हिलो नटेक्ने जुत्ता

हिलो नटेक्ने जुत्ता

डा. सदानन्द कडेल  |  साहित्य  |  भदौ ६, २०७७

सरकारी सेवामा दशकौं काम गरेका कर्मचारी हुन् अविरल । उनले संबैधानिक राजतन्त्र, राजाको प्रत्यक्ष शासन तथा गणतन्त्रमा प्रशाशनिक अनुभब संगाल्ने अवसर प्राप्त गरेका छन् । सेवा निवृत्त हुन केही महिना मात्र बाँकी हुँदा अविरलको सरुवा एउटा प्रदेशको मुख्यमन्त्रीको कार्यालयमा भयो ।  उनी धेरै उत्साहित पनि भए ।  उनले मनमनै सोचे,  ‘यति दुःखले ल्याएको संघीय शाशन प्रणालीमा ठुलो मान्छेको कार्यशैली र जीवन शैली कत्ति सरल र प्रेरणादायी होला’ । 

एकदिनको कुरो हो ।  मुख्यमन्त्री ज्युको जन्मदिन परेको रहेछ । त्यसै अवसरमा कार्यालयकै हातामा वृक्षारोपण कार्यक्रमको आयोजना भयो ।  सहयोगीकै भूमिका निर्वाह गरीरहेका अविरलको मनमा कौतुहलता थियो, कुन भेषमा मुख्यमन्त्री ज्युको आगमन होला भनेर !

खैरो छालाको टिलिक्क टल्किने जुत्ता लगाएर, नेपाली पोशाकमा ठाटिएर अंगरक्षक सहित मुख्यमन्त्री ज्यु चउरमा बृक्षारोपण गर्न आउनु भयो।  उहाँलाई अरुले नै छाता ओढाई रहेका थिए ।  हरियो चउरको बिचमा एउटा खाडल खनिएको थियो ।  सेतो पन्जा लगाइएका उहाँका हातले आँपका बिरुवा समातेर खाडलमा राखे । सहयोगीले माटो हाली दिए ।  पानी हाल्ने अर्कै थिए ।  बिरुवाको पात समातेर मुख्यमन्त्री ज्युले फोटो पनि खिचाउनु भयो ।  उहाँको जुत्तामा हिलो लाग्ला भनेर खाडल नजिकै केही सेतो चिज भुईमा ओच्छ्याईएको थियो ।  त्यसैमा होशियारी पुर्बक टेकेर उहाँले काम सम्पन्न गर्नु भयो ।  

‘हैट, मैले पनि के के सोचेछु ! कता हिजोका दुःखका ‘हिलो नटेक्ने जुत्ता’ ? कता आजका सुखका ‘हिलो नटेक्ने जुत्ता’ ? के तुलना गर्नु र ? कोशी नदीमा कत्ति पानी बह्यो कत्ति !’ मनमनै गमखाँदै अविरल कार्यालय तीर लागे । बृक्षारोपणको उक्त दृश्यले उनको दिल-दिमागमा एउटा प्रश्न तरंगित बनाईदियो, ‘आखिर रंग फेरीए पनि ढंग नफेरीएकै हो त ?’ 

यस्तो दृश्य टुलुटुलु हेरीरहेका अविरलले मनमनै भने, ‘ओहो....गणतन्त्रमा यो त कस्तो भाग्यमानी हिलो नटेक्ने जुत्ता !’ तत्कालै उनले झल्यास्स आफ्नो बाल्यकालको हिलो नटेक्ने जुत्ता सम्झे ।  उनको जुत्ताको कहानी यस्तो थियो ः

अविरल सानै देखी जिज्ञासु थिए । स्कुलमा पनि शिक्षकलाई आफ्नो उमेर भन्दा माथिका प्रश्नहरु सोधेर हैरान पार्थे । एकदिन शिक्षकले कक्षामा नेपालको राजधानी काठमाण्डौको बारेमा बताए ।  किनकि शिक्षक भर्खरै काठमाण्डौ गएर फर्केका थिए ।  ‘राजाको गाउँ कस्तो होला त ?’ भनेर सोच्दै सोच्दै अविरल स्कुलबाट घर फर्के ।  

