बायर्न म्युनिखले जित्यो च्याम्पियन्स लिगको उपाधि, पीएसजी स्तब्ध

बायर्न म्युनिखले जित्यो च्याम्पियन्स लिगको उपाधि, पीएसजी स्तब्ध

लोकसंवाद संवाददाता  |  खेलकुद  |  भदौ ८, २०७७

जर्मन क्लब बायर्न म्युनिखले यस वर्षको च्याम्पियन्स लिग फुटबलको उपाधि जितेको छ । गएराति पोर्चुगलको लिस्बनमा भएको फाइनलमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई १–० ले स्तब्ध पार्दै बायर्नले उपाधि जितेको हो । 

स्टाडियो डा लुजमा खेलको ५९ औं मिनेटमा किङ्सले कोम्यानले गरेको गोल नै निर्णायक बन्यो । उनले जोसुवा किमिचको पासमा हेड गोल गरेका थिए । 

स्टार खेलाडीले भरिएको पीएसजीले केही राम्रा अवसरलाई सदुपयोग गर्न नसक्दा युरोपको सबैभन्दा ठूलो क्लब फुटबलको उपाधि जित्नबाट चुक्यो । 

खेलको १८ औं मिनेटमा केलियन एमबाप्पेको पासमा नेयमारले गरेको प्रहार बायर्नका गोलरक्षक म्यानुअल नोयरले उत्कृष्ट बचाउ गरे । त्यसपछि पनि दुवै टिमले पहिलो हाफमा पाएका केही राम्रा अवसरको सदुपयोग गर्न सकेनन् ।

यस सँगै बायर्नले छैटौं पटक पटक च्याम्पियन्स लिग फुटबलको उपाधि जित्न सफल भएको छ । पीएसजी भने फाइनलमा पुगेर पहिलो पटक च्याम्पियन्स लिगको उपाधि जित्नबाट बञ्जित भएको छ । यसअघि बायर्नले सन् १९७४, १९७५, १९७६, २००१ र २०१३ मा उपाधि जितेको थियो । (एजेन्सी)