काँग्रेस सभापति शेरबहादुर देउवा 'निधी प्रवृत्ति' बाट टाढा रहन सक्नु हाेला र !?

काँग्रेस सभापति शेरबहादुर देउवा 'निधी प्रवृत्ति' बाट टाढा रहन सक्नु हाेला र !?

शुभराम बस्नेत  |  दृष्टिकोण  |  भदौ ११, २०७७

नेपाली काँग्रेसमा महाधिवेशनको सरगर्मी बिस्तारै बढ्न थालेको छ । आउँदो चैत्रमा १४ औँ महाधिवेशनको मिति तय भएसँगै सभापतिका आकाङ्क्षीहरू पानीभित्र माछा सलबलाए झैँ सलबलाउन थालेका छन् । यस क्रममा आगामी महाधिवेशनबाट सभापति बन्ने आफ्नो गुप्त इच्छालाई उपसभापति विमलेन्द्र निधीले सबैभन्दा पहिले सार्वजनिक गर्नुभयो । निधीले सभापतिमा उठ्छु भने पछि मात्र गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह, शशाङ्क कोइरालाका स्वरहरु सतहमा आएका हुन् । जगजाहेरै छ, पार्टीभित्र सधैँभरि मनोनीत भएर राजनीतिक सिँढी चढ्दै आउनु भएका निधि सधैँ पार्टी सभापति शेरबहादुर देउवासँग निकट देखिनुहुन्छ । तर, सारमा उहाँ जीवनभर कहिल्यै देउवाका परम हितैषी हुन सक्नु भएन ।  आफैँलाई सभापतिको प्रत्याशी घोषणा गरेपछि देउवासँग उहाँको दुरी एक हदसम्म टाढा भएको छ । सभापति देउवाले पनि निधीको असलियत चिन्ने अवसर जुरेको छ । सभापति देउवाले यो अवसर गुमाउनु भयो भने आगामी दिनमा यस्तो समय फेरि कहिल्यै आउने छैन । 

निधीलाई च्याप्नका लागि देउवाले स्वर्गीय खुमबहादुर खड्कालाई उपसभापति बनाउने बाचा बन्धन तोड्नु भयो । गोपालमान श्रेष्ठलाई छोड्नु भयो । १३ औँ महाधिवेशनको सम्मुखमा देउवाले आफू सभापति भएको तीन महिनाभित्र ‘तिमीलाई उपसभापति बनाएरै छाड्छु’ भनेर खड्काको साथ लिनु भएको थियो । खड्काकै जोड बलका कारण देउवालाई सभापति जित्न सहज भयो । त्यो महाधिवेशनमा खड्का पार्टीभित्र एक नम्बर मत ल्याएर केन्द्रीय सदस्य हुनु भएको थियो । तर, भारतीय खुफिया एजेन्सीको निर्देशनमा निधीले पार्टी सभापति देउवालाई आफ्नो प्रभावमा पारेर खड्कालाई उपसभापति बन्न दिनु भएन् । 

खड्का जीवितै छँदा यस पङ्क्तिकारसँग सानेपास्थित उहाँकै निवासमा ०६९ असार १४ गतेको बिहान भन्नु भएको भयो, ‘शेरबहादुर देउवाले भातृ सङ्गठन, शुभेच्छुक संघ संस्थामा मनोतिन गर्ने व्यक्तिहरू टिमका नाममा लिए पनि सबै विमलेन्द्र निधीलाई जिम्मा लगाए । निधिले हाम्रा मान्छे जति बढार्ने र उसका मान्छेलाई एकलौटी मनोनीत गरिरहेको छ । यसले गर्दा हामीलाई राजनीति गर्न ग्राहो भयो । त्यसैले अब म देउवासँग रहन सक्तिन । देउवाले नबुझेको कुरा के हो भने अहिले भारतलाई मिलाउनका लागि निधिलाई च्यापी रहेका छन् । भोलि देउवालाई सिद्ध्याउने पनि यही (निधी) नै हुन्छ ।’ खड्काका मुखबाट यस्तो कुरा सुने पछि मैले उहाँलाई भनेको थिए,‘तपाईँहरू दुवै जना (देउवा–खड्का) एकै ठाउँमा हुनु पर्छ । नत्र आउँदो महाधिवेशनमा देउवाले सभापति जित्न सक्नु हुन्न ।’

