सन्दीपले विकेट लिएको खेलमा जमैका पराजित

सन्दीपले विकेट लिएको खेलमा जमैका पराजित

लोकसंवाद संवाददाता  |  खेलकुद  |  भदौ १७, २०७७

नेपाली लेग स्पिनर सन्दीप लामिछानेले आफ्नो सातौँ खेलमा विकेट लिए पनि उनको टोली जमैका तलावाज पराजित भएको छ । 

शनिबार राति भएको खेलमा जमैका ट्रिन्बागो नाइट राइडर्ससित १९ रनले पराजित भएको हो । सो खेलमा सन्दीपले एक विकेट लिएका थिए । उनले ४ ओभरमा २० रन खर्चिनएर १ विकेट हात पारेका हुन् । योसँगै सन्दीपले सीपीएलमा सात खेलमा १० विकेट लिएका छन् । 

क्यारेबियन प्रिमियर लिग (सीपीएल) अन्तर्गत सातौँ खेलमा ट्रिन्बागो १९ रनले विजयी भयो । हालसम्म अपराजित रहेको ट्रिन्बागो प्रतियोगिताको शीर्ष स्थानमा रहेको छ । 

जमैका भने सात खेलमा तीनमा जीत तथा चारमा हारका साथ छ अङ्कसहित तालिकाको चौथो स्थानमा छ ।

पहिले ब्याटिङ गर्दै ट्रिन्बागोले चार विकेटको क्षतिमा १८४ रन बनाएको थियो । एक सय ८५ रनको विजयी लक्ष्य पछ्याउने क्रममा जमैकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६५ रन बनायो । 

ट्रिन्बागोका लागि कोलिन मुरनोले सर्वाधिक ६५ रन बनाए । यस्तै लेन्ड सिमोन्सले २५ तथा सुनील नारिनले २९ रन जोडेका थिए । 

बलिङतर्फ जमैकाका कार्लोस बाथवेटले दुई तथा सन्दीप लामिछाने र फिडेल इडवार्डले एक एक विकेट लिए । जमैकालाई जिताउन आन्द्रे रसेलले अन्तिम समयसम्म सङ्घर्ष गरेपछि पर्याप्त हुन सकेन । 

उनले अविजित अर्धशतकीय पारी खेले । रसेलले २३ बलमा चार छक्का र पाँच चौकाको मद्दतमा ५० रन बनाए । 

यस्तै ग्लेन फिलिप्सले ३१ बलमा ४१ रन बनाए । कार्लोस बाथवेटले अविजित २१ रन जोेडेका थिए । बलिङतर्फ ट्रिन्बागोका लागि फवाद अहमदले दुई तथा अकिल हुसैन, खइरे पिइरे, सुनिल नारिन र ब्रेभोले एक एक विकेट लिए । 
अब सन्दीप सम्मिलित जमैका तलावाजले आठौँ खेल बुधबार खेल्नेछ ।