भ्रष्टाचार आरोपितमाथि कडा निगरानी

भ्रष्टाचार आरोपितमाथि कडा निगरानी

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र १२, २०७५

काठमाडौं - अनुसन्धानको दायरामा रहेका व्यक्ति भाग्न सक्ने आशंकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कडा निगरानी थालेको छ। भक्तपुरको चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजका सञ्चालक लम्बोदर न्यौपाने अनुसन्धान अधिकृतको लापरबाहीका कारण बयानकै क्रममा फरार भएपछि अख्तियारले विस्तृत अनुसन्धानको दायरामा रहेका आरोपितमाथि विशेष निगरानी सुरु गरेको हो। अकूत सम्पत्ति आर्जन, पदीय दुरुपयोगबाट भएका निर्णयलगायत आरोपमा अख्तियारले सार्वजनिक पदधारण गरेका राष्ट्रसेवक तथा बिचौलिया करिब हजारजनामाथि विस्तृत रूपमा छानबिन गरिरहेको छ।

उजुरी परेपछि प्रारम्भिक छानबिनमा सामान्य सम्पर्क र पत्र नै काटेर बयानमा बोलाउँदै आएको अख्तियारले उजुरीको महत्व हेरेर आरोपितमाथि सूक्ष्म निगरानी थालेको अख्तियार स्रोतको भनाइ छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १९ को उपदफा ४ अनुसार शंका लागेका आरोपितलाई थुनामै राखेर वा धितो/जमानत लिएर तारेखमा छाड्न सकिने र जमानत नबुझाए थुनामै राखेर अनुसन्धान गर्न सकिने उल्लेख छ। तर अख्तियारका आयुक्त राजनारायण पाठक नै जोडिएको घुस प्रकरणका योजनाकार बयानकै क्रममा भागेपछि अख्तियारले विस्तृत अनुसन्धानमा भएका आरोपितमाथि सूक्ष्म निगरानी बढाएको हो।

‘अनुसन्धान भइरहेको व्यक्ति फरार भई बेपत्ता हुन सक्छ भनी सम्झनुपर्ने कुनै मनासिब कारण भएमा वा बिगो हानि–नोक्सानी भएको देखिएमा आयोगले निजसँग प्रचलित कानुनबमोजिम धरौटी वा जायजेथा जमानत माग्न र त्यस्तो धरौटी वा जमानत नदिएमा निजलाई थुनामा राख्न सकिनेछ,’ अख्तियार अनुसन्धान आयोग ऐनको दफा १९ मा भनिएको छ। तर अनुसन्धान टोलीले न्यौपानेलाई अर्को दिन आउने सर्तमा सामान्य अवस्थामै छाडिदियो। अख्तियारबाट उम्किएको भोलिपल्टै न्यौपाने चैत २९ गते फरार भएका थिए। आजको नागरिक दैनिकमा खबर छ ।