रहर रुपी बिरुवाको माली बन्ने कि कोपिलामै निमोठेर कुण्ठाको बगैँचा विस्तार गर्ने !?

रहर रुपी बिरुवाको माली बन्ने कि  कोपिलामै निमोठेर  कुण्ठाको बगैँचा विस्तार गर्ने !?

पर्वत भट्टराई  |  जीवनदर्शन  |  भदौ ७, २०७७

सानो केटाकेटीदेखि र किशोरवयसम्मको मानिसलाई सोध्नु पर्छ भविष्यमा तिमीलाई के बन्ने रहर छ, एउटा तयारी जवाफ सन्सारभर प्रचलित छ,  'मलाई डाक्टर, इन्जिनियर, पाइलट, वैज्ञानिक, सैनिक, खेलाडी, पत्रकार, वकिल, कलाकार, साहित्यकार, शिक्षक, कर्मचारी, नेता वा समाजसेवी बन्ने रहर छ' । मनभरि साँचेका त्यस्ता रहर केही पूरा हुन्छन् भने धेरै जसो अपुरै रहन्छन्। उमेरसँगै अनेकौँ रहर खहरे जस्तै केही समय उर्लिएर आउँछन् अनि मानिसको मन र शरीरलाई निथ्रुक्कै पारेर जान्छन्। जब अनगिन्ती रहरको खहरे सुकेर जान्छ तब मानिस देख्दादेख्दैको सपनाबाट झल्याँस्स ब्युँझिए जस्तै हुन्छ। पूरा भएका केही रहरबाट प्राप्त खुसीलाई आत्मसात् गर्न पाउँदा नपाउँदै फेरि पूरा नभएका बाँकी रहरको खहरे हामीलाई भिजाउन आई हाल्छ । मानिसलाई जीवनभर पूरा भएका रहरको जन्ती गएर आउन नभ्याउँदै पूरा नभएका रहरको मलामी जानु पर्ने बाध्यता परिरहन्छ । यो जीवनको वास्तविकता हो।

प्राचीन शास्त्र, आधुनिक विज्ञान र चलनचल्तीका शब्दकोशहरूका अनुसार रहर भनेको लालसा, अभिलाषा, चाहना, आशा, आकाङ्क्षा, अभिरुचि, उत्कट इच्छा, तृष्णा, कल्पना, सपना र मनोकामनाहरू प्राप्त गर्ने एउटा मनो शारीरिक प्रक्रिया हो । यथार्थमा शरीर, मन र आत्माको आवाजलाई पूरा गर्ने उत्कट आकाङ्क्षाहरूको प्रकट र अप्रकट रूप नै रहर हो। रहरको अनन्त शृङ्खला मानिस जन्मिएदेखि नमरुन्जेलसम्मलाई जीवनमा चलिरहन्छ। रहर एउटा यस्तो मनोवृत्ति हो जसलाई प्राप्त गर्न मानिसको सम्पूर्ण ध्यान त्यसतर्फ मोडिन्छ। आफ्ना रहर पूरा गर्न शरीर र मनको सम्पूर्ण बाइलजी, फिजिक्स अनि केमेस्ट्री जीवनभर आफ्नो लयमा शरीरभर रगत बगेजस्तै बगी रहन्छ । पृथ्वीमा समुद्र, नदी र खोला बगेजस्तै मानिसको शरीर र मनमा अनेक रहर बगी रहन्छन् । तर धेरैजसो रहर खहरेको पानी जस्तै क्षणभरमै सुकेर जान्छन्। 

रहर पनि पूरा नहुँदा मानिस निकै ठुलो चोटले घाइते भएको महसुस गर्छ। आफ्ना रहर पूरा नभएका त्यस्ता चोटहरूको हिसाब किताब कसैले पनि राख्न सक्दैन होला। पूरा नभएका रहरको हिसाब किताब राख्दै जाने हो भने मानिस त्यसैले थिचेर उठ्नै नसक्ने हुन्छ। हरेक अपुरा रहरलाई चिहानमा जलाएर बाँकी रहेका रहर पूरा गर्ने अठोट गर्दै सजिलै घर फर्कने एउटा मलामी जस्तो बन्न सक्नु पर्छ। नत्र पूरा नभएका अनेक रहरले जलाएर मार्छन्।

