एण्टिवायोटिकहरुको चाखलाग्दो कहानी : कहिले र कसले पत्ता लगायो ?

एण्टिवायोटिकहरुको चाखलाग्दो कहानी : कहिले र कसले पत्ता लगायो ?

प्रा.डा.डम्बरबहादुर कार्की  |  स्वास्थ्य  |  भदौ १४, २०७७

क्लोरामफेनिकल (Chloramphenical)

यो जिवाणु नाशक औषधिले जिवाणुहरुलाई वृद्धि हुन दिदैंन । क्लोरामफेनिकल स्ट्रेपटोमाइसिस भेनेजुएलाको माटोबाट सन् १९४९ मा पैदा गरिएको थियो । यसको वनाट सामान्य किसिमको भएकाले यसलाई बनाउन सन् १९४९ मा त्यत्ति गाह्रो परेन । सुरुमा यो औषधिद्वारा टाइफसको ज्वरोको सफल उपचार गरिएको थियो । धेरै वर्षसम्म क्लोरामफेनिकल टाइफाइडको उपचार गर्न प्रयोग गरियो । म आफैँले यो औषधिद्वारा टाइफाइडको उपचार गरेको थिए । यो औषधिले वोनम्यारोमा प्रतिकुल प्रभाव पारेर एप्लास्टिक एनिमिया गराउने कुरा थाहा भएपछि यसको प्रयोग बन्द गरिएको हो । 

हिजोआज पनि आँखा र कानको रोगमा यसलाई प्रयोग गरिन्छ । कहिले काही अन्य जिवाणु नाशक औषधिहरु जिवाणु नाश गर्न सक्षम नभएको अवस्थामा सावधानी अपनाएर यो औषधिलाई चिकित्सकहरुले प्रयोग गरेको पाइन्छ ।

टेट्रासाइक्लिन (Tetracycline)  

क्लोर टेट्रासाइक्लिनलाई मिसौरिको माटोमा पाईने एक्टिनोमाइसिस नामक जिवाणुबाट सर्वप्रथम सन् १९४५ मा बेञ्जामिन मिङ्गे दुगर (Benjamin Minge Duggar)  ले पत्ता लगाएका थिए । यो समूहका धेरे ओखतीहरु पछि पत्ता लगाइएका हुन्  । टेरामाइसिन अक्सिटेट्रासाइक्लिन हो र  यसलाई धेरैवर्षसम्म प्रयोग गरियो । ग्राम नेगेटिभ र ग्राम पोजेटिभ जिवाणुहरुलाई नाश गर्ने शक्ति भएको टेट्रासाइक्लिनलाई क्लामाइडिया, माइकोप्लाज्मा रिकेटसिया र मलेरियामा पनि प्रयोग गरियो । यो समूहका जिवाणु नाशक ओखतीहरुले जिवाणुको वृद्धिमा रोक लगाएर (Bacteriostatic)जिवाणुहरुको संक्रमणलाई नियन्त्रण गर्छन् । 

जिवाणु नाशक धेरै किसिमका औषधिहरुबाट सुरक्षित जिवाणुहरुलाई नाश गर्न यही समूहको टिजेसाइक्लिन (Tigecycline) सक्षम छ । नयाँ बनाइएका ईर्भामाइसिन (Ervamycin), सारेसाइक्लिन (Sarecyclin) र ओमल्डासाइक्लिन (Omaldacyclin) शक्तिशाली टेट्रासाइक्लिन समूहका औषधिहरुले धेरै प्रकारका जिवाणु जनित रोगहरुलाई निको पार्न सक्छन् । यो समूहका औषधिहरु गर्भावस्थामा प्रयोग गर्नु भने हुँदैन । 

पिपरासिलिन नामक जिवाणुनाशक ओखतीलाई विटाल्याक्टिमेज नाशक टोजो व्याक्टमसँग मिलाएर प्रयोग गरिन्छ । ४.५ ग्रामको यो ओखती नर्मल सलाइनमा मिलाएर दिनमा तीन पल्ट शीराद्वारा प्रयोग गरिन्छ । सघन कक्षमा भर्ना भएका सिकिस्त बिरामीहरुको जिवाणुहरुद्वार संक्रमण हुँदा हुने खतरनाक रोगहरुमा यो ओखती धेरै उपयोगी मानिन्छ । सलव्याक्टम (Sulbactam) विटाल्याक्टिमेज नाशक ओखती हो र यसलाई एम्पिसिलिनसँग मिलाएर शीराद्वार दिइन्छ ।

