एक सातादेखि सुनको मूल्यमा लगातार गिरावट

एक सातादेखि सुनको मूल्यमा लगातार गिरावट

लोकसंवाद संवाददाता  |  कारोबार  |  भदौ १०, २०७७

काठमाडौँ । नेपाली बजारमा पछिल्लो एक सातादेखि पहेँलो धातुको मूल्यमा निरन्तर गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार यही भदौ ३ गतेदेखि स्थानीय बजारमा सुनको मूल्यमा निरन्तर गिरावट आएको छ ।
 
गत बुधबार प्रतितोला रु एक लाख ४०० पुगेको छापावाला सुनको मूल्य त्यसयता लगातार घटिरहेको छ । एक सातामा नेपाली बजारमा सुनको मूल्य प्रतितोला  तीन हजार ६०० ले घटेको छ । महासङ्घका अनुसार आज पनि छापावाला सुनको मूल्य प्रतितोला  ४०० ले घटेको छ । बुधबारका लागि छापावाला सुनको मूल्य प्रतितोला  ९६ हजार ८०० र तेजाबी सुनको मूल्य प्रतितोला  ९६ हजार ३०० तोकिएको छ । मङ्गलबार छापालावा सुनको मूल्य प्रतितोला  ९७ हजार २०० र तेजाबी सुनको मूल्य प्रतितोला  ९६ हजार ७०० थियो । यस्तै चाँदी पनि प्रतितोला १० ले घटेर तोलाको एक हजार ३१० पुगेको छ ।
 
पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य ओरालो लागेकाले स्थानीय बजारमा पनि त्यसको प्रभाव परेको महासङ्घले जनाएको छ । पछिल्ला केही महिनादेखि सुनको मूल्यमा उच्च वृद्धि हुँदै आएको थियो । नेपाली बजारमा गत साउन २३ गते सुनको मूल्य अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको थियो । त्यसदिन छापावाला सुनको मूल्य प्रतितोला  एक लाख तीन हजार ५०० र तेजाबी सुनको मूल्य एक लाख तीन हजार पुगेको थियो ।