर न्याछ्यों : ०४५ सालको नाकाबन्दीका सहजकर्ता अर्थात् यातायात व्यवस्थापनका ‘पायोनियर’

आशिष पौडेल  |  अन्तर्मन्थन  |  भदौ ६, २०७७

उमेर साँढे आठ दशक । अझ त्यसमा पनि एक वर्ष थप्नु पर्नेछ । ज्यानमा बुढ्यौली छिरेको छ । कान अलि कम सुन्नुहुन्छ । तर, जोस जाँगर कुनै युवक र तन्नेरी भन्दा कम छैन । यो उमेरमा पनि देश र समाजप्रति सेवा गर्ने उत्तिकै दृढ इच्छा र चाहना छ । 

आफ्नो कामको कदर गर्दै सरकारले स्वयंसेवाका लागि अझै आग्रह गर्छ भने पनि दुई तीन घण्टा दिन तयार हुनुहुन्छ उहाँ । 

नेपालको यातायात क्षेत्रका रोपवे, रेल, ट्रली बस, साझा बस र निजी क्षेत्रका बस तथा ट्रक व्यवसायको सुरुवाती व्यवस्था गर्न उहाँको महत्त्वपूर्ण योगदान रहेको बताउनुहुन्छ उहाँ । ०२१ सालको नेपाल यातायात संस्थानका ट्राफिक डिभिजन चिफ । पछिका डिजिएम अर्थात् नरेन्द्र बहादुर न्याछ्यों । 

जन्म र बाल्यकाल 

जन्म १९९४ साल । पाटनमा । पाटन ढोकाको पिंमबहाल । बाल्यकाल राम्रै रह्यो उहाँको । धेरै सहपाठीहरूसँगै रहेकाले उहाँहरूसँगै खेल्दै बित्यो । लोकेशलाल, डा. केदारलाल श्रेष्ठ  (नास्टका भाइस चान्सलर) तथा अन्य छिमेकीहरूसँग टोलमा फुटबल, ब्याडमिन्टन र क्रिकेट खेल्दै बित्यो बाल्यकाल । त्यस बेला क्रिकेट भर्खर भर्खर सुरु भएको थियो । टिम पूरा हुनुपर्छ भन्ने थिएन । ब्याट र स्टम्प भए पुग्थ्यो खेल्नलाई । 

ब्याडमिन्टन राम्रै खेल्नुहुन्थ्यो उहाँ । अलि पछि भएपछि ब्याडमिन्टनको भने हरेक वर्ष प्रतियोगिता नै सुरु गर्नुभयो उहाँहरूले पाटनमा । खेल्ने र पढ्ने बाहेक अन्यत्र कुनै कुरामा पनि ध्यान दिनुपर्ने थिएन, उहाँ भन्नुहुन्छ । 

प्रारम्भिक शिक्षा

अक्षर चिन्ने र फुटाउने काम घरमै भयो । उहाँको प्रारम्भिक शिक्षा भने पद्मोदम हाइस्कूलमा भयो । कक्षा सातसम्म । पछि जुद्धोदय माविमा जानुभयो माध्यमिक शिक्षा पूरा गर्न । जुद्धोदय माविबाट एसएलसी पास गरेर माध्यमिक शिक्षा अन्त्य गर्नुभएको हो उहाँले । 

उच्च शिक्षा

त्यस बेला पाटन कलेज भर्खर सुरु भएको थियो । पढाउने शिक्षकका लागि झगडा गर्नुपर्थ्यो । पढ्न पनि झगडा गर्नुपर्ने समय थियो त्यो । पाटनमा उहाँले राजनीति शास्त्र, अर्थशास्त्र र नेपाली विषय पढ्नु भयो । पाटनमा त्यस बेला बिएको पढाइ नहुने हुँदा उहाँ लाग्नु भो त्रिचन्द्र कलेज तिर । 

