कोरोनाको कहर : भाइरस सर्ने त्रासले अमानवीय कुकृत्यकाे शरणमा !

घरघरमा आइपुगेको कोरोना भाइरसका कारण मानिस निकै नै त्रसित देखिन्छन् । तर यसबाट सजग र सावधानीमा भने अझै हेलचेक्र्याइँ गरेको पाइन्छ । कतिपय अझै पनि मास्क नलगाई हिड्डुल गरिरहेका छन् भने आफ्नो मान्छे, आफ्नो साथी, चिने जानेका मान्छे र आफ्नो कार्यालयको मान्छे भएपछि उसलाई कोरोना लागेको हुँदैन वा उसबाट सर्दैन भन्ने भ्रममा अधिकांशमा रहेका छन् । त्यसैले हामीले आफ्ना मान्छे, चिने जानेका मान्छे अनि साथीभाइलाई घरमा आउँदा सहजै स्वीकार गरिरहेका छौँ, सँगै बस्छौ, चिया गफ गर्छौँ र उस्तै परे सँगै टाँसिएर फोटो खिच्न पनि लालायित  भइरहेका छौँ । हामीलाई लाग्ने गर्छ, फलानोलाई पो कोरोना लाग्यो, मलाई कहाँ लाग्छ र ? यही भन्दै हामी नियमित हिँड्ने, डुल्ने कार्यलाई निरन्तरता दिइरहेका छौँ । 

कोरोना दिनप्रतिदिन भयावह हुँदै छ कि योसँग डराएर र मनमा अनेकौँ कुरा खेलाएर बस्नु भन्दा यो रोगसँग लड्नको लागि प्रतिरोधात्मक क्षमता बढाउनु र सतर्कता अपनाउनुको विकल्प हामीसँग छैन । कोरोना समुदायमा फैलिसकेको अवस्थामा कहाँबाट, कसरी र को बाट सर्छ भन्ने  कुराको टुङ्गो हुँदैन । कोरोना समस्याको समाधान अहिले नै हुने कुनै पनि सम्भावना देखिँदैन । कोरोनाले यति त्रस्त पारिसक्यो कि यदि कोरोना लागेर आफ्नै परिवारका कोही व्यक्तिको मृत्यु भएको छ भने पनि बिदाइ गरेर अन्त्यष्टी गर्न नसकिने र नपाइने अवस्था छ । 

मानिसमा यति धेरै डर त्रास पसिसक्यो कि घर भाडामा यदि डाक्टर, नर्स, पत्रकार, पुलिस राखेका छन् भने कतिले घरबाट हटाउन थाली सकेका छन् । यस्ता काम अमानवीय कार्य हुन् भन्ने थाहा हुँदा हुँदै पनि कोरोना लागेर मरिने हो कि भन्ने त्रासले यस्ता कुकृत्य गरिरहेका छन् ।

केही दिन पहिले छिमेकमा एक जना ७० नाघेका वृद्ध मानिसको कोरोनाका कारणबाटै मृत्यु भयो । स्थिति यति भयावह बनी दियो कि आफन्तजन, छिमेकी कोही पनि समवेदना प्रकट गर्न समेत उक्त घरमा नगएको अवस्था छ । काजक्रिया गर्दा आफन्तजनले ल्याएको ‘बिचार’बाट नै काजक्रिया बसेका छोरा, बुहारीले खाना खाने संस्कार र संस्कृतिमा पूर्ण बिराम लाग्यो ।  कोरोनाकै डरले गर्दा आफन्त र दाजुभाइले विचार पर्‍याउने हिम्मा गरेनन् । 

मानिसमा यति धेरै डर त्रास पसिसक्यो कि घर भाडामा यदि डाक्टर, नर्स, पत्रकार, पुलिस राखेका छन् भने कतिले घरबाट हटाउन थाली सकेका छन् । यस्ता काम अमानवीय कार्य हुन् भन्ने थाहा हुँदा हुँदै पनि कोरोना लागेर मरिने हो कि भन्ने त्रासले यस्ता कुकृत्य गरिरहेका छन् । मानिस आश्वस्त हुने ठाउँ कहीँ कतै देखिएको छैन । कोरोना भयो भने उपचार गर्न कम्तीमा ४ देखि ५ लाख सकिने सरकारले नै  जानकारी दिइरहेको छ । यो खर्च सरकारले नै व्यहोर्ने हो कि होइन त्यो पनि थाहा छैन । कत्ति बिरामीले आफै खर्च व्यहोरि रहेको पाइन्छ । निजी अस्पतालले यस्तो बेलामा पनि बिरामीसँग लाखौँ रुपैंया असुलिरहेका छन् । अन्य रोगको उपचार गर्न जाँदा पनि पहिलेको भन्दा बढी रकम तिर्नु परिरहेको सर्वसाधारण गुनासो बढ्दो छ । बिरामी हुँदा लाग्ने खर्च अथवा बिरामीले तिर्नु पर्ने रकमको कुनै निश्चित मापदण्ड छैन । निजी अस्पतालले यस्तो बेलामा पनि कालो धन्दा र व्यापार गरिरहेका छन् । सरकार भने मूकदर्शक भएर मात्र बसेको छ । 

