यात्रामा मीचियो काकू  कार्ल सगणदेखि नील  डिग्रेस टाइसनसम्म

यात्रामा मीचियो काकू  कार्ल सगणदेखि  नील  डिग्रेस टाइसनसम्म

ज्ञानमित्र  |  साहित्य  |  भदौ १२, २०७७

कुल्लु छाड्ने दिन आई पुग्यो।  बिहान रघुनाथजीको मन्दिरमा गएर दिल्लीको एयरपोर्टदेखि कुल्लुको बसाईसम्म भएका सबै घटना सम्झिदै मर्यादा पुरुषोत्तमलाई  सादर नमन गरे‌ं।  भुन्तरमा रवि गिरीको कुटियामा बिताएको पहिलो रातमै नारायण कृपा घटित नभएको भए जीवन अर्कै दिशामा मोडिन्थ्यो।  बिजुली महादेव जादा  राघव नभेटिएको भए , केही  विचार नगरी म रोहतांग पासको ४ हज़ार मीटर उँचाईमा नओर्लेको भए,  मूर्खताको पराकाष्ठा गर्दै रोहतांग पासमा पैदल मार्च नगरेको भए, ट्रक ड्राइभरले 'लिफ्ट' नदिएको भए , ट्रकको टायर पन्चर नभएको भए, कुल्लुमा आफ्नो बासको प्रबन्ध हुँदाहुँदै डाँडामा रहेको जोगीहरुको क्याम्पतिर नगएको भए, त्यहाँ मान भारती नभेटिएको भए ... जीवन कुनै एक घटनाको संयोग होइन रहेछ वरन  संयोगै संयोगको अनन्त श्रंखला हुँदो रहेछ।

पाठकहरु मध्ये कति  जनाले  'नीमो नोबडी' नामक फिल्म हेर्नु भएको छ ? आमा बुआको पारपाचुके हुने बेलामा रेलवे स्टेशनमा उभ्भिएको बालकले  आमासँग जाने कि बुआसँग जाने निर्णय गर्नु पर्ने अवस्थामा बालकसँग रहेको अतिन्द्रिय शक्तिले उसले कोसँग जाँदा जीवन कस्तो हुन्छ भन्ने भावी जीवनका घटना र परिघटना साक्षात्कार गर्छ।  रमाइलो कथानक र परिकल्पना छ, फिल्म अलि कति जटिल अवश्य छ तर २-३ पटक हेर्दा फिल्मको कथानक एवं सार बुझिन्छ। 'हु इज नीमो' ? नीमो के हो, र को हो नीमो  ? नीमो फगत जीवनमा अप्ठेरो स्थितिमा लिएका विभिन्न निर्णयको प्रतिफलन मात्रै हो ।  हामी सबै आ-आफ्ना निर्णय र  छनौटले  फरक फरक जीवन बाँचीरहेका नीमो हौ ।

यात्रा संस्मरणमा दार्शनिक भए।  मेरो सोचाइ र बुझाईमा यात्रा आफैमा दर्शन हो, यहाँ दर्शन र दर्शनभित्रको रहस्मय दर्शन प्रतिबिम्बित  भएन  भने अचेल फगत दर्शनका पुस्तक कसले नै पढ्छ ! र, रिक्शा चढे, मोटर चढे, रमाइलो भयो, बड़ो आनन्द आयो, ठाउँ बड़ो मज्जाको रहेछ मात्रै लेखेको पढ़नको के नै अर्थ ?

१९८३ मा गाइडको मुखबाट सुनेको यो शेर २००३ मा मात्रै होइन, अहिले २०२० को अगस्त २३ आइतवारका दिनसम्मै गाइडको 'अंदाजे बयां' का साथ जीवन्त छ। लखनऊका अन्य सबै स्मृति बादल फाटेर हुने घटनाका भाँति एकै पटकमा स्मृतिमा मात्रै होइन दृश्यपटलमै प्रतिबिम्बित भए। लखनऊ चिड़ियाखाना नजीक  बाबू बीरेन्द्रकुमार जैनको घर समझना आयो। यी करोड़पति व्यापारीको घरमा मैले कैयन रात बसोबास गरेको  थिए।  पहिलो पटक 'ज़ू'मा रहेको ममी हेर्दा म डराएको समझना आयो।