त्रिचन्द्र कलेजबाट बिए पास गर्नुभएको हो उहाँले । मास्टर्स भने प्राइभेट दिनुभएको हो । उहाँले पढ्न त कानुन पनि पढ्नु भयो । पहिलो सत्र मात्र । कानुनको पढाइ पूरा हुन पाएन । कारण थियो जागिर । 

सवारी चालक अनुमति पत्र दिनका लागि यातायात व्यवस्था विभागको ऐन मस्यौदा गर्ने काम पनि उहाँले गर्नुभयो । यातायात विभागको डाइरेक्टर अनि प्रहरीको एक जना पदाधिकारी पनि हुनुहुन्थ्यो यो कामका लागि । ऐन  सबै उहाँहरूले नै मस्यौदा गर्नुभएको हो । त्यसलाई विधायिकामा दर्ता पनि गरियो । पछि चालकलाई दण्ड सजाय सहितका थुप्रै संशोधन भयो ऐनमा । 

पहिलो जागिर 

कानुन पढ्दै गर्दा उहाँलाई सानेपास्थित किरण भवनमा रहेको एउटा अमेरिकन कम्पनीले जागिरका लागि बोलायो । कम्पनी थियो ‘रेल्वे ट्राम्प वे’ कम्पनी । उसले राम्रो मान्छे खोजिरहेको थियो । अन्तरवार्ता पछि उहाँलाई जागिरका लागि बोलायो कम्पनीले । पहिले त सहायकका लागि थियो जागिर । तर, ६ महिना पछि उहाँलाई ‘एडमिनिस्ट्रेटिभ एड’ पदमा बढुवा गरियो । प्रशासकीय सहायक । 

त्यो बेला शाखा अधिकृतको तलब थियो २ सय ७५ रुपैयाँ । प्राध्यापकको पनि २ सय नै । तर, उहाँको भने तलब ५ सय र भत्ता २ सय गरी एकमुष्ट सात सय थाप्नुहुन्थ्यो । 

उहाँले काम भने दश घण्टा गर्नुपर्थ्यो । तर, उहाँ तेह्र चौध घण्टा काम गर्नुहुन्थ्यो । यो सबै गर्दा उहाँको तलब सोह्र सत्र सय हुन्थ्यो । त्यो बेला एक तोला सुनको एक सय असी रुपैयाँ थियो, उहाँ सम्झनुहुन्छ । 

उहाँले पहिलो तलब घरमा लगेर बुझाउनु भयो । उहाँलाई दैनिक चाहिने खर्च घरबाट दिने गर्नुहुन्थ्यो । 

नेपाल यातायात संस्थानको जागिर 

 'रिभिल्ट ट्रामा वे'  कम्पनीमा काम गर्दै गर्दा रोपवेका लागि सरकारले कम्पनीसँग काम गर्ने कोही मानिस छ भनेर सोध्यो । कम्पनीले उहाँको नाम लिएपछि उहाँलाई सम्पर्क गर्‍यो । उहाँले पद सेवा सुविधाका बोरमा सोध्नुभयो । 

सरकारले शाखा अधिकृतको तलब स्केलका बारेमा थाहा नै होला नि भन्यो । तर, उहाँले म यहाँ सोह्र सत्र सय कमाइरहेको मान्छे दुई सयमा शाखा अधिकृतमा काम गर्न आउन्न भन्नुभयो । त्यस बेला शाखा अधिकृतको तलब दुई सय ७५ थियो । प्रोफेसरको पनि दुई सय नै थियो । 

पछि सरकारले सेकेन्ड क्लास दिने कुरा गर्‍यो । त्यसो भए एउटा नेपाली भएको नाताले पैसा मात्र हेर्नु हुन्न । देशको सेवा पनि ठुलो हो भनेर उहाँ नेपाल यातायात संस्थानमा काम गर्न जानु भयो । 

संस्थान ०२१ सालमा स्थापना भएको हो । त्यसको ६ महिना अघि नै ‘रोप वे’को काम भैसकेको थियो । उहाँ ‘रोप वे’ हेर्नका लागि अगाडि नै आबद्ध भइसक्नु भएको थियो । 

