लद्दाखस्थित भारत–चीन सीमा क्षेत्रमा फेरि बढ्यो तनाव

लद्दाखस्थित भारत–चीन सीमा क्षेत्रमा फेरि बढ्यो तनाव

लोकसंवाद संवाददाता  |  विदेश  |  भदौ १६, २०७७

भारत र चीनबीच लद्दाखस्थित सीमा क्षेत्रमा पुनः तनाव बढेको छ । भारतले चिनियाँ सैनिकहरूले पूर्वी लद्दाखमा सीमा सहमति उल्लङ्घन गरेको आरोप लगाएको छ । 

चिनियाँ पक्षले उत्तेजक सैन्य गतिविधि गर्दै सीमामा विद्यमान स्थिति परिवर्तन गर्ने प्रयास गरेपछि भारतीय सेनाले त्यसलाई असफल पारेको भारतीय पक्षको दाबी छ । 

भारतीय सूचना विभागले प्रकाशित गरेको विज्ञप्तिमा भारतीय सेनाले आफू संवादमार्फत् शान्ति कायम गराउने पक्षमा भएको तर सो क्षेत्रलाई अखण्ड राख्न प्रतिबद्ध भएको उल्लेख छ।

चीनका विदेशमन्त्रीले चिनियाँ सेनाले सीमा रेखा पार नगरेको र दुवै देशका सेनाबीच संवाद कायम रहेको बताएका छन् । 

गत जुनमा भारत र चिनियाँ सैनिहरूबीच गलवान उपत्यकामा भिडन्त हुँदा कम्तीमा २० जना भारतीय सैनिकको मृत्यु भएको थियो। चीनले भने सो भिडन्तमा आफ्नो पक्षमा भएको क्षतिबारे हालसम्म केही बताएको छैन । 

दुवै पक्षले एकअर्कालाई सीमा उल्लङ्घन गरेको र उक्साएको आरोप लगाएका थिए । २९ अगस्ट राति पेंगगोंग त्सो तालको दक्षिणी किनारमा चिनियाँ पक्षले गर्न खोजेको गतिविधि भारतीय सेनाले विफल पारेको दिल्लीको दाबी छ।