किसानलाई अलैँचीको चटारो,  उत्पादन बढ्यो, भाउ छैन

किसानलाई अलैँचीको चटारो,  उत्पादन बढ्यो, भाउ छैन

लोकसंवाद संवाददाता  |  कारोबार  |  भदौ ११, २०७७

इलाम । बेँसी र चुरे क्षेत्रका किसानलाई यतिबेला अलैँचीको चटारोले छोपेको छ । अलैँचीको सिजन शुरु भएकाले टिप्ने र छोडाउने कामको चटारो परेको हो । मौसम नबिग्रिएको ९पानी नपरेका० ले अहिले अलैँची टिप्न उपयुक्त भएको किसानको भनाइ छ । गएका वर्षामा यो सिजनमा पानी परेकाले अलैँची कुहियो । तर, यो वर्ष घाम लागेकाले समस्या छैन । किसानका अनुसार यो वर्ष  उपयुक्त मौसम भएकाले  अलैँचीमा उल्लेखीय फल देखिएको छ ।

रोग नदेखिएको र अलैँची राम्रो पाकेकाले उत्पादन दोब्बर हुने अनुमान रहेको माइजोगमाईस्थित मलुमझुवाका किसान राम आचार्य बताउनुहुन्छ । आचार्यका अनुसार यो वर्ष वैशाखदेखि असारसम्म अलैँचीलाई आवश्यक पर्ने पानी परेकाले उत्पादन बढेको हो । 'भार्लाङ जातको अलैँची राम्रो फलेको छ', आचार्यको भनाइ छ ।

विगतका वर्षमा रोगले शिथिल बनाए पनि यस वर्ष अलैँचीमा रोग देखिएको छैन । 'टिप्ने र छोडाउने काम एकैचोटी चलेको छ । उत्पादन बढेको छ', आचार्यले भन्नुभयो । गत वर्ष छ मन (एक मनमा ४० किलो) भएकामा यस वर्ष १० मन अलैँची हुने उहाँको अनुमान छ । उत्पादन बढे पनि अलैँचीको भाउ नआएकाले किसान निराश छन् । खेती प्रविधिमा सुधार गरेर किसानले अलैँचीको उत्पादन बढाए पनि विगतका वर्षमा भन्दा यस वर्ष भाउ खुम्चिएको छ ।

कोरोनाले समस्यामा पारेकाले अलैँचीको प्रतिमन रु ३० हजार पुग्न सकेको छैन । खेतबारीको अधिकांश भागमा अलैँचीखेती नै लगाएकाले बजार मूल्यमा नै बेच्न बाध्य हुनुपरेको माइजोगमाई–१ नयाँबजारका किसान धर्म भट्टराई बताउनुहुन्छ । अलैँचीको तालिमपछि आफूले खेतीमा सुधार ल्याए पनि कम मूल्यमा अलैँची तौलिनुपरेको भट्टराईको दुखेसो छ ।

भट्टराईको यस वर्ष मात्रै १५ मन अलैँची उत्पादन हुने अनुमान छ । तर भाउ २० हजारकै अुनपातमा भएकाले आम्दानी धेरै नहुने उहाँ बताउनुहुन्छ । विगतका वर्षमा अलैँची कम उत्पादन हुँदा अलैँचीको भाउ प्रतिमन  एक लाखसम्म पुगेको थियो तर अहिले भाउ घटे पनि किसानले अलैँची खेती गर्न छाडेका छैनन् । किसानको उल्लेखीय आम्दानी दिने बालीमा पर्ने अलैँचीमा अन्य खेतीको तुलनामा लागत कम पर्छ । त्यसैले वर्षेनी भाउ घटे पनि अलैँचीको उत्पादनमा गिरावट नआउने गरेको रोङ गाउँपालिकाका किसान कुमार मोक्तान बताउनुहुन्छ । गएका वर्षमा पाँच मन हाराहारीमा अलैँची उत्पादन गर्नुभएका मोक्तानको यस वर्ष आठ मन हुने अनुमान छ ।

दशकअघि पनि अहिलेजस्तै अलैँची उत्पादन हुन्थ्यो तर बीचका केही वर्ष मासिएपछि सशङ्कित हुँदै किसानले अरू खेतीमा प्राथमिकता दिएका थिए । अहिले भने फेरि किसान अलैँचीमै लागेका छन् । विभिन्न सङ्घसंस्था र स्थानीय सरकारले अलैँचीमा प्रविधि र तालिम ल्याएपछि किसान अलैँचीमा लागेका अलैँची व्यवसायी सङ्घका केन्द्रीय सचिव मातृका घिमिरे बताउनुहुन्छ ।