सङ्क्रमित थुनुवा आइसोलेसनबाटै फरार

सङ्क्रमित थुनुवा आइसोलेसनबाटै फरार

लोकसंवाद संवाददाता  |  अपराध  |  भदौ ८, २०७७

बाँके । जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका एक  कोरोना सङ्क्रमित थुनुवा आइसोलेसन केन्द्रबाटै फरार भएका छन् । कोरोना सङ्क्रमण देखिएपछि बाँकेको खजुराखुर्दस्थित कृषि तालीम केन्द्रको आइसोलेसनमा स्वास्थ्यलाभ गरिरहेका ती थुनुवा आइतबार फरार भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर रानाले जानकारी दिनुभयो ।

लागूऔषध कोरेक्स मुद्दाका ती थुनुवालाई यही भदौ ५ गते कोरोना सङ्क्रमण पुष्टि भएपछि कृषि तालीम केन्द्रको आइसोलेसनमा लगिएको थियो । पाँच सिसी लागूऔषध कोरेक्ससहित ती व्यक्ति पक्राउ परेका थिए । आइसोलेसनबाटै सङ्क्रमित थुनुवा फरार भएपछि खोजीका लागि सुरक्षा टोली परिचालन गरिसकेको प्रहरी उपरीक्षक रानाले बताउनुभयो । 

सङ्क्रमित थुनुवा फरार भएपछि आइसोलेसनको सुरक्षार्थ खटिएका प्रहरीलाई जिल्ला प्रहरी कार्यालयमा फिर्ता बोलाएर आवश्यक अनुसन्धान भइरहेको छ । उक्त आइसोलेसनमा प्रहरी सहायक निरीक्षकको नेतृत्वमा पाँच प्रहरी खटिएका थिए ।