शास्त्रीय ज्ञानमा चासो : विज्ञान प्रविधिका बाधक र विपरीत ठान्ने कि एक अर्काका परिपूरक ?

शास्त्रीय ज्ञानमा चासो : विज्ञान प्रविधिका बाधक र विपरीत ठान्ने कि एक अर्काका परिपूरक ?

ध्रुवप्रसाद गौतम  |  शिक्षा  |  भदौ १५, २०७७

कुनै पनि मानिसको जीवन व्यक्तिगत वा निजीमात्र हुँदैन ।सामाजिक र चेतनशील प्राणी हुनुको नाताले हरेक व्यक्तिको जीवन समाजसँग गाँसिएको हुन्छ ।सामाजिक संस्कार, व्यवहारबाट त्यो प्रत्यक्ष प्रभावित हुन्छ । व्यक्ति-व्यक्तिको चेतनाको स्तरले समाजमा प्रभाव पार्छ भने समकालीन समाज विकासको स्तरले व्यक्तिको जीवनका विविध पक्षहरुलाई दिशानिर्देश गरिरहेको हुन्छ । हाम्रो शिक्षा, शिक्षा प्रणाली र शिक्षाको दर्शनले हरेक व्यक्ति र समाजको समग्र चेतनालाई आकार दिने काम गर्छ । हामी स्वयं कस्तो बन्न चाहन्छौं र  समाज कस्तो बनाउन चाहन्छौं  यो प्रश्नको जवाफ हामीले लिने शिक्षाको दर्शन र शिक्षा प्रणाली भित्र नै हुन्छ ।जीवन-जगतको सत्यता र त्यसको गतिशीलता भित्रनै शिक्षाको सही मार्ग र गन्तव्य रहेको हुन्छ ।जीवनको सहजमार्गलाई दिशानिर्देश गर्न नसक्ने, सिद्धान्तमा बोलिने सुनिने तर व्यवहार र कर्ममा नदेखिने शिक्षा खोक्रो आडम्बर मात्र हो । त्यस्तो शिक्षा व्यक्ति स्वयं र समाजको उन्नतिको लागि बाधक मात्र हुन्छ । सिद्धान्त र व्यवहारको सन्तुलित समन्वयबाट बन्ने जिम्मेवार र कर्मठ नागरिक तथा समुन्नत समाजको निर्माण नै शिक्षाको मूल उद्देश्य हो।

'सर्वे भवन्तु सुखिनः सर्वेसन्तु निरामया।सर्वे भद्राणी पस्यन्तु माकश्चित् दुःख भाग्भवेत्।' यो प्रसिद्ध शास्त्रीय उक्तिले पनि यस्तै गुणस्तरीय शिक्षाको अपेक्षा गर्दछ । हाम्रा पुर्खाहरुले अभ्यास गरेको 'सर्वजन हिताय, सर्वजन सुखाय' को मर्म अनुसारको शिक्षा प्रणाली हामीले गर्व र मनन गर्नुपर्ने हाम्रा ऐतिहासिक सम्पत्ति हुन् । यिनको महत्त्व आजपनि कम भएको छैन बरु बढ्दै गएको छ ।

आज सामाजमा बढिरहेको अति भोगवादी प्रवृत्तिले सामुहिक सार्वजनिक हित विपरीत नितान्त निजी स्वार्थलाई मात्र सर्वोपरि महत्व दिइन्छ । सीमाहीन विलासी जीवनशैलीको निरन्तर बढोत्तरीले सबैका साझा र अपरिहार्य वातावरणीय तत्त्वहरूको अन्धदोहन भइरहेको छ ।  जसबाट सामाजिक द्वन्द्व ,सांस्कृतिक विचलन, मौसमी विपत्ति र पारिस्थितिक पद्धतिमा गम्भीर असन्तुलन उत्पन्न हुँदैछ ।विश्वव्यापी महामारीको प्रकोप फैलनुमा मानवको स्वार्थी प्रवृत्ति बढी जिम्मेवार देखिन्छ ।आर्थिक प्रलोभन र विकासको नाममा भईरहेको निरन्तरको वातावरण विनाशले मानव जातिसँगै सबै प्राणी वनस्पतिको अस्तित्व संकटमा पर्दैछ ।यो सुन्दर सृष्टि रचनालाई संयमित रुपमा उपयोग गरी आफ्नो जीवन जीउने अधिकार त मानव जातीलाई छ तर सृष्टिका कुनै पनि प्राकृतिक संसाधनलाई तहसनहस गरेर जैविक विविधतालाई नष्ट गर्ने अधिकार चाहिँ छैन । भनिन्छ, कि मानिस लगायत सबै प्राणीको जैविक आवश्यकता पुरा गर्ने क्षमता प्रकृतिमा छ तर, मानिसको लोभलाई पुरागर्ने क्षमता चाहिँ छैन ।

