क्यान्सर अस्पतालका सबै सेवा पुनः सञ्चालन

क्यान्सर अस्पतालका सबै सेवा पुनः सञ्चालन

लोकसंवाद संवाददाता  |  स्वास्थ्य  |  भदौ ८, २०७७

भरतपुर । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालबाट दिइने सबै सेवा आजदेखि पुनः शुरु भएका छन् । अस्पतालले एक सूचना जारी गर्दै स्वास्थ्यकर्मी र बिरामीमा कोरोनाको सङ्क्रमण देखिएपछि साउन ३२ गतेदेखि आकस्मिकबाहेकका सेवा बन्द गरेको थियो ।

अस्पतालका कार्यकारी निर्देशक डा देजकुमार गौतमले चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीको नमूना परीक्षण गरिसकिएकाले स्वस्थ कर्मचारीले आजदेखि काम गर्ने बताउनुभयो । परीक्षणका क्रममा १७ नर्स र चार सहयोगीलाई सङ्क्रमण देखिएको उहाँले बताउनुभयो । अस्पतालका सबै क्षेत्र पूर्णरूपमा निर्मलीकरण गरिसकिएको छ ।

अस्पतालका बहिरङ्ग सेवा नियमित गरिएको छ । यद्यपि अस्पतालमा आउनैपर्ने भए मात्र अस्पताल आउन अनुरोध गरिएको छ । अस्पतालले विशेषज्ञ चिकित्सकको नाम र टेलिफोन नम्बर सार्वजनिक गरेकाले आफ्ना रोगसँग सम्बन्धित विशेषज्ञ चिकित्सकलाई सकेसम्म टेलिफोन गरेर मात्रै आउन भनिएको छ ।

अस्पतालमा दैनिक ५० भन्दा बढी एम्बुलेन्स देशका विभिन्न क्षेत्रबाट आउने गर्दछन् । प्रदेश नम्बर २ को बढी सङ्क्रमित क्षेत्रबाट ठूलो सङ्ख्यामा बिरामी आउने गरेका छन् । यसबाट अस्पताल कोरोना सङ्क्रमणको उच्च जोखिममा रहेको गौतमले बताउनुभयो ।

यसैबीच  सो अस्पतालमा रहेको प्रयोगशालालाई व्यवस्थित गरी कोरोना परीक्षण थालिने भएको छ । कार्यकारी निर्देशक गौतमले भन्नुभयो, 'हामी दुईतीन दिनमै प्रयोगशाला सञ्चालनमा ल्याउने तयारीमा छौँ ।' प्रयोगशालालाई आवश्यक पर्ने रिएजेन्टहरु आइनपुगेकाले प्रयोगशाला सञ्चालन गर्न ढिलाइ भएको हो । 

अस्पतालले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा प्रयोगशाला सञ्चालन गर्ने विषयमा जानकारी गराइसकेको छ । आवश्यक जनशक्ति अस्पतालमै छन् । हाल जिल्लामा सरकारीतर्फ भरतपुर अस्पताल र निजीतर्फ चितवन मेडिकल कलेजले पिसिआर प्रयोगशाला सञ्चालन गर्दै आएका छन् । सरकारी प्रयोगशालामा नमूनाको चाप उच्च भएकाले नतिजा आउन एक सातासम्म कुर्नुपर्ने बाध्यता छ ।