कृषि क्रान्ति र शहरीकरणका नाममा ज्यापु समुदायको 'खाद्य परम्परा' सङ्कटमा

कृषि क्रान्ति र शहरीकरणका नाममा ज्यापु समुदायको 'खाद्य परम्परा' सङ्कटमा

सालिक राम डंगोल  |  जीवनशैली  |  भदौ १७, २०७७

संसारमा जति पनि जाति, धर्म, संस्कृति, संस्कार, रीतिरिवाज भएका समुदाय छन् ती सवैको आ–आफ्नै प्रकारका जीवनशैली अनि खानपानको प्रचलन रहेको पाइन्छ । ती सवै समुदायले आ–आफ्नै विषेशता र महत्व बोकेका हुन्छन् । उनीहरुको वासस्थानको प्राकृतिक अवस्था, वातावरण अनुकूल उत्पादन भए/गरे अनुसार त्यसलाई उपभोग गर्ने तरिका स्थापित भएका हुन्छन् । 

कुन मौसममा के खाने ? के नखाने ? कसरी खाने भन्ने कुराको ज्ञान र सीप पनि पुस्तैनी सिकाउने कार्य हुँदै आएको पाइन्छ । नेपालको सन्दर्भमा पनि सबै जाति, धर्म, संस्कृति र भौगोलिक वासस्थान अनुसार जीवनशैली तथा खानपान अलग–अलग रहेको पाईन्छ । विशेष गरेर काठमाडौं उपत्यकामा वसोवास गर्ने नेवाः (नेवार) समुदाय, त्यसमा पनि ज्यापु समुदायको जीवनशैली तथा खानपिनको विशेषता तथा महत्व केही पृथक छ ।

यससन्दर्भमा रैथाने संस्कृतिको पालकको रुपमा रहेको ज्यापु समुदायको जीवनशैली र खानपिनको अभ्यास नित्तान्त मौलिक रहँदै आएको छ । तथापि, उनीहरुको खाद्य संस्कृति, रहनसहन र जीवनशैलीमा केही समय यता परिवर्तन भने हुन थालेको देखिन्छ । विशेषतः ज्यापु समुदायको खाद्य संस्कृतिमा आएको परिवर्तन, त्यसको कारण र त्यसको जगेर्नामा देखिएका चुनौतीका सम्बन्धमा विवेचना गर्ने कोसिस गरिएको छ यस सङ्क्षिप्त लेखमार्फत् । 

ज्यापु समुदाय कृषिपेशामा आधारित समुदाय हो । कृषिमा आधारित भएकोले उनीहरुको जीवनशैली प्रत्यक्ष रुपमा कृषिपेशा र यसको उत्पादनमा आधारित देखिन्छ । वर्षभरी मनाइने चाडपर्व, उनीहरुको लवाइखवाई, रहनसहन पनि कृषिपेशा र त्यसबाट हुने उत्पादनसँग सम्बन्धीत जोडिएको छ । उदाहरणको रुपमा केही प्रचलनहरुलाई लिन सकिन्छ । कार्तिक पूर्णिमाका दिन ज्यापु समुदायले ‘सकिमना पुन्ही’ को रुपमा मनाउने चलन छ । सकिमनाको नेपाली अर्थ पिँडालु उसिन्ने पूर्णे÷पूर्णिमा हो । त्यो दिनमा पिँडालुको साथै सखरखण्डसमेत चन्द्रमालाई चढाएर प्रसादको रुपमा फलहार गर्ने चलन छ । साथै, त्यसदिन मकै, गहुँ, भटमास, केराउ, चना सिमी, बकुल्ला आदि गेडागुडीलाई भुटेर त्यसको विभिन्न आकार बनाइ ‘हलमल पासा’ राख्ने गरिन्छ । उक्त भुटेको अन्नलाई चन्द्रमा देखिने चउर, देवालय ‘लायकु’ मा बसेर विभिन्न आकारको मन्दिर तथा कलात्मक वस्तु बनाएर चन्द्रमालाई चढाइन्छ र पछि त्यही अन्नलाई प्रसादको रुपमा गाउँटोलमा बाँडेर खाने चलन अझै छ ।

