प्रा.डा.देशराज कुँवर : मनोचिकित्सा तथा लागु पदार्थ दुर्व्यसनी उपचारका प्रेरणाको स्रोत
भदौ १३, २०७७

प्रा‍. डा.देशराज बहादुर कुँवर नेपालको दोस्रो विशेषज्ञ मनोचिकित्सक । उहाँको मनोचिकित्सक तथा लागु पदार्थ दुर्व्यसनको उपचारमा ठुलो योगदान रहेको छ । लागु पदार्थ दुर्व्यसन उपचारको शुरुवात नै उहाँले गर्नुभएको हो नेपालमा । नेपाल साइक्याट्रिक एसोसिएसन, नेपाल लागु पदार्थ दुर्व्यसन रोकथाम सङ्घ (निडाप) लगायत अन्य थुप्रै मनोचिकित्सकीय तथा लागु औषध सम्बन्धी संस्थाको उहाँ संस्थापक । युनिभर्सिटी अफ लन्डनको उत्पादन । तर, नेपाली मनोचिकित्सा तथा लागु पदार्थ दुर्व्यसनी उपचारका प्रेरणाको स्रोत प्रोफेसर डाक्टर देशराज बहादुर कुँवर ।  

जन्म र बाल्यकाल 

उहाँको जन्म सन १९३८ जनवरी १ तारिख । भारतको वीरपुर देहरादुनमा भएको हो । उहाँको बुबा ब्रिटिस लाहुरे । जन्मेको १४ महिनापछि बुबाले उहाँलाई र आमालाई ल्याएर हेम्जाको घरमा छोड्नु भयो । 

त्यसपछि बुबालाई दोस्रो विश्वयुद्धका लागि बोलाए । उहाँ जानुभयो । देहरादुनबाट कलकत्ता । कलकत्ताबाट बर्मा । मलेसिया । सिंगापुर । करिब ४ वर्ष त जापानीहरूले थुने बुबा लगायत अन्य लडाकुलाई । सिंगापुरको जुन एयरपोर्ट छ त्यो त्यस बेलाको जेल हो रे !  ५५ हजार सैनिक उनीहरूले थुनेर राखेको भनेर बताउनु भएको थियो रे ! बुबाले । 
माउन्ट बेटरनम त्यस बेलाको गर्भनरले गोर्खाली सैनिक भएपछि यसै जितिन्छ भनेर आक्रमण गर्न लगाएका थिए रे ! तर, जापानीहरू भने पुरापुर तयारी भएर बसेका रहेछन् ! 
गोर्खालीको राशन पानी र गोलिगट्ठा सबै सकियो । त्यसपछि जापानीहरूले सबैलाई समातेर चाँगे जेलमा ल्याएर थुनिदिए । त्यसका बारेमा अङ्ग्रेजले एउटा किताब नै लेखेका छन्, ‘शो गन’ । 

ती ५५ हजार बन्दी सैनिकमा केवल पाँच हजार मात्र बाँचेर फर्के रे ! कठोर यातनाका कारण बाँकी पचास हजार उतै बिते रे ! उहाँको बुबाले भन्नु भएको ।

उहाँका दुई दाजुभाइ । उहाँ जेठो । उहाँको भाइ र बुबाको रमाइलो प्रसङ्ग छ । 

बुबा लडाइमा जाँदा भाइ चौध महिनाको थियो, उहाँ भन्नुहुन्छ । साँढे चार वर्षपछि बुबा लन्डाइबाट फर्केर आउँदा भाइ भेडा चराएर घर फर्किरहेको थियो । दुबै जनाको चौतारोमा भेट भएछ । बुबालाई लाग्यो रे  ‘यो को केटो रैछ’ ! भाइलाई पनि लाग्या   रे ‘यो को लाहुरे रैछ’ ! 

दुई सय गजमाथि घरमा आएर बुबाले माइली आमालाई सोध्नु भएछ । अनि बल्ल थाहा भयो त्यो अघिको फुच्चे त आफूले चौध महिना अघि छोडेर गएको आफ्नै छोरो रैछ । उहाँको भाइलाई पनि थाहा भो अघिको चौतारामा भेटेको लाहुरे त आफ्नै बुबा पो हुनुहुँदो रहेछ । 

हामी पहिले पनि किसान परिवारको हो । अहिले पनि खास सम्पन्न होइन । मध्यम स्तरको परिवार नै हो हाम्रो, उहाँ भन्नुहुन्छ । 

प्रारम्भिक शिक्षा 

उहाँको प्रारम्भिक शिक्षा देह्रादुनमै भएको हो । एसएलसीसम्मको पढाइ भने गोरखा मिलिट्रि स्कुलबाट भएको हो । आइ एस सी  भने हिन्दु नेशन इन्टर कलेजबाट गर्नु भएको हो । 
उहाँ पढाइमा तेज । भन्नुहुन्छ, आइ एस सी सम्म कहिले पनि दोस्रो भइएन । 

उहाँ स्कुलको आदर्श विद्यार्थी । विद्यार्थी भनेको त देशराज जस्तो हुनुपर्छ भनेर शिक्षकले उदाहरण नै दिने गरेको स्मरण उहाँ स्मरण  गर्नुहुन्छ । 

अनुशासित । मेहनती । २७३ दिनमा २७३ दिनकै हाजिरी । एक पिरियड मिस भएको थाहा छैन उहाँलाई । एकदम नियमित । उहाँ कक्षाको ‘मनिटर’ पनि हो । 

विद्यालयमा दोस्रो भएको दिन 

त्यस बेलाका बङ्गाली प्रिन्सिपल थिए दिनदयाल सिंह राउत । बङ्गाली भए पनि राम्रो नेपाली बोल्ने । उहाँले एक दिन अफिसमा बोलाउनु भयो । अफिसमा सहायक प्रिन्सिपल र संस्कृत शिक्षक पनि थिए । 