यो ‘रोप वे’ भन्दा अगाडि पनि नेपालमा ‘रोप वे’ थियो । झोरसिंह र काठमाडौँसम्मको । त्यस बेला यही ‘रोप वे’ बाट खाद्यान्न लगायतका सामग्री आपूर्ति हुने गथ्र्यो । 

ट्रकबाट पनि आपूर्ति हुने गथ्र्यो । तर, त्यस बेला सबै नेपाली ट्रकहरू पेट्रोलबाट मात्र  सञ्चाल्ने हुन्थे । डिजेल ट्रकको भर्खर शुरुवात भएको थियो । ती सबै भारतीयहरूका थिए । 

नेपाली ट्रकहरू धेरै थिएनन् । अलि धेरै सामान ढुवानी गर्नुपर्‍यो भने भारतीय ट्रकको सहायता लिनु पथ्र्यो । उनीहरूलाई बोलाएर यति सामान ल्याउनु छ भनेर भनेपछि आउँथे । ढुवानी गरेर काम सकेपछि जान्थे । उनीहरूले भन्सार लगायत अन्य केही करहरू पनि तिर्नुपर्दैन थियो । तर दैनिक अस्थाई कर भने तिर्नु पर्दथ्यो । नेपाली पैसा सबै भारत जान्थ्यो । 

‘रोप वे’ त केवल हेटौँडादेखि काठमाडौँसम्म मात्र थियो । अब ‘रोप वे’ सम्म सामान ल्याउन पनि रक्सौल तथा चितवनबाट ट्रकले नै सामान ढुवानी गर्नुपर्ने थियो । त्यसपछि सरकारले नेपाल यातायात संस्थानलाई ट्रकहरू दियो । उहाँ ट्राफिकको चिफ भएका हुनाले ट्रक व्यवसायीहरुलाइ बोलाएर कुरा गर्नुभयो । अब त्यस बेला सङ्गठित व्यवसायीहरु नभएको हुनाले व्यक्तिगत रुपमा एक्लै बोलाएर कुरा गर्नुपर्ने हुन्थ्यो । 

उहाँले व्यवसायीलाई बोलाएर तिमीहरू सङ्गठित बन । एकले अर्काको खुट्टा तानेर उसले एक पैसा घटाएर अर्कोले दुइपैसा घटाएर घाटा हुने भनेको व्यवसायीलाई नै हो भनेर

उहाँले सम्झाउनुभयो । बरु ठिक्क मूल्य राख त्यसलाई संस्थानबाट अनुमोदन गराउँला भनेर आश्वासन दिनुभयो उहाँले । 

त्यसपछि दुईचार जना व्यवसायीहरु आए । पेट्रोल ट्रक व्यवसायीहरु आए । त्यो बेला नेपालीहरूको प्राय पेट्रोल ट्रक मात्र थियो । 

डिजेल ट्रकहरू भर्खर भर्खर आएको थियो । बैङ्कले ऋण दिएको थिएन । बैङ्कले ऋण नदिँदा यहाँ डिजेल ट्रकमा लगानी गर्ने वातावरण थिएन । साहुहरूसँग ऋण लिँदा ३५ र ३६ प्रतिशत ब्याज तिर्नुपर्ने हुन्थ्यो । 

काम पाउने वातावरण बनेपछि बिस्तारै व्यवसायीहरु सङ्गठित भएर अल नेपाल ट्रान्स पोर्ट र अन्य ट्रान्स पोर्ट भन्दै आए । 

त्यसपछि ‘रोप वे’सम्म हेटौंडामात्र नभएर आवश्यक परे काठमाडौँसम्म पनि ढुवानी गर्न थाले । तर, ट्रकहरू धेरै कम सङ्ख्यामा भएका हुनाले खाद्य संस्थान लगायत अन्य संस्थाका धेरै सामान ढुवानी गर्नुपर्दा फेरि भारतीय ट्रक नै आउन थाले ।