निधीले गृह मन्त्री भएका बेला नागरिकता विधेयक ल्याएर तराई/मधेसमा ठुलो सङ्ख्यामा गैर नेपालीलाई नागरिकता वितरण गर्न खोज्नु भएकै हो । त्यसमा उहाँ सफल हुन सक्नु भएन । नेपाली काँग्रेसले तराई/मधेसमा नागरिकता पाएकाहरूले पाँच वर्षसम्म निर्वाचन लड्न नपाउने अडान लिएको थियो । तर, निधी नागरिकता लिएकै दिनबाट चुनाव लड्न पाउनु पर्छ भन्दै देउवा निवास  धाइरहनु भएको थियो ।  

यसपछि म सानेपाबाट सिधै देउवा निवास बुढानीलकण्ठ पुगे । उहाँ भेटघाटमा व्यस्त हुनुहुन्थ्यो । मैले भानु दाइ (देउवा) लाई भने ‘शेरबहादुर अंकलसँग एउटा जरुरी कुरा छ । मलाई अरुलाईभन्दा पहिले भेट मिलाई दिनु पर्‍यो ।’ भानु दाइले तुरुन्तै समय मिलाई दिनु भयो । समय पाएपछि सभापति देउवा समक्ष कुरा राखे, ‘अंकल म सानेपाबाट आउँदैछु । खुमबहादुर खड्का अब म देउवासँग रहन सक्तिन । विमलेन्द्र निधीलाई बोकेर देउवाले हामीलाई पाखा पार्ने काम गरिरहेका छन् । निधीको मनोमानी सहन सकिन्न । निधि भारतीय खुफिया एजेन्सीको प्रतिनिधि हो भन्ने देउवाले बुझ्नै सकेनन । देउवाका लागि एक दिन निधि नै घाँडो हुनेछ भन्दै हुनुहुन्छ । तपाईँले निधीलाई मात्र किन च्यापिरहनु भएको हो ?’

बैठक कोठाकै आडको लबीमा बसेर मैले देउवासँग यी कुराहरू भनेको थिए । बैठक कोठामा छिरेर निधीले हामीबिच भएका सबै कुरा सुनिरहनु भएको थियो ।  ०७४ चैत्र १६ गते खड्काको निधन भइसकेको छ । तर, १४ औँ महाधिवेशनमा निधीले देउवासँगै प्रतिस्पर्धा गर्ने घोषणा गर्नुले खड्काको भविष्यवाणी विस्तारै पुष्टि हुँदैछ । यसर्थ श्रद्धेय सभापति देउवाले 'निधी प्रवृत्ति'बाट अब टाढै बस्नु जरुरी छ । सभापति देउवासँग गोपालमान श्रेष्ठ, विजयकुमार गच्छेदार, पूर्णबहादुर खड्का, बालकृष्ण खाँड, विश्वप्रकाश शर्मा, प्रकाश शरण महत, एनपी साउद, रमेश लेखक, मोहनबहादुर बस्नेतलगायत प्रतिभा वान भएका एकसे एक नेताहरू हुनु हुन्छ ।  त्यसैले निधीले घुर्क्याउँदैमा सभापति देउवा लुत्रुक्क पर्न जरुरी छैन । 

०५९ माघ १९ गते तत्कालीन राजा ज्ञानेन्द्र शाहले शासन आफ्नो हातमा लिएपछि शेरबहादुर देउवालाई हिरासतमा राखिएको थियो । त्यो कठिन अवधिमा समेत गोपालमान श्रेष्ठले तत्कालीन नेपाली काँग्रेस प्रजातान्त्रिकको ११ औँ महाधिवेशन गराएर जेलमा रहेका देउवालाई नै सभापति बनाउनु भएको थियो । त्यस बेला श्रेष्ठ उपसभापति हुनुहुन्थ्यो । श्रेष्ठले चाहनु भएको भए आफैँ सभापति हुन सक्नु हुन्थ्यो । देउवाको अनुपस्थितिमा समेत श्रेष्ठ शक्ति हत्याउनतिर लाग्नु भएन  । कालान्तरमा तिनै श्रेष्ठलाई निधिले १३ औँ महाधिवेशनपछि उपसभापति बन्नबाट रोक लगाउन सफल हुनु भयो ।  देउवालाई आफ्नो प्रभावमा राखेर निधिले सधैँ शक्तिको दुरुपयोग गरिरहनु भएको छ । आफूभन्दा अगुवा र पछिल्लो पुस्ताका काँग्रेसका सम्भावित उत्तराधिकारीको राजनीतिक भविष्य सिद्ध्याउने कार्यमा सधैँ संलग्न हुनु निधीको मौलिक चरित्र नै हो । 