राउत सरले उहाँलाई भन्नुभयो, तिमी त एकदम राम्रो विद्यार्थी । तिम्रो ८५ प्रतिशत भन्दा कम कुनै पनि विषयमा आउँदै आउँदैन । आजसम्म हाम्रो स्कुलबाट कसैले पनि प्रथम श्रेणी ल्याएको छैन । तिम्रा लागि प्रथम श्रेणी कुनै ठुलो कुरो होइन । हामीले त्यो भन्दा बढी अपेक्षा गरेका छौँ, भन्नुभयो । उहाँले पनि ‘म कोसिस गरौँला’  भन्नुभएछ । 

तर, यसलाई ‘गुडलक’ भन्ने कि ‘ब्याडलक’ । उहाँ घोरिनु भयो एकै छिन । र सुरु गर्नुभयो, एक जना दार्जिलिङका शिक्षक आउनुभएको थियो । आनन्द सिंह थापा । काँग्रेसका समर्थक । यो गोर्खा स्कुलमा हामी नेपाली भएर नेपाली पढ्नु पर्दैन भनेर भन्नुभयो । उहाँलाई पनि ठिकै लाग्यो । 

नेपाली पढ्न पाइन्छ र यहाँ भन्दा किन नपाउनु भन्नुभयो थापाले । भूगोल र नागरिकको सट्टा नेपाली पढ्न पाइन्छ भन्नुभयो थापाले । 

उहाँ ‘मनिटर’ । उहाँले ए,बी र सी सेक्सनका गरी १८ जना विद्यार्थीलाई नेपाली पढ्न तयार गराउनुभयो । त्यसमध्ये दश जना आफ्नै बी सेक्सनका । ती १८ जना विद्यार्थीलाई भूगोलको सट्टा नेपाली पढ्न तयार गराउँदा भूगोल शिक्षक क्वाँ क्वाँ नै रुनुभयो । 

भूगोल शिक्षकले रुँदै, हेर देशराज तँलाई राजनीति लागेको छ । आज म रोएको छु । कुनै दिन तँ रोलास्, भन्नुभयो । 

अब बिहान हिन्दी साहित्य र बेलुकी नेपाली पढ्नु पर्ने भयो । यसले गर्दा कतिपय ठाउँमा अन्जानवश ‘हे’ र ‘छ’ हुन पुग्यो । यसले गर्दा नेपालीमा ५५ प्रतिशत र हिन्दीमा ४६ प्रतिशत मात्रै आयो । हिन्दीमा कहिले पनि ६० प्रतिशत भन्दा कम आएकै थिएन । 

रिजल्ट भयो । साथीहरू रिजल्ट लिन गए । कहिले पनि प्रथम श्रेणी भन्दा कम नआएको उहाँ ढुक्कै हुनुन्थ्यो । 

नेपालमा मनोचिकित्सकका क्षेत्रमा यसरी उदाहरणीय कार्य गर्ने उहाँ जस्तो व्यक्तित्वलाई सबै कुरामा सक्षम रहँदा रहँदै पनि पठन पाठनबाट केवल उमेर हदका कारण वञ्चित गरिँदा उहाँको मन भने दुखेको छ । उहाँ भन्नुहुन्छ मलाइ पैसाको लोभ होइन । म स्वयंसेवा गर्न तयार छु । आखिर म जस्तो व्यक्तिलाई यसरी प्राध्यापनमा वञ्चित गरिँदा त्यसको असर राष्ट्रलाई नै पर्ने हो । 

साथीहरूलाई सोध्नुभयो के भयो भनेर । उनीहरूले तँ पास भइस् भने । पासको कुरा नगर कुन डिभिजन हो भन् न भन्दा तँ त सेकेन्ड डिभिजन भने साथीहरूले । साथीहरूले यसो भन्दा उहाँको नौ नाडी नै गल्यो । उहाँ झन्डै भुँइमा ढल्नु भएन । अरु पास भएर हाँस्छन् तर उहाँ त्यो दिन पास भएर पनि रुनु भयो । भूगोल शिक्षकले रुँदै भनेको कुरा पुरा भयाे । 

पछि रिजल्ट हेर्दा फस्ट डिभिजनका लागि दुई नम्बर पुगेको रहेनछ । त्यसले उहाँलाई शर्मनाक स्थितिमा पुर्‍यायो । कारण थियो प्रिन्सिपलले उहाँलाई तेरो आयल पेन्टिङ बनाएर प्रिन्सिपलको कोठाको अगाडी राखेर विद्यार्थी भनेको यस्तो देशराज जस्तो हुनुपर्छ भनेर राख्छु भन्नु भएको थियो । 

त्यसले उहाँलाई यतिसम्म आत्मग्लानि बनायो कि आजसम्म उहाँले त्यो स्कुलमा पाइला टेक्नु भएको छैन । उहाँले रिजल्ट पनि आफू लिन नगई भाइलाई लिन पठाउनु भयो । उहाँको भाइ पनि उक्त स्कुलमा नै पढ्नुहुन्थ्यो । 

यो उहाँको स्कुले जीवनको मात्र नभएर जीवनकै अविस्मरणीय घटनाको रुपमा लिनु हुन्छ । 

शायद, यो स्कुले रिजल्टले उहाँलाई छोडेन आइएस्सीमा पनि । उहाँको सेकेन्ड डिभिजन नै आयो । तर, राम्रो सेकेन्ड डिभिजन । 

कोलम्बो प्लान

आइएस्सी पछि उहाँ नेपाल आउनुभयो । रिजल्ट त आयो । तर, सर्टिफिकेट थिएन । कोलम्बो प्लान अन्तर्गत भिड्नका लागि उहाँको फारममा कसैले सही गर्न मानेनन् । कसैसँग चिनजान थिएन । 