ज्यापु समुदायको ऐतिहासिक पृष्ठभूमि खोज्ने हो भने यस समुदायको पहिचान नेवाः समुदाय भित्रको कामको विभाजनसँग गाँसिएर आएको देखिन्छ । इतिहासविद् भुवनलाल प्रधानका अनुसार ने.सं. ६०१ अर्थात राजा  जयस्थिति मल्लको शासनकालभन्दा अघि खेतीपाती तथा शारीरिक काम गर्नेलाई ‘भावो’ र प्रशासनिक काम, राजनीति, आदि काममा लागेकालाई ‘भारो’ भन्ने गरिन्थ्यो । ‘भावो’ वर्गमा परेका श्रमजीवी ज्यापुमध्ये सम्पन्नलाई महाजन अथवा महर्जन, नापी नक्सामा काम गर्नेलाई डंगोल, फूलको खेती गरी व्यापार गर्नेलाई मुनिकार, माटोको भाँडाकुँडा बनाउनेलाई प्रजापति, भोजभत्तेर, सभासमारोहमा खाना पकाउनेलाई सुवाल, इँटा बनाउनेलाई दुवाल भन्न थालिएको पाइन्छ (पद्म श्रेष्ठको ‘इतिहासबाट ठगिएका ज्यापु समुदाय’ शिर्षकको लेखबाट) । 

त्यस्तै, सिठी नखः मा सबै प्रकारको गेडागुडीको ‘वः’ अर्थात बारा वनाएर खाने चलन छ । यी फरकफरक गेडागुडी तथा गहँुको बारा खाएमा असारमा खेतबारीमा जति काम गरेपनि कम्मर दुख्दैन भन्ने विश्वास गरिन्छ । त्यसदिनमा आफ्नो वरिपरिका सम्पूर्ण पानीका मुहानहरुको सरसफाई तथा मर्मत गर्ने चलन छ । पानीका मुहान सफा गरेर आउनेहरुलाई बारा खुवाएर सम्मान गर्ने गरिन्छ ।

कथित शहरीकरण तथा आधुनिकिकरण, बजारमुखी अर्थव्यवस्था, खाद्यान्नमा राष्ट्रिय तथा अन्तराष्ट्रिय कम्पनीहरुको हस्तक्षेप आदिका कारण ज्यापु समुदायको खाद्य प्रणालीलाई जटिलतातर्फ धकेलेको छ । संसारभरी उपभोग गर्ने खाद्यान्नमध्ये अझै पनि ७० प्रतिशत उत्पादन साना किसानहरुले नै गर्ने गरेको तथ्याङ्क छ । नेपालमा पनि यदि खाद्यान्नमा आत्मनिर्भरता बढाउने हो भने ज्यापु समुदायलगायत अन्य साना किसानहरुलाई प्रोत्साहित गर्नु नितान्त आवश्यक छ ।

यस समुदायले आफ्नो स्वास्थ्यको हेरचाहलाई पनि त्यतिकै महत्व दिएको पाइन्छ । समयअनुसार शरीरलाई स्वस्थ र सन्तुलन मिलाई राख्न सोही अनुसारको खाद्यान्नको उत्पादन गरी सेवन गर्ने गर्दछ । वर्षायाम भरी खेतबारीमा भिजेर काम गर्नुपर्ने हुँदा शरीरमा चिसो लाग्ने र अन्य समस्या आउन सक्ने कुरालाई ध्यानमा राखी गेडागुडीलाई भिजाई टुसा उमारेर क्वाँटीलगायत विभिन्न परिकार बनाएर खाने गरिन्छ । टुसा उमारेर खानाले प्रजनन स्वास्थ्य राम्रो हुने धारणा पनि छ । प्रत्येक सिजनको खेतीकार्य सकिएपछि वा अन्न भित्राइ सकेपछि त्यसैसँग सम्वन्धित उत्पादनको उपयोग गर्ने गरी चाडपर्व मनाउने चलन छ । यसरी उनीहरुको जीवनशैली कृषि पेशा र उत्पादनसँग प्रत्यक्ष जोडिएको हुन्छ । 