मानिस आज सामाजिक, आर्थिक मन्दि, वातावरणीय प्रदुषण, सर्ने र नसर्ने रोगहरुको प्रकोप, मानसिक तनाव जस्ता समस्याहरुको दलदलमा भासिँदै गएको छ ।   विश्वव्यापी    असर उत्पन्न गरिरहेका यस्ता विकराल समस्याहरू समाधान गर्दै असल संयमी नागरिक तथा सन्तुलित वातावरण सहितको समुन्नत समाज निर्माण गर्न आज मानवीय मूल्यमा आधारित शिक्षा आवश्यक भएको छ । मानवमूल्यमा आधारित शिक्षाले व्यक्तिलाई आफ्नो जीवन सहजरूपमा जिउन आवश्यक ज्ञान, सीप र कौशल मात्र सिकाउँदैन,  त्योसँगै यसले सबैप्रति आदरभाव, असल चरित्र निर्माण, वातावरणीय तत्त्वहरूको संयमित उपयोग र सिंगो जीवजगत प्रति नै करुणा, मैत्री, सहअस्तित्व र प्रेमभाव सिकाउँछ । जीवन मूल्यमा आधारित शिक्षाले नै एकमात्र जीवयुक्त पृथ्वीमा सबै प्राणी वनस्पतिको दीर्घ जीवन, सन्तुलित पर्यावरण र सम्पूर्ण जगतको कल्याण गर्नेछ ।

'सर्वे भवन्तु सुखिनः सर्वेसन्तु निरामया।सर्वे भद्राणी पस्यन्तु माकश्चित् दुःख भाग्भवेत्।' यो प्रसिद्ध शास्त्रीय उक्तिले पनि यस्तै गुणस्तरीय शिक्षाको अपेक्षा गर्दछ । हाम्रा पुर्खाहरुले अभ्यास गरेको 'सर्वजन हिताय, सर्वजन सुखाय' को मर्म अनुसारको शिक्षा प्रणाली हामीले गर्व र मनन गर्नुपर्ने हाम्रा ऐतिहासिक सम्पत्ति हुन् । यिनको महत्त्व आजपनि कम भएको छैन बरु बढ्दै गएको छ।

'उदारचरितानान्तु वसुधैव कुटुम्बकम्!' को विश्वभातृत्व भावना सिक्ने र सिकाउने संस्कारित सनातन ज्ञानको कमीले दुषित बन्दै गएको वर्तमान समाजलाई स्वच्छ र सन्तुलित बनाउन सो ज्ञानलाई नूतन विज्ञान प्रविधिसँग जोड्नु आवश्यक छ । हाम्रा पुर्खाहरुले पुस्तौंपुस्ता देखिका अनुभव र जीवन दर्शनका गहन ज्ञानलाई शास्त्र र ग्रन्थमा संरक्षण गरेका हुन् र ती शास्त्रीय ज्ञान आधुनिक विज्ञान प्रविधिका बाधक र विपरीत होइनन् बरु ती एक अर्काका परिपूरक हुन् । यी दुबैको समन्वयले नै समुन्नत सभ्य समाजको निर्माण हुनसक्छ । शिक्षा क्षेत्रको फरक फरक भूमिकामा रहेका सबैले सकारात्मक सोचका साथ हामी सबैको वृहत्तर स्वार्थको विषयमा एकमत भएर सहकार्य गर्नु वर्तमानको साझा चासो र अपरिहार्यता पनि हो ।