उहाँको बुबाले सरदार पाण्डे भन्ने एक जना पोखरा तिरका अधिकृतलाई उल्टो स्याइलुट हानेर अनुरोध गर्नुभयो । उहाँले पनि म गर्दिन्छु ल्याउनुस् भनेर सही गरिदिनु भयो । त्यसपछि बल्ल बाटो खुल्यो कोलम्बो प्लानको । 

उहाँलाई पाइन्छ भन्ने आस थिएन । त्यसैले त्रिचन्द्र कलेजमा बिएस्सीका लागि नाम पनि लेखाउनु भएको थियो । उहाँले त्यो बेला कम्युनिस्ट पार्टीको विद्यार्थी सङ्गठनमा पनि नाम लेखाउनु भएको थियो । त्यस बेला काठमाडौँ बाहिरको विद्यार्थीको एउटा युनियन पनि थियो । 

कोलम्बो प्लान अन्तर्गत सबै २० जना काठमाडौँ, ललितपुर र भक्तपुरका मात्रै छनौट भएको कुरा युनियनले थाहा पाएछ । युनियनका विद्यार्थीले गएर त्यस बेलाका प्रधानमन्त्री टङ्कप्रसाद आचार्यलाई घेरेछन् । 

उहाँले किन आएको भनेर सोध्दा विद्यार्थी भनेको यै काठमाडौँ खाल्डोका मात्रै हुन कि बाहिरका पनि हुन् ? नेपाल भनेको के यै काठमाडौँ मात्रै हो भनेछन् । उहाँले के भन्न खोज्नुभएको भनेर भन्दा कोलम्बो प्लान अन्तर्गतका २० जना सबै किन काठमाडौँका मात्रै भनेर भनेपछि ल पख्नुस् म हेर्छु भनेर आचार्यले भन्नु भएछ । 

त्यसपछि उहाँले दश जना काठमाडौँ र बाँकी दश काठमाडौँ बाहिरको लागि छुट्ट्याउनु भएछ । त्यस बेला मृगेन्द्र श्रेष्ठ पाल्पा, डिबि कार्की विराटनगर, डिआर कुँवर कास्की भनेर उहाँको नाम छनौट भएछ । सम्भावना नै थिएन । तर, भाग्यले भयो । उहाँले यसको जस भाग्यलाई दिनु हुन्छ  । 

डाक्टर बन्ने सपना
उहाँको डाक्टर बन्ने सपना भने सानै देखिको हो । उहाँलाई यो सपना देखाउने वा लत लगाउने डा. कुवर हुन । 

उहाँको यो सपना गोर्खा स्कुलमा पाँच कक्षा पढ्दा देखिको हो । 

त्यस बेला स्कुल जाने बेलामा सानो एउटा नहर आउँथ्यो । त्यहाँ डा.कुवर एनफिल्ड मोटरसाइकलमा डक डक गरेर आउनुहुन्थ्यो । बिरामीले उठेर नमस्कार गर्थे । डा. साप 'बैठिए बैठिए' भन्नुहुन्थ्यो । उहाँ भने बिहान स्कुल जाँदा पनि यही दृश्य देख्नुहुन्थ्यो । बेलुका स्कुलबाट फर्किँदा यसको पुनरावृत्ति हुन्थ्यो । 

मनमा यसले के गढ्यो भने डा. भनेको राम्रो पेसा रहेछ । मान्छेहरूले सम्मान गर्दारहेछन । सेवा पनि गर्न पाइने रहेछ । शायद, त्यसैको कृपा हो कि सम्भावना नै नभएको मान्छे दश जना भित्र परेर कोलम्बो प्लान अन्तर्गत डाक्टर पढ्न पाइयो । यो संयोग, कृपा वा मनको इच्छा जे भन्नुस, उहाँ भन्नुहुन्छ । 

सरकारी मेडिकल कलेज पटियालामा उहाँले सन् १९५७ मा एमबिबिएसको पढाइ सुरु गर्नु भएको हो । 

डाक्टर बनिसकेपछि

पाँच वर्षको पढाइ र छ महिनाको इन्टर्नसिप सकेर उहाँ नेपाल फर्कनु भयो । नेपाल फर्किएपछि उहाँ घर लाग्नुभयो हेम्जा । बाबु आमासँग एक महिना बिताउनु भयो । 

त्यसपछि सम्पर्कमा आउनु भयो स्वास्थ्य मन्त्रालयको । त्यसबेला स्वास्थ्य मन्त्रालय सिंहदरबारमा थियो । असिस्टेन्ट डाइरेक्टर हुनुहुन्थ्यो भिमबहादुर प्रधान । प्रधानले उहाँलाई एक महिना कहाँ हराएको भनेर खाउँला झैँ गर्नुभयो । 

एक महिना घरमा छुट्टी मनाएर आएको भनेर उहाँले आफ्ना कुरा राख्नु भयो । अब कहाँ जाने त भनेर प्रधानले सोध्नु भयो । 

पोखराको सिटमा पढेर आएको मान्छे म त पोखरा नै जान्छु, उहाँले भन्नु भयो । तपाईँले भनेकै ठाउँमा कहाँ हुन्छ भनेर प्रधानले फेरि टिप्पा टिप्नु भयो । 

उहाँले जानुस् विचार गरेर दुई दिन पछि आउनुस् भन्नुभयो । उहाँले त्यो दुई दिनमा गण्डकी अस्पतालमा हाउस अफिसरको पद खालि रहेको चाल पाउनु भयो । 

उहाँले त्यो कुरा प्रधान समक्ष राख्नुभयो । तर, प्रधानले त्यहाँ त तनहुँबाट मथुराप्रसाद आइसक्नु भयो भनेर भन्नुभयो । 