सभापति देउवाको छत्रछायामा बसेर भातृ सङ्गठन, शुभेच्छुक संस्थामा आफू अनुकूलका पात्रहरूलाई ‘फिट’ गरी पार्टी संरचनालाई कब्जा गर्दै जाने नियत निधीले सधैँभरि देखाइरहनु भयो । उहाँले पार्टी सभापति देउवालाई बलियो बनाउनुको साटो एकपछि अर्को गलत सल्लाह दिएर कमजोर बनाउँदै लैजाने नीति अख्तियार गरिरहनु भएको छ । निधीकै दबाबले सभापति देउवा राजीव ढुङ्गानालाई नेपाल विद्यार्थी सङ्घको अध्यक्ष बनाउन बाध्य हुनु भयो । निधिले सुरुमा नेपाल विद्यार्थी सङ्घको अध्यक्ष ३२ वर्ष मुनीका युवालाई बनाउनु पर्ने अडान लिनु भएको थियो । पछि आफू निकटका ढुङ्गानालाई अध्यक्ष बनाउने हो भने ५० वर्ष नाघेकै भए पनि हुन्छ वातावरण सृजना गर्नु भयो । यो पङ्क्तिकारको व्यक्तिगत रुपमा निधीप्रति कुनै पुर्बाग्रह छैन । यद्यपि नेविसंघको असली कार्यकर्ता भएर वर्षौँदेखि निधिको नियत र प्रवृत्ति बुझेको हुनाले ढुक्कले भन्नु सक्छु, निधी ‘सेटिङ’ मा चल्ने एक पात्र हुनुहुन्छ । 

सभापति भएपछि देउवालाई विवादमा ल्याउने पहिलो पात्र निधी नै हुनुहुन्छ । नेपाली काँग्रेसको नीति तथा प्रशिक्षण विभाग सबैभन्दा पहिले निधीले नै लिनु भयो । त्यस बेला काँग्रेसको सङ्गठन विभागलाई ‘काउन्टर’ दिने उहाँको नीति थियो । नेपाली काङ्ग्रेसभित्र विगतमा २५ वटा विभाग थिए । भर्खरै पार्टी केन्द्रीय समितिको बहुमतले निर्णय गरेर ४५ वटा विभाग पुर्‍याइएको छ । यी विभाग बढाउन देउवालाई दबाब दिने मध्येका एक पात्र निधी हुनुहुन्छ । यस बेला सभापति देउवालाई धेरै वटा विभाग बनाएको आक्षेप लागिरहेको छ । रामचन्द्र पौडेल समूहले यस्तै विषयलाई लिएर अनसन बस्नेतसम्मको चेतावनी दिइरहनु भएको छ । तर, सभापति देउवाको कदमको बचाउमा निधीले एक शब्द खर्च गर्नु भएको छैन । 

निधी उपप्रधान तथा गृह मन्त्री भएका बेला नेपाल प्रहरीमा नयाँ महानिरीक्षक नियुक्त हुँदै थिए । त्यस बेला सभापति देउवाले जयबहादुर चन्दलाई प्रहरी महानिरीक्षक बनाउन चाहनु भएको थियो । तर, निधीले नवराज सिलवाललाई महानिरीक्षक नबनाउने भए राजीनामा दिन्छु भन्दै सभापति देउवा समक्ष घुर्की लगाउनु भएको थियो । साथै सभापति देउवालाई बुझाएको राजीनामा स्वीकृत नहोस् भनेर तारतम्य पनि मिलाई रहनु भयो । निधीले गृह मन्त्री भएका बेला नागरिकता विधेयक ल्याएर तराई/मधेसमा ठुलो सङ्ख्यामा गैर नेपालीलाई नागरिकता वितरण गर्न खोज्नु भएकै हो । त्यसमा उहाँ सफल हुन सक्नु भएन । नेपाली काँग्रेसले तराई/मधेसमा नागरिकता पाएकाहरूले पाँच वर्षसम्म निर्वाचन लड्न नपाउने अडान लिएको थियो । तर, निधी नागरिकता लिएकै दिनबाट चुनाव लड्न पाउनु पर्छ भन्दै देउवा निवास  धाइरहनु भएको थियो ।  

