योगी कुलचन्द्र | दृष्टिकोण | भदौ ८, २०७७
आजभोलि नेपाल भारत सम्बन्धबारे एक अर्कामा आरोप प्रत्यारोप मात्र होइन, गाली गलौज उत्रेकाे प्रशस्तै भेटिन्छ । यहाँ विषय राजनीतिक होस् वा धर्म बोक्ने दम्भ माथिको प्रहार नै किन नहोस् । आफ्ना अनुकूलतामा यथार्थको धरातलमा टेकेर अडानमा टिक्नुको एउटा अदम्य साहसले लिएरको यी परिणति पनि हुन सक्दछ, सायद !
आजको विश्व जगत राजनीतिले राष्ट्रको धर्म हुँदैन भने तापनि क्रिस्चियन, बौद्ध, इस्लामको साथै अन्य धर्मको राजनीति राष्ट्रहरुले बोकेर हिडीरहेछन् । राजनीतिक महत्वकांक्षाले युनेस्कोले पुरातात्त्विक सम्पदाको सूचिमा राखेको १५०० साल पुरानो टर्कीको ऐतिहासिक हगिया सोफिया चर्चबाट सङ्ग्रहालय हुँदै आजको मितिमा आउर मस्जिदमा परिणत भइसकेको छ ।
यता हाम्रो दक्षिण एसियामा ठुलो भू–भाग ओगटेको भारत हिन्दु राष्ट्रवादको नारा बोकी अगाडी बढी रहेछ । धर्म र राजनीति फरक धार भएको हुँदा हुँदै पनि यसरी धर्म बोकेर अगाडि बढ्दा राजनीति अगाडि आयो कि धर्म त्याे समयले नै देखाउने छ ।
आजको भाजपा ‘राम’ नामको राजनीतिलाई शक्ति केन्द्रमा राखि रहेको छ । विगतमा अयोध्यामा हिन्दु मन्दिरहरू निर्माण गर्न उत्खननको क्रममा बौद्ध मूर्तिहरू भेटिएका छन् । त्यसैले उक्त राम जन्मभूमिको स्थान अयोध्यामा बौद्धकालिन अवशेष रहेको दाबी गर्न थालिएकाे छ । इतिहासलाई पल्टाएर हेर्दा अयोध्या भने बौद्धकालिन साकेत नगरी रहेको समेत भेटिएको छ ।
बौद्ध सम्प्रदायको अवशेष मिलेता पनि बौद्ध सम्प्रदायसँग हालसम्म कुनै राय लिइएको भने थिएन भनी विज्ञहरूले बारम्बार सवाल उठाई रहेका छन् । आफ्ना छिमेकीहरूलाई पहिचानको राजनीति गर्न प्रोत्साहन गर्ने भारत आफै भित्र भने चुकेको भनी भारतीय संस्थापनकाे चर्काे बिराेध समेत भइरहेको छ ।
यता नेपालमा भने चितवनको ठोरीमा रामको निवासका अवशेषहरू फेला परेको तथ्यलाई आधार बनाएर प्रधानमन्त्री केपी ओली इतिहास कोट्टाई रहनुभएको छ । कम्युनिस्ट सिद्धान्तका प्रवर्तक कार्लमाक्सले ‘धर्म भनेको अफिम हो’ भनेर उल्लेख गरेकाे पाइन्छ । सयाद, त्यसैले कम्युनिस्टहरू धर्म मान्दैनन् र उनीहरू धर्मलाई अफिम मान्दछन् भनेर भनिएकाे हाेला । तर नेपालकाे कम्युनिस्ट सरकारद्वारा धर्मको नाममा नसोचिएका 'साहसिक अभिव्यक्ति'हरूले दक्षिण एसियाको भूराजनीतिक धरातलमा भने नजानिँदो हिसाबले एकखालकाे गहिरो तरङ्ग नै पैदा गरिदिएको छ ।