अब म तपाईँलाई दुईवटा विकल्प दिन्छु कहाँ जाने भन्नुस भन्नुभयो । पहिले त हुम्ला, जुम्ला जा भनेर भन्नुभएको थियो । तर, पोखरा नै जाने अड्डी लिएपछि भने गोरखाको पालुङटारसम्म मिलाउन सकिने प्रधानले बताउनु भयो । गोरखा पनि दुर्गम नै मानिन्थ्यो त्यसबेला ।

घरजाँदा त बाबुले सिभिलमा गए पनि डाक्टर ! आर्मीमा गए पनि डाक्टर ! बरु आर्मीमै जा भन्नुभयो । गाह्रो भयो भने बरु टिएन भट्टराई, वीरेन्द्र बहादुर बस्नेतलाई मैले लेफ्ट राइट गराएको हुँ उनीहरूलाई गएर भेट्नु भन्नुभयो । 

आर्मी अस्पतालमा त्यस बेला डाक्टर आउनै मान्दैनथे । हामी त छिर्ने बित्तिकै च्याप्प समातेर राखिहाले । डा. श्याम बहादुर पाण्डे, कन्हैयालाल दास, कमानसिंह गुरुङ अनि उहाँले आर्मीमा एकै पटक नियुक्ति पाउनु भएको हो । आर्मीमा जाँदाको कहानी यसरी बताउनु भयो उहाँले । 

पहिलो जागिर 

उहाँ प्राविधिक डाक्टर । पहिले पहिले डाक्टरलाई कप्तान दिने गरिएको रहेछ । पछि काँग्रेसको सरकार आएपछि डा. पुष्पदास प्रधानको पालाबाट डाक्टरलाई लप्टनमा नियुक्ति दिने गरिएको रहेछ । 

प्राविधिकलाई एक तह तल दिनुपर्छ भन्ने प्रस्ताव आएपछि यसो गरिएको रहेछ । 

उहाँको तलब थियो त्यसबेला दुई सय पचहत्तर । 

पहिलो तलब । साथीहरू आएका थिए । एअर गनले परेवा मारियो । आर्मीको मान्छे सिपाहीलाई जाँड बोक्न लगाएर खाइयो । पहिलो तलबको खर्च विवरण यस्तो रह्यो उहाँको । 

विवाह 

उहाँको बिहे सन् १९६४ मा भएको हो । प्रेम विवाह । उहाँ त्यसबेला एमबिबिएस सकेर इन्टर्नसिप गर्दै हुनुहुन्थ्यो । उहाँको श्रीमती भने लेडिज युनिभर्सिटी सिम्लामा नर्सिङ पढ्दै । श्रीमती कुँवर त्यसबेला मेल सेक्सनमा एक वर्ष तालिम गर्न पटियाला आउनु भएको रहेछ । 

डा.कुँवरको एक जना साथी हान्डाको सर्जिकल वार्डमा उहाँहरू काम गर्नु हुँदो रहेछ । हान्डाको एक जना बहिनी दुर्घटनामा बितेको रहेछ । हान्डालाई श्रीमती कुँवर आफ्नै बहिनी जस्तै लाग्दो रहेछ । 

हान्डाले उहाँलाई एक जना नेपाली केटी मेरो वार्डमा आएको छ हेर्न आइज भनेर उहाँलाई बोलाउनु भयो । र, हान्डाले एउटा सर्त पनि लगाउनु भयो । 

यदि केटी कुन भन्ने चिने उहाँलाई दश रुपैयाँ दिने अन्यथा उहाँले हान्डालाई दिनुपर्ने । सर्त लाग्यो । 

उहाँ केटी हेर्न पनि जानुभयो । दुई जना गोरी केटी देख्नुभयो । तर, कुन भन्ने ठम्याउन सक्नुभएन । उहाँको मुख लाजले रातो भयो । उहाँले बाजी हार्नुभयो । 

तर, दश रुपैयाँको बाजी हारे पनि उहाँले जीवनसंगिनीको बाजी भने जित्नुभयो । र, अन्ततः  उहाँको विवाह भयो । 

पशुपतिमा गन्धर्व बिहे । उहाँका तीन सन्तान छन् । दुई छोरा र एक छोरी । एक जना छोरो डा. अरुण कुँवर भने उहाँकै बाटोमा अर्थात् मनोचिकित्सक नै हुनुहुन्छ । 

संयोगले बनेको मनोचिकित्सक 

एनफिल्ड मोटरसाइकलमा डा.कुवरलाई देखेर डाक्टर बन्ने सपना देखेको भए पनि मनोचिकित्सक हुन्छु भन्ने चाहिँ थिएन उहाँलाई । उहाँ त फिजिसियन बन्न चाहनुहुन्थ्यो । तर, भाग्यले दिएन वा संयोग मिलेन । 

उहाँले एमआरसीपीका लागि टि.एन. भट्टराईलाई भन्नुभयो । तर, अरु एमआरसीपीका लागि निधो भैसकेको हुनाले उहाँले एउटै लाइनमा तीन तीन जनालाई गर्न मिल्दैन भन्नुभयो । 

चार चार वर्ष 'डे नाइट ड्युटी' गरेर घोटिनेलाई अवसर छैन चाकडी गर्नेलाई चाहिँ एमआरसीपी भनेर उहाँ भट्टराईसँग झगडा गर्नुभयो । भट्टराईले झन् रिसाएर उहाँलाई भैरहवा पो पठाइदिनुभयो । 

दुई वर्ष उता बसेपछि एक दिन उहाँ दुई दिनको कन्फ्रेन्सका लागि काठमाडौँ आउनुभएको थियो । कन्फ्रेन्स सकिएर जान लाग्दा भट्टराईले डा. कुँवरलाई बोलाएर लेरा भनेर एक जना सुबेदारलाई पठाउनु भएछ । उसले जर सापले हजुरलाई बोलाउनु भएको छ भन्यो । 

