प्रविधिमार्फत सम्मेलनमा जोडिए ८८ गुरुकुल

प्रविधिमार्फत सम्मेलनमा जोडिए ८८ गुरुकुल

लोकसंवाद संवाददाता  |  शिक्षा  |  भदौ १९, २०७७

काठमाडौँ । गुरुकुल वेद पढ्ने, कर्मकाण्ड सिक्ने ठाउँ हो । यहाँ अध्ययन गर्नेले समसामयिक कुरा एवं सूचना प्रविधिका विषयमा जान्दैनन् भन्ने सोच पाल्नुभएको छ भने अब त्यो गलत सावित भएको छ ।

कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी निषेधाज्ञाका बीच देशका ५० जिल्लामा फैलिएका ८८ गुरुकुलले जुम प्रविधिमार्फत् सम्मेलन गरेका छन् । विसं २०७० देखि गुरुकुल प्रवद्र्धन कार्यक्रम सञ्चालन गर्दै आएको नेपाल महर्षि वैदिक फाउण्डेसनले यो प्रविधिबाट सम्मेलनको आयोजना गरेको हो । गुरुकुलमा विश्व शान्तिको सङ्कल्पले सात वर्ष अघिदेखि शुरु गरिएको वैदिक रुद्राभिषेक पनि प्रविधिका माध्यमबाट हेर्न सकिने गरी पूर्वाधार व्यवस्था गरिएको थियो ।

राज्य व्यवस्थाको उच्चतम