हातेमालो गरी संवृद्धि, सुख शान्ति सह–अस्तित्व र भाइ चाराको सम्बन्धले आ–आफ्नो धर्म संस्कृति, भाषाको निरन्तरता दिँदै, साधन, श्रम, सीप र उत्पादन वृद्धिमा जोड दिई आफ्नो सीमा सुरक्षामा सबलीकरण, जमिनको सदुपयोग र स्वदेशी उत्पादन र लगानीमा जोड दिँदै देश बनाउन आपसमा विश्वबन्धुत्वको भावना राख्दै बशुदैव कुटुम्ब, पञ्चशीलको सिद्धान्तलाई व्यवहारमा लागू गर्दै सकारात्मक सृजनशील सहिष्णात्मुक व्यवस्था र संम्बृद्धि नै आज देश र समाजको आवश्यकता हो ।
आज हिन्दु धर्म संस्कृतिको नाममा भारतमा रहेको मोदी सरकार भने धर्मको पालना, धर्मको मर्म व्यवहारमा पालना नगरी, छिमेकीसँग खाली आफ्नो दम्भ देखाई रहेको छ । विगतमा भारतका राजनीतिक परिवर्तनहरूको मूल्याङ्कन गर्दा इन्डिया भएर राज्य सञ्चालन गरेको अवस्था होस् वा भारत एवम् हिन्दुस्तान भएर राज्य सञ्चालन गरेको अवस्था होस् छिमेकीहरू प्रतिको राष्ट्रिय नीति एवम् जनस्तरमा महसुस गर्ने गरी व्यवहारमा खासै परिवर्तन भएकाे पाइँदैन ।
हिजोआज भारत दक्षिण एसियाका नेपाल, बङ्गलादेश, पाकिस्तान, श्रीलङ्का आदि देशहरूमा आफ्नो हेपाहा, अमर्यादित व्यवहार र असहज सम्वन्धहरुको निर्माण गर्दै गइरहेकव छ । यसले के पनि पाठ सिकाउँछ भने विभिन्न काल खण्डमा पनि भारत आफ्ना नीतिहरू प्रतिको एकरूपतामा अडिग भएको दर्साउँछ भने नेपाल जस्ताे देशमा नीति र व्यवहारहरू भने सरकार परिवर्तनसँगै मूल्य र मान्यताका आधारशिला परिवर्तन हुने गरेको छ । यो नै देशको ठुलो दुर्भाग्य हो ।
यहाँ भन्न खोजिएको के हो भने, आज नेपालका पार्टी आफ्नो क्षमता, दक्षता योग्यता र सैद्धान्तिक धरातलमा टेकेर राजनीतिक जुन निष्ठा पूर्वक गर्नु पर्ने थियो त्यो विल्कुल भएको देखिँदैन । राजनीतिक पार्टी भित्रै यस्तो व्यक्तिवादी सोचको अहंता हाबी र त्यसको प्रभाव प्रजातान्त्रिक पद्धतिको संस्कृति माथि नै परि रहेको छ ।
सही मान्छे र सही राजनीतिक नेतृत्वमा पुग्न सकेको छैन भन्ने गुनासाे बढेकाे छ भने सही चयन, सही समय अनुसारको पाउन सकेन भने धार्मिक आचरण अनुरूपको प्रगतिशील नेतृत्व र समाजमा स्थापीत हुन सकेकाे छैन् । राजनीतिक नेतृत्वकाे दाेहाेराे चरित्र चिर्चित 'होली वाइन काण्ड' मा उदांगाे भएकाे थियाे ।
लामो इतिहास बोकेको नेपाली काँग्रेसले समाजवाद र प्रजातन्त्रको मार्गलाई नलिई माओवादीको एजेन्डा लिई गणतन्त्रमा केही सीमित नेतृत्वको अगुवाइमा जाँदा आज काँग्रेसको हाल के छ ? नेपाली काँग्रेस सुध्रने हो भने आजको अवस्थालाई मध्यनजर गरी आफ्नै धारको राजनीतिलाई अगाडी बढाउन जरुरी छ। साहस गरी काँग्रेसका ती अनुभवी कार्यकर्ताहरूको विचारको सनातन हिन्दु राष्ट्र, समाजवाद र प्रजातन्त्रको विचार पक्ष र लगाव राख्ने विचारलाई अगाडि बढाउन जरुरी छ । ठोस राजनीतिक एजेन्डामा जानु र पार्टी सबलीकरण, सुदृढीकरण र जनताका आम सवालहरूलाई जनता केन्द्रित विकास र आर्थिक सामाजिक व्यवहारिक समाजवाद उन्मुख परिवर्तन गर्नु आवश्यक छ ।