उहाँ त्यस बेला गैँडा चुरोट खुब खानुहुन्थ्यो । 

जर्सापले मसँग रिसाएको छस् ? मलाइ चुरोट दिन्नस् भन्नुभयो । 

उहाँले भने मेरो के अधिकार र हजुरसँग रिसाउन । यहाँ कामको मूल्याङ्कन नहुने रहेछ भन्नुभयो । 

जर्सापले तँ अझै मसँग निमट्ठी राखेको छस् भन्नुभयो । हजुर डाइरेक्टर म क्याप्टेन । अब हजुरले जे भने पनि भयो भन्नुभयो उहाँले । 

हो म एमआरसीपी पढ्न नपाएर रिसाएको छु भनेर भन्नुभयो उहाँले । 

जर्सापले त्यसपछि टेबलबाट एउटा फारम निकाल्नु भयो । युनिभर्सिटी अफ लन्डनको । कोर्स थियो डीपीएम । 

तर, उहाँलाई डीपीएमको अर्थ समेत थाहा थिएन त्यसबेला । 

उहाँले सोध्नुभयो जर्सापलाइ यो डिपिएम भनेको कुन चराको नाम हो । 

डिप्लोमा इन साइकोलोजि इन मेडिसिन जर्सापले प्रस्ट्याउनु भयो । 

यो साइकोलोजि र मेडिसिनको के सम्बन्ध भनेर उहाँले सोध्दा एकदम नजिकको सम्बन्ध भनेर जवाफ पाउनुभयो । 

न्युरोलोजि र मेडिसिन दुबै राम्रो आउने हुनाले तिमी एकदम राम्रो साइक्याट्रिक बन्न सक्छौ भनेर जर्सापले सम्झाउनुभयो । जसलाई मेडिसिन आउँदैन त्यो राम्रो साइक्याट्रिक हुनै सक्दैन भनेर पनि थप्नुभयो हाकिम सापले । 

उसो भए म जान्छु भनेर उहाँ लन्डन पढ्न जानुभयो । डिपिएम । दुइवर्षको कोर्सलाई उहाँले १८ महिनामा नै सकाउनु भयो । एमआरसीपी पढ्ने रहर गर्दागर्दै उहाँ यसरी साइक्याट्रिक बन्न पुग्नुभयो । 

राम्रोसँग डिपिएम गरेका खण्डमा न्युरोलोजीमा भने पनि साइक्याट्रिकमा भने पनि जुनसुकैमा भए पनि एमआरसीपी गर्न दिन्छु भनेर जर्सापले लेखेर राखिदिनु भएको रहेछ । यो पछि मात्रै चाल पाउनु भयो उहाँले । 

उहाँ सन् १९७५ मा पढाइ सकेर फर्केर आउनु भयो । त्यस बेला वीर अस्पतालमा मात्र एउटा साइक्याट्रिक युनिट थियो । जम्मा ६ बेडको । 

उहाँले आर्मी अस्पताल महाँकालमा त्यस बेला १५ बेडको न्युरो साइक्याट्रिक डिपार्टमेन्ट सुरु गर्नुभयो । 

मनमा रहेको तुष 

हुन त घटना घटी सक्यो । र, त्यसको दुःखद परिणाम सम्पूर्ण देश र जनताले भोगिसकेका छन् । तर, पनि उहाँलाई लाग्छ उहाँ दरबारमा भएको भए यस्तो घटना घट्ने थिएन । यानेकी दरबार हत्या काण्ड !

उहाँ दरबारको फिजिसियन भएको भए दरबार काण्ड घट्दैन थियो । यसको स्पष्टोक्ति उहाँ यसरी दिनुहुन्छ । उहाँलाई वीरेन्द्र सरकारले सारै मन पराउने । उहाँ वीरेन्द्र सरकारसँग धेरै टुरमा जानु भएको पनि थियो । टुरमा कि उहाँ कि त खगेन्द्र बहादुर । 

बाटोमा गाडी रोकेर पनि वीरेन्द्र सरकारले उहाँलाई बोलाउनु हुन्थ्यो । ए, त्यो जुगेंलाइ बोला त भनेर । अनि शान्त कुमार दौडेर आएर सरकारबाट हुकुम भएको छ भनेर बोलाउन आउनुहुन्थ्यो । 

सरकारले उहाँलाई मनपराउनुको कारण उहाँ देखेको कुरा सिधा भन्ने । 

यदि उहाँ फिजिसियन भएको भए वा दरबारमा भएको भए दीपेन्द्र सरकारको लागु पदार्थ सेवनका बारेमा पहिले नै वीरेन्द्र सरकारलाई भनेर त्यसको समाधानतिर लिएर जान्थेँ, उहाँ भन्नुहुन्छ । यो घटना उहाँको मनमा अझै खट्की रहन्छ  ।  

लागूपदार्थ उपचारको पहिलो केस

एक जना त्यस बेलाका आर्मीका मेजर बिमारी भएर आर्मी अस्पतालको मेडिकल वार्डमा भर्ना भएका थिए । उनको समस्या पखाला लाग्ने रहेछ । उनलाई डा. श्याम बहादुर पाण्डे र डा.के बि श्रेष्ठले हेर्नुभएको रहेछ । 

सबै रिपोट हेर्दा केही पनि देखिएनछ । बिरामी भने छटपटाउँदो रैछ । ३, ४ दिनको अनुसन्धानमा पनि कुनै रोग पत्ता लागेनछ । त्यसपछि डा. पाण्डेले यसलाई 'बहुला वार्ड'मा पठाइदिऊँ । त्यो 'बहुला डाक्टर'ले के गर्दो रहेछ हेरौँ भनेर पठाइदिनुभयो ।

 राउन्डमा जानेबेलामा मेजरले 'गुड मर्निंग सर' भनेर उहाँलाई बोलायो । त्यसपछि उहाँले सबै रेकर्ड हेरेर के भयो भनेर सोध्नुभयो ।

