भेन्टिलेटर र आइसियु सञ्चालन गर्ने जनशक्ति अभाव

भेन्टिलेटर र आइसियु सञ्चालन गर्ने जनशक्ति अभाव

लोकसंवाद संवाददाता  |  स्वास्थ्य  |  भदौ ९, २०७७

दाङ । कोरोना सङ्क्रमणको लक्षण देखिएका सङ्क्रमितको उपचार दाङमा हुन सकेको छैन । लक्षण देखिएका सङ्क्रमितको उपचारका लागि आवश्यक पर्ने भेन्टिलेटर र आइसियु वार्ड जिल्लाका अस्पतालमा भए पनि लक्षण देखिएका बिरामीलाई बुटवल पठाउने गरिएको छ । 

दाङको बेलझुण्डीमा प्रदेश नं ५ सरकारले स्थापना गरेको कोरोना विशेष अस्पताल र  घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरी आठ  भेन्टिलेटर र १५  आइसियु शय्या छन् । यी दुई अस्पतालमा भेन्टिलेटर र आइसियु शय्या भए पनि आवश्यक जनशक्ति र पर्याप्त बजेट नहुँदा प्रयोगमा आउन नसकेको अस्पतालले जनाएका छन् । 

कोरोना विशेष अस्पताल बेलझुण्डीमा पाँच भेन्टिलेटर र पाँच आइसियु शय्या छन् । यी शय्या सञ्चालन गर्न न्यूनतम ३०  चिकित्सकसहित स्वास्थ्यकर्मीको आवश्यकता पर्ने कोरोना विशेष अस्पताल बेलझुण्डीका सदस्य सचिव डा सर्वेश शर्माले जानकारी दिनुभयो । उपकरण भए पनि जनशक्ति नहुँदा जटिल प्रकृतिका बिरामीलाई अन्यत्र पठाउनुपरेको उहाँको भनाइ छ । 

'पिसिआर रिपोर्ट पोजेटिभ देखिए पनि लक्षण नदेखिएका सङ्क्रमितलाई मात्रै बेलझुण्डीको कोरोना विशेष अस्पतालमा राख्ने गरिएको छ भने गम्भीर अवस्थाका बिरामीहरुलाई बुटवल पठाउने गरिएको छ' , सदस्य सचिव शर्माले भन्नुभयो ।  लक्षणसहितका बिरामी धेरै नदेखिएकाले पनि जनशक्ति नथपिएको उहाँले बताउनुभयो । उपकरण तयारी अवस्थामा रहेकाले सक्रिय सङ्क्रमितको सङ्ख्या बढ्दै गएमा जनशक्ति थप हुने  उहाँको भनाइ छ । 

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा पनि तीन भेन्टिलेटर र १०  आइसियु शय्या राखिएको भए पनि प्रयोगमा भने आउन सकेको छैन । जनशक्ति नहुँदा सेवा दिन नसकिएको प्रतिष्ठानका रजिष्टार रामप्रसाद प्याकुरेलले जानकारी दिनुभयो । कोरोनाको कहरकै बीचमा भेन्टिलेटर र आइसियुका उपकरण ल्याइएको भए पनि प्रतिष्ठानसँग पर्याप्त बजेट नहुँदा जनशक्ति नभएको उहाँले बताउनुभयो । उपकरणको जोहो गरिए पनि त्यसलाई चलाउने जनशक्ति राख्न सरकारसँग बजेटको माग भइरहेको बताइएको छ ।