ब्रह्माण्ड मै समयका भिन्न गति : हिन्दु शास्त्रहरूमा विभिन्न लोकमा फरक फरक समयको व्याख्या

ब्रह्माण्ड मै समयका भिन्न गति : हिन्दु शास्त्रहरूमा विभिन्न लोकमा फरक फरक समयको व्याख्या

ज्ञानमित्र  |  ज्ञानविज्ञान  |  भदौ ८, २०७७

बीसौ शताब्दीको प्रारम्भिक वर्षमै आइन्स्टीनको सापेक्षतावादको सिद्धांतले  (थ्योरी अफ रिलेटीभिटी) हिन्दू धर्मको समय सम्बन्धी अवधारणालाइ पुष्टि गरेको थियो।

 'रिलेटीभिटी थ्योरी' भन्दा पहिला विज्ञानजगतमा न्युटनीय अवधारणाअनुसार ब्रह्माण्डभरी सर्वत्र समय एकनास गतिले प्रवाहित हुने गरेको विश्वास गरिन्थ्यो।  अर्थात ब्रह्माण्डभरी जुनसुकै ठाँउमा समय एउटै गतिले संचालित हुने मान्यतामा  विज्ञान अटल विश्वासी रहेको थियो।

आइन्स्टीनले समय सम्बन्धी पुरानो मान्यतालाइ ध्वस्त गर्दै समय फरक फरक  ठाँउमा फरक फरक गतिले व्याप्त हुने कुरा प्रमाणित गरे । वर्तमानको हाम्रो पुस्तालाइ त यहाँसम्म पनि थाहा छ ,हामी बसेको पृथ्वीमै अरब सागरको किनार र सगरमाथाको टुप्पोमा समय फरक गतिले बग्छ, यो बेग्लै कुरा हो यी  दुइ ठाँउमा  हुने  समयान्तर यति सूक्ष्म छ जसलाइ हामी आफ्नो  लौकिक बुद्धि-विवेकले छुट्याउन सक्दैनौ ।  तर सौर्यमण्डलका विभिन्न ग्रहमा हुने समय गतिको अन्तरालबारे सामान्य जानकारी भएको मानिसलाई  समयका  फरक फरक स्वरुपबारे  छर्लङ्ग  थाहा हुन्छ।

हामी बसेको पृथ्वीले आफ्नो परिधिको एक फन्को मोटामोटी २४ घण्टामा पूरा गर्छ, यही नै पृथ्वीमा  एक दिन (एक दिन एक रात) को अवधि हुन्छ।  अर्थात एक सूर्योदयदेखि अर्को सूर्योदय बीच २४ घण्टाको समयान्तर हुन्छ ,यही समयान्तर नै  हाम्रो एक दिन (एक दिन एक रात) हो।

तपाईहरुलाई थाहै छ दिन र रात हुनु प्राकृतिक घटना हो। सूर्योदय हुनु पनि प्राकृतिक घटना हो। तर एक सूर्योदयदेखि अर्को सूर्योदयसम्मको अन्तराल जसलाई मोटामोटी रूपमा हामी २४ घण्टा हुन्छ भन्छौ, समय मापनको यो घण्ट भन्ने यूनिट के हो ? के यो प्राकृतिक हो ?

सूर्योदय पश्चात दिन हुनु (उज्यालोले गर्दा) र सूर्यास्त पश्चात रात हुनु (अध्यारो भएकाले) र अध्यारो पश्चात् पुनः उज्यालो हुनु अर्थात दिन हुनु र यो चक्र अनवरत चली रहनु प्राकृतिक घटनाक्रम हो। तर दुइ सूर्योदय मध्ये २४ घण्टाको अन्तर अथवा १२ घण्टाको दिन र १२ घण्टाको रात निर्धारित गर्ने यो समय यूनिट 'घण्टा' के हो ?

