ट्रम्पद्वारा प्रहरीको बचाउ, गोली लागेका पीडितका परिवारलाई भेटेनन्

ट्रम्पद्वारा प्रहरीको बचाउ, गोली लागेका पीडितका परिवारलाई भेटेनन्

लोकसंवाद संवाददाता  |  विदेश  |  भदौ १७, २०७७

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले प्रहरीको गोली लागेर एकजना अश्वेत पुरुष शक्त घाइते भएको विस्कन्सिन राज्यको केनोशा शहरको भ्रमण गरेका छन् ।

२३ अगस्टमा प्रहरीले हानेको गोली लागेर जेकब ब्लेक घाइते भएपछि केनोशामा प्रदर्शनहरू भएका थिए। हिंसात्मक आन्दोलनको अवस्था सिर्जना भएपछि ट्रम्प कानुन कार्यान्वयनलाई बल दिन भन्दै सो क्षेत्रको भ्रमणमा गएका हुन् । 

ट्रम्प सो सहरमा पुगेर प्रहरीको बचाउ गरेपछि गोली लागेका जेकब ब्लेकको परिवारसँग भने भेट गरेनन् । ब्लेकका परिवारले आफ्ना वकिलहरूको उपस्थितिमा भेट हुनुपर्ने भनेपछि नभेटेको ट्रम्पको भनाई छ । 

त्यसअघि ब्लेकका बुवाले सीएनएनसँगको अन्तर्वार्तामा आफ्ना छोराको जीवन राष्ट्रपतिलाई भेट्नुभन्दा महत्त्वपूर्ण रहेको बताएका थिए ।

उनको भनाइ थियो, ‘म यो राजनीतिमा मिसिन चाहन्न। यसको राष्ट्रपतिसँग जोडेर फोटो खिच्नुको कुनै अर्थ छैन।’

ब्लेक परिवारका आफन्त एवम् साथीहरूले समेत त्यहाँ भएको ट्रम्पको भ्रमणको आलोचना गरेका छन् ।

ट्रम्पले प्रदर्शनबाट ध्वस्त भएका क्षेत्र पुगेर अमेरिकी प्रहरीले गरेका कार्यको प्रतिरक्षा गरेका थिए । उनले सञ्चारमाध्यमहरूले प्रहरीहरू मुछिएका खराब घटनामा मात्र जोड दिएको आरोप समेत लगाएका छन्।

ब्लेक परिवारकी एकजना साथी तान्या म्यालिनले ट्रम्प त्यहाँ त्रास फैलाउन, समूदायहरूलाई विभाजित गर्न र पुर्ननिर्वाचित हुने अभीष्ट बोकेर पुगेको आरोप लगाएकी छन् । 

मङ्गलवार ट्रम्पको भ्रमण हुनुअघि पूर्वउपराष्ट्रपति जो बाइडनले भनेका थिए, ‘आगो दन्किरहेको छ र हाम्रा राष्ट्रपतिले त्यसलाई निभाउन छाडेर त्यो फुँकिरहेका छन्।’

राष्ट्रपतिले बलियो कानुनी व्यवस्थालाई जोड दिइरहेको बताइरहँदा बाइडनले भने ट्रम्पले रङ्गभेदी विभाजनलाई उकासिरहेको आरोप लगाएका छन्।

नोभेम्बरमा हुने राष्ट्रपति चुनावका मत सर्वेक्षणहरूमा डेमोक्र्याटिक प्रतिस्पर्धी जो बाइडनको अग्रता देखिए पनि ट्रम्पले त्यसलाई साँघुरो पार्दै लागेका छन् ।