तस्करी गरी लैजाँदै गरिएको काठसहित पक्राउ

तस्करी गरी लैजाँदै गरिएको काठसहित पक्राउ

लोकसंवाद संवाददाता  |  अपराध  |  भदौ १७, २०७७

सप्तरी । जिल्लाको रुपनी गाउँपालिका–१ बाट तस्करी गरेर लैजाँदै गरेको काठसहित दुई जना मङ्गलबार पक्राउ परेका छन् । वन गस्ती टोलीले खाँडोखोलादेखि पश्चिमबाट सालको काठसहित रुपनी–१ का सुरेन्द्र राम र वीरेन्द्र रामलाई पक्राउ गरेको डिभिजन वन कार्यालय सप्तरीका रेञ्जर लक्ष्मण साफीले जानकारी दिनुभयो । उनीहरुको साथबाट २।१८ घनफिट तीन थान सालको काठ बरामद गरिएको साफीले बताउनुभयो ।

पक्राउ परेकाहरुलाई सशस्त्र वन सुरक्षा शाखा शम्भुनाथको हिरासतमा राखिएको शम्भुनाथ शाखाका अधिकृत रामआशिष यादवले जानकारी दिनुभयो । काठ ओसारिरहेकामध्ये एक जना भाग्न सफल भएको उहाँले बताउनुभयो । दुवै जनाको आज पिसीआर परीक्षण गरेर थप अनुसन्धान गरिने रेञ्जर साफीले बताउनुभयो ।
 
बन्दाबन्दीको समयमा वन अतिक्रमणसँगै अवैध काठ कटान गरी तस्करी मौलाएपछि डिभिजन वन कार्यालय सप्तरीले गस्ती बढाएको जनाएको छ । बन्दाबन्दीका समयमा चुरे वन क्षेत्रमा स्थानीयवासीले जङ्गल फडानी गरी तस्करी गरिरहेका छन् । 

उनीहरुले मुख्य गरी सालका रुख कटान गरी तस्करी गरिरहेको स्थानीयवासीले बताएका छन् । बन्दाबन्दी र निषेधाज्ञाको फाइदा उठाएर तस्करहरु काठ ओसार्न पल्केको रुपनीका राजु जयसवालले बताउनुभयो ।