गजबको संयोग ! घरको फलैचामा बसेर उनका बुवा, ठुलोबुवा र पल्लाघरे कान्छा दाई काठमाण्डौँ जाने योजना बनाई रहेका रहेछन् ।  कुरो बुझे पछि झोला बिसाएर उनले बुरुक्क उफ्रदै भने, ‘म पनि जान्छु काठमाण्डौँ । ’ अविरलको बुवाले उनलाई सम्झाउदै भने ‘काठमाण्डौँ जाँदा हिड्नु पर्छ ।  तँ नौ बर्षको मात्र छस् ।  हिड्न सक्दैनस् ।  नचाहिने कुरा नगर। ’ खाजा पनि नखाईकन उनी रुन थाले । 

अविरलले घरि आमाको नजिक गएर, घरि ठुलो बुवाको नजिक गएर रुँदै बुवालाई सम्झाईदिने आग्रहको अभिनय गरे ।  उनको बुवाले फेरी भने, ‘तँ नजाने भए एकजोर राम्रो जुत्ता ल्याइदिन्छु ।  जान जिद्दी गरिस् भने जुत्ता न सुत्ता, केही पनि पाउदैनस् ।’

‘काठमाण्डौँ लैजाने भए मलाई केही पनि चाहिदैन ।  चप्पल लगाएर नै काठमाण्डौँ जान्छु ।  हिड्न पनि सक्छु।’ भन्दै राजधानी हेर्न पाउने शर्तमा उनले जुत्ताको मोहलाई मनबाटै हटाइदिए ।   

दुई दिने यात्राको क्रममा उनीहरुले केवल धार्के देखी खानीखोलासम्म पृथ्वी राजमार्ग निर्माणको लागि सामान बोक्ने चिनिया गाडी ‘डम्फ़र’ चढ्न पाए ।  खानीखोलाबाट थानकोटसम्म हिडेपछि त्रिभुवन राजपथ हुँदै वीरगंजबाट आएको मालबाहक ट्रकले उनीहरुलाई कालिमाटीसम्म पुर्याईदियो । 

थाकेर लखतरान भए पनि जीवनमा पहिलो पटक राजधानी हेर्न पाएकोले अविरल मक्ख थिए ।  परोपकार हाई स्कुल नजिकै विष्णुमती नदिको पुलमा पुगेपछि छाउनीबाट सेनाको एउटा फौज बाजा बजाउदै, कवाज खेल्दै आयो ।  शायद ! उनीहरु छाउनी ब्यारेकबाट टुंडिखेल सैनिक मंचमा शिवरात्री पर्वको तयारीको लागि जाँदै थिए । बायाँ खुट्टा सबैले एकै पटक उचाल्नेस त्यसपछि फेरी दायाँ खुट्टा सबैले एकैचोटी उचाल्ने र भुईमा बजार्ने गर्दा सिपाहीका बुटहरु असाध्यै राम्रा देखिए । आश्चर्यचकित भएर अविरल हेरेको हेर्यै भए ।  उनले त्यस्तो कहिल्यै देखेका थिएनन् । परित्याग गरिसकेको जुत्ता लगाउने रहर उनको मन मष्तिस्कमा फेरी जागृत भएर आयो।  तर बाचामा हारीसकेकोले उनले बुवा सामु नयाँ जुत्ताको माग राख्ने हिम्मत नै गरेनन्  ।  

आठजनाको टोलीले पहिलो रात भद्रकालीमा बितायो भने दोस्रो रात सेन्ट्रल जेल अगाडिको सत्तलमा ।  खानेकुरा चाही उनीहरुसंगै थियो ।  इन्द्रचोक स्थित नागेश्वरी साहुको दोकानमा कपडा किनिसके पछि भने तेस्रो रात उनीहरुलाई साहुले आफ्नै छिडीको कोठामा सुकुल हालीदिएर सुत्ने ब्यबस्था गरिदिए ।  

किनमेल गर्दै जव टोली असनबाट भोटाहिटी छिर्यो, सडकको दुवैपट्टि लहरै जुत्ताका पसल देखेर अविरल रनभुल्लमा परे ।  उनले यती धेरै जुत्ता एकै ठाउँमा कहिल्यै देखेका थिएनन् ।  उनैलाई ठिक्क हुने खालका रंगीबिरंगी जुत्ता देखे पछि त उनले मन थाम्नै सकेनन् तर बुवासंग माग राखेर पिर्न पनि सकेनन् । जुत्तामात्र हेरेर उनले आफुले जुत्ता लगाएको कल्पना गरे ।  सिपाहीले जस्तै बुट बजार्न खोज्दा उनको बाटा चप्पल पड्कियो ।  उनी झसंग भए ।  यताउता हेरे । वरपर आफ्नो टोली देखेनन्  । उनी त छलिएछन् ।  उनी छाँगाबाट खसे जस्तै भए ।  