जिब्रो, आँखा हेर्नुभयो । जिब्रोको छाला सबै खुइलिएको थियो । आँखाको नानी फुलेर ठुलो भएको थियो । यति भएपछि उहाँले के हो ब्राउन सुगर खाने गरेको रेछ नि त ! मेजर साप भन्नुभयो । उसले स्वीकार गर्‍यो । यो लागु पदार्थ उपचारको पहिलो र ऐतिहासिक केस हो नेपालको लागि । ६ हप्ताको उपचार पछि बिरामी ठिक भयो । 

त्यस बेलासम्म फ्रिक स्ट्रीटका रुपमा चिनिने झोछेँ, वसन्तपुरका ड्रग डिलरहरूले यदि एक पटक ब्राउन सुगर खायो भने उ त्यसबाट बाहिर आउन सक्दैन भनेर प्रचार गर्ने गरेका रहेछन् । उसको उपचार पनि हुँदैन र मृत्यु हुन्छ भन्ने सन्देश पनि दिने गरेका रहेछन् । 

तर, ती मेजर सापले उपचार पछि फ्रिक स्ट्रिटमा गएर यो सबै गलत हो । यसको उदाहरण म स्वयं हुँ भनेर सन्देश दिने काम गरे । जसले अरु दुर्व्यसनीलाइ यसबाट बाहिर आउन ठुलो मद्दत गर्‍यो, उहाँ भन्नुहुन्छ । 

त्यसपछि धेरै दुर्व्यसनी उपचार गर्न आउन थाले । फादर ग्याफ्नेले पनि बिरामीहरू बोकेर ल्याउन थाल्नुभयो । फादर ग्याफ्नेसँग एक किसिमको सहकार्य पनि भयो त्यसपछि, उहाँ भन्नुहुन्छ । 

नेपाल जेसिसको कार्यशाला

नेपालमा लागु पदार्थविरुद्धको यो अभियान पछि कोलम्बो प्लानको ड्रग एडभाइजर यथिपियो अभारोले काठमाडौँ जेसिसलाइ एउटा कार्यक्रम गर्न भन्नुभएछ । 
जेसिसले शंकर होटेलमा कार्यक्रम गर्ने भयो । 

जेसिसले उहाँलाई तपाँइ बोल्ने हो डाक्टर साप भनेर सोध्यो । उहाँले आफूले गरेको राम्रो कामको बारेमा बोल्न के अप्ठ्यारो म बोल्छु भन्नुभयो । 
त्यो बेला शङ्कर होटेलको ठुलो हलमा मान्छे उभिने ठाउँ नहुने गरी उपस्थित भए । 

बडामहारानी ऐश्वर्य, ज्ञानेन्द्र, धिरेन्द्र लगायत राजपरिवारका सदस्य समेत उपस्थित रहेछन् । 

अब बोलौँ कि नबोलौँ, बोलौँ कि नबोलौँ भयो उहाँलाई । 

भएको कुरा भन्ने हो । उस्तै परे जागिरबाट निकाल्लान् । लगेर नखु जेलमा थुन्लान् । त्यो भन्दा बढी त गर्दैनन् । जे पर्‍यो पर्‍यो बोल्ने हो भनेर उहाँले बोल्नु भयो । फादर ग्याफ्ने र एक जना फर्मासिस्टले पनि बोल्नुभयो । 

त्यसपछि कोलम्बो प्लानका ड्रग एडभाइजरले उहाँलाई ‘यु आर भेरी इम्प्रेस्ड’ भनेर भन्नुभयो । र, लगत्तै उहाँलाई र फादर ग्याफ्नेलाई दुई हप्ताको अन्तर्राष्ट्रिय कार्यशालामा मनिलामा बोलाउनु भयो । 

लागु पदार्थ दुर्व्यसन विरुद्धको पहिलो कार्यशाला

मनिलाबाट फर्के लगत्तै उहाँले अब देशमा एउटा दुर्व्यसन विरुद्धको कार्यशाला गर्नुपर्छ भनेर सुरु गर्नुभयो । 

कार्यक्रमलाई प्रायोजन नेपाल मेडिकल एसोसिएसनले गरेको थियो । 

गृह मन्त्रालयले पनि पनि पहिलो पटक यसमा सहकार्य गरेको थियो । त्यसभन्दा अघिसम्म गृहले यस्तो कुरा सुन्न नै चाहँदैन थियो । यो सब वाहियात हो भन्ने किसिमले कुरा गर्थे । 

कार्यक्रमको उद्घाटन बडामहारानी ऐश्वर्यले गर्नुभएको थियो । समापन भने प्रधानमन्त्री सूर्यबहादुर थापाले गर्नुभएको थियो । 

भन्नलाई राष्ट्रिय कार्यशाला भने पनि भारत पाकिस्तान लगायत देशका करिब तीन सय जना सहभागी भएका थिए । आइएलओ तथा युएनडिपीले पनि उक्त कार्यक्रमलाई सघाएका थिए । 

तालिममा अमेरिका

सन् १९८६ मा उहाँ अल्कोहल र रिह्याबको तालिमका लागि अमेरिका जानु भएको थियो । उहाँ कर्णेल हुनुहुन्थ्यो त्यसबेला । 

डा.नारायण प्रसाद अर्याल उहाँको सहायकका रुपमा काम गर्नुहुन्थ्यो । 

अर्यालले अब एउटा संस्था खोल्नुपर्छ भनेर भन्नुभयो । निडाप खोल्नुभएछ । उहाँले पत्रिकामा संस्थाको अध्यक्ष डा.कुँवर भनेर छपाइदिनु भएछ । उहाँ दुई महिनापछि फर्किनु भयो अमेरिकाबाट । 

तर, समाज कल्याण परिषद्का सदस्य गौरी केसी लगायतले अब निडापलाई नरोक्ने हो भने डा. कुँवरले सिद्ध्याउँछ भनेर कमल थापा तथा डा.ध्रुवमानलाई लिएर डापान भन्ने संस्था बनाए । 