त्यसपछि नेपाल यातायात संस्थान आफैँले गाडी चलाउनु पर्छ भनेर गाडी व्यवस्था गर्नतिर लाग्यो । साझा यातायातसँग भएको २५–३० वटा गाडी उसले यातायात संस्थानलाई दियो । आवश्यक पर्दा बाहिरबाट पनि लिएर गाडी चलाउन थाल्यो संस्थानले । यसले गर्दा मूल्यमा धेरै नै फरक पर्न थाल्यो । 

रेलले वीरगन्जसम्म ल्याउने र वीरगन्जबाट हेटौँडा ‘रोप वे’ सम्म सामान ल्याएर नै रोपवे सञ्चालन हुने हो । त्यस बेला बजारमा एकमनको ढुवानी खर्च ६ रुपैयाँ चालिस पैसा थियो । तर संस्थानले तीन रुपैयाँ बिस पैसामा ढुवानी गर्न थाल्यो । आधा पैसामा । यसले गर्दा खाद्य संस्थान तथा साल्ट ट्रेडिङले पनि यातायात संस्थानलाई नै ढुवानीको काम दिन थाले । यस कारण प्राइभेट पार्टीहरूले सामान बिगार दिन थाले । त्यस्ता पार्टीहरूलाई छनोट गर्दै हटाउन थाल्यो संस्थानले । 

प्राइभेट पार्टीहरूले सामान अनुसारको ढुवानी भाडा पनि फरक फरक गर्न थाले । दाल, चामल र मकैको एउटा भाउ । चिनीको अर्कै भाउ ! किनकि चिनी पानीमा भिज्यो भने त्यसको तौल बढ्न जान्छ । नून अनि युरिया मल उठाउँदै नउठाउने ! किनकि नून र युरियामा पानी पर्दा खिया लाग्ने गर्छ । 

तर, संस्थानले भने त्यस्तो केही नहेरी सबै सामान सस्तो दरमा उठाउने भयो । यसले संस्थानको काम बढ्यो । र लोकप्रियता पनि बढ्यो । 

ट्रली बस व्यवस्थापन 

संस्थानमा यता काम गर्दागर्दै ट्रली बस आउन लागेको हुनाले उहाँलाई ट्रली बस व्यवस्थापन गर्न पनि भन्यो संस्थानले । ट्रली बस पनि यातायात संस्थान अन्तर्गत नै थियो । चीन सरकारसँग त्यसको सम्झौता संस्थानका अध्यक्ष तथा महाप्रबन्धक देवेन्द्रराज उपाध्यायले गर्नुभएको थियो । करिब एक डेढ वर्ष चीनियाँहरुसँग मिलेर ट्रली बस सञ्चालन गरेपछि फेरि उहाँ संस्थानको आफ्नै काममा फर्कनुभयो । 

यातायात संस्थानको उपलब्धि

पहिले यहाँ चल्ने बसहरू प्रायः सबै भारतीयका थिए । ट्रकहरूको अवस्था पनि उस्तै थियो । तर, संस्थान आइसकेपछि बिस्तारै नेपालीले पनि यातायातको क्षेत्रमा लगानी गर्न थाले । बैङ्कले पनि सहयोग गर्‍यो । संस्थानले सहजीकरणको भूमिका खेल्यो

पछि हेटौँडा सिमेन्ट, हिमाल सिमेन्ट आएपछि त कामको कुनै दुःख नै भएन । 

त्यस बेला उहाँहरूले यातायात क्षेत्रलाई व्यवस्थापन गर्न संस्थानले पाएको काम पनि निजी क्षेत्रलाई दिने गर्न थाल्नु भयो । त्यस बेला नारायणी यातायातलाई उहाँहरूले एकलौटी रुपमा काम दिनुभयो । जसले गर्दा बजारमा प्रतिस्पर्धा गर्नुपरेन । बजार विस्तार गर्न सजिलो भयो । निजी क्षेत्रलाई संस्थागत र सङ्गठित हुन पनि यसले मद्दत नै पुर्‍यायो । 

