जन्मकैदको फैसला भएको २० वर्षपछि पक्राउ

जन्मकैदको फैसला भएको २० वर्षपछि पक्राउ

लोकसंवाद संवाददाता  |  अपराध  |  भदौ ९, २०७७

म्याग्दी । बीस वर्षअघिको कर्तव्य ज्यान मुद्दामा अदालतबाट दोषी ठहर भएका म्याग्दीका एक व्यक्ति पक्राउ परेका छन् । धवलागिरि गाउँपालिका–३ (साविक मुना गाविस–७) दरका ४४ वर्षीय चन्द्रबल घर्तीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनलाई म्याग्दी जिल्ला अदालतको आदेशमा कारागार चलान गरिएको प्रहरी नायब उपरीक्षक किरनजङ्ग कुँवरले जानकारी दिनुभयो । 

घर्तीसमेतले २०५७ कात्तिक २१ गते दरका २२ वर्षीय गर्बे पाइजालाई मकैबारीमा बञ्चरो प्रहार गरी हत्या गरेको मुद्दामा अदालतले सोही वर्ष (जन्मकैद) को फैसला सुनाएको थियो । जिल्ला प्रहरी कार्यालयबाट खटिएको विशेष टोलीले घर्तीलाई आइतबार दरबाट पक्राउ गरेर बेनी ल्याएको थियो । अदालतमा पेश गरी सोमबार सजाय भुक्तानका लागि जिल्ला कारागार म्याग्दीमा चलान गरिएको प्रहरी निरीक्षक डाक्टरप्रसाद चौधरीले जानकारी दिनुभयो । 

प्रनाउ कुँवरका अनुसार पछिल्लो दुई महिनामा कर्तव्य ज्यान, डाकाचोरी, लागुऔषधलगायत मुद्दाका १३ फरार कसुरदारलाई पक्राउ गरिएको छ । दोषी ठहर गरेका व्यक्ति धमाधम पक्राउ पर्न थालेपछि अदालतको फैसला कार्यान्वयनमा सहयोग पुग्नुका साथै पीडितले न्यायको अनुभूति गरेका छन् । 

जिल्ला अदालतका अनुसार गत वर्ष कूल एक करोड सात लाख २० हजार २४७ रुपैयाँ जरिवाना असुलउपर गर्नुपर्नेमा ११ लाख ९५ हजार ८९८ रुपैयाँ असुलउपर भएको छ । यसैगरी  कूल एक हजार ४९ वर्ष सात महिना २९ दिन कैद सजाय असुलउपर गर्नुपर्नेमा १८८ वर्ष सात महिना २९ दिन बराबरको कैद असुलउपर भएको छ । जिल्ला प्रहरी कार्यालयसँग समन्वय गरेर फैसला कार्यान्वयनमा जोड दिइएको तहसिलदार धर्मराज सुवेदीले बताउनुभयो ।