बुवा लगायतको टोलीलाई भेट्न अविरल यता दौडिए, उता दौडिए तर कतै भेट्न सकेनन् ।  नागेश्वरी साहुको घर फर्किएर बस्ने कुरा सोचेर आधा घण्टा हिडेको हिड्यै गर्दा पनि फेला पार्न नसकेपछि उनी बलिन्द्र धारा आँसु झार्दै रुन थाले ।  शहरका घरहरु उनलाई सबै उस्तै उस्तै जस्तो लाग्यो । पूर्व-पश्चिम छुट्याउन पनि मुस्किल पर्यो उनलाई ।  जिन्दगीमा उनी पहिलो पटक आएको काठमाडौँ शहरमा हराए ।  ‘थानकोट पुग्न सकेमा चै एक्लै पनि घर जान सक्छु’ भन्ने मन मनै सोचे उनले । रुदै बाटोमा हिड्नेलाई ‘मेरो बुवालाई देख्नु भो ? ’ भनेर सोधे । तर कसैले देखें भनेन्  ।  
करिव दुई घण्टा रुदै, भौतारिदै हिडेपछि अचानक उनलाई पछाडीबाट कसैले झ्याप्पै समात्यो र अंगालो हाल्यो । फर्केर हेर्दा उनकै बुवा रहेछन् । बुवाको आँखाबाट पनि आँशु झरिरहेको थियो । उनले यस अघि बुवाको आँखाबाट आँशु झरेको कहिल्यै पनि देखेका थिएनन् ।  सबैले ‘कसरी छलियौ त ? ’ भनेर सोधे ।  सुँक्क सुँक्क गर्दै उनले भने, ‘जुत्ता...जुत्ता...’ उनले ‘जुत्ता हेर्दा’ भन्न खोजेका थिए तर पनि ‘जुत्ता किनिदिनु’ भन्ने उनको आशय थिएन । 

भेडासिङबाट अविरलको बुवाले फेरी भोटाहिटी लगे र उनलाई रोजाएर एक जोर जुत्ता किनीदिए । दुवै जुत्ता लगाई सकेपछि उनले एकपटक विष्णुमतिको पुलमा भेटिएका सिपाहीले जस्तै गरी ‘लेफ्ट’ ‘राइट’ गरे ।  सबैजना हाँसे ।  जिन्दगीकै पहिलो जोर जुत्ता लगाए पछि उनले धन्यबाद त भनेनन् । तर बुवाको कम्मरमा अँगालो हालेर रोए ।  उनले काठमाडौँ पनि आउन पाए । जीवनमा पहिलो पटक जुत्ता लगाउन पनि पाए ।  दुवै हातमा लड्डु मिलेकोले उनी हर्षले भावबिभोर भए  ।  

जुत्तामा हिलो लाग्छ भनेर अविरलले पानी परेको दिन कहिल्यै जुत्ता लगाएर स्कुल गएनन्  ।  एक दिन त स्कुल जाँदा बाटैमा पानी आयो ।  सडक थिएन ।  पेटी थिएन ।  सानो बाटो, चिप्लो र हिलाम्मे थियो । नाइलनको डोरी भएको दुवै हात छिराएर पछाडी भिर्ने भ्यागुते झोला बोकेर, दुवै जुत्तालाई हातमा घुसारेर उनी स्कुलमा पुगे ।  साथीभाईले उनलाई ‘खुट्टामा लगाउने जुत्ता हातमा ?’ भनेर उल्लीबिल्ली पारे । विरलले झोक्किदै भने, ‘सानो दुखले किनेको जुत्ता हो यो ? हिलो नटेक्ने जुत्ता पो हो त !’ सबै गललल्ल हाँसे  यद्यपी त्यतिबेला उनको स्कुलका झन्डै दुई तिहाई बिधार्थीहरु खाली खुट्टामै स्कुल आउने-जाने गर्थे ।

‘हैट, मैले पनि के के सोचेछु ! कता हिजोका दुःखका ‘हिलो नटेक्ने जुत्ता’ ? कता आजका सुखका ‘हिलो नटेक्ने जुत्ता’ ? के तुलना गर्नु र ? कोशी नदीमा कत्ति पानी बह्यो कत्ति !’ मनमनै गमखाँदै अविरल कार्यालय तीर लागे । बृक्षारोपणको उक्त दृश्यले उनको दिल-दिमागमा एउटा प्रश्न तरंगित बनाईदियो, ‘आखिर रंग फेरीए पनि ढंग नफेरीएकै हो त ?’