सन्दीप लामिछानेले २ विकेट लिए, तर जमैका तल्लावाज पराजित

सन्दीप लामिछानेले २ विकेट लिए, तर जमैका तल्लावाज पराजित

लोकसंवाद संवाददाता  |  समाचार  |  भदौ ११, २०७७

क्यारेबियन प्रिमियर लिग क्रिकेटमा जमैका तल्लावाज पराजित भएको छ । राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेले २ विकेट लिएको खेलमा उनको टोली जमैका भने पराजित भएको हो । 

सीपीएल क्रिकेटमा यो उसको तेस्रो हार हो । ट्रिनिडाड एण्ड टोबेगामा भएको खेलमा जमैका बर्बाडोस ट्राइडेन्ससँग पराजित भएको हो । 

पहिले ब्याटिङ गरेको बर्बाडोसले ७ विकेटको क्षतिमा १४८ रन बनाएको थियो । उसका लागि केयल मेयर्सले बिस्फोटक ब्याटिङ गर्दै ८५ रन जोडेका थिए भने मिसेल सेन्टनरले २० रन बनाए । अन्य खेलाडीले भने उल्लेख्य प्रदर्शन गर्न सकेनन् । 

जमैकाका मुजिद उर रेहमानले ३ तथा सन्दीप लामिछानेले २ विकेट लिए । फिडेल इडवार्ड र कार्लोस ब्रेथवेटले एक–एक विकेट हात पारे । सन्दीपले ४ ओभर बलिङ गर्दै १६ रन दिएर २ विकेट लिएका हुन् । 

१ सय ४९ रनको लक्ष्य पछ्याएको जमैकाले ९ विकेट गुमाएर १ सय १२ रन मात्र बनाउन सक्यो । नक्रमा बोनरले ३१ रन बनाएपनि अन्य खेलाडीले राम्रो रन जोड्न सकेनन् । जमैकाले खेलेका ५ मध्ये ३ खेलमा हार र २ खेलमा जीत हात पारेको छ ।