पक्कै तपाई भन्नु हुन्छ ! घण्टा भनेको ६० मिनेट हो।  प्रश्न पुनः आउँछ यो मिनेट  के हो रु तपाईसंग जबाब छ-मिनेट भनेको ६० सेकेण्ड हो। प्रश्न एकपटक फेरी गर्दा तपाईका तूणीरका सबै उत्तर-प्रतिउत्तर रूपी बाण समाप्त हुन्छन्।  सेकेण्ड के हो ? यस प्रश्नसंग जम्काभेट हुँदा अधिकाँश मानिसको अवस्था तपाई र मेरै जस्तो हुन्छ।

यस विषयक थप चर्चा  गर्ने उपयुक्त ठाँउ यो होइन। लेख पूरा गर्न सके भने लेखको अन्ततिर कतै सेकेण्डको 'पोस्टमार्टम' अथवा अनुसन्धान गरौला। अहिलेलाइ अन्य चर्चा गर्दै यात्रा गरौ।

माथी उल्लेख  गरे, पृथ्वीमा एक दिन (एक दिन एक रात) अर्थात एक सूर्योदयदेखि अर्को सूर्योदयसम्मको समयान्तरले २४ घण्टाको हुन्छ।  पृथ्वीसँग एकमात्र प्राकृतिक उपग्रह छ , त्यों हो  चन्द्रमा ।  चन्द्रमामा भने एक दिनको अवधि पृथ्वीका २७ दशमलब ३ दिन बराबरी हुन्छन्।  भन्नुको अर्थ पृथ्वीमा एक दिनको अवधि २४ घण्टाको हुन्छ भने चन्द्रमामा यो अवधि भने झण्डै ६५५ घण्टाको हुन्छ।  अर्थात चन्द्रमामा झण्डै ३२७ घण्टाको दिन र यति नै समयको रात्रि हुन्छ। आउने केही दशकभित्रै चन्द्रमामा मानिसको आवागमन  र त्यहाँ बस्ने माहौल तैयार हुन्छ। कल्पना गर्नुस एकजना मानिस चन्द्र  धरातलमा  त्यहाँका १०० दिन बिताएर मातृ ग्रह पृथ्वी फर्किन्छ।  उसले त्यहाँ जम्मा १०० दिनको मौज मस्ती गरेको छ , तर उ पृथ्वीमा फर्किदा यहाँ २७०० दिन बितीसकेका हुन्छन् ।

'थ्योरी अफ रिलेटीभिटी'  भन्दा पहिला  हिन्दु धर्मका यी कथालाई विश्वास गर्नसक्ने विज्ञानसम्मत सोच, समझ , दृष्टिकोण, आधार वा परिकल्पना केही  पनि  थिएन।  तर 'रिलेटीभिटी थ्योरी'ले 'टाइम डाइलेसन' (समय चक्रमा हुने परिवर्तन) हुने कुरा भने पछि पुराणका कथा, कथा नै भए पनि तिनको वैज्ञानिक आधार रहेको र हिन्दुहरुलाई 'टाइम डाइलेसन'बारे थाहा भएको पुष्टि भयो।

यसैगरी बुध ग्रहको एक दिन पृथ्वीका ५८ दिन बराबरी हुन्छन्। तर बृहस्पति ग्रहमा यसको उल्टो हुन्छ। बृहस्पति ग्रहको एक दिन पृथ्वी भन्दा सानो जम्मा ९ घण्टा ३५ मिनेटको र शनि ग्रहको एक दिन जम्मा १० घण्टा ३४ मिनेटको हुन्छ।

हिन्दुहरुका अनेकौ धर्मशास्त्रमा विभिन्न लोकमा फरक फरक समय हुने चर्चा व्यापक रूपमा रहेको छ।  स्वर्गलोकको एक दिन पृथ्वीको एक वर्ष बराबरी हुन्छ र ब्रह्मलोकको एक दिन पृथ्वीका ४ अरब २९ करोड ४ लाख ८० हजार वर्ष बराबरी हुन्छ। अर्थात ब्रह्मलोकको एक घण्टा पृथ्वीका १७,८७,७०००० वर्ष र त्यहाँको एक सेकेण्ड पृथ्वीका ४९,८५८ वर्ष बराबरी हुन्छ।

