लिभरपुललाई हराउँदै आर्सनलले जित्यो कम्युनिटी शिल्डको उपाधि

लिभरपुललाई हराउँदै आर्सनलले जित्यो कम्युनिटी शिल्डको उपाधि

लोकसंवाद संवाददाता  |  खेलकुद  |  भदौ १४, २०७७

आर्सनलले कम्युनिटी शिल्डको उपाधि जितेको छ । वेम्बली रंगशालामा आर्सनलले लिग च्याम्पियन लिभरपुललाई हराउँदै उपाधि जितेको हो । 

खेलको निर्धारित समय १–१ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरमार्फत लिइएको थियो । जसमा आर्सनल ५–४ ले विजयी भयो । 

आर्सनलका रेइस नेल्सन, एन्सले मेटल्यान्ड नाइल्स, सेड्रिक सोएरस, डेभिड लुइज र पिएरे एम्रिक औबामियाङले गोल गरेका थिए भने लिभरपुलका मोहमद सलाह, फाबिन्हो, ताकुमी मिनामिनो र कुर्टिस जोन्सले गोल गरे ।

लिभरपुलका रिहन ब्रेउस्टरको प्रहार अकाशिएको थियो । खेलको १२ औं मिनेटमा औबामियाङले गोल गर्दै आर्सनललाई सुरुवाती अग्रता दिलाएका थिए । तर, खेलको ७३ औं मिनेटमा मिनामिनोले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याएका थिए । 

आर्सनलले १६ औं पटक कम्युनिटी शिल्डको उपाधि जितेको हो । प्रिमियर लिग विजेता र एफए कप विजेताबीच कम्युनिटी शिल्टको फाइनल खेल हुने गर्छ ।