जब अश्विनले बटलरलाई अनौठो आउट गरे

जब अश्विनले बटलरलाई अनौठो आउट गरे
तस्बिर : वाहक्रिकेट डटकम ।

लोकसंवाद संवाददाता  |  खेलकुद  |  चैत्र १२, २०७५

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल)को १२ औं संस्करणको चौथो खेलमा किंग्स इलेभन पञ्जावले राजस्थान रोयल्सलाई १४ रनले पराजित गरेको छ । तर, खेलमा जितभन्दा पनि मांकडिंग रन आउटको चर्चा बढी छ । खेलको १३ औं ओभरमा पञ्जावका अश्विनले राजस्थानका बटलरलाई मांकडिंग रन आउट गरेका थिए । 

के भएको थियो ? 

१३ औं ओभरको अन्तिम बल अश्विन रनअपका लागि दौडिए । तर, उनले बल फ्याक्नुअघि नै नन स्ट्राइकमा रहेका जोस बटलरले क्रिज छोडिसकेका थिए । त्यही समयमा अश्विनले नन स्ट्राइकको स्टम्प उडाइदिए । र, अम्पायरले बटलरलाई आउट दिए ।

आउटबारे विवाद 

अश्विनले बटलरलाई मांकडिंग रन आउट गरेपछि  विवाद बढेको छ । कतिपयले अश्विनको आउट गर्ने तरिका ‘खेल भावनाविपरीत’ भएको प्रतिक्रिया दिएका छन् । तर, अश्विनले भने खेल नियम अनुसार नै बटलरलाई रन आउट गरेको दाबी गरेका छन् । म्याचपछि आयोजित प्रेस कन्फ्रेन्समा उनले भने, ‘मेरो तर्फबाट यो स्वभाविकै हो । मैले यसरी आउट गर्छु भन्ने योजना बनाइएको थिएन । तर, यो आउटलाई ‘खेल भावनाविपरीत’ गरियो भनिँदैछ । खेल नियम अनुसार आउट गर्दा ‘खेल भावना’ कहाँबाट आयो, मलाई थाहा छैन ।’  

- एजेन्सीको सहयोगमा