प्रदेश सरकारको लगानीमा सडक स्तरोन्नति

प्रदेश सरकारको लगानीमा सडक स्तरोन्नति

लोकसंवाद संवाददाता  |  समाज  |  भदौ १८, २०७७

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्लामा पर्ने हुलाकी मार्ग जोड्ने दुई वटा पहुँच मार्गको स्तरोन्नति गर्ने कार्य तीव्रगतिमा अघि बढिरहेको छ । प्रदेश नं ५ अन्तर्गतको भौतिक पूर्वाधार विकास मन्त्रालयलले चालु आर्थिक वर्ष २०७७/७८ मा पनि सो सडक स्तरोन्नतिको कामलाई निरन्तरता दिएको हो । 
 
मन्त्रालयको यातायात पूर्वाधार निर्देशनालयअन्तर्गत सडक पूर्वाधार विकास कार्यालय रुपन्देहीका अनुसार पूर्व–पश्चिम राजमार्गअन्तर्गत यस जिल्लाको सुनवल तुरिया–पर्सावल–अमरौट–घिनाहा–बकेना सडक र स्थानीय तह पहुँच मार्गअन्तर्गत बासा–तुल्सीनगर–तिलकपुर–खोखरपुरा– पटनी–भिमटाडी सडक स्तरोन्ति कार्यले प्राथमिकता पाएको हो । 

सडकको स्तरोन्नतिको निर्माणाधीन योजनाअन्तर्गत पर्सावल–अमरौट–घिनाहा–बकेना सडकमा हालसम्म करिब साढे पाँच किलोमिटर बाटो कालोपत्र भइसकेको छ । आगामी आर्थिक वर्ष ०७८/०७९ सम्म करिब  १७ करोड रुपैयाँ खर्च गर्ने लक्ष्य लिइएको उक्त आयोजनामा हालसम्म करिब सात करोड ५० लाख रुपैयाँ खर्च भइसकेको सडक पूर्वाधार विकास कार्यालयले जनाएको छ । यस आयोजनाका लागि चालु आर्थिक वर्ष ०७७/०७८ मा प्रदेश सरकारबाट  पाँच करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ । 

कालोपत्र हुने सडक सुनवल र रामग्राम नगरपालिकाअन्तर्गत पर्दछ । पूर्व–पश्चिम राजमार्गको सुनवलदेखि हुलाकी मार्ग भैरहवा परासी सडकखण्डअन्तर्गत रामग्राम नगरपालिकाको तोनवासम्म कालोपत्र हुने भएपछि स्थानीयवासीलाई सहज हुने अपेक्षा गरिएको रामग्राम नगरपालिकाका प्रमुख नरेन्द्रकुमार गुप्ता बताउनुहुन्छ । 

यसैगरी पूर्व–पश्चिम राजमार्गअन्तर्गत सरावल गाउँपालिकाअन्तर्गत तिकलपुरको बासा बासही हुँदै गाउँपालिकाको प्रमुख प्रशासनिक भवनसम्म जोड्ने पहुँच मार्ग विस्तारको कार्य पनि जारी छ । बासा–तुल्सीनगर– तिलकपुर–खोखपुर–पटनी–भिमटाडी हुँदै करिब आठ किलोमिटर सडक कालोपत्र विस्तार गर्ने निर्माणाधीन आयोजनामा हालसम्म करिब रु चार करोड खर्च भएको छ । यस आयोजनाका लागि चालु आर्थिक वर्ष ०७७र०७८ मा प्रदेश सरकारबाट रु चार करोड बजेट विनियोजन भएको छ । 

आगामी आव ०७८/०७९ सम्म आयोजनालाई सम्पन्न गर्ने लक्ष्य लिइए पनि यो योजनालाई भारतीय सिमाना जोड्ने गरी विस्तार गर्ने भावी योजना रहेको सडक पूर्वाधार विकास कार्यालयले जनाएको छ । सो योजनाबाट जिल्लाको ग्रामीण क्षेत्र सडक पहुँच विस्तारमा टेवा पुग्ने विश्वास लिइएको सरावल गाउँपालिकाका अध्यक्ष राधेश्याम चौधरी बताउनुहुन्छ । 

प्रदेश नं ५ अन्तर्गतको भौतिक पूर्वाधार विकास मन्त्रालयले पश्चिम नवलपरासीको हुलाकी मार्ग जोड्ने यी दुई वटा प्रमुख पहुँच मार्गको स्तरोन्नित कार्यलाई प्राथमिकता दिएपछि यहाँका स्थानीयवासी खुशी भएका छन् ।