बेरुत विस्फोटको १ महिनापछि भग्नावशेषमा मानिस जिवित भएको आशंका

बेरुत विस्फोटको १ महिनापछि भग्नावशेषमा मानिस जिवित भएको आशंका

लोकसंवाद संवाददाता  |  विदेश  |  भदौ १९, २०७७

लेबनानको राजधानी बेरुतमा १ महिनाअघि भएको शक्तिशाली विस्फोटमा ध्वस्त भएको एक भवनको भग्नावशेषमा एकजना व्यक्ति अझै जिवितै हुनसक्ने सङ्केत पाएको खोजकर्ताहरुले बताएका छन् ।

एउटा व्यावसायिक तथा आवासीय क्षेत्र मर मिखाइलमा एकजनाको मुटुको धड्कन थाहा भएको अपुष्ट खबरहरू आएका थिए । भग्नावशेष हटाउने क्रेनको अभावमा रातभरी खोजीकार्य रोकेर शुक्रवार बिहानैबाट पुनः त्यो सुरु हुँदैछ ।

बुधवार राती खोजकर्ताहरू सो भवन नजिक पुग्दा उनीहरूको कुकुरले त्यहाँ जीवितै मानिसको सङ्केत दिएको थियो ।

बिहीवार बिहान उनीहरू त्यहाँ फर्कँदा समेत अनुसन्धानमा प्रयोग भएको सो कुकुरले सोही ठाउँमा अघिल्लो दिनको जस्तै सङ्केत गर्‍यो ।

त्यसपछि सो समूहले स्क्यानर प्रयोग गरेर मुटुको धड्कन वा श्वासको सङ्केत खोज्दै भग्नावशेष हटाउने काम सुरु गरेका थियो ।

एकजना उद्धारकर्ताले भग्नावशेषमा दुई मिटर मुनि मुटुको चाल रेकर्ड भएको र तापक्रमको सेन्सरसँग समेत त्यो मेल खाएको जनाएका छन् । 

बिहीवार बिहानैदेखि चिलीका खोजकर्ताहरूले काम सुरु गर्दा मानिसहरू भवन वरपर जम्मा भएर चमत्कारको आशा गरेका छन् । तर ती मानिस भग्नावशेषमा अझै जीवित रहे÷नरहेकोबारे केही स्पष्ट छैन ।

बेइरुत बन्दरगाहामा २ हजार ७५० टन अमोनियम नाइट्रेट विस्फोट हुँदा गत महिना २ सय भन्दा बढीको मृत्यु भएको थियो भने करिब तीन लाख मानिसहरू घरबारविहीन भएका छन् ।

विस्फोटनको आवाज करिब २४० किलोमिटर पर रहेको साइप्रससम्म सुनिएको थियो । एउटा गोदाममा ६ वर्षदेखि राखिएको विस्फोटक पदार्थका कारण सो घटना भएको बताइएको थियो।