कमल थापा उहाँको टाढाको नाता पनि पर्ने । थापालाई बोलाएर उहाँले मलाई अध्यक्ष चाहिएको होइन खालि काम मात्र चाहिएको हो । त्यसैले बरु तिमी अध्यक्ष बन दुईवटा संस्थालाई एउटै बनाएर काम गरौँ त्यसले काम गर्न सजिलो हुन्छ भन्ने प्रस्ताव गर्नुभयो । तर थापाले मान्नुभएन । 

त्यसपछि ड्रगमा काम गर्ने युथभिजन लगायत थुप्रै संस्था आए । फादर ग्याफ्नेले पनि आफ्नै संस्था बनाउनु भयो । 

लागु औषधमा काम गर्दा कहिले कहाँ कहिले कहाँ जानुपर्ने भयो । यही लागु औषधको संस्थाको अध्यक्ष तथा लागु औषधमा काम गरेका कारण उहाँ फुल कर्णेल हुने बेलामा उहाँलाई आर्मीले जागिर खाने भए लागु औषध छोड भन्यो । 

उहाँलाई लाग्यो कर्णेल त कति हुन्छन् कति ! तर, लागु औषधको कुरा गर्दा त डा. कुँवरको नाम जोडिएर आउँछ । एउटा इतिहास हुन्छ । त्यसपछि उहाँले आफ्नो क्यारियरको त्यो आर्मीबाट राजीनामा दिनुभयो । 

भिजिटिङ मात्रै 

उहाँ त्यस बेला टिचिङ अस्पतालको भिजिटिङ प्रोफेसर हुनुहुन्थ्यो । उहाँका एक ब्याच जुनियर गोपाल प्रसाद आचार्य डिन हुनुहुन्थ्यो । 

आचार्यले उहाँलाई प्रोफेसर बन्न आग्रह गर्नुभएको थियो । 

तर, उहाँ त्यस बेला भर्खर लेफ्टिनेन्ट कर्णेल हुनुहुन्थ्यो । यता संस्थाको अध्यक्ष पनि । अब यति हुँदा हुँदै उता प्रोफेसर के खानु भन्ने लाग्यो । 

उहाँ भिजिटिङ प्रोफेसर त हुँदै हुनुहुन्थ्यो । फेरि अर्को आफू जत्तिको मान्छे नभएको हुनाले मलाई नदिए प्रोफेसर कसलाई दिने हुन र भन्ने घमन्ड पनि भयो । सोझोपन र एक प्रकारको अंहमले उहाँ स्थायी प्रोफेसर बन्न सक्नु भएन । उहाँले ७ वर्ष टिचिङ अस्पतालमा भिजिटिङ प्रोफेसरको रुपमा काम गर्नु भयो । 

बेलायतमा कन्सल्टेण्ट साइक्याट्रिक

उहाँले बेलायतमा पनि सात वर्ष कन्सल्टेन्ट साइक्याट्रिकका रुपमा काम गर्नुभयो । त्यसबेला उहाँको तलब थियो चार हजार पाउन्ड । कहिलेकाहीँ त सात हजारसम्म पनि हुन्थ्यो । काम खास गारो थिएन । फोनबाटै धेरै काम हुन्थ्यो । कहिलेकाहीँ पुलिस चौकीमा मान्छे समाएर ल्यायो भने जानुपर्थ्यो । 

उहाँर्लाइ स्पेसल भिसा नै दिएको थियो बेलायतले । दुइवर्ष बसिस् भने नागरिकता नै दिन्छु पनि भनेको थियो । तर, अर्काको देशमा कति बस्ने । आखिर पैसा पनि सबै थोक होइन भन्ने पनि लाग्यो उहाँलाई । 

साइक्याट्रिक एसोसिएसन खडा गर्ने मान्छे । लागु औषध दुर्व्यसन विरुद्धको अभियान र उपचार चलाउने मान्छे । अर्काको देशमा दास बनेर के बस्नु भन्ने पनि लाग्यो उहाँलाई र फर्किनुभयो नेपाल । 

पहिले पोलिक्लिनिक पनि चलाउनु हुन्थ्यो । अहिले भने मेट्रो अस्पतालमा दुईदेखि छ बजेसम्म बिरामी हेर्नुहुन्छ । 

गृह मन्त्रालयमा लागु औषधको मिटिङ हुँदा बोलाउँदा जानुहुन्छ । उहाँको कामको मूल्याङ्कन गर्दै गोरखा दक्षिण बाहुसमेत प्रदान गरेको छ  त्यसबेलाकाे सरकारले । 

प्रकाशन

उहाँको साइक्याट्रिक सम्बन्धी एउटा पुस्तक प्रकाशन भएको छ । ‘अ क्लिनिकल गाइड कमन साइक्याट्रिक डिसअर्डर रिलेटेड इमर्जेन्सी एन्ड म्यानेजमेन्ट प्लान’ । जसको लोकार्पण पूर्व राष्ट्रपति रामवरण यादवले गर्नुभएको हो । 

लोकार्पणका समयमा राष्ट्रपतिका तर्फबाट सह सचिव उप सचिवले मन्तव्य राख्ने गर्छन् । तर उहाँको पुस्तकका सन्दर्भमा भने राष्ट्रपति यादव स्वयंले उठेर म डा. कुँवरलाई राम्रोसँग चिन्छु । साइक्याट्रिमा यत्तिको स्तरीय पुस्तक प्रकाशन भएको छैन भनेर भन्नुभएको उहाँ सम्झनुहुन्छ । 