मधेसमा अरु नेता नछिरुन् भनेर निधी एक्लो मसिहा बन्न खोजिरहनु भएको छ । एक्लो नेता बन्ने उद्देश्यअनुरूप नै उहाँले समयमै विजय गच्छदारलाई पार्टी प्रवेशमा रोक लगाउने अनेकन् प्रयत्न गर्नु भएको थियो । निधीले गरेको गल्तीकै कारण काँग्रेसले मधेसमा जनमत गुमाउनु पर्‍यो । उहाँ आफैँले आफ्नो साख जोगाउन सक्नु भएन । पछिल्लो समय तराई मधेसमा निधीको साख पूर्ण रुपमा गुमेको अवस्था छ ।  विजय गच्छेदार नेपाली काँग्रेसको मूल घरमा फर्किएसँगै तराई/मधेसमा गुमेको काँग्रेसी साख जुर्मुराएर उठ्दै छ । गच्छेदार उपसभापति सहित ११ जना केन्द्रीय सदस्य, दुई सय ३५ जना महासमिति सदस्य, २५ हजार सक्रिय सदस्यता लिने सहमतिसँगै मूल घरमा फर्केको लामै समय बितिसकेको छ । गच्छेदारको पुनरागमनपछि निधीसँग तराई मधेसको विरासत बाहेक केही बाँकी छैन ।  

पार्टीका धेरै वरिष्ठतम नेताहरूलाई पाखा लगाएर सभापति देउवाले निधीलाई उपसभापतिको पद दिनु भएको थियो । उपसभापति पाएदेखि नै निधीले सक्कली अवतार देखाउन थाल्नु भयो । क्षेत्रीयतावादी समूहहरूले आफ्नै मुलुकमाथि नाकाबन्दी गर्दा/गराउँदा काँग्रेसलाई मौन बस्न बाध्य बनाउने निधी नै हुनु हुन्थ्यो । नाकाबन्दीको मौनताले काँग्रेसलाई कति नोक्सान पुर्‍यायो ? जगजाहेरै छ । तराई मधेसका जनताको भावनाविरुद्धका गतिविधिमा सरिक भएर निधीले कुन शक्तिलाई खुसी बनाइरहनु भएको छ ? समयले अवश्य नै समीक्षा गर्ला । पार्टीभित्रको एकताका पक्षमा निधीको जिब्रो चलेको कांग्रेसीजनले अहिलेसम्म देख्न/सुन्न पाएका छैनन् । आफ्नो हित चिताउने पङ्क्तिलाई समयमै चिन्न नसक्नु पार्टी सभापति देउवामा पनि ठुलो कमजोरी छ । १४ औँ महाधिवेशनको चहलपहल भइरहँदा सभापति देउवा त्यो कमजोरीबाट माथि उठ्न सक्नु पर्छ । 

सबैलाई विदितै छ, नेपाली काँग्रेसका पूर्व सभापति एवं पूर्व प्रधानमन्त्री शुशिल कोइराला अन्तर्मुखी स्वभावको हुनुहुन्थ्यो । अन्तर्मुखी हुँदाहुँदै पनि कोइरालाले निधी माथि गरेको टिप्पणी भने निकै गहिरो अर्थ दिने छ । केही वर्ष अघि नेपाली काँग्रेस ललितपुरको कार्यवाहक सभापति भएका बेला उपेन्द्र भट्टराई (योगप्रसाद उपाध्यायका भान्जा) ले एउटा कार्यक्रम राख्नु भएको थियो । त्यस कार्यक्रममा सहभागी सुशील कोइराला समक्ष भट्टराईले ‘निधीसँग त्यस्तो हैसियत र क्षमता के छ र ? जसले काँग्रेसलाई बरबाद बनाउन सकोस्’, भनेर जिज्ञासा राख्नु भएको थियाे । जवाफमा सुशील कोइरालाले भन्नु भएको थियो, ‘मैले त्यत्तिकै भनेको छैन, विमलेन्द्र निधी काङ्ग्रेसभित्र सबैभन्दा खतरनाक, खराब र षड्यन्त्रकारी मान्छे हो । उसबाट जोगाउन सकिएन भने काँग्रेस बरबाद हुन्छ ।’ कोइरालाले गरेको टिप्पणीको गुदी अहिले निधिले ४ पटक प्रधानमन्त्री भइसक्नु भएका देउवासँगै सभापति लड्छु भनेर गरेको उद्घोषले खोल्दैछ । त्यसैले कांग्रेसीजनले 'निधी प्रबृति'बाट काँग्रेस जोगाउनु जरुरी छ ।