जब आफ्नाे नारा र अभियानबाट कांग्रेसमा विचलन आयो तब भागबन्डा र राजनीतिक आन्तरिक खिचलो र पदको तानातानी र लबीमै काँग्रेस अड्कियो र नयाँ पुस्ता प्रति सांस्कारिक पद हस्तान्तरण एवं पुरानाले नयाँलाई सिकाई सक्षम बनाई पद हस्तान्तरण गर्न काँग्रेस चुक्दै आएकाे छ ।
हुन त यो संस्कार प्रजातान्त्रिक चुनावी प्रक्रियाबाट नभई पार्टी निर्वाचनमा 'टिके प्रथा' हावी हुँदै आएकाे छ । जसलाई प्राय सहमतिको नाम दिइन्छ, जुन नेपाली राजनीतिको हरेक पार्टीमा उस्तै देखिन्छन् । आज राज्यमा काँग्रेसले लिनु पर्ने एजेन्डा कम्युनिस्टले लिँदै गएको र कम्युनिस्टले लिनु पर्ने एजेन्डा कांग्रेसले लिएको व्यवहारिक रूपले देखिन्छ ।
कुनै समयमा नेपाली राजनीतिमा कांग्रेसको विकल्पका रुपमा आएको नेपाल कम्युनिस्ट पार्टी तत्कालीन एमाले आज, माओवादीसँगको टाउको जोडाइको कथित एकताको आडमा दुई तिहाइको दम्भले उन्मत्त भएको र हाल आएर पार्टी फुट्छ कि जुट्छ भन्ने दोवाटाेमा उभिएको छ ।
नेपालकाे राजनीतिमा जुटाउने भन्दा फुटाउनेको बिगबिगी छ । सत्ताको खिचातानीमा सिद्धान्त विना र निष्ठा बेगर भइरहकाे छ । राजनीतिक अन्योलता सृजना गरेर जनताहरू दिग्भ्रमित बनाउन विभिन्न तत्त्वहरू नेता मार्फत अराजक अवस्था सिर्जना गर्न प्रयत्न भइरहेकाे छ । तर आजको युवपुस्ता त्यति कमजोर र अन बुझन नसके जसरी मुकदर्शक बनि रहेको छ ।
सत्ता खिचातानी र शक्ति हत्याउन हर पार्टीमा तँछाड मछाड चलिरहेको छ । व्यक्ति केन्द्रित राजनीति संस्कृति हाव हुँदै छ । अध्यक्षताको पद पाएपछि बिसौँ वर्षसम्म त्यसको प्रजातान्त्रिक मूल्य मान्यता अनुसार चुनाव गर्न नपर्ने, समयमा विधान अनुसार आवधिक निर्वाचन नेतृत्व चयन हुन पर्नेमा समय अनुसार कुनै पार्टी विधि विधान अनुसार चलेको पाइँदैन ।
नमरुन्जेलसम्म एकै नेतृत्व हाबी हुने र त्यसैलाई प्रजातान्त्रिक पद्धतिबाट चलेको लोकतान्त्रिक पार्टी भन्नुपर्ने बाध्यता छ । समय परिस्थिति अनुसार जनता केन्द्रित शासन व्यवस्था भने आकाशकाे फल आँखा तरि मर सावित हुँदैछ । सो अनुसारको सिद्धान्त निष्ठा त्याग आचरण कोहीमा देखिदैन् । यस खालको आचरण शैली नेपालमा मात्र नभै दक्षिण एसियामै खडेरी देखिन्छ ।
