मेस्सीको मूल्य ७ सय मिलियन, पीसीआरमा सहभागी भएनन्

मेस्सीको मूल्य ७ सय मिलियन, पीसीआरमा सहभागी भएनन्

लोकसंवाद संवाददाता  |  खेलकुद  |  भदौ १५, २०७७

बार्सिलोनाका अर्जेन्टिनी स्ट्राइकर लियोनल मेस्सीलाई अनुबन्ध गर्न ७ सय मिलियन युरो तिर्नुपर्ने भएको छ । 

स्पेनिस ला लिगाले मेस्सी अनुबन्ध गर्न चाहने क्लबले बार्सिलोनालाई ७ सय मिलियन युरो रिलिज क्लज तिर्नु पर्ने बताएको हो । 

एक विज्ञप्ति जारी गर्दै ला लिगाले मेस्सीले क्लब छाड्न चाहेमा क्लबलाई सम्झौता अनुसारको रिलिज क्लज तिर्नु पर्ने बताएसँगै मेस्सीले फ्रि ट्रान्सफर र बार्सिलोनाको अनुमतिबिना क्याम्प नाउ छाड्न नपाउने भएका छन् । 
यद्यपि कुनै क्लबले ७ सय मिलियन युरो रिलिज क्लज तिरेमा मेस्सीले बार्सिलोनाको सहमति बिना पनि क्लब छाड्न सक्नेछन् । 

मेस्सीले गत साता क्लबलाई पत्र लेख्दै क्लब छाड्ने जानकारी गराएका थिए । बार्सिलोनाले भने समर ट्रान्सफरमा मेस्सीले क्लब छाड्न नसक्ने बताउँदै आएको छ ।

ला लिगाको निर्णयले पनि मेस्सीलाई क्लब छाड्न कठिन हुने भएको छ । मेस्सी र बार्सिलोनाबीच सन् २०२१ सम्म सम्झौता रहेको छ । मेस्सी आइतबार क्लबले गरेको कोरोनाको पीसीआर परीक्षणमा समेत सहभागी भएनन् । 

नयाँ सिजनका लागि अभ्यास सुरु गर्न लागेको बार्सिलोनाले त्यसअघि पीसीआर परीक्षण गरेको हो ।