म्याक्रोलाइडस (Macrolides)

यो समूहका ओखतीहरुमा इरिथ्रोमाइसिन, एजिथ्रोमाइसिन र क्लारिथ्रोमाइसिन पर्दछन् । इरिथ्रोमाइसिनलाई सर्वप्रथम सन् १९५२ मा म्याक गुरी (MC Guire) ले पत्ता लगाएका हुन । यो समूहका औषधिहरुले ग्रामपोजेटिभ र ग्राम नेगेटिभ जिवाणुलाई निष्कृय तुल्याएर यिनीहरुलाई नाश गर्छन् । लिजियेनिला (Legionella), माइक्रोप्लाजमा(Mycoplasma)र क्लामाडिया (Clamydia) नामक जिवाणुलाई इरिथ्रोमाइसिनले नाश गर्न सक्छ । इसिजिमा क्युटी इन्टरभल (QT interval)लम्बाएर हृदयगतीको रोग ईरिथ्रोमाइसिनको प्रयोगद्वारा हुन सक्ने सम्भावनालाई चिकित्सकहरुले विशेष ध्यान दिनु आवश्यक छ । 

एजिथ्रोमाइसिन र क्लारिथ्रोमासिन सन् १९७० पछि पत्ता लगाइएका हुन् । यो समूहका औषधिहरु धेरै प्रकारका रोगहरुमा हिजोआज पनि प्रयोग गरिन्छन् ।

कुइनोलोन (Quinolone)

यो समूहका औषधिहरुको प्रयोगद्वारा धेरै प्रकारका जिवाणु जनित रोगहरुको सफल उपचार हिजोआज पनि भइरहेको पाइन्छ । यो समूहका पहिलो र दोस्रो पुस्ताका औषधिहरु भन्दा तेस्रो र चौंथो पुस्ताका औषधिहरुमा जिवाणु नाश गर्ने शक्ति ज्यादा हुन्छ । कुइनोलोन समूहका औषधिहरुको यहाँ उल्लेखित विवरण टीडी एमफाम (TDM Pham) र उनका सहयोगीहरुले प्रकाशित गरेको प्रस्तुतिमा आधारित छ ।

मलेरियाको उपचारमा प्रयोग गरिने क्लोरोकुइन नामक ओखती बनाउन प्रयत्न भइरहेको बेला जर्ज लेसर (George Lesher) ले सन् १९५९ मा न्यालिडिक्सिड एसिड पत्ता लगाएका हुन् । यो जिवाणु नाशक ओखती जिवाणुद्वारा पिसाबको संक्रमण हुँदा प्रयोग गरिने औषधि पहिलो पुस्ताको पहिलो कुइनोलोन मानिन्छ । यही ओखतीको वनावटमा परिवर्तन गरेर सन् १९७० देखि सन् १९८० को दसकमा दोस्रो पुस्ताका कुइनोलोनहरु पैदा गरिएका हुन् । सिप्रोफ्लोक्सासिन, नरफ्लोक्सासिन, ओफ्लोक्सासिन र लिभोफ्लोक्सासिन दोस्रो पुस्ताका कुइनोलोन हुन् ।

ग्राटीफ्लोक्यासिन्,  ग्रेपाफ्लोक्सासिन र क्लिनाफ्लोक्सासिन तेस्रो पुस्ताका कुइनोलोन हुन् र यिनीहरु ज्यादा प्रभावशाली  हुन्छन् ।

मोक्सीफ्लोक्सासिन, जेमीफ्लोक्सासिन र ट्रभाफ्लोक्सासिन चौथो पुस्ताका कुइनोलोन हुन् । गारेनोक्सासिन सबभन्दा पछि बनाईएको कुइनोलोन हो । कुइनोलोन समूहका औषधिहरुको वनावटमा परिवर्तन गरेर भविष्यमा धेरै शक्तिशाली जिवाणु नाशक ओखतीहरु आविष्कार गर्न वैज्ञानिकहरु सफल हुने आशा राख्न सकिन्छ ।