२०४५ को नाकाबन्दीमा सहजीकरणको याेगदान

२०४५ सालमा भारतले नाकाबन्दी गर्‍यो । भारतले सामान त दियो तर, ढुवानीका लागि रेल र ट्रकहरू भने दिएन । 

  त्यसबेला मरिचमान सिंह प्रधानमन्त्री हुनुहुन्थ्यो । दीपक बोहाेरा यातायात मन्त्री । उहाँहरूले कैयौँ प्रयास गर्दा पनि यातायात सुचारु गर्न नसके उहाँलाई बोलाएर तपाईँले कलकत्ता गएर जसरी भए पनि आफ्नो हिसाबले काम गरेर यसलाई सुचारु गर्नुस्  भनेर अह्राइयो ।

आयल निगमका अधिकृतले गएर दिल्लीमा गएर भारत सरकारसँग  कुरा गरेर मिलाउनुस् अनि म जान्छु भनेर उहाँले भन्नुभयो । दिल्लीमा गएर मिल्दैन । तपाईँ गएर जसरी भए पनि मिलाएर चलाउनुस् भन्नुभयो उहाँहरूले । 

कलकत्तमा नेपाली कन्सुलेट जनरल  चिफसँग उहाँको राम्रो चिनाजनी भएको हुनाले  उहाँकाे सहयोेगल ढुवानी व्यावस्था सहज भयो । उहाँले राम्रो सहयोग गर्नुभयो । उहाँले रेल्वेका कर्मचारी र ट्रान्सपोर्टका कर्मचारी राखेर बैठक गर्नुभयो । बैठकमा उनीहरूको ट्रक भाडामा लिएर नेपाल आपूर्ति गर्ने कुरो मिल्यो । उहाँले भाडा दर निर्धारण गर्ने काम गर्नुभयो । अनि टेन्डर गर्ने काम भयो । 

पेट्रोल, डिजेल भने जहाजबाट आउँथ्यो । र, ट्रकमा राखेर नेपाल पठाउने काम हुन थाल्यो । खाद्य सामग्री भने सोझै ट्रकमा राखेर पठाउने काम भयो । दैनिक एक सयदेखि एक सय पचास ट्रकसम्म पठाउने काम गर्नुभयो । पाँच छ महिना कलकत्ता बसेर नाकाबन्दीमा नेपालीको जनजीवन सहज बनाउने महत्त्वपूर्ण काम उहाँले गर्नुभयो । 

पछि फर्केर आउँदा सबैले उहाँलाई धन्यवाद दिए । उहाँ आफैँ पनि यो कामका लागि आज पनि गर्व महसुस गर्नुहुन्छ । 

एडिबीसँगको काम

एसियाली विकास बैङ्कसँगको सहकार्यमा नेपालकाे यातायात प्रणाली व्यवस्थित र रेकर्ड कम्प्यूटराइज गर्ने काम  अष्ट्रेलिय ओभरिस कम्पनीले प्राप्त गरेकाेमा नेपालकाे तर्फबाट इष्ट कम्पनी कन्सल्ट छनाेट गरेकाे थियाे । उक्त कम्पनीले उहाँलाई छनोट गरेपछि मन्त्रालयकाे स्विकृति लिई अष्ट्रेलियनहरुसँग मिलेर काम गर्नुपर्ने थियो । करीब दुई, साँढे दुई वर्ष उहाँले त्यहाँ काम गर्नुभयो । रिपोट पनि राम्रै आयो । सबैले कामको तारिफ गरे । यसले पनि उहाँलाई काममा सन्तोष दिएको रहेछ । साथै नेपालको यातायात क्षेत्रमा पनि यसले राम्रै योगदान गरेकोमा पनि उहाँ सन्तुष्ट हुनुहुन्छ । 

अन्य थुप्रै स्थानमा परामर्श 

एडिबीमा काम गरिसकेपछि उहाँलाई अन्य थुप्रै ठाउँमा काम गर्ने प्रस्ताव आयो । 

कालीमाटी तरकारी तथा फलफूल बजारको यातायात व्यवस्थापन सम्बन्धमा उहाँलाई अध्ययन गर्न भनियो । त्यसको काम पनि उहाँले गर्नुभएको हो । 

