'चखेवा भन्ज्याङ' बोलको गीत, बाँझे च्यानडाँडा बास र न्याउली चरीको जङ्गल थर्कने 'मिठो आवाज' !

'चखेवा भन्ज्याङ' बोलको गीत, बाँझे च्यानडाँडा बास र न्याउली चरीको  जङ्गल थर्कने 'मिठो आवाज' !

प्रा.डा. विष्णु राई  |  लोकरञ्जन  |  भदौ १६, २०७७

'चखेवा भन्ज्याङ बादलले छोप्यो करायो झ्याउँकिरी 
किन न हो रुन्छ गुराँसे भिरमा वियोगले न्याउली ।' ....

गीत सृजना गर्न भावनाले मात्र पुग्दैन लेख्ने अभ्यास चाहिन्छ । अभ्यस्त भएको मनलाई छोयो भने लेख्ने समय र वातावरण भए पुग्छ । यो गीतको पृष्ठभूमि मेरो पन्ध्र वर्षको सक्रिय राजनीतिक जीवनसँग आबद्ध छ । सुन्दर प्रकृतिको स्पर्शपछि यो गीतको सृजना भएको हो ।  शेली भन्छन्- 'जीवन प्रकृतिसँग सम्बन्धित हुन्छ ।'

जीवन गीत हो । गीत सुख दुःखको सुन्दर काव्य पनि हो । यो गीत २०५३ सालमा मैले लेखेको थिएँ  २०५५ सालमा रेडियो नेपालमा रेकर्डिङ भएको थियो । यस गीतका प्रसिद्ध सङ्गीतकार शिलाबहादुर मोक्तान सङ्गीत र प्रसिद्ध गायिका विमला राईको स्वर रहेको छ । 

२०५३ सालमा राप्रपाबाट उम्मेदवार थिएँ संसदीय चुनावको खोटाङमा । राजनीति भलै मेरो लागि राम्रो बाटो होइन रहेछ, तर यसले मलाई समाज,  देश चिनायो र अहिले पनि समाजमा छुट्टै व्यक्तित्व बनाउने अवसर पनि दिलायो  दिलाइरहेकाे छ । सक्रिय राजनीतिमा मैले मेरो जीवनको 'क्रिम' समय बिताएँ । अहिले बिलकुल मेरो गुनासो छैन अथवा  भन्ने नै हो भने अहिले पुरस्कार पाइरहेछु  । 

दुवै दिग्गज स्रष्टालाई बधाई तथा धन्यवाद भन्न चाहन्छु । २०५५ साल वैशाखमा घर गएको थिएँ । आमालाई भैँसी गोठालो गर्न सघाउँदै थिएँ । पहिलो पल्ट यो गीत रेडियो नेपालबाट बजेको सुनेँ । म गाउँमा भएको समयमा रेकर्डिङ भएछ । गीतको पारा त मलाई शिलाबहादुर मोक्तानले सुनाउनु भएकै थियो ।

उक्त निर्वाचनमा भाग लिने मन थिएन । हिन्दु राज्य, राजा चाहिने पार्टीको धारणा भएकोले पार्टीबाट एक प्रकार निष्क्रिय थिएँ । सूर्यबहादुर थापाले अत्यन्त विश्वास गर्नु हुन्थ्यो । गएर ढुङ्गामा भए पनि आफ्नो नाम लेखेर आउनोस् भनेपछि अस्वीकार गर्न सकिनँ । 

हाम्रो बास चखेवा भन्ज्याङ नजिक थियो । रातभरि टिम्केको जङ्गलमा घोरल,  मृग करायो । जब उज्यालो भयो । सूर्यको किरण रातै गुराँस फुलेको जङ्गलमा ठोकियो । अनि सुरु भयो न्याउली चराको मिठो गीत जङ्गल थर्कने गरी । सुन्दै आनन्द लाग्यो । घरी  यस्तो लाग्थ्यो, उनीहरू दुखद जीवनका गीत गाउँदै छन् । अथवा कुनै जीवनको सुखद उत्सव मनाउँदै छन् । 

प्रधानमन्त्री भएपछि टिके जिल्ला सभापति नियुक्त गर्ने क्रम चल्यो । मलाई बालुवाटारमा बोलाएर तपाई बन्नोस् भन्नु भयो । मैले रत्न दाइको नाम लिएँ । त्यहीँबाट आउनोस् भनेर फोन गरेँ । यता पार्टीको सिफारिस चाहिने भएकोले मैले रत्न राईको नाममा आफैले लेखेर तत्कालीन अध्यक्ष पशुपति समसेरलाई सही गराई प्रधानमन्त्रीलाई बुझाएँ । 

