कोरोना रोकथाम तथा उपचारमा  १२ लाख रुपैयाँ खर्च

कोरोना रोकथाम तथा उपचारमा  १२ लाख रुपैयाँ खर्च

लोकसंवाद संवाददाता  |  स्वास्थ्य  |  भदौ ११, २०७७

म्याग्दी । कोभिड —१९ रोकथाम, नियन्त्रण तथा उपचारका लागि म्याग्दीको बेनी नगरपालिकाबाट हालसम्म रु १२ लाखभन्दा बढी खर्च भएको छ ।

कोभिड —१९ रोकथाम, नियन्त्रण तथा उपचारमा भएको खर्च विवरण सार्वजनिक गर्न नगरपालिकाद्वारा आयोजित पत्रकार सम्मेलनमा नगरपालिकाका प्रवक्ता एवम् बेनी नगरपालिका—८ का वडाध्यक्ष  रामकृष्ण बराईलीले आजसम्म  ८१ लाख ३३ हजार ११२ रुपैयाँ खर्च भएको जानकारी दिनुभयो । 

उहाँले क्वारेन्टिन सञ्चालन तथा व्यवस्थापन, आइसोलेसन कक्ष स्थापना, राहत वितरण, स्वास्थ्य सामग्री खरिदलगायत शीर्षकमा उक्त रकम खर्च भएको बताउनुभयो । उहाँका अनुसार खर्च भएका रकममध्ये राहत वितरणमा २९ लाख ४४ हजार ६ सय १७, आइसोलेसन कक्ष निर्माणमा  १७ लाख ८३ हजार, औषधि उपकरण खरिदमा १५ लाख ६५ हजार ९६३, क्वारिन्टनमा खाना खर्चमा १३ लाख ५८ हजार ७९८, उद्धारका लागि यातायात व्यवस्थापनमा  ३ लाख ५ हजार ३४९ तथा स्वयंसेवक परिचालनमा २ लाख ७१ हजार ६०० रुपैयाँ खर्च भएका छन् । 

नगरपालिकाद्वारा स्थापित कोरोना कोषमा नगरपालिकाबाट एक करोड छ लाख पाँच हजार, बेनी खानेपानी उपभोक्ता संस्थाबाट एक लाख, प्रदेश सरकारबाट दस लाख, अर्थ मन्त्रालयबाट दुई लाख ६५ हजार ३७५, सामुदायिक विद्यालयका शिक्षकहरुबाट १३ लाख १५ हजार ९८२, जनप्रतिनिधिहरुबाट दुई लाख २९ हजार ८६१ रुपैयाँ, कर्मचारीहरुबाट  एक लाख ६९ हजार १५५ रुपैयाँ सहयोग प्राप्त भएको सो अवसरमा जानकारी गराइयो । 

त्यस्तै कोरना रोकथाम तथा नियन्त्रणका लागि नगरवासीलाई सुसूचित गराउन यहाँका विद्यालयका शिक्षकलाई आलोपालो रुपमा वडास्तरबाट स्वयंसेवकको रुपमा परिचालन गरिने नगरप्रमुख हरिकुमार श्रेष्ठ बताउनुभयो ।