पछि ब्रिटिस परामर्शदाताले उनीहरूसँग काम गर्न अनुरोध गरे । त्यो पनि उहाँले गर्नुभयो । सरकारले स्विसहरूलाई इष्ट कन्सल्टको मार्फत नेपालको यातायात व्यवस्थापन विकास बार‍े उहाँहरुसँग परामर्श लिइ रिपर्ट तयार परी नेपाल सरकालाई सुझाव दिइयाे । त्यसका लागि पनि सरकारले स्विसहरूसँग काम गर्न उहाँ लगायत नारायण दत्त शर्मा तथा रामराज श्रेष्ठ लाई खटाइयो । उहाँहरूमध्ये कसैले, सडकको, कसैले रोपवेको कसैले एभिएशनको विषयमा अध्ययन गरेर स्विसहरूलाई रिपोट पेस गर्नुभयो । त्यही रिपोट स्विसहरूले आफ्नो बनाएर सरकारलाई दिए । 

पछि विश्वबैंकले उहाँलाई खानेपानीको सम्बन्धमा पनि काम गर्न अनुरोध गरेको थियो । उहाँको उमेर त्यस बेला ६५ भन्दा माथि थियो । उहाँको घरपरिवारले अब यो उमेरमा फिल्डमा गएर काम नगर्न उहाँलाई सुझाए । उहाँले अग्रजको सुझाव ग्रहण गर्नुभयो । 

विवाह 

उहाँको विवाह २०१८ सालमा भएको हो । मागी विवाह । उहाँको श्रीमती गुल्मीको बासिन्दा । उहाँहरूको गुल्मीमा पनि प्रशस्तै जग्गा रहेछ । काठमाडौँमा पनि त्यत्तिकै जग्गा । उहाँको श्रीमती बेलायतको महारानी काठमाडौँ आउँदा हेर्न आउनु भएको रहेछ । त्यसपछि उहाँ ६,७ वर्ष यतै बस्नु भएछ । त्यो बेलामा उहाँको काकाले केटी देख्नु भएछ । त्यसपछि काका र केटीको बुबासँग कुरा भएछ । पछि उहाँको हजुरबासँग पनि कुरा भएछ । सबैसँग कुरा मिलेपछि कुरा छिनिएछ । उहाँ त्यस बेला हेटौँडामा हुनुहुँदो रहेछ । 

कुरा छिनिएपछि उहाँलाई खबर गरियो । तर, उहाँले म आमा नभएको मान्छे मेरो बुबा लगायत भाइ, बहिनी सबैलाई हेर्नुपर्छ त्यसैले मैले नहेरी म गर्दिन भनेर भन्नु भएछ । 

काकाहरू नारायणघाटमा व्यापार गरेर बस्नुहुन्थ्यो । हामीले छिनेको केटी बिहे नगर्ने हो भने हामी कहिले काठमाडौँ कहिले फर्किंदैनौं भनेर भन्नुभएछ । उहाँको बज्यैले उहाँलाई मनाइदिन भगवानसँग सङ्कल्प समेत गर्नुभएछ । घर बिग्रन लाग्यो भनेर । पछि बुझ्दै जाँदा सबैले राम्रो भनेर भने । राम्रो मात्र भनेर भएन । बुबा भाइ बहिनी सबैलाई हेर्ने मान्छे चाहिने उहाँले आफ्नो अडान छोड्नु भएन । 

विवाह भएको पहिलो दिन नै उहाँले श्रीमतीलाई मेरो बुबा, भाइ, बहिनीलाई आमा जस्तो गरेर स्याहार ग¥यौ भने म मान्छु भन्नु भएछ । 

विवाहको दिन गरेको त्यो प्रतिज्ञा आजसम्म ज्युँका त्युँ पाउँदा उहाँ अहिले भने  सन्तुष्ट हुनुहुन्छ । 