मलाई र हालीना बाहेक कसलाई थाहा हुनसक्छ, मैले हिमाचल यात्रामा मान भारतीलाई नभेटेको भए उनको र मेरो सम्बन्धको लगभग पटाक्षेप भईसकेको थियो।  उनी केही दिन काठमाडौँ बसेर जर्मनी जान्थिन, म हिमाचलमा यता उति  भटकिदै येन केन प्रकारेण काठमाडौँ आउथ्ये, अथवा उतै कतै  कही 'फिट' हुन्थ्ये कि बलराम बानियाँ जस्तो व्यास नदीको शरण लिन्थे ... यस कि को निर्धारण गर्नु सम्भव छैन।

मान भारती भेटिएकोले हालीनाले पैसा पठाई दिइन, म काठमाडौँ आएँ।  पुनः हालीनासँग सम्बन्ध सुमधुर भयो।  यसपछि सन २०१० सम्म उनले नै 'स्पान्सर' गरेको सन्यासी बने ।  उनकै 'स्पान्सरशिप' मा २ तिहाईभन्दा बढी भारत घूमे।  २००६ देखि २००९ सम्म पुणेमा अति विलासी जीवन भोग गरे ।  हालीनासँग सम्बन्धको धागो पुनः गास्सिनमा मान भारतीको उपस्थितिले 'क्याटेलाइज़र' को काम गरेको जीवन पर्यन्त बिर्सन सकिदैन। हुन त हालीनासँग भेट गराउने पनि मान भारती नै थिए। सन २००१ को शिवरात्रिको अघिल्लो दिन पशुपतिको राम  मन्दिर छेउ एकजना विदेशी महिला एकजना भारतीय जोगीसँग गफ गरी रहेकी थिइन।  महिलाले मलाई  टाई लाएको देखेर  'क्यान यु ट्रान्सलेट फर अस' सोधिन।  यी विदेशी महिला नै हालीना थिइन र जोगी मान भारती ।  २-३ घण्टामै हालीना मबाट प्रभावित भइँन  र हाम्रो मित्रता प्रारम्भ भएको थियाे।

स्मृतिलाई पुनः कुल्लुमै केन्द्रीत गर्छु।  हाम्रो बस बेलुकी ४ बजे रहेको थियो। कुल्लुबाट नयाँ दिल्ली, दिल्लीसम्म राघवको साथ थियो,त्यसपछि म र मान भारती गोरखपुरको बस चढ़ने राघव दिल्लीमा रहेका आफ्ना दाजुको डेरामा जाने।  

हामी नियत समयमा बस पार्क पुग्यौ, मान भारती पहिलादेखि नै आई सकेका थिए।  बस मनालीबाट आउँदै  थियो, बस आऊँन  अझै ३०-४० मिनेट बाँकी थियो।

म चुरोट तान्दै अगाडि पटीको बिजुली महादेवको डाँडा हेर्दै यात्रामा घटित भएका प्रसंग सम्झिदै थिए। जूनको मध्यतिर काठमाडौँ-मुम्बईको 'फ्लाइट'बाट शुरू भएको यस यात्रामा मैले मुम्बई ओर्लेपछि  भारतका ६ राज्यको झण्डै ७०००-७५०० किमी यात्रा गरेको थिए। यात्रा शुरू गर्दा नासिकको महाकुम्भ बाहेक अरु केही 'फिक्स' थिएन। यस ४ महिने यात्राले नै मेरो जीवनको दिशा निर्धारण गरेको किमार्थ पनि बिर्सन सक्दिन । नासिकको कुम्भमा म जस्तो सामान्य केटालाई त्यहाँ रहेका अनेकौ धर्म धुरंधर, ठूल्ठूला महामण्डेश्वरले गरेको स्वागत सम्मानले मोहित नै बनायो।  जुन सम्प्रदाय, जुन अखाडाको क्याम्पमा गए पनि  मेरो स्वागत नै भयो।