राजा मुकुच्चनको कथा छ, उनी इन्द्रलाई सहायता गर्न स्वर्गलोक गए । स्वर्गलोकमा एक वर्ष बिताए पछि उनलाई आफ्ना रानी र छोराहरुको सम्झना आयो।  उनले इन्द्रसँग पृथ्वीमा फर्किने अनुमति मागे ।  इन्द्रले उनलाई भने-उनका रानी र छोरा त के उनको इक्षवाकु कुलको नै अस्तित्व बाँकी छैन अर्थात पृथ्वीमा हजारौं वर्षको समय व्यतीत भइसकेको छ।

अर्को कथा राजा ककुदमीको छ।  आफ्नो छोरी रेवतीको विवाह परामर्श हेतु छोरीलाइ लिएर उनी ब्रह्मलोक गए। ब्रह्माजीको आथित्यमा ५-७ मिनेट संगीत श्रवण पश्चात् उनले ब्रह्माजीसँग छोरीको विवाह हेतु परामर्श मागे। ब्रह्माजीले हाँस्दै  भन्नु भयो, तिम्रो पृथ्वीलोकमा त अनेको युग नै परिवर्तन भइसके,करोडो वर्ष बीतीसके । त्यहाँ त यतिखेर द्वापर युग आएर कृष्ण र बलरामको अवतार भएको छ। रेवतीको बिहे बलरामसँग भएको कथा छ। यस्ता अनेको कथा छन हिन्दु धर्मशास्त्रहरुमा जसले फरक ठाँउमा समयको गति फरक रहेको वर्णन गर्छन।

संसारमा रहेका अन्य कुनै पनि धर्मका शास्त्रले ब्रह्माण्डको उत्पत्तिबारे लाख वर्षभन्दा बढ़ीको कल्पना गरेको पाईँदैन। १००-१५० वर्ष पहिलासम्म विज्ञानले पनि ब्रह्माण्डको उत्पत्ति  केही लाख वर्ष पहिला मात्रै भएको विश्वास गर्थ्यो। विज्ञानले सौर्यमण्डल लगायत पृथ्वीको उत्पत्ति अरबौं वर्ष पहिला भएको हो  भन्ने पत्ता लाएको पुग नपुग १०० वर्ष भएको । ६०-७० वर्ष पहिला मात्रै 'बिग बैंग थ्योरी'को परिकल्पनाले ब्रह्माण्डको निर्माण झण्डै १४ अरब वर्ष पहिला भएको थाहा भएको थाहा हुन आयो । १०० वर्ष पहिला संसारको कुनै पनि उन्नत भन्दा उन्नत मस्तिष्कमा अरबौं  वर्षको सोच त के सपना पनि थिएन, जबकि हिन्दू शास्त्रले विभिन्न लोकमा हुने समयान्तर (टाइम डाइलेसन) कै वर्णन गर्दै आएको थियो ।  

'थ्योरी अफ रिलेटीभिटी'  भन्दा पहिला  हिन्दू धर्मका यी कथालाई विश्वास गर्नसक्ने विज्ञानसम्मत सोच, समझ , दृष्टिकोण, आधार वा परिकल्पना केही  पनि  थिएन।  तर 'रिलेटीभिटी थ्योरी'ले 'टाइम डाइलेसन' (समय चक्रमा हुने परिवर्तन) हुने कुरा भने पछि पुराणका कथा, कथा नै भए पनि तिनको वैज्ञानिक आधार रहेको र हिन्दुहरुलाई 'टाइम डाइलेसन'बारे थाहा भएको पुष्टि भयो।

समय चर्चा लामो नै गर्ने मूड छ। एउटै लेखमा धेरै प्रसंग आउँदा जटिलता हुन सक्छ, त्यसैले आजको चर्चा यही बिसाउदै  छु। अर्को लेखमा समयबारे थप चर्चा गर्नेछु ।