अतिक्रमणको चपेटामा सरकारी तथा सामुदायिक वन

अतिक्रमणको चपेटामा सरकारी तथा सामुदायिक वन

लोकसंवाद संवाददाता  |  समाज  |  भदौ १६, २०७७

सर्लाही । जिल्लामा सामुदायिक तथा सरकारी वन अतिक्रमणको चपेटामा परेको छ । सामुदायिक वन तथा सरकारी वनबाट सुकुम्बासी तथा तस्करहरुले दिन प्रतिदिन वनजन्य पदार्थ चोरी तस्करी गर्ने गरेका कारण सरकारी तथा सामुदायिक वन अतिक्रमणको चपेटामा परेको हो ।

सरकारी तथा सामुदायिक वनमा कतै बस्ती बसेका छन् भने कतै सरकारी भवन नै निर्माण भएका छन् । जिल्लाको लालबन्दी नगरपालिका—२ मा रहेको नन्देश्वरी सामुदायिक वन उपभोक्ता समूहको जङ्गल क्षेत्रमा अतिक्रमण गरी जिल्ला ट्रापिक प्रहरी कार्यालय सर्लाहीको भवन निर्माण गरिएको छ ।

लालबन्दी नगरपालिका—१ स्थित नवलपुरमा जङ्गल क्षेत्रमा निर्माणाधीन जिल्ला ट्रापिक प्रहरी कार्यालय सर्लाहीको भवन निर्माणस्थलबाट सिसौका आठ÷नौ वटा रुखहरु रातारात काटिएको बताइएको छ । 

राष्ट्रपति चुरे संरक्षणको कार्यक्रम चलिरहेको क्षेत्रबाट वन विनाश भइरहेको नन्देश्वरी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष उदयबहादुर कार्कीले बताउनुभयो । जिल्लाको बाँके खोलादेखि बागमती नदीसम्मको क्षेत्रबाट हरेक दिन काठ चोरी निकासी हुने गरेको प्रहरीको अनुसन्धानले देखाएको छ । त्यसैगरी राजनीतिक आडमा सागरनाथ वन विकास परियोजनाको जङ्गल क्षेत्रमा अतिक्रमण गरी करिब आठ÷नौ सय घर निर्माण गरी बस्ती नै बसेका छन् । 

विसं २०५० यता गरीब तथा सुकुम्बासीको नाममा वनको जग्गा अतिक्रमण हुने गरेको पाइएको छ । जिल्लाको बागमती नगरपालिका वडा नं ४ र ५ मा करिब एक हजार घर निर्माण भएका छन् । भारतसँग खुल्ला सिमाना भएका कारण रातको समयमा यसरी चोरी निकासी भएको वनजन्य पदार्थ सिधैँ सीमा नाकामा पुग्ने गरेको वन कार्यालयले जनाएको छ ।