म त्यस बेला पैन्ट शर्ट लाउथ्ये, तर किन हो सबैले मलाई सन्यासी झै 'ट्रीट' गर्थे, मुम्बाई रोडमा रहेको तपोवन रिसोर्टका कर्मचारीदेखि म्यानेजरसम्म मलाई महाराजजी सम्बोधन गर्थ्ये ।  कुम्भ ग्राउण्डमा जुनसुकै गुरु र महामण्डलेश्वरको क्याम्पमा छिर्दा सन्यासी झै 'ट्रीट' पाउँथ्यो। मुम्बईबाट नासिक, नासिकबाट पुणे, पुणेबाट फेरी नासिक र फेरी पुणे। पुणेमा हालीना ओशो कम्यूनमा रमिन, म भने ३-४ दिन मै 'ओशोगीरी'बाट दिक्क भए। उनलाई पुणेमै छाड़ी म  कहिले शिरडी, कहिले अजन्ता ( ऐलोरा, कहिले पुट्टीपूर्ती, कहिले लोनावाला रखन्डाला, कहिले महाबलेश्वर घूमी रहन्थे। झण्डै एक महीने पुणे बसाईपछि उनलाई खजुराहोको बारेमा भने।  उनले 'नेट'मा खजुराहो 'सर्च'गरिन र पुणे छाड़ी खजुराहो जान सहमत भइँन।

उनी फेरी खजुराहोमै रमिन।  उनी आफ्ना  दिन खजुराहोका मन्दिरमै बिताउँथिन,  तर २-३ पटक मन्दिरका कला हेरे पछि मलाई भने पुग्यौ।  म के गरौ दिनभरी ? म खजुराहोबाट एक साताका लागि भनी चित्रकूट गए। बाटोमा भेटेका एकजना मुस्लिम युवक , रेलवे स्टेशनमा भेटिएका एकजना पुरुष र चित्रकूटको कर्नाटक वाली माताजी  सबैले मभित्र सन्यासी नै हेरे। अझ फर्किदा भेटिएको एउटा दल नै (२०-२५ जना रहेको समूह) मसँग  खजुराहो आई पुग्यो।

 फर्केर आउँदा पनि हालीना  खजुराहोबाट अघाएकी थिइनन्। म भने अन्त कतै  जाने मूडमा थिए।  उनको भनाइ थियो -'भेन आई एम् एंजॉइंग हियर व्हाई शुड आई चेंज प्लेस' 

यस्तैमा एकदिन हामी बीच  विवाद भयो ,परिणामस्वरुप उनी काठमांडू आईंन र म हिमाचल आएको थिए।

बस आई पुग्यो।  बिजली महादेवलाई सादर नमन गरी हामी बस चढ़्यौ।  भोली पल्ट  बिहान ९ बजेतिर बस दिल्लीको मजनूको टीला आई पुग्यो। राघवले दिल्लीमा दाईको डेरा जानू थियो, तर त्यों भन्दा पहिला उनी मलाई गोरखपुरको बस पाउने 'आईएसबीटी'सम्म पुर्‍याउन आए। बस पार्कमै हामी 'फ्रेश' भयौ र नाश्ता गरे उपरान्त बसको खोजीमा लाग्यौ।  ११  बजेको बस भेटियो।

म बसको झ्याल पटीको सीटमा बसेको थिए, राघव झ्याल मुनि उभ्भिएका थिए। त्यों बेलासम्म हामी मोबाइल धनी थिएनौ।  एक आपसमा 'मेल एड्रेस' मात्रै हामी बिच सम्पर्कको साधन थियो। अहिले मोबाइल बिनाको जीवन कल्पना गरी हेर्नुस त ! २ दशकमै प्रविधिले संसार नै बदली दियो। जम्मा २ सय वर्ष पहिलाको संसारबारे सोची हेर्नुस ( न बिजुली, न मोटर, न रेल,  न प्लेन, न इन्टरनेट ,न टीभी, न रेडियो, न अन्य केही  ।

तपाईलाई संसार बदली दिने सबैभन्दा महत्वपूर्ण वैज्ञानिक आविष्कार कुन हो जस्तो लाग्छ ? मेरा लागि आधुनिक कालखण्डमा भएको सबैभन्दा महत्वपूर्ण आविष्कार बिजुली हो ।  यसको आविष्कार नभएको भए अन्य ९९ प्रतिशत आविष्कारको कल्पना नै गर्न सकिन्न।  कल्पना गर्नुस संसारमा बिजुली बाहेक सबै कुरा जस्ताको त्यस्तै छन् .... तपाई मात्रै होइन, सम्पूर्ण मानवता नै 'अर्श'बाट (आकाश) फर्शमा आईपुग्छ।