सतहत्तर वर्षको उमेरमा यस्तो किताब लेख्नुले डा. कुँवर कस्तो मान्छे हो भनेर देखाउँछ । र, अर्को कुरा यो किताबको सबै आम्दानी साइक्याट्रिक एसोसिएसन नेपाललाई दान दिनुले उहाँको चरित्र पनि झल्कन्छ भनेर भन्नुभएको थियो राष्ट्रपति यादवले । उहाँले ती दिन याद गर्नुभयो । 

उहाँ अहिले पनि लेख्नुहुन्छ । हाल डिप्रेसनका बारे धेरै सुनिने गरेको हुनाले उहाँले डिप्रेसनका बारेमा पनि पुस्तक लेख्नु भएको छ । उक्त पुस्तक हाल प्रकाशनका लागि प्रेसमा गएको छ । 

अर्को एउटा आत्मकथा पनि प्रेसमा छ । यसमा भने देहरादूनबाट आइएस्सी गर्दाको बेलासम्मको बारेमा चर्चा गरिएको छ । 
अब उहाँ ‘स्ट्रगल टु बिकम अ साइक्याट्रिक’ भन्ने पुस्तक लेख्ने सोचमा पनि हुनुहुन्छ । 

अर्को भने लागूपदार्थ दुर्व्यसनका उपचारका सन्दर्भका तिता मिठा कुरा लेख्ने पनि सोच छ उहाँको । तर, कोरोनाले यी सबै काममा वाधा पुगेको बताउनुहुन्छ उहाँ । 

स्लिप थेरापीको शुरुवात 

उहाँ स्लिप थेरापीको शुरुवात नेपालमा आफूले गरेको बताउनुहुन्छ । रोग त पत्ता लाग्यो तर त्यसलाई उपचार कसरी गर्ने भन्ने सम्बन्धमा हो यो । 

बेलायतमा पनि यसको खासै प्रचलन थिएन । भारतमा पनि थिएन । उहाँहरूले यसका बारेमा जनकपुरमा कार्यपत्र नै प्रस्तुत गर्नुभएको थियो । त्यसले पहिलो पुरस्कार पनि प्राप्त गर्‍यो । यसमा डा. श्याम ब. पाण्डे पनि हुनुहुन्थ्यो । 

त्यसबेला डा. अञ्जनी कुमार शर्माका गुरु प्रो. नवाब पनि आउनु भएको थियो । डा. शर्माले उहाँलाई यो मेरो शिष्य हो भनी चिनाउनु भयो । प्रो. नवाबले तँ मेरो शिष्य । यो तेरो शिष्य त्यै भएर यस्तो भएको हो भन्नुभयो । 

प्रो. नवाबको नजिकै बस्न जानु भएका उहाँलाई नवाबले काखमै बसाउनु भयो । र, डा. अञ्जनीलाइ भन्नुभयो यदि यो डाक्टर आज अमेरिकामा भएको भए यसलाई आज एकातिर सुन र अर्कोतिर यसलाई राखेर जोख्थे । उपचारको यस्तो नयाँ आइडिया पत्ता लगाउनेलाई । 

उहाँलाई खुसी पनि लाग्यो । प्रो. नवाबले भारतमा त यस्तो विधि शुरुवात भएको छैन । यहाँ सुरु हुनु भनेको धेरै ठुलो कुरा हो पनि भन्नुभयो । 

निडाप अन्तर्गतका काम

उहाँ दोस्रो पटक बेलायत जानु अगाडि गृह मन्त्रालय, युएनडिपी, आइएलओ सहितको सार्कको पाइलट प्रोजेक्ट ‘कम्युनिटी रिकभरी सेन्टर’ पनि सञ्चालन गर्नुभयो ।

गृह मन्त्रालय अन्तर्गत लागु औषध हेर्ने पहिले महाशाखा थियो । तर, उहाँ बाहिर गएर फर्किँदा त्यो शाखामा झरेछ । अहिले उहाँको माग विभाग नै बनाउने भन्ने छ । त्यसको काम पनि अगाडी बढेको थियो । तर, उहाँ नभएका बेला त्यसका सहसचिवलाई सामान्य प्रशासन मन्त्रालयमा सारेर त्यो काम पनि त्यसै अलपत्र परेको रहेछ । 

उहाँ विगत चार पाँच वर्षदेखि आर्मी अस्पतालमा पढाउने गर्नुहुन्थ्यो । तर, मेडिकल काउन्सिलले ७५ नाघेकालाई प्रोफेसर तथा भिजिटिङ पनि राख्न नपाइने भन्ने नियम बनाए पछि उहाँको यो प्रोफेसरमा पनि लगाम लागेको छ । 

मेरो स्मरण शक्ति ठिक छ, कान राम्रो सुन्छु, विषयवस्तुका बारेमा भनिरहनै परेन, स्वास्थ्य ठिक छ । अब म जस्तो यस्तो सक्षम मान्छेले पढाउन नपाए त्यसको घाटा राज्यलाई हुन्छ कि मलाइ ? उहाँको प्रश्न छ । मैले मलाइ पैसा दिनुपर्छ पनि भनेको छैन, उहाँ भन्नुहुन्छ । 

अन्त्यमा 

नेपालमा मनोचिकित्सकका क्षेत्रमा यसरी उदाहरणीय कार्य गर्ने उहाँ जस्तो व्यक्तित्वलाई सबै कुरामा सक्षम रहँदा रहँदै पनि पठन पाठनबाट केवल उमेर हदका कारण वञ्चित गरिँदा उहाँको मन भने दुखेको छ । 

उहाँ भन्नुहुन्छ मलाइ पैसाको लोभ होइन । म स्वयंसेवा गर्न तयार छु । आखिर म जस्तो व्यक्तिलाई यसरी प्राध्यापनमा वञ्चित गरिँदा त्यसको असर राष्ट्रलाई नै पर्ने हो । 

म त सबैभन्दा ठुलो विद्या दान दिन तयार थिएँ । तर, राज्यले कुरो बुझेन । डा.देशराज बहादुर कुँवरको गुनासो छ ।