प्रतिबद्धताको २९% मात्रै विदेशी लगानी

प्रतिबद्धताको २९% मात्रै विदेशी लगानी

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र १२, २०७५

काठमाडौं । उद्योग विभागबाट विदेशी लगानीका लागि स्वीकृति लिएका कम्पनीहरूले प्रतिबद्धताअनुसार लगानी नल्याएको देखिएको छ । सरकारी तथ्यांकअनुसार स्वीकृत भएका लगानीको एकतिहाइ मात्रै नेपालमा भित्रिएको छ ।  उद्योग विभागबाट हालसम्म २ खर्ब ७९ अर्ब रुपैयाँ लगानी स्वीकृत भएको छ । तर, अहिलेसम्म प्रत्यक्ष विदेशी लगानीका रूपमा ८६ अर्ब रुपैयाँ र कम्पनीको ऋण तथा मुनाफा सञ्चितिसहित १ अर्ब ७० करोड पुगेको राष्ट्र बैंकको तथ्यांक छ ।

विभाग र राष्ट्र बैंकको तथ्यांकलाई हेर्दा स्वीकृत भएकामध्ये करिब एकतिहाइ लगानी मात्रै भित्रिएको देखिन्छ । नेपाल लगानीका लागि तुलनात्मक रूपमा अझै प्रतिस्पर्धी हुन नसकेको तथा प्रक्रियागत झन्जट प्रशस्तै रहेका कारण स्वीकृत भएका लगानी पनि भित्रिन नसकेको नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले बताए । ‘लगानीको गन्तव्य नेपाल मात्रै होइन, विश्वभर छ,’ शर्माले भने, ‘त्यसैले यहाँ कुनै समस्या देखिए तथा लगानी सुरक्षा र नाफाको प्रत्याभूति नपाए आउन लागेको लगानी पनि अन्तै जान्छ ।’ 

नेपालको कानुनलाई अझ लगानीमैत्री र आकर्षक नबनाएसम्म विदेशी लगानी कागजमा मात्रै सीमित हुन सक्ने परिसंघका अध्यक्ष शर्माको भनाइ छ । यद्यपि, अहिले सरकार र संसद्ले कानुनी सुधारमा राम्रो काम गरिरहेकाले लगानी आकर्षणमा महत्वपूर्ण भूमिका खेल्ने उनले बताए । आजको नयाँ पत्रिकामा खबर छ ।