लुम्बिनीका पर्यटन व्यवसायीको चिन्ता

लुम्बिनीका पर्यटन व्यवसायीको चिन्ता

लोकसंवाद संवाददाता  |  पर्यटन  |  भदौ ८, २०७७

लुम्बिनी । कोरोना महामारीको सङ्क्रमणबाट सबै क्षेत्र प्रभावित भइरहेका बेला विश्व पर्यटनको केन्द्र लुम्बिनीको पर्यटन प्रबद्र्धनका लागि स्थानीयवासी, पर्यटन व्यवसायी र लुम्बिनी विकास कोष हातेमालो गरेर अगाडि बढ्ने भएका छन् । लुम्बिनी वरिपरिका विभिन्न सङ्घसंस्थाका प्रतिनिधिको सहभागितामा आइतबार भएको छलफलमा सहभागीले स्थानीय जनता र व्यवसायीसँग हातेमालो गर्न जोड दिए । 

छलफलमा लुम्बिनी संरक्षण नागरिक समाजका अध्यक्ष मेघनाथ आचार्यल पर्यटन प्रबर्द्धनमा गरिने हरेक गतिविधिमा स्थानीयवासी सक्रियतापूर्वक साथ दिन तयार भएको बताउनुभयो । 

अग्रज पत्रकार हिमबहादुर विष्टले पर्यटन व्यवसायीसँग कोषको सहकार्य जरुरी रहेको बताउनुभयो । लुम्बिनी होटल सङ्घ नेपालका महासचिव लीलामणि शर्माले लुम्बिनीको विकासमा स्थानीय होटल व्यवसायी सधैँ हातमा हात मिलाएर अगाडि बढ्न तयार भएको बताउनुभयो ।

कोषका कामु सदस्य सचिव ज्ञानिन राईले कोरोना महामारीबाट पर्यटन क्षेत्रमा परेको असरलाई पार लगाउन स्थानीय र  पर्यटनव्यवसायीसँंग कोष सधैँ सहकार्य गरेर हिँड्न तयार भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘सम्यक दृष्टि र सम्यक संकल्पका साथ हामी काम गरिरहेका छौंँ । सबैको सहयोग र सहकार्यमार्फत कोरोना महामारीपछि संकट पार लगाउन सहज हुनेछ ।’ 

छलफलमा प्रदेशसभा सदस्य फकरुद्धिन खानले स्थानीयवासीको सहकार्यमार्फत नै लुम्बिनीको विकासमा टेवा पुग्ने बताउनुभयो । कोषका उपाध्यक्ष भिक्षु मैत्तेयले लुम्बिनी वरिपरिको विकास दीर्घकालीन विकास लक्ष्यसहित अगाडि बढेको बताउनुभयो ।