मैले पार्टी छोड्ने भएपछि सूर्यबहादुर थापाले निवासमा बोलाएर धेरै आशाको वचन दिनुभयो । त्यो कुरा मेरो लागि ठुलो कुरा थियो । नौ बजेदेखि एक बज्यो कुरा सकिएन घरबाट मलाई फोन आएपछि कुरा टुङ्गियो । त्यस दिन भेटघाटमा आएका विशिष्ट व्यक्तिहरूको घुइँचो त्यसै बित्यो । 

पछि एक पल्ट फोन गरेर तपाई र बुहारीको खबर के छ भनेर फोन गर्नु भएको थियो। त्यसपछि भेटघाट हाम्रो भएन । आर्यघाटमा अन्तिम पल्ट भयो ।  जसले जे भने पनि सूर्यबहादुर देशको लागि 'भर्सटायल'  राजनीतिज्ञ हुनुहुन्थ्यो ।      

यो गीतको रचना, चुनावमा म सहभागी नभएको भए सृजना हुने नै थिएन र वरिष्ठ गायिका विमला राईलाई सम्झन चाहन्छु । कान्छी फिल्ममा 'कान्छी हे कान्छी' भन्ने  गीत गाएर चर्चामा रहेकी गायिकाले मेरो गीत गाउनु भनेको मेरो भाग्य पनि थियो । शिलाबहादुर मोक्तानलाई मिठो धुन सृजना गर्नु भएकोमा धन्यवाद भन्न चाहन्छु । 

गीतको भाव लय सङ्गीतकारले बुझेन भने गीत मरे जस्तै हुन्छ । सङ्गीतकार आफैँ गीतकारपछि एक महान सर्जक हो । लाग्छ मैले यो जीवनको गीत लेखेँ त्यो त फेरि मान्छेमा फरक पर्ला ।

चुनावी प्रचारमा जिल्लाको धेरै ठाउँ पुगियो । एक ठाउँ बास बस्न पुगियो । घाँटीमा झुन्डाएको साँचोले काठको बाकसबाट सुरक्षित राखेको चामल झिकेको देखेँ ।भित्र भालेको मासु र धानको भात पाक्दै थियो । घरका चार नानीहरू आमाले मिठो भात दिनुभए भन्ने आशाले अगेनाको वरिपरि रमाई रहेका थिए । तर भात पाक्दा बच्चाहरू त्यहीँ निदाइसकेका थिए । म 'लास्ट' मा भात खान बसे जस्तो गरेँ ।भात रुचेन । पेट दुख्यो भनेर त्यसै उठेँ । मेरो भाग भोलि उठेर नानीहरूले खावोस भावना  मनमा राखेर उठेँ ।  

भन्न सजिलो लेख्न कति गाह्रो हुन्छ, कहिलेकहीँ । उनीहरू कस्तो भए होलान् । यो दृश्य मेरो आँखाबाट मेटिएको छैन ।

समाजको तस्बिर यस्तो छ अझ पनि जुन दुःखहरू मेट्न सिंहदरबारले बुझ्न सकेको छैन । राजनीतिले मलाई चोट मात्र दिएन, बाँच्न पनि सिकायो ।

चुनावको प्रचार अन्त्य हुँदै गयो । हामी बाँझे च्यानडाँडा पुगेको बेला रात झपक्क भयो । किन हो मलाई च्यानडाँडा शब्द कस्तो कस्तो नराम्रो लाग्छ । एक पल्ट प्रिय भाइ कालुमान गुरुङलाई नाम फेर्नोस् न पनि भनेको थिएँ । हाम्रो बास चखेवा भन्ज्याङ नजिक थियो । रातभरि टेम्केको जङ्गलमा घोरल,  मृग करायो । जब उज्यालो भयो । सूर्यको किरण रातै गुराँस फुलेको जङ्गलमा ठोकियो । अनि सुरु भयो न्याउली चराको मिठो गीत जङ्गल थर्कने गरी । सुन्दै आनन्द लाग्यो । घरी  यस्तो लाग्थ्यो, उनीहरू दुखद जीवनका गीत गाउँदै छन् । अथवा कुनै जीवनको सुखद उत्सव मनाउँदै छन् । 

तर चखेवा भन्ज्याङमा न्याउली चराले गाएको गीत मेरो जीवनमा कहिले अन्त्य भएन ।  त्यो सुन्दर प्रकृतिको आवाजलाई मैले गीतमा रूपान्तर गरेँ । राजनीति मर्दो रहेछ तर सृजना साहित्य अमर हुँदो रहेछ । 

चुनावको अन्त्यपछि मेरो बाटो विश्वविद्यालयतर्फ मोडियो । र, जीवनको  बाँकी समय त्यतै अब अन्त्य भयो ।  अब त जीवनको एक बाँस घाम मात्र बाँकी छ भन्छु ।  मेरो शब्दमा बनेको यो लोकप्रिय गीत युट्युब हेर्न र सुन्न सक्नु हुनेछ । 

चखेवा भन्ज्याङ बोलकाे गीत यहाँ क्लिक गरेर  हेर्न र सुन्न सकिन्छ