पूर्वीय मान्यता अनुसार वेदान्त र साङ्ख्य दर्शनमा रहर अर्थात् इच्छाहरूलाई मानिसको मनको गुण मानिएको छ । त्यसै गरी न्याय र वैशेषिक दर्शनमा मन र आत्माको विशेषता मानिएको छ । जसरी आधुनिक अर्थशास्त्रमा कुनै पनि वस्तुको मागलाई अपरिहार्य विशेषताको रूपमा परिभाषित गरिएको छ, त्यसरी नै प्राचिनकालमा कौटिल्यले रहर अर्थात् इच्छालाई मन र शरीरको गुण भनेर परिभाषित गरेका छन् । यो कुरा उनले  'आयुधागाराध्यक्ष अधिकरण' मा उल्लेख गरेका छन् । 

मानिसका रहर कति हुन्छन् होला भनेर साध्यै छैन। एउटा यस्तो समय पनि हुन्छ जे देख्यो त्यही बन्ने रहर र अरूले जे गर्छन् त्यही गर्ने रहर। हरेक उमेर समूह अनुसार रहर पनि फरक फरक हुन्छन्। बाल्यकाल, किशोर, युवा र ढल्किँदो उमेरका अनेक चरणहरूमा लाखौँ रहरको छालमा मानिसको जीवन बितेर जान्छ। आफूले साँचेका त्यस्ता सबै रहर पूरा हुन सम्भव असम्भव जे पनि हुन सक्छ। तर मानिस सधैँ आफ्ना रहर पूरा गर्न जीवन समर्पित गरेर हिँड्छन्। बाल्यकालमा खेल्नु, उफ्रिनु र चकचक गर्नु, किशोर अवस्थामा आकर्षण, प्रेम, जिज्ञासा, उत्सुकता हुनु, युवा अवस्थामा अध्ययन, नोकरी, विवाह, सन्तान प्राप्ति, धन आर्जन गर्नु र ढल्किँदो उमेरमा आफ्नो र परिवारको सुख, स्वास्थ्य, संवृद्धि तथा मोक्षको बाटोतर्फ उन्मुख हुनु जस्ता स्वाभाविक रहर हुन्छन्। जीवनमा अनगिन्ती रहर भएनन् भने त मानिसको जीवन अपुरो, अधुरो र अर्थहीन नै हुन्छ। रहरले हरेक क्षण मानिसलाई क्रियाशील बनाउँछ। तसर्थ रहर एउटा ऊर्जा पनि हो। भनिन्छ कि मानिसले लिने अक्सिजन, शरीरमा रहेको पोषकतत्व र उसको वंशाणुगत गुणहरूका कारणले मानिसको मनमा अनेक रहर रूपी अभिलाषाहरू उत्पन्न हुन्छन्। तिनै रहरलाई पूरा गर्न मानिस अनवरत कोसिस गरी रहेको हुन्छ। चाहै ती रहर उसको जीवनभर पूरा हुन् सकुन् वा नसकुन्। किनकि त्यसको जिम्मा नियतिलाई दिने गरिएकै छ।

खाने, लाउने, खेल्ने, पढ्ने, घुम्ने, नाच्ने, गाउने, नाटक­सिनेमा हेर्ने, रमाइलो गर्ने, प्रेम गर्ने र जात्रा­मेला­चाडपर्व­महोत्सव मनाउने जस्ता अनेक रहरले मानिसलाई छायाले जस्तै पछ्याइ रहन्छन्। जीवनभर त्यस्ता रहरै रहरले पछ्याएर मानिसलाई हैरान पार्छन्। एउटा रहरलाई भेटेर अङ्गालोमा बेर्दा नबेर्दै अर्को रहर नजिक आई सकेको हुन्छ। प्रत्येक क्षण मानिसको मनमा एउटा न एउटा रहर जन्मिरहेको हुन्छ। त्यसलाई पूरा गर्ने कामना र कोसिस पनि उसले गरिरहेको हुन्छ। तर कामना र कोसिसले मात्र रहर पूरा हुँदैनन्। जीवनमा रहरलाई पूरा हुन नदिन हजारौँ तगाराहरू कहीँ न कहीँ बाटोमा तेर्सिएर आउँछन्। जानेर वा नजानेर कैयौँ रहरको तगारो मानिस आफै बनिरहेको हुन्छ। जब सानो सानो रहर पनि पूरा हुँदैन अनि मानिस अँध्यारो मुख लगाएर अरूलाई, आफूलाई वा परिस्थितिलाई दोष दिन्छन्।