यदि कोरोना भाइरस सङ्क्रमण भई हाल्यो भने आफ्नो शरीरले पाउने दुःख कष्ट त छँदै छ, त्यसमाथि समाजले गर्ने दुर्व्यवहार, अस्पतालले गर्ने ठगी देखेर पनि मानिसहरू यत्तिकै अत्तालिनु पर्ने अवस्था सृजना गरिँदै छ ।  उपचार गराउन पनि यो देशमा चिने जानेको आफ्नो डाक्टर हुनुपर्छ, हैन भने के हो के भनेजस्तो छ । यस अवस्थामा फ्याट बिरामी भइहाल्यो भने लौ के गर्ने हो भन्ने डरको आतङ्क छ । बुढाबुढी भएको घरमा डर उत्तिकै छ । मानिसको शरीर न हो कुन बेला के हुन्छ के भन्न सकिन्छ र ? यदि यस्तो बेलामा बिरामी भइयो र अकस्मात् इर्मन्जेसीमा लान पर्‍यो भने  अस्पताल नै पुग्न नपाई मर्नु पर्ने हो कि भन्ने डर ! मानिसमा पर्न थालेको छ ।

मधुमेह, क्यान्सर, मिर्गौला रोगी जो नियमित डाक्टरको सम्पर्कमा रहिरहनु पर्दछ यस्ता बिरामीले जहीँतहीँ निषेधाज्ञा र कोरोना डरले गर्दा नियमित स्वास्थ्य परीक्षणको कार्यबाट समेत बञ्चाीत हुनु परिरहेको छ ।  बिरामीलाई फ्याट्ट केही भइदियो भने यसको जिम्मा कसले लिने ? न जिम्मा लिने निकाय छ, न त क्षतिपूर्तिकै व्यवस्था छ । मान्छे मरेर गयो, सिद्धियो । अवस्था यति दयनीय र दुःखदायी बन्दै गएको छ ।  उपचार गर्न अस्पताल जाँदा झनै नभएको कुरा पनि हुने हो कि भन्ने डर हुने नै भयो । उपचार गर्न गएका बिरामी यति बेला, अस्पतालले दिने सेवा सुविधा र व्यवहारबाट ढुक्क हुन सक्ने अवस्था छैन । 

दिनहुँ कोरोना सङ्क्रमितको सङ्ख्या बढेको बढै छ । सरकारले ४ महिनाको लकडाउन पछि निषेधाज्ञा जारी गरेको छ । मानिसका गोजी  दिनप्रतिदिन खाली हुँदै गएको अवस्था छ । आम्दानी हुन सकिरहेको अवस्था छैन । यस्ता कुराले पनि मानिसमा दैनिकी चलाउन तनाव थपिदिएको छ । बैङ्कबाट क्रण लिएर घर बनाउने र व्यापार व्यवसाय गर्नेहरूको हालत चौपट नै बनेको छ । यस्तो अवस्थामा कर मिनाहा गर्नुको साटो हरेक कुरामा सरकारले कर लिइरहेको अवस्था छ । कर मात्र होइन समयमा नबुझाएको भन्दै विलम्ब  शुल्क असुली रहेको छ ।

टेलिफोन, बत्ती र पानीको समयमा रुपैंया बुझाउन नसक्दा सरकारले जरिवाना लगाएकै छ । कसैबाट सहयोग मागेर गुजारा चलाऊ भन्यो भने सबैको हालत उस्तै छ । यति धेरै पिडा लिएर कोही पनि मानिस बाँच्छ भने केही नभएको मानिस पनि बिरामी पर्नुका साथै विभिन्न खाले मानसिक समस्या देखा पर्न सक्छ । भुँइमान्छेका यस्ता समस्या प्रति जनता भने बेखबर नै छ । जनताको दुःख र पिडा रत्तीभर नबुझे यस्तो सरकार र नेता प्रति जनताको वितृष्णा थपिँदो छ । सरकार, जहिले सत्ता लुछाचुँडीमै लागिरहेका छन् । अभिभावकको भूमिका निर्वाह गर्नुपर्ने सरकारले आफ्नो भूमिका र जिम्मेवारी निर्वाह गर्न बिर्सिसकेको अनुभूति हुँदै छ ।

यस्तो अवस्थामा जनता नै स्वयं सजग र सचेत हुनुपर्ने अवस्था  छ । जसरी पनि रोगबाट बच्नुपर्छ । त्यसैले स्वास्थ्यको मापदण्ड अनुसार चल्ने, सामाजिक दुरी कायम गर्दै घरभित्र नै बस्नु नै उत्तम बकिल्प हो । अर्को ख्याल गर्नुपर्ने कुरा के हो भने आफ्ना मानिसबाट पनि सर्छ भन्ने कुराको ख्याल गर्ने । यस्ता अवस्थामा आफ्नो आचरणमा परिवर्तन ल्याउँदै सकारात्मक कुरा सोचाई विकास गर्नु जरुरी हुन्छ । नियमित व्यायाम, सन्तुलित भोजन अर्को सर्त हो । कोरोनाबाट आफैँ बच्ने र सावधानीका उपाय हुन यी । यसो गर्न सके मात्र जीवनका अन्य योजनाहरू साकार पार्न सकिनेछ । अरु कामलाई निरन्तरता दिन सकिनेछ ।