तस्करी मटर बरामद

तस्करी मटर बरामद

लोकसंवाद संवाददाता  |  अपराध  |  भदौ ९, २०७७

सप्तरी । हनुमाननगर कङ्कालिनी नगरपालिका नाकाबाट अवैधरुपमा ठूलो परिमाणमा भारततर्फ लैजाँदै गरिएको सेतो मटर सशस्त्र प्रहरीले गए राति बरामद गरेको छ । सशस्त्र प्रहरी सीमा सुरक्षा बलले भारततर्फ तस्करीका लागि डुङ्गामा लादिएको १७५ बोरा सेतो मटर बरामद गरेको सशस्त्र प्रहरी बल गण नम्बर ६ राजविराजका सशस्त्र प्रहरी उपरीक्षक राजु श्रेष्ठले जानकारी दिनुभयो । 

तस्करीका लागि तयार गरिएको मटरसहितका ६  डुङ्गा हनुमाननगर कङ्कालिनी–११ सखुवास्थित कोशीको स्पर छेउबाट नियन्त्रणमा लिइएको हो । गोप्य सूचनाका आधारमा खटाइएको टोलीले मटरसहितको डुङ्गा बरामद गरे पनि तस्कर फेला नपरेको सप्रउ श्रेष्ठले बताउनुभयो । प्रहरीका अनुसार एउटा बोरामा २५ किलो मटर छ । बरामद गरिएको मटरको मूल्य  दुई लाख ४७ हजार पाँच सय रुपैयाँ रहेको छ ।  सशस्त्र प्रहरीले भन्सार कार्यालय कुनौली बेल्हीमा बुझाउने तयारी भइरहेको जनाएको छ । 

सशस्त्र प्रहरीले गत साउन २३ गते पनि ५० बोरा मटर नियन्त्रणमा लिएको थियो । कोरोनाका कारण गरिएको लकडाउनले अन्य नाका प्रयोगमा कठिनाइ भएपछि तस्करले सप्तकोशी नदीलाई तस्करीको बाटाका रुपमा प्रयोग गर्न थालेका हुन् । तस्करले विभिन्न स्थानबाट मटर सङ्कलन गरी हनुमाननगर क्षेत्रस्थित गोदाममा भण्डारण गर्ने र राति डुङ्गामार्फत कोशी तारेर भारत पुर्‍याउँदै आएका छन् ।

नेपालमा सस्तो मूल्यमा पाइने मटर भारतमा राम्रो भाउमा बिक्ने गरेको छ । नेपालमा तेस्रो मुलुकबाट आयातीत मटरको तुलनामा प्रतिकिलो ५० रुपैयाँ कम पर्न थालेपछि भारततर्फ अवैध निर्यात बढेको हो ।