सल्फोनामाइडस्  (Sulphonamides)

यो समूहमा पर्ने सलफा निलामाइड  सन् १९०८ मा बनाइएको थियो । यसलाई एउटा रङ् (Dye) सँग मिलाएर सन् १९३२ मा गरहार्ड डोम्याक (Gerhard Domagk)ले प्रोन्टोसिल (Prontosil) बनाएर सन् १९३३ मा नोवल पुरस्कार पाएका हुन् । प्रोन्टोसिलको प्रयोगद्वारा सन् १९३३ मा स्टाफाइलोकक्सद्वारा पिडित बालकको सफलतामा पूर्वक उपचार भएको इतिहास छ । जिवाणु नाश गर्न प्रोन्टोसिलमा रङ् मिलाउनु नपर्ने तथ्य विशेषज्ञहरुले पछि पत्ता लगाएका हुन् ।

पछि वैज्ञानिकहरुले धेरै प्रकारका सल्फोनामाइडहरु बनाए । यो समूहका औषधिहरुले धेरै सिकिस्त बिरामिहरुको ज्यान जोगायो । व्रिटिस प्रधानमन्त्री विन्सटन चर्चिल धेरै सिगार र रक्सी खाने गर्दथे भनेर चर्चित छन् । 

उनको ९० वर्षको उमेरमा निधन भएको थियो । मृत्यु पछि उनको शरीर वेष्ट मिनिष्टर आवेको मूलद्वार भित्र राखेर चर्चिललाई ठूलो सम्मान दिइयो । सन् १९४३ मा दोस्रो विश्वयुद्ध भइरहँदा टुनिसियामा उनलाई निमोनिया भएको थियो । त्यसबेला पेनिसिलिनको आविस्कार भइसकेको भएता पनि चिकित्सकहरुले चर्चिलको उपचार गर्न पेनिसिलिनको प्रयोग नगरेको इतिहास छ । पेनिसिलिनको नराम्रो असर पर्न सक्ने डरले चिकित्सकहरुले चर्चिललाई पेनिसिलिनको प्रयोग गरेनन् ।

चर्चिलको निमोनियाको उपचार सन् १९४३ को डिसेम्बर महिनामा सल्फापिरिडिनद्वारा उपचार गरिएको थियो । त्यस्तै अमेरिकाका प्रेसिडेण्ट रुजभोल्टका छोराको ज्यान पनि सल्फा समूहको ओखतीले नै जोगाएको थियो । सल्फा समूहका ओखतीहरुको प्रयोगद्वारा जिवाणु जनित रोगहरुको नियमित उपचार सन् १९३५ देखि हुन थालेको हो ।

तत्कालिन श्री ५ को सरकारको सेवामा २०२० साल असार महिनामा प्रवेश गरेर मैले भोजपुर अस्पतालमा काम गर्न थालेको थिए । त्यतिबेला सल्फाडायजिन, सल्फाग्वानिडिन र प्रोकेन पोनिसिलिनको सुईद्वारा बिरामीहरुको उपचार गरेको सम्झना आउँछ । त्यतिबेला प्रोकेन पोनिसिलिन र स्ट्रेपटोमाइसिन भएको सुई पनि उपलब्ध थियो । त्यतिबेला भोजपुरमा पाईने अन्य जिवाणु नाशक ओखतीहरुमा टेरामाइसिन र क्लोरामफेनिकल पनि हुन् ।

सल्फा समूहका ओखतीहरु गर्भवती महिलाहरुले र दुध ख्वाउने आमाहरुले प्रयोग गर्नु हुँदैन ।  हिजो आज सल्फा समूहका ओखतीहरु त्यति प्रयोग भएको पाईदैन ।

बिटाल्याक्टिमेज नाशक औषधिको प्रयोग

एम्पिसिलिन सन् १९५८ मा बनाइयो र सन् १९६१ देखि जिवाणु नाश गर्न प्रयोग हुन थालेको हो । सन् १९६० तिर एमोक्सिलिन पत्ता लगाइएको भएता पनि सन् १९७२ देखि जिवाणु जनित रोगको उपचारमा प्रयोग गर्न सुरु गरियो ।

