चीनसँग जोडिएको सडक निर्माणको सुरसारमा  सेना

चीनसँग जोडिएको सडक निर्माणको सुरसारमा  सेना

लोकसंवाद संवाददाता  |  समाज  |  भदौ १८, २०७७

दार्चुला । दार्चुलादेखि चीनसँग जोडिएको तिंकर गाउँसम्म ८७ किलोमिटर सडक बनाउने जिम्मा नेपाली सेनाले पाएको छ । मन्त्रिपरिषद्ले गत वैशाखमा महाकाली करिडोरको दार्चुला तिंकर सडक योजना अन्तर्गत यस सडक निर्माणको जिम्मा सेनालाई दिएको हो ।सडक खण्ड निर्माणको जिम्मा पाएको सेनाले विस्तृत आयोजना प्रतिवेदन ९डिपीआर०को काम सुरु गरेको जनाएको छ ।  सैनिक मुख्यालयका अनुसार मोटर बाटोको डिपीआर तयार पार्न विकास निर्माण गणबाट प्रमुख सेनानी रमेश गुरुङ्गको नेतृत्वमा सैनिक टोली गत साउन २३ गते दार्चुला सदरमुकाम खलंगा पुगिसकेको  जनाइएको छ ।

अहिले विकास निर्माण दलको टोली सदरमुकाम खलगामा रहेको सेनाको गुल्म परिसरमा बसिरहेको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाले बाटोको केही सयम अगाडि स्थलगत निरीक्षण  गर्नुभएको थियो । 

यस ठाउँमा सडक निर्माण गर्न पनि कठिन ठाउँ छ । भौगलिक विकटता छ । दार्चुला तिंकर सडकले खोलेको ४७ किलोमिटर भित्र पनि राम्रोसँग गाडी चल्न सक्दैन । सेनाले निर्माण गर्ने सडक त्यो भन्दा माथि हो । धेरै ठाउँमा ब्लास्टिङ गर्नुपर्ने स्थिति छ, । महाकाली नदी किनारै किनार भएर सडक निर्माण गर्नुपर्ने छ । 'सडक निर्माण गर्न सक्यो भने व्यासीहरुको सपना पूरा हुन्छ ।' नेपालकै बाटो भएर व्यासको छांगरु तिंकर पुगेका दीपक खाती भन्नुभयो'सडक मात्रै बन्नुपर्छ, यो क्षेत्रको धेरै विकास हुन्छ ।'

यस क्षेत्रमा धार्मिक पर्यटनको निकै सम्भावना छ । कैलाश पर्वत दर्शन, चीन सँगको व्यापार, अपिहिमाल लगायतका थुप्रै पर्यटकीय क्षेत्रहरु यस क्षेत्रमा छन् । यहाँ उत्पादन हुने स्याउँले सिधै बजार पाउने सम्भावना छ । अहिले यस क्षेत्रमा स्याउँ खेती बढ्दै गएको छ ।'चाँडो भन्दा चाँडो व्यास जोड्ने गरी सडक निर्माण गर्न सके व्यास बासीहरुले भारतीय बाटोको परनिर्भरता हट्ने थियो' व्यासका स्थानीय मुकेश बुढाथोकीले भन्नुभयो' आफ्नो भूमिमा सडक नहुँदा भारतीय थिचोमिचो सहेर हिडडुल गर्नुपर्ने बाध्यता छ ।' दार्चुला उद्योग बाणिज्य संघका अध्यक्ष मंगलसिंह ठगुन्नाले उक्त सडक खण्ड  सेनाले निर्माणको जिम्मा पाएपछि समयमै सम्पन्न हुनेमा आशा पलाएको बताउनुभयो ।'यो सडक खण्ड बने ताक्लाकोटसितको व्यापारदेखि स्थानीय उत्पादनले पनि बजार पाउँछ ।' उहाँले भन्नुभयो'अब विकास निर्माणमा सरकारले कुनै खालको प्रक्रियागत कारण देखाएर ढिलाई गर्न हुन्न् ।'