मेरा लागि मानवले गरेको खोजमा २ वटा खोज नै महत्वपूर्ण हुन।  यी दुबैको अभावमा अन्य केहीको कल्पना नै गर्न सकिन्न। मलाई हज़ारौं वर्ष पहिला खोज भएको पहिलो खोजको अनुसन्धानकर्ताबारे थाहा छैन।  हज़ूर म आगोको कुरा गरीरहेको छु ।  तर बिजुलीका लागि फैराडे, एडीसन र निकोला टेस्लालाई संसारले बिर्सन नहुने हो।

बसले गुड्ने संकेत दियो, मैले राघवलाई ३ हज़ार रुपैयाँ दिदै भने- केही प्रबन्ध नहुन्जेल यसले काम दिन्छ, मलाई थाहा थियो कुल्लुमा उनले पाएको तलब कुल्लुमै सकी सकेको थियो। बस गुड़्यो, राघवले भने, 'मेल'मा सम्पर्क गरी राख्नु होला।

५ बजेतिर  बस बरेली पुग्यो । छात्र जीवनमा आफु बसेको ११० किमी टाढा यस स्थानमा म नयाँ नयाँ सिनेमा हेर्न आई पुग्थे। मैले कैयन पटक बरेलीमा 'झुमका गिरा रे, बरेली की बाजार में झुमका गिरा रे' वाला बाजारको खोजी गरेको थिए तर यो बाजार कतै  फेला परेन। शाहजहांपुरबाट रेल चढ़ी बरेली आऊंन  कहिल्यै पनि टिकिट काटिएन।

 ७  बजे बस शाहजहांपुर आई पुग्यो।  छात्र जीवन यसै जिल्लाको पुवायां भन्ने  तहसीलमा बितेको थियो। यस शहरसँग मेरा अनेको स्मृति गास्सिएका थिए।  यहाँका अधिकांश रेस्टुरेंट, सबै सिनेमा हल, रेलवे स्टेशन, ऑफिसर कोलोनी, डॉ विमलको घर, आनन्द साहेबको घर, दस कक्षाको परीक्षा केन्द इस्लामिया इन्टर कालेज , साथी अनिल र लल्लालाई पटकौ यहाँको कारागारमा भेट्न गएको, क्षमा बाजपेईको बिहेको रात्री  साथी कुलदीपसँग  'मुकद्दर का सिकंदर' फिल्म हेरेको, यसै बिहेमा पहिलो पटक पनीरको तरकारी खाएको, ममता दीदीका पति श्याम दीक्षित  उत्तर प्रदेश सरकारका सेवा निवृत सचिव) ले मसँग गर्ने विज्ञान चर्चा, बबलीलाई साइकल चलाउन सिकाएको दृश्यावली (बबली अहिले अमेरिकामा छन)  सबै सबै स्मृति 'साईमन्टेनसली'उजागर भए।

मष्तिष्क यस ब्रह्माण्डको सबैभन्दा जटिल संरचना हो। यसको विषयमा विज्ञानले जे जति खोजखबर लिएर  यसको रचनाधर्मिता र कार्य सम्पादन  प्रक्रिया बारेका तथ्य  प्रकाशमा ल्याएको छ त्यसको मूल्य दुइ पैसा जति पनि छैन। होलान सय अरब न्यूरॉन मस्तिष्कमा, दिन्छ होला यसले एक सेकेण्डमा शरीरलाई एक अरब भन्दा बढी निर्देश अथवा सन्देश !  तर, यी न्यूरॉनमा संगृहित भएका स्मृति कसरी एकै पटकमा  खहरे  भेल झै कुर्लिन्छ , कहिले पनि कुनै स्मृति 'डिलीट' नहुने कस्तो अचम्मको 'डिभाईस' हो यो ?

यहाँको रेलवे स्टेशनमा वेद प्रकाश शर्माको उपन्यास पढ्दै अनेको रात काटेको स्मृति आँखामा आयो । बाल्यकालको घटना स्मरणमा आयो, मलाई बाल्यकालमा पूर्वजन्मको स्मृति थियो।  अनेकौ पटक म घरबाट रिसाएर आफ्नो घर जान्छु भनी भाग्थें।  मेरो स्मृति अनुसार पूर्वजन्ममा म यसै शाहजहांपुरको बासिन्दा थिए।  युवा अवस्थामा यसको खोजी पनि गरे तर गल्लीसम्म मात्रै पुग्न सके त्यों भन्दा बढी स्मृति खुल्न सकेन। काश ! कुनै राम्रो हिप्नोटिज्म मास्टर भेटेर म पूर्व जन्मका स्मृतिमा जान सक्थे।