उहाँका तीन छोरा र तीन छोरी छन् ।

ड्राइभिङ इन्स्टिच्युट 

उहाँ एडिबीमा काम गर्दै गर्दा प्रहरीले लाइसेन्स दिने कुराको प्राविधिक काम हेरिदिन अनुरोध गरे । त्यसपछि उहाँले आफ्ना ब्रिटिस सहकर्मीलाई पनि सँगै प्रहरी कार्यालयमा लिएर गएर कक्षा पनि लिनुभयो । 

पछि उहाँलाई एउटा इन्स्टिच्युट नै खोलेर सहयोग गरिदिनुस् भने । जसले गर्दा तालिम लिन मान्छेलाई सजिलो हुन्छ भन्ने कुरा आयो । उहाँ लगायत यातायात मन्त्रालयका सहसचिव तथा अर्थ मन्त्रालयका पदाधिकारी समेत रहेको एउटा इन्स्टिच्युट पनि खुल्यो । त्यसले चार पाँच वर्ष राम्रोसँग काम पनि गर्‍यो । पछि त्यो अरूलाई नै हस्तान्तरण गर्नुभयो उहाँले । इन्स्टिच्युटमा समान्य गाडी  चलाउँदा  आउने समस्यकाे बारेमा  समेत कक्षा लिइन्थ्यो । अहिले जस्ताे चलाउन सिकाउने मात्र  थिएन । 

सम्मानमा गुनासो 

सम्मानका सन्दर्भमा भने उहाँको चित्त कुँडिएको छ । मन दुखेको छ । नाकाबन्दीमा जनजीवन सहज बनाउन कलकत्ता गएर उहाँले जुन योगदान गर्नु भयो त्यसका लागि औपचारिक रुपमा एउटा धन्यवाद पनि दिइएन भन्ने उहाँको गुनासो रहेको छ । 

त्यसै वर्ष उहाँले नियुक्त गरेको तथा उहाँको मातहतमा रहेर काम गर्ने एक जना कर्मचारीलाई दरबारबाट सम्मानका लागि सिफारिस भएको रहेछ । तर, उहाँले काम गर्ने म सम्मान अर्कोले पाउने भनेर त्यसको विरोध मन्त्रालयमा समेत जनाउनु भएछ । फलस्वरूप दुबै जनाले त्यस वर्ष सम्मान प्राप्त गर्न सक्नु भएन । 

त्यो बेला भन्दा पनि अहिले झन् समय खराब रहेकोमा उहाँको मन अहिले पनि कुँडिन्छ । 

यातायात व्यवस्था विभागको ऐन मस्यौदा 

सवारी चालक अनुमति पत्र दिनका लागि यातायात व्यवस्था विभागको ऐन मस्यौदा गर्ने काम पनि उहाँले गर्नुभयो । यातायात विभागको डाइरेक्टर अनि प्रहरीको एक जना पदाधिकारी पनि हुनुहुन्थ्यो यो कामका लागि । ऐन  सबै उहाँहरूले नै मस्यौदा गर्नुभएको हो । त्यसलाई विधायिकामा दर्ता पनि गरियो । पछि चालकलाई दण्ड सजाय सहितका थुप्रै संशोधन भयो ऐनमा । 

लाइसेन्सको ट्रायल परीक्षा

लाइसेन्सको ट्रायल परीक्षाका लागि जग्गा नै थिएन त्यस बेला । जग्गा नभएर तीनकुनेमा धेरै पछिसम्म पनि ट्रायल परीक्षा लिने गरिन्थ्यो । पछि उहाँहरूले नेशनल ट्रेनिङ लिमिटेडको सिंहदरबारस्थित कम्पाउन्डमा बिहान बेलुकी कार्यालयलाई असजिलो नहुने गरी लिन सुझाव दिनुभयो । धेरै पछिसम्म पनि त्यहाँ लाइसेन्सको ट्रायल लिने गरिन्थ्यो, उहाँ सम्झनुहुन्छ । 