बेला बेलामा बुद्ध भारतमा जन्मिएको हो भनी विश्वमा भ्रम फैलाउने मोदी सरकार, आफूलाई लोकतन्त्रको, धर्मको नाममा प्रखर हिमायती आफ्नो वर्चस्व र विरासत संसारमा फैलाउन चाहन्छ । भारत, दक्षिण एसियामै शक्तिको दम्भ प्रस्तुत गरी रहेछ । विषय जे हुन् जनताले हिजो पनि आज पनि उही पिडा भोगी रहेछन् ।
प्रधानमन्त्री केपी ओलीले जसरी चितवनको ठोरीमा राम जन्म भएको भन्नु भयो यो एउटा ठुलो राष्ट्रले गरेको हेपाई, पेलेर थिचिएको, मिचिएको सानो राष्ट्रप्रति गरिएको व्यवहारको प्रति उत्तरको नमुना हो । तर यो विशाल भौगोलिक, सांस्कृतिक भाषिक विविधता र प्रकृति छटाले सुसज्जित नेपाल, शिव र पार्वतीको तपोभूमी सानो भने पक्कै छैन ।
यसको हृदय विशाल र गहिरो छ । यो देश संसार देशकै छानो हो । यहाँका विशाल हिमालहरूको नदीनालाहरूको प्रकृतीसोतले नै मौसमी तथा जलवायु परिवर्तन हुँदै आएको छ । यसको व्यापकता विशाल र गहन, यसको राजनीतिक, आर्थिक सामाजिक सांस्कृतिक तरङ्गले संसारलाई नै तरंङ्गीत बनाउने क्षमता राख्दछ ।
यहाँनेर प्रश्न गर्न पर्ने हुन्छ भने 'हाम्रो वैदेशिक नीति के हो ? पञ्चशीलमा आधारित वैदेशिक नीति पनि अवलम्बन गरिएको जस्तो देखिदैन् । घरी भारत तिर त्वम् शरणम, भारतसँग राम्रो सम्बन्ध नभएपछि ढुलमुलीदै चीन तिरको एक चीन नीति, यस्तो खालको रवैयाले कसरी हाम्रो विदेश नीति स्थिर र दिगो रहन सक्छ । अशान्त, अस्थिर र अप्राकृतिक कृत्रिम व्यक्तिवादी सम्बन्धले, व्यक्ति र पार्टीकै हाबीमा संस्थागत दिगो वैदेशिक सम्बन्ध कहिले सम्म टिक्छ र ?
नेपालको वैदेशिक नीतिमा समय अनुकूल फेरबदल गर्नु आवश्यक छ । सबै देशप्रति समान व्यवहार र कूटनैतिक मर्यादाकाे ख्याल गर्नु पर्दछ । कसैलाई काखा र कसैलाई पाखा वा होच्याउने, हेप्ने गाली गलौच, अमर्यादित ढंगको व्यवहारले देशको कूटनीतिक सम्बन्धमा दिगो र दरिलोसँग स्थापित हुन सक्दैन । राष्ट्रको छवि र त्यस देशका जनताप्रति हेर्ने दृष्टिकोणमै फरकपन आई वर्तमान र भावी पुस्ताका लागि घातक बन्न सक्दछ ।
हालको भारत-नेपाल सम्बन्ध कर्तव्य विमूढको स्थितिमा छ । सम्बन्ध यस्तै जोडिने र पुनः तोडिने हो भने यस्ता सम्बन्धहरू बनाउन देशले गरेको कूटनीतिक पहल समय,साधन स्रोत र लगानीको के औचित्य रहन्छ र ? जनतालाई के फाइदा हुन्छ र ? सम्बन्ध तोड्न जति सजिलो छ, सम्बन्धलाई दिगो बनाई राख्न त्यत्तिकै गाह्रो हुन्छ। यो हेक्का सबै मा हुनु अति जरुरी छ ।
