मिर्गौलापीडित युवालाई सहयोग जुट्दै

मिर्गौलापीडित युवालाई सहयोग जुट्दै

लोकसंवाद संवाददाता  |  समाज  |  भदौ १७, २०७७

तनहुँ । तनहुँको व्यास नगरपालिका–१४ निवासी दुवै मिर्गौलापीडित सन्तोष रानाको उपचारमा सहयोग पुुर्याउन  एक लाख ३२ हजार ५२० सहयोग जुटेको छ । बाराही युवा क्लबका अध्यक्ष खष्टिराम थापाको संयोजनमा ‘सन्तोष राना बचाउन अभियान’मार्फत उक्त रकम जुटेको हो । सोही वडाको विभिन्न ठाउँमा स्थायी घर भई हाल विदेशमा रहेकाहरुको सहयोगमा सङ्कलित रकम पीडित परिवारलाई हस्तान्तरण गरिएको छ । 

गत वर्षदेखि दुवै मिर्गौलाले काम गर्न छाडेपछि रानाले पोखरास्थित फिस्टेल हस्पिटलमा डायलासिस गर्दै आउनुभएको छ । मिर्गौला प्रत्यारोपणका लागि करीब रु २० देखि २२ लाखसम्म खर्च लाग्ने चिकित्सकले बताएपछि रानाले सबैसँग सहयोगको याचना गर्नुभएको छ । 'मिर्गौला प्रत्यारोपणका लागि ठूलो रकम आवश्यक पर्छ, घरको आर्थिक अवस्था नाजुक छ', रानाले भन्नुभयो, 'सबैले सहयोग गरिदिए मेरो बाँच्ने चाहना पूरा हुन्छ ।' बिरामी भएर उपचार गर्दा दुवै मिर्गौलाले काम गर्न छाडेको पत्ता लागेको थियो । 

 हाल उहाँले हप्ताको दुई दिन डायलासिस गर्नुपर्छ । मिर्गौला प्रत्यारोपणका लागि पोखरामा सम्भव नभएकाले काठमाडौँ जानुपर्ने चिकित्सकले बताएका छन् । 'पैसा छैन कसरी काठमाडौ जानु ?, रानाले भन्नुभयो, 'सबैको थोरैथोरै सहयोगले उपचारका लागि खर्च जुटे म बाँच्थे ।' 

मिर्गौलापीडित रानाको उपचारका लागि उहाँकी आमा सुकुमाया रानाको नाममा एसबीआई बैंकमा (खाता नं ००७००७२०६०००५६७६७०००००१) खाता खोलिएको छ ।