अहिले भने ड्राइभिङ इन्स्टिच्युट पनि च्याउ सरी छन् उहाँ भन्नुहुन्छ । हामीले सुरु गर्दा यहाँ देख्न नै मुस्किल थियो । लाइसेन्स पनि अहिले त पास होस नहोस् सबैले पैसा दिएर लिने  सन्छु  । उहाँ  याे सुनेर उहाँ दिक्दारी व्यक्त गर्नुहुन्छ ।

यातायात संस्थानका ३० वर्ष 

उहाँले यातायात संस्थानमा ३० वर्ष काम गर्नुभयो । यातायात संस्थानमा काम गर्नुअघि पनि उहाँ विभिन्न परियोजनामा काम गर्नुहुन्थ्यो । 

संस्थान अन्तर्गत नै रहेर पनि उहाँले थुप्रै परियोजनामा परामर्शदाताको रुपमा काम गर्नुभयो । स्वदेशी, विदेशी थुप्रैसँग पनि काम गर्नुभयो । 

उहाँ एडिबीमा काम गर्दै हुनुहुन्थ्यो । उताबाट फर्केर फेरि यातायात संस्थानमा आउनु भयो । त्यस बेला ३० वर्षे सेवा अवधिका बारेमा कुरा चल्दै थियो । यस्तो हो भने हामी काम गर्दैनौँ भनेर उहाँले भन्नुभयो । किनकि परामर्शदाताका रुपमा काम गर्दाको अनुभव र प्राप्त हुने आयले यो कामलाई केही निरस त बनाउँथ्यो नै । तर, देशको असल नागरिक भएका नाताले पैसा र पदमा लोभिनु आफ्नो इमानदारीता नभएको पनि उहाँले स्पष्ट पार्नुभयो । 

कामप्रतिको लगाव

उहाँले ०१४, १५ सालतिर हुनुपर्छ आदर्श कन्या विद्याश्रम, नमुना मच्छिन्द्र मावि, श्री चण्डी विद्याश्रम, नवीन प्रौढमा अङ्ग्रेजी पढाउने काम पनि गर्नुभयो ।

पैसाको कुरा गर्दा काम महत्त्वपूर्ण कुरा हो उहाँ भन्नुहुन्छ । यदि अवकाशका बेलामा पनि काम गर्नलाई अनुरोध गरेको भए काम गरिन्थ्यो । त्यो बेला मात्र किन अहिले यो ८६ वर्षको उमेरमा पनि मलाइ सरकारले मेरो कामको अनुभव र योग्यताको आधारमा दुई तीन घण्टा काम गर्न अनुरोध गर्छ भने अहिले पनि म निःशुल्क काम गर्न तयार छु । 

उहाँले आफ्नो कामको अनुभव र योग्यता अहिले पनि राज्यलाई दिने युवा जोस जाँगर र देश प्रतिको माया र सम्मान एकै पटक प्रदर्शन गर्नुभयो । पछि भने छोराहरूले यो उमेरमा अब के काम गर्नु भने पनि उहाँले काम गर्न छोड्नु भएको हो । 

तर पनि उहाँ मंगलबजारमा रहेको एउटा पसल तथा लगनखेलमा रहेको जुत्ता पसलमा आएर काम गर्नुहुन्थ्यो । जुत्ता पसलमा आएका ग्राहकलाई उहाँ तपाईँलाइ यो जुत्ता ठिक छ, यो छैन । र, यो कारणले भनेर पनि बुझाउनु  हुन्थ्यो । काम कुनै पनि ठुलो सानो हुँदैन । यो उहाँको मान्यता हो । उहाँले कुनै काम नगरेको अहिले भने ६,७ वर्ष भयो । 

आफ्नो काम प्रतिको लगाव इमानदारी, दक्षता तथा क्षमताले उहाँले यातायात क्षेत्र व्यवस्थापनमा अतुलनीय योगदान दिनु भएको छ । 

अहिले पनि उहाँमा कामका प्रति त्यत्तिकै सम्मान र स्नेह छ । एउटा कर्मवीरका रुपमा अर्थात् नरेन्द्र बहादुर न्याछ्यों ।