क्लबका पदाधिकारीलाई मेस्सीले भने : बार्सिलोना छाड्न चाहन्छु

क्लबका पदाधिकारीलाई मेस्सीले भने : बार्सिलोना छाड्न चाहन्छु

लोकसंवाद संवाददाता  |  खेलकुद  |  भदौ १०, २०७७

अर्जेन्टिनी स्टार लियोनल मेस्सीले बार्सिलोना छाड्ने बताएका छन् । बार्सिलोनाका पदाधिकारीलाई भेटेर उनले आफू क्लब छाड्न इच्छुक रहेको बताएको स्पेनिस पत्रिका मार्काले जनाएको छ । 

उनले बार्सिलोनाका पदाधिकारीलाई क्लब छाड्ने मार्ग प्रशस्त गरिदिन अनुरोध समेत गरेका छन् । 

नयाँ प्रशिक्षक रोनाल्ड कोम्यान आएपछि उनले मेस्सीलाई मनाउन कोशिस गरेपनि उनी असफल भएका छन् । च्याम्पियन्स लिगको क्वार्टर फाइनलमा बार्सिलोना बायर्न म्युनिखसँग ८–२ को फराकिलो अन्तरले पराजित भएपछि मेस्सी क्लब छाड्ने मनस्थितिमा पुगेका छन् । 

बार्सिलोनासँग अझै १ वर्ष सम्झौता बाँकी रहेपनि उनले क्लब छाड्ने मनस्थिति बनाएका हुन् । मेस्सीलाई अनुबन्ध गर्न युरोपका केही ठूला क्लब इच्छुक रहेका छन् ।

इंग्ल्यान्डको म्यान्चेस्टर सिटी, इटालियन क्लब इन्टरमिलान र फ्रान्सेले क्लब पीएसजीले मेस्सी अनुबन्ध गर्न चासो देखाएका छन् । मेस्सीले नयाँ प्रशिक्षक कोम्यानलाई नयाँ सिजनमा आफूलाई बार्सिलोनाको योजनाभन्दा बाहिर राख्न सुझाव समेत दिएका छन् । 

बार्सिलोनका अध्यक्ष जोसेप मारिया बर्टोमेउले मेस्सीले आफ्नो खेल करिअर बार्सिलोनामा नै अन्त्य गर्ने बताएका थिए । उनी आगामी मार्चमा पुनः अध्यक्षमा चुनाव लड्ने योजनामा छन् । मेस्सीको बहिर्गमन भए उनलाई अप्ठ्यारो पर्न सक्ने अनुमान गरिएको छ ।