आज देशकाे स्वाधीनता र आत्मसम्मानमा चोट पुगेको छ । कूटनीतिज्ञहरूको कालापानी, लिम्पिया धुरा क्षेत्र प्रतिको सोच र त्यस सम्बन्धमा कूटनीतिक नोट लेखि वार्ताको लागि पहल गर्दा उल्टै होच्याएर वार्ता उपेक्षा गरी हेपेर नेपाल प्रति भारतले गरेको व्यवहार सामान्य कूटनीतिक पहल भन्दा निक्कै घटीया सावित हुँदैछ ।
जसले गर्दा अन्तर्राष्ट्रिय कूटनीतिकको सामान्य परिपालना पनि भएको देखिदैन् । यस्तो स्थितिको समयमै वार्ताद्वारा दुवै देशको प्रतिनिधिले इमानदारिताको साथै कूटनीतिक मर्यादा अनुसार अन्तर्राष्ट्रिय नियमको पालन गरी, यस्तो कर्तव्य विमूढको स्थितिलाई समयमै वार्ताको पुन पहल गरी सुल्झाउन आवश्यक छ ।
हाम्रो स्वाधीनताको रक्षा, प्रजातान्त्रिक उपलब्ध गतिविधिको संरक्षण, एवं हाम्रो देश समाजको सर्वोत्तम हित आर्थिक सामाजिक संबृद्धिकालागि सबै नेपाली, के हिमाल, के पहाड, के तराई सबै मिली एक भई, हाम्रा राष्ट्रिय समस्या समाधानमा एक हुनु आवश्यक छ ।
हाम्रा कमजोरीहरूमा टेकी हामीमाथि प्रहार हुने अवस्थालाई सबैले मनन गर्नु जरुरी छ । यसबारे दूरगामी अध्ययन, चिन्तन, मनन एवं व्यवहारिक अभ्यास हुनु नितान्त जरुरी छ । जो छलफल, वार्ताकाे माध्यमबाट मात्र सम्भव छ ।
अन्तमा यसरी नक्सा, सीमा, बुद्ध जन्मभूमिबारेको भ्रम छरेर एक अर्कामा अविश्वास, असमझदारीले न त राजनीतिक निकास नै दिन्छ । सनातन धर्मको नारा बोक्ने तर अहङ्कारी दाम्भिक सोच लिएर विना समावेशी एकछत्र शासन गर्न अगाडि बढ्छ भने धर्मशास्त्रको नीति नियम र पद्धतिलाई अस्वीकार गरी जीवन जगत् चलाउँछु भन्ने हो भने त्यो पूर्ण त निरर्थक मात्र हुन जानेछ । त्यसको औचित्य प्रकृतिले आफ्नै तवर तरिकाले नै समाप्त गरी दिन्छ ।
जसरी आज विश्वमा अमेरिका जस्ता शक्तिशाली राष्ट्रको पनि कोरोनाको महामारीले कसरी शक्तिको क्षयीकरण हुँदै मानव शक्ति ह्रास भै रहेको छ । आफूलाई शक्तिशाली संबृद्धशाली छु भनी अबका दिनमा कुनै व्यक्ति वा राष्ट्रले सोचेको छ भने समयले यसको जवाफ दिने नै छ ।
अव त, हातेमालो गरी संवृद्धि, सुख शान्ति सह–अस्तित्व र भाइ चाराको सम्बन्धले आ–आफ्नो धर्म संस्कृति, भाषाको निरन्तरता दिँदै, साधन, श्रम, सीप र उत्पादन वृद्धिमा जोड दिई आफ्नो सीमा सुरक्षामा सबलीकरण, जमिनको सदुपयोग र स्वदेशी उत्पादन र लगानीमा जोड दिँदै देश बनाउन आपसमा विश्वबन्धुत्वको भावना राख्दै बशुदैव कुटुम्ब, पञ्चशीलको सिद्धान्तलाई व्यवहारमा लागू गर्दै सकारात्मक सृजनशील सहिष्णात्मुक व्यवस्था र संम्बृद्धि नै आज देश र समाजको आवश्यकता हो ।
सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः सर्वे भद्राणि पश्यन्तः मा कश्चित् दुःख भाग्भवेत्।