निषेधाज्ञामा टोलटोलमा रक्तदान

निषेधाज्ञामा टोलटोलमा रक्तदान

लोकसंवाद संवाददाता  |  स्वास्थ्य  |  भदौ ९, २०७७

चितवन । जिल्लामा कोभिड–१९ का कारण रगतको अभाव भएपछि नेपाली युवा उद्यमी मञ्च चितवनले टोलटोलमा मोबाइल क्याम्प खडा गरी सोमबारबाट रक्तदान अभियान शुरु गरेको छ । मञ्चले पहिलो दिन दुई स्थानमा ३० युनिट रगत सङ्कलन गरेको छ ।
 
मञ्चका सदस्य अर्जुन रानाभाटका अनुसार पहिलो दिन भरतपुर महानगरपालिका–४ को लङ्कुक्षेत्रको अद्वैतचोक र धर्मचोकमा १५/१५ युनिट रगत सङ्कलन भएको छ । अभियानलाई निरन्तरता दिइने उहाँले बताउनुभयो । मञ्चका अध्यक्ष कृष्णप्रसाद सापकोटाका अनुसार यस अभियानमा एक स्थानमा १५ देखि २० जनाको मात्र रगत सङ्कलन गरिने छ । हाल जिल्लामा निषेधाज्ञा जारी छ । नेपाल सरकारको सङ्क्रमण ऐनभित्र रही सम्पूर्ण कार्य गरिने उहाँले जानकारी दिनुभयो ।

मञ्चले चितवन र छिमेकी जिल्लाका आ–आफ्नो टोलमा संयोजक गरी मिति, समय र टोलको नाम टिपाउन अनुरोध गरेको छ । सापकोटाले भन्नुभयो, 'यसमा हामी सबैको सहभागिता आ–आफ्नो टोलमा मात्रै रहने छ ।' अभियानअन्तर्गत आज गैँडाकोटमा रक्तदान कार्यक्रम गरिँदै छ । यसअघि लकडाउनको समयमा मञ्चले बटुवा र अस्पतालमा रहेकालाई खाना खुवाएको थियो । अहिले जिल्लामा रगतको चरम अभाव भएपछि रक्तदान अभियान शुरु गरिएको हो ।

रक्तसञ्चार केन्द्र भरतपुरका प्रमुख रमेशकान्त पौडेलले कोरोना त्रास र जोखिमका कारण रक्तदाताहरु रगत दिन डराएको बताउनुभयो । उहाँले भन्नुभयो, 'हामीसंँग जगेडा रगत छैन, बिरामीलाई चाहिएमा रगत सट्टापट्टा गरेर चलाएका छौँ ।' यसअघि दैनिक ६० पोकासम्म रगत सङ्कलन हुँदै आए पनि निषेधाज्ञापछि रगत सङ्कलन हुन छाडेको छ । अहिले आकस्मिक बिरामीका लागि पनि रगत पाउने अवस्था नभएको उहाँले बताउनुभयो । पौडेलका अनुसार जिल्लाका अस्पतालमा दैनिक औसत १५० युनिट रगत आवश्यक पर्छ ।

कार्यालयले यसअघि चितवनसँगै नवलपुर, बारा, सर्लाही, रौतहट, मकवानपुरलगायतका जिल्लाबाट रगत सङ्कलन गरेर ल्याउने गर्दथ्यो । अहिले ती जिल्लामा रक्तदान कार्यक्रम भएका छैनन् । रगतको अभावका कारण सुत्केरी र क्यान्सरका बिरामी बढी प्रभावित भएका छन् । बाहिरी जिल्लाबाट आएका बिरामीका आफन्तले यहाँ रक्तदाता जुटाउन मुस्किल पर्ने गरेको छ । कोरोना त्रासका कारण विगतमा रक्तदान गर्नेहरुसमेत अहिले डराएका छन् ।