जिवाणुहरुले विटाल्याक्टिमेज नामक ईञ्जायम उत्पन्न गरेर एमोक्सिसिलिनलाई निष्कृय गराउन थाल्यो । विटाल्याक्टिमेज इञ्जायमलाई क्लाभुलानिक एसिडले नष्ट गरेर एमोक्सिसिलिनको जिवाणु नाशक शक्ति सुरक्षित राख्छ । यसर्थ एमोक्सिसिलिनसँग क्लाभुलिनिक एसिड मिलाएर प्रयोग गर्दा एमोक्सिसिलिनको जिवाणु नाश गर्ने शक्ति सुरक्षित हुन्छ । 

पिपरासिलिन नामक जिवाणुनाशक ओखतीलाई विटाल्याक्टिमेज नाशक टोजो व्याक्टमसँग मिलाएर प्रयोग गरिन्छ । ४.५ ग्रामको यो ओखती नर्मल सलाइनमा मिलाएर दिनमा तीन पल्ट शीराद्वारा प्रयोग गरिन्छ । सघन कक्षमा भर्ना भएका सिकिस्त बिरामीहरुको जिवाणुहरुद्वारा संक्रमण हुँदा हुने खतरनाक रोगहरुमा यो ओखती धेरै उपयोगी मानिन्छ ।
सलव्याक्टम (Sulbactam) विटाल्याक्टिमेज नाशक ओखती हो र यसलाई एम्पिसिलिनसँग मिलाएर शीराद्वारा दिइन्छ ।

खिलनानी (G C Khilnani et.al)  र उनका सहयोगीहरुले सघन कक्षमा भर्ना भएका सिकिस्त बिरामीह्रुलाई कस्ता किसिमका जिवाणुनाशक औषधिहरुद्वारा उपचारगर्नु पर्छ भन्ने बिषयमा विस्तृत विवरण Indian Journal of Critical Care मा प्रकाशित गरेका छन् । 

अस्पतालमा भर्ना भएका सिकिस्त बिरामीहरुमा भएको निमोनियाको उपचार तुरुन्तै सुरु गर्नु पर्छ । पछि रगत र खकारको जाँचको नतिजा अनुसार जिवाणुनाशक ओखतीहरु प्रयोग गर्न सकिन्छ । तुरुन्तै  प्रयोग गर्न सकिने जिवाणु नाशक औषधिहरुमा Ampicillin+Sulbactam, Amoxicillin+Clavalunic acid, piperacillin +Tazo bactam Meropenem पर्छन् । 

खाना सर्केर फोक्सोमा पस्दा हुने निमोनियामा ClindamycinMoxifloxacilin नामक जिवाणुनाशक ओखतीहरु उपयोगी हुन्छन् ।

रगतमा जति ज्यादा औषधिको मात्रा ज्यादा हुन्छ त्यत्ति नै राम्रो काम गर्ने ओखतीरुमा एमाइनोग्लाइकोसाइड, फ्लोरोकुइनोलोनस, Metronidazole र Colistin पर्छन । जति ज्यादा समयसम्म रगतमा औषधि रहन्छ त्यत्ति नै राम्रो काम गर्ने ओखतीहरुमा विटाल्याक्टम, लिनेजोलिड र टेट्रासाइक्लिन पर्छन । जिवाणुनाशक ओखतीहरु प्रयोग गर्दा माथि उल्लेख गरेको कुरालाई पनि ध्यान दिनु पर्छ । 

मिथिसिलिन रजिष्टेण्ट स्टाफाइलोकोकस औरियस(MRSA)को उपचार Vancomycin, Teicoplanin, Linezolid अथवा Tigecycline द्वारा गर्न सकिन्छ । यी जिवाणु नाशक ओखतीहरु अधिकांस जिवाणुहरुलाई नाश गर्न सक्षम छन् ।

यो पनि 

आर्सेनिक देखि पेनिसिलिनसम्मकाे कहानी: जिवाणु नाशक ओखती अर्थात एण्टिवायोटिकले काम नगर्ने अवस्था