चेपाङले छोनाम न्वागी पर्वमा सामूहिक कार्यक्रम नगर्ने

चेपाङले छोनाम न्वागी पर्वमा सामूहिक कार्यक्रम नगर्ने

लोकसंवाद संवाददाता  |  समाज  |  भदौ १७, २०७७

मुग्लिन । विगतका वर्षमा सामूहिकरूपमा मनाइँदै आएको चेपाङको सबैभन्दा ठूलो पर्व छोनाम न्वागी यस वर्ष भने घरघरमै सीमित हुने भएको छ । कोरोना भाइरसको त्रासका कारण चेपाङ समुदायले विगतमा जस्तो सामूहिकरूपमा कुनै पनि कार्यक्रम आयोजना नगरी घरमै मनाउने भएका हुन् । 

नेपाल चेपाङ सङ्घका केन्द्रीय महासचिव आइतसिङ चेपाङले कोरोना भाइरसबाट बच्नका लागि यस वर्ष केन्द्रदेखि जिल्ला,  गाउँपालिका र वडास्तरमा कुनै कार्यक्रम आयोजना नगरिने बताउनुभयो । उहाँले विधि पुर्याएर घरमै छोनाम न्वागी पर्व मनाउन सम्पूर्ण चेपाङ समुदायलाई आग्रह गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, 'कोरोना भाइरसको त्रास छ, त्यसैले केन्द्रदेखि वडा तहसम्म कुनै कार्यक्रम आयोजना गरिने छैन, परम्पराअनुसार विधि पुर्याएर घरमै बसी छोनाम न्वागी मनाउन आग्रह गरिएको छ ।'

नेपाल चेपाङ सङ्घ वाग्मती प्रदेशका सचिवसमेत रहेका चितवनका लक्ष्मण चेपाङले पनि प्रदेश र जिल्लामा कुनै कार्यक्रम  आयोजना नगरिएको बताउनुभयो । उहाँले केन्द्रको निर्णयानुसार घरघमै रहेर न्वागी मनाउन आग्रह  गरिएको  जानकारी दिनुभयो । 
 
चेपाङ समुदायले हरेक वर्ष भदौ २२ गते धार्मिक तथा सांस्कृतिक पर्वका रूपमा छोनाम न्वागी पर्व मनाउने गरेको छ । उनीहरुले नयाँ अन्न भित्रिएकाले आफ्ना पितृलाई विधिपूर्वक पूजाआजा गरी नयाँ अन्न र फलफुलहरु चढाएर मात्रै आफूले खाने चलन छ । पितृलाई नचढाई खाएमा रोगव्याधि लाग्छ भन्ने  धार्मिक विश्वास रहेको पाइन्छ । सो दिन उनीहरुले कुखुराको बलिसमेत दिने गर्छन् ।

महासचिव आइतसिङका अनुसार गाउँघरमा छोनाम न्वागीका दिन चेपाङ झाँक्री पान्देहरुले रातभर ढ्याङ्ग्रो ठोकेर पितृ खुसी पार्ने गर्छन् । यो दिन न्वागी फलाक्ने झाँक्रीहरुका साथै अन्य भने छोरीचेलीले ल्याएको कोसेली सगुन खाई सांस्कृतिक नाच र गीतहरु प्रस्तुत गर्ने गर्दछन् । रातभर दोहोरी गाउने  केटाकेटीहरु चिनजान गर्ने र मन मिले सोही रात भगाएर विवाह गर्ने प्रचलनसमेत रहँदै  आएको उहाँले बताउनुभयो ।