एउटा सानोभन्दा सानो रहर पनि पूरा नहुँदा मानिस निकै ठुलो चोटले घाइते भएको महसुस गर्छ। आफ्ना रहर पूरा नभएका त्यस्ता चोटहरूको हिसाब किताब कसैले पनि राख्न सक्दैन होला। पूरा नभएका रहरको हिसाब किताब राख्दै जाने हो भने मानिस त्यसैले थिचेर उठ्नै नसक्ने हुन्छ। हरेक अपुरा रहरलाई चिहानमा जलाएर बाँकी रहेका रहर पूरा गर्ने अठोट गर्दै सजिलै घर फर्कने एउटा मलामी जस्तो बन्न सक्नु पर्छ। नत्र पूरा नभएका अनेक रहरले जलाएर मार्छन्। बाल्यावस्थादेखि वृद्धावस्थासम्म लाखौँ रहरको छालमा मानिसले डुब्नु, पौडिनु र उत्रिनु परिरहन्छ। कुनै रहरमा डुबी रहने अवसर मिल्छ, कुनै रहर पूरा गर्न मेहनतसाथ पौडी रहनु पर्छ भने कुनै रहर बिलकुल पूरा नहुँदा एउटा किनारामा पुगेर उत्रिनु पर्छ। यसरी रहर रुपी अनेक छालमा बगेर जाँदा कुनै एउटा किनारामा पुगेर उत्रिन सकिएन भने त्यही रहरको छालले बगाएर मानिसलाई जीवित राखेरै मारिदिन्छ। भन्न त हामी सजिलै भन्छौँ  'गहिराइमा डुब्दै नडुब, डुबी सकेको छौँ भने, मोती नटिपी नफर्क '। तर आफ्नो मोती रुपी रहर जीवन रुपी समुद्रमा डुबेर पनि भेटिएन भने कुनै पनिकिनारामा गएर उत्रिनु त परि हाल्छ। नत्र प्रकट अप्रकट लाखौँ रहरको अवसान हुने यो जीवन रुपी समुद्रमा नियतिले सधैँको लागि मानिसलाई डुबाइ दिन्छ।

 

मानिसका धेरै जसो रहर शालीन, विशिष्ट र महत्त्वपूर्ण हुन्छन्। त्यस्ता रहर भित्री आत्माबाट उब्जिएर हुर्किन्छन्, बढ्छन् र आफ्नो मन हुँदै शरीरको कोष कोषमा फूलको कोपिला जस्तै स्वाभाविक रङ चढाउँछन्। जब त्यस्ता कोपिला रुपी रहरलाई फुल्नै नदिई निमोठ्ने गरिन्छ तब त्यसरी निमोठिएका रहरलाई हैन मानिसको शरीर र मनलाई ठुलो आघात पुग्छ। जीवनभर त्यस्ता आघातहरू खपेर पनि रहर भन्ने कुरा मानिसबाट पलायन हुँदैन। बरु त्यसरी निमोठिएका थोरै रहरबाट अरू लाखौँ रहर फेरि उब्जी हाल्छन् । मानिसको जीवनमा यो क्रम जारी रहन्छ। यसरी पूरा भएका रहरको भरपुर उपयोग गर्ने, पूरा गर्न सकिने शालीन र विशिष्ट रहरलाई कोपिलामै ननिमोठ्ने र अपुरा रहेका लाखौँ रहरका बिरुवालाई एउटा असल माली बनेर हुर्काइ रहनु नै उच्च मानवीय गुण हो। आफ्ना रहर रुपी बिरुवाको माली बन्ने हो कि तिनीहरूलाई कोपिलामै निमोठेर आफ्नो कुण्ठाको बगैँचा विस्तार गर्ने हो। यसको छनोट मानिस आफैले गर्न सक्छ। किनकि जीवनमा रहरको महत्त्व कति हुन्छ भनेर अवश्य पनि सबैलाई राम्ररी थाहा छ। थाहा छैन भनेर कसैले भन्छ भने त्यो केवल बनावटी नाटक मात्र हो।



 

parbat.bhatta@gmail.com