विज्ञानले जबसम्म मष्तिष्कमा संगृहित रहेका स्मृति खुल्ने उपायबारे पत्ता लाउदैन तबसम्म उसका सबै खोज र उपलब्धि ख्वै के को न्यानो मात्रै हुन। हामीलाई एउटा भाषा सिक्न नै वर्षो समय लाग्छ।  हाम्रै संसारमा एकजना यस्ती महिला छन जुन आफ्नो जीवनमा पटक पटक लडिन।  लडेर उठ्दा उनलाई एउटा नयाँ भाषाको ज्ञान  प्राप्त भएको हुन्थ्यो।  कतिपय मानिसमा जन्मजात गणितको महाज्ञान रहेको पाइन्छ, कतिपयले जीवनमा कुनै दुर्घटना हुँदा गणितको उच्च ज्ञान पाएको अनेकौ उदहारण छन। यस्ता व्यक्तिले कहिले पनि स्कुलको मुखसम्म  देखेका थिएनन।  यसबारे कैयन फिल्म नै बनेका छन।  रामानुजमबारे बनेको 'अ म्यान हु नोज इन्फिनिटी'र एउटा अर्को फिल्म 'गुड़ विल हंटिंग'यससँग सम्बंधित उत्कृष्ट चलचित्र हुन।

स्कुल कलेजमा बीसौ वर्ष लाएर पढाउने सिकाउने कुरा समयको बर्बादी  र अनाहकको सजाय मात्रै हो।  पत्ता यो लाउनु परयो मस्तिष्कमा पहिलादेखि रहेका यी क्षमता उजागर कसरी गर्न सकिन्छ ! के खाँदा अथवा टाउकोमा कहाँनिर  थिच्दा कुन खाले स्मृति प्रकट हुन्छ !

गणितका लागि 'राइट कर्नर', भाषाका लागि 'लेफ्ट कर्नर', कल्पना शक्तिका लागि 'सेन्टर ब्याकु‍, इतिहासका लागि 'मिडिल ईस्ट', खगोल र ज्योतिषका लागि 'मिड विकेटको पोजीसन' ।  थिच्दैमा मस्तिष्कमा रहेका सबै ज्ञान र संज्ञान उद्घाटित हुन सके  संसार गुरुबाट मुक्त हुने थियो ।

लखनऊसम्म आउँदा   म यिनै र यस्तै सोचमा डुबेको थिए। कुन बेला बस केसरबाग स्टैंडमा आई पुग्यो थाहै भएन।  रातिको १२-१ बजेको समय हुँदो हो। बसबाट ओर्लेर  चिया र चुरुट खाए। अब मेरो स्मृति यस शहरमा केन्द्रीत भएको थियो ।  शामे अवधका नामले मशहूर  लखनऊको आफै नजाकत  र नफासत छ।  भूल भुलैयाका गाइडले भनेको शेर सम्झेर मन मनाई हाँसे- अल्लाह रे तेरी नरम नाजुक सी उंगलिया, दिल मेरा ले गयी पंजा मरोड़ के।

१९८३ मा गाइडको मुखबाट सुनेको यो शेर २००३ मा मात्रै होइन, अहिले २०२० को अगस्त २३ आइतवारका दिनसम्मै गाइडको 'अंदाजे बयां' का साथ जीवन्त छ। लखनऊका अन्य सबै स्मृति बादल फाटेर हुने घटनाका भाँति एकै पटकमा स्मृतिमा मात्रै होइन दृश्यपटलमै प्रतिबिम्बित भए। लखनऊ चिड़ियाखाना नजीक  बाबू बीरेन्द्रकुमार जैनको घर समझना आयो। यी करोड़पति व्यापारीको घरमा मैले कैयन रात बसोबास गरेको  थिए।  पहिलो पटक 'ज़ू'मा रहेको ममी हेर्दा म डराएको समझना आयो।

बहुधा मानिस प्रश्न गर्छन।  कुरुक्षेत्रको रणभूमिमा दुबै सेना युद्धका लागि तैयारी रहेको अवस्थामा अर्जुनलाइ विषादले छुदा  श्रीकृष्णले गीताको उपदेश दिनु भयो।  ७०० श्लोकको प्रश्नोत्तर हुँदासम्म के युद्ध रोकी रहेको अवस्था रह्यो, युद्धलाइ तत्पर दुबै खेमाका सैनिक के अर्जुन कृष्ण सम्बादको अन्त्य हुने प्रतीक्षा गरी रहे ?'टाइम डाइलेसन' बारे थाहा नहुने मानिसले यस्तो प्रश्न गर्न स्वाभाविक हो। तर आइंस्टीनले यो प्रश्न गर्दैनन।  उनलाई मस्तिष्कमा हुने 'टाइम डाइलेसन'बारे थाहा नभए पनि गतिले 'टाइम डाइलेसन' हुन्छ भन्ने विदित थियो। प्रायः तथाकथित बुद्धिजीवी र वामी खेमाका पुरोधाले धर्म अध्यात्ममा वर्णित 'टर्मीनिलोजी' र 'माइथोलोजी'बारे उपहास गर्दै नाना थरीका कुतर्क गर्छन। तर , वैज्ञानिक दृष्टिकोण भएका मानिसले यसबारे अध्ययन खोज र अनुसन्धान गर्छन। दुर्घटनामा परी मृत्युको मुखमा पुगेका धेरै जाना मानिसको आत्मकथामा लेखिएको छ।  उनीहरु मृत्युको मुखमा पुग्दा निमेष मै बाल्य्काल देखिका सबै स्मृति उनका आँखा सामु चलचित्रका भान्ति  पुनर्घटित भयो।  पचासौं वर्षको समस्त स्मृति 'भिजुअली' घटित भयो सेकेण्ड कै हज़ारो भागमा।

कृष्ण अर्जुन सम्बाद यसै कोटिको घटना थियो।  तपाईलाई गीता पढ़न ३-४ घण्टा लागे पनि कृष्ण र अर्जुनका सापेक्ष यो अनुपम वार्ता निमेषमै सम्पादित भएको थियो। मष्तिष्कसंग अथवा मस्तिष्कमा 'बिग बैंग' उपरान्तका सबै घटना संगृहित छन।  जुनबेला ब्रह्माण्डमा एनर्जी मात्रै थियो ,क्रमशः हाइड्रोजन एटम मात्रै थियो त्यस पछि क्रमशः  हीलियम, लिथियम, बेरीलियम, बोरोन, कार्बन, नाइट्रोजन हुँदै ऑक्सीजन  एटम थपिए ।  संसारका सबै मानिस यी चरण पार गर्दै आधुनिक स्वरुपमा आएका हुन। वेद र शास्त्रले यही कुरा उल्लेख गर्दा पोगापन्थ हुन्छ तर वैज्ञानिकले यही कुरा भन्दा तपाई तिनका महावाणी फेसबुकमा शेयर गर्नु हुन्छ। हिन्दू शास्त्र भन्छन 'यथा पिण्डे तथा ब्रह्माण्डे'आधुनिक विज्ञान भन्छ  'वी अल अर मेड फ्रेम स्टार डस्ट'।  यी दुबै भनाइमा कुनै अन्तर रहेको भए भन्नुस।  

अब यो बेग्लै कुरा हो आधुनिक विज्ञानले अक्सीजनको खोजी अथवा अक्सीजनको एटम खोजी कार्य १७७४ मा आएर मात्र  गर्न सक्यौ, हाइड्रोजन बारे १७७७ मा आएर  मात्रै  थाहा भयो। यसले के नै फरक पर्‍यो सन १८९५ सम्म थाहा थिएन हीलियम भन्ने पनि कुनै तत्व हुन्छ।  हाइड्रोजन र हीलियमको आपसी  खेलबाट उत्पादित ऊर्जा (सूर्यबाट) त हामीसँग युगौदेखि आई रहेको थियो।
 

यो पनि 

दक्षिणकाली मन्दिरमा 'फायर' पूजा अर्थात् होम अनुष्ठानको खेल

मुक्तिनाथ जस्तै त्रिलोकनाथ जहाँ शिव र बुद्ध एउटै मन्दिरमा विराजमान छन्

न कमला न कामास्वामी न वासुदेव , कलियुगको सिद्धार्थलाई सोझै नारायणदर्शन !

हर्मन हेस लिखित  कमला खोज्दै नव सिद्धार्थ, मेरो पहिलो हिमाचल यात्रा

पति कै सामु एक अपरिचित युवतीलाई सल ओढाई दिँदा... !