ज्यापु समुदायले पर्यावरणमा क्षति नपुग्ने गरी प्रकृतिमैत्री कृषिप्रणालीलाई अंगालेका छन् । वास्तवमा उनीहरु प्रकृतिपूजक  हुन् । जनैपूर्णिमाको दिन रोपाइँको बेलामा खेतमा पानी पार्न तथा वालीलाई नोक्सान पुर्‍याउने किराहरु खाएर सहयोग गरिदिएवापत ‘ब्याँचा जाः नकिगु’ गरिन्छ अर्थात भ्यागुतोलाई भात खुवाउने गरिन्छ । यस पर्वमा भ्यागुतालाई विभिन्न परिकार, विशेष गरी ‘क्वाँटी’ तथा भात पकाएर खेतमै लगेर खुवाउने प्रचलन छ । ‘क्वा’ को अर्थ गेडागुडी, ‘टी’ को अर्थ हुन्छ झोल, अर्थात गेडागुडीको झोल । यसैगरी उत्पादनसँग सम्बन्ध राख्ने देवीदेवता तथा सांकृतिक परम्परालाई पनि त्यतिनै पछ्याएको पाइन्छ ।

ज्यापु समुदाय कृषिपेशालाई आफ्नो जीवनको आधार नै मान्दछन् । त्यसैले उनीहरु कृषिपेशालाई सम्मान गर्दछन् र यसलाई अधिक महत्वका दिन्छन् । उनीहरु कृषि पेशामा आत्मनिर्भर थिए । आफूले लगाउने हरेक बालीको बीउ, बीउको उत्पादन, उत्पादन गर्न आवश्यक मल, आवश्यक मानवस्रोत, खेती गर्ने प्रणाली सवै स्थानीय रुपमा नै व्यवस्थापन हुने गर्दथ्यो । ताइचिन चामल, ताइचिन चामलको च्युरा ज्यापु समुदायको पर्याय खाद्य पदार्थमा पर्दछ । एक समयमा ताइचिन चामल भन्नासाथ यो ज्यापुहरुलेमात्र खाने चामल हो भन्ने रुपमा लिइन्थ्यो ।

‘ज्यापु काउली’ विशेष गरेर काठमाण्डौं उपत्यकाभित्र नाम कहलिएको काउलीको प्रजातिमा पर्दछ । यो खाने अवसर पाएकाले अरु प्रजातिको काउलीको स्वाद मन पराउँदैनन् । तरकारीको उत्पादनको सन्दर्भमा, एक समयमा काठमाडौं उपत्यकाभित्र तरकारीको आपूर्ति व्यवस्था ज्यापु समुदायले नै धानेका थिए । उनीहरुले कृषि उत्पादन उपभोगमा मात्र सिमित नराखी त्यसको विक्रिवितरणमा पनि आफ्नो पहिचान नै वनाएका थिए । 

ज्यापु समुदायले खाने गरेका खानेकुराहरु यस समुदायमा मात्र सिमित नभई देश भरी प्रख्यात छन् । नेवारी खाना र खाजा भन्नासाथ सबैले मन पराउँछन् । नेवारी खाना भनिए तापनि यसमा प्राय ज्यापु समुदायको खानाहरु बढी पर्दछन् । ‘नेवारी खाजा’ काठमाडौंमा मात्र होइन देशका अन्य शहरहरुमा पनि अत्यन्तै मनपराइने खाजाको रुपमा लिइन्छ र नेवारी खाजा पाउने रेस्टुराँ देशैभरी देख्न सकिन्छ ।

नेवारी खानेकुरामा विशेष गरी चिउरा (ताइचिन धानको), छोयलाः, तःखा, चतामरी, वः, योः मरी, कचिलाः, दायकूलाः भटमास आदि पर्दछन् । यस समुदायले खाने मासुमा मुख्यतः राँगाको मासु पर्दछ । राँगाको मासुको विभिन्न परिकार बनाउने गरिन्छ । सिङ्गै राँगाको (अखाद्य भागबाहेक) सबै भाग खाइन्छ । अझ, चाखलाग्दो कुरा त राँगाको अङ्गअनुसारको परिकार बनाइने गरिन्छ ।  पेय पदार्थमा ‘थ्व’ (जाँड) अति नै प्रचलित छ । ‘थ्व’ को पनि धेरै प्रकार छन् । ह्याऊँ थ्व, कथ्र्व, ऐ थ्व, बःता थ्व इत्यादि छन् ।

यसलाई नरम पेय पदार्थको रुपमा लिईन्छ । कडा पेय पदार्थमा ‘ऐला’ (रक्सी) पर्दछ । ऐलालाई वनावटको हिसावले विभिन्न प्रकार वा श्रेणीमा विभाजन गर्ने गरिन्छ । केही प्रकारका ऐलालाई औषधीको रुपमा पनि प्रयोग गरिन्छ । जस्तै, कोदोको ऐला विशेषगरी पाचन प्रणाली मजबूत बनाउन, हाडजोर्नी दुखेमा मालिसको रुपमा लगाउन प्रयोग गरिन्छ ।

ज्यापु समुदायको खानामात्र होइन, खाने प्रक्रिया पनि व्यवस्थित रुपमा रहेको पाईन्छ । विशेषतः नेवारी भोज खाँदा सुरुदेखि अन्तिमसम्म के–के राख्ने भन्नेबारे निश्चित विधि वा प्रक्रिया हुन्छ । पहिले मुख्य खानेकुरा चिउरा, गेडागुडी आदि खाइन्छ भने भोजको अन्तिमतिर मेथी खाने गरिन्छ । भोज खाने क्रममा मेथी राख्न ल्याउनुको अर्थ हुन्छ अब भोज सकिँदै छ, अरु खानेकुरा आउँदैन भनेर बुझ्नु पर्दछ । मेथीले पचाउने काम गर्ने भएकोले अन्य कुरा खाइसकेपछि अन्त्यमा खाने चलन छ ।

मेथी पछि ‘पाउँ’ पकाएको अमिलोको झोल खाने गरिन्छ । यसपछि दही खाइन्छ । अन्तिममा ‘सिसाबुसा’ वा भिजाएको ठूलो र सानो हरियो केराउ, गाजर वा मुला, केही फलपूmल आदि खाने चलन छ । यसलाई सलादको रुपमा लिइन्छ । सिसाबुसा भोज सकिएको संकेत हो र अब उठ्नु पर्दछ भनी जान्नु पर्दछ । भोजभत्तेरमा खाना दिने पनि प्रक्रिया हुन्छ । खान बस्नेहरु भुइँमा ओछ्याइएको सुकुलमा लहरै बस्छन् भने खाना बाँड्नेहरुले पहिला बोता (पातले बनाइएको) राख्दै जान्छन् ।

हिजोआज बोता पाउन मुस्किल पर्ने भएकोले प्लेटको चलन पनि आएको छ । त्यसपछि एकजनाले चीउरा राख्दै जान्छन्, त्यसपछिकोले तरकारी, अचार अनि अन्य कुराहरु राख्छन् । एकजनाले एउटा चीजमात्र राख्छन् । यसले ज्यापु समुदायमा खानेकुरा खाने वा भोज गर्ने भनेको सामाजिक कार्य पनि हो । यसमा धेरैजनाको सहभागिता हुन्छ र सबैले स्वयंसेवकको रुपमा सहभागी हुन्छन् । 

यसरी यस समुदायको कृषिपेशामा आवद्धतादेखि खाद्य प्रचलनसम्मलाई हेर्ने हो भने ज्यापुहरू परापूर्वकालदेखि खाद्य सम्प्रभुताको सवालमा सम्पन्न रहेको देखिन्छ । कृषि उब्जनीदेखि उत्पादन र त्यसको उपयोगसम्म आफ्नै एउटा प्रणालीमा आवद्ध थिए । यस तथ्यवाट के कुरा प्रस्ट हुन आउँछ भने खाद्यान्न उपभोगको वस्तुमात्र नभई त्यस समुदायको प्रत्यक्ष जीवनसँग सम्बन्ध रहने कुरा पनि हो र त्यसले सामाजिक–सांस्कृतिक मूल्य पनि बोकेको हुन्छ । वास्तवमा, पहिले ज्यापु समुदायको उत्पादनको साधनसँग सम्बन्ध थियो । स्वाद तथा सँस्कृति अनुरुपको विउविजन लगाउने गर्दथे । उनीहरु आफ्नै रैथाने वीउविजन लगाउँदे जुन दिगो हुन्थ्यो र बाहिरी विज्ञहरुमा भर पर्नु पर्दैनथ्यो ।

आफ्नो लागि के खाने सोहीअनुसारको उत्पादन गरी उपभोग गर्ने गर्दथे । यसरी उनीहरुमा उत्पादनको स्वतन्त्रता थियो । कृषि उत्पादनलाई एक ठाउँमा लैजाने वा वसारपसार गर्ने र त्यसको विक्रिवितरण गर्ने स्थानीय खाद्य प्रणाली र नियन्त्रण पनि उनीहरुमा नै रहन्थ्यो । यसरी उनीहरु आफ्नो उत्पादनप्रतिको ज्ञान आफूले राख्दथे । प्रकृतिसँग नजिक भएर उत्पादन गर्दथे । प्रकृति, मानिस, उत्पादन, विक्रिवितरण, वसारपसार, नियन्त्रण सबै एउटा चक्रमा बाँधिएको थियो । 

अहिले कृषिक्रान्तिको नाममा कृषिमा आएको परिवर्तनले उल्लेखित चक्रलाई विस्थापित गरिदियो । आधुनिकतालगायतका विभिन्न वहानामा आएको बजारमुखी उपभोक्तावादी संस्कृतिका कारण ज्यापु समुदायका संस्कार र संस्कृति विस्तारै मासिदै गएकोले त्यसको अस्तित्व सङ्कटमा परेको महसुस हुन थालेको छ । शहरीकरणको नाममा जग्गाजमिन बिक्री गर्दैजाँदा केही निश्चित वर्ग र समुदायको हातमा जमिन नियन्त्रण हुनपुगेको छ । यसरी ज्यापु समुदाय यस कथित शहरीकरणको माखेसाङ्लोबाट बच्न सकेका छैनन् । 

खाद्य अधिकार मानवजातिको नैसर्गिक अधिकार हो । मानवजातिलगायत सम्पूर्ण प्राणीजगत र वनस्पतिजगतको अस्तित्व आहारबिना कल्पना पनि गर्न सकिँदैन । नागरिकहरुलाई आफ्नो खाद्य प्रणालीको (उत्पादन, उपभोग र वितरण) निर्धारण आफैले गर्ने अधिकार छ । नेपालको संविधान, २०७२ को धारा ३६ ले ‘खाद्यसम्बन्धी हक’ अन्तर्गत खाद्य अधिकार, खाद्य सुरक्षा तथा खाद्य सम्प्रभुतालाई नागरिकको मौलिक हकको रुपमा सुनिश्चित गरेको छ । खाद्यसम्बन्धी हकलाई कार्यान्वयन गर्न बनेको ‘खाद्य अधिकार तथा खाद्य सम्प्रभुतासम्बन्धी ऐन २०७५ खाद्य अधिकार, खाद्य सुरक्षा तथा खाद्य सम्प्रभुतालाई’ समेटी निर्माण गरिएको छ । उक्त ऐनको दफा ३ मा प्रत्येक नागरिकलाई खाद्य अधिकार तथा खाद्य सुरक्षाको अधिकार हुने तथा दफा १२ ले प्रत्येक किसानलाई खाद्य सम्प्रभुताको अधिकार हुने व्यवस्था गरिएको छ । 

तर, समयसँगै देशमा आएको परिवर्तनले यस ज्यापु समुदायको खाद्यप्रणालीलाई पनि चुनौती दिएको छ । राज्यले पनि विभिन्न बहानामा यिनीहरुको हातबाट खेतीयोग्य जमिन उम्काउने गरेको देखिन्छ । कथित शहरीकरण तथा आधुनिकिकरण, बजारमुखी अर्थव्यवस्था, खाद्यान्नमा राष्ट्रिय तथा अन्तराष्ट्रिय कम्पनीहरुको हस्तक्षेप आदिका कारण ज्यापु समुदायको खाद्य प्रणालीलाई जटिलतातर्फ धकेलेको छ । संसारभरी उपभोग गर्ने खाद्यान्नमध्ये अझै पनि ७० प्रतिशत उत्पादन साना किसानहरुले नै गर्ने गरेको तथ्याङ्क छ । नेपालमा पनि यदि खाद्यान्नमा आत्मनिर्भरता बढाउने हो भने ज्यापु समुदायलगायत अन्य साना किसानहरुलाई प्रोत्साहित गर्नु नितान्त आवश्यक छ । अन्यथा, देश खाद्यान्नमा परनिर्भता कम गर्ने कुरा नारामा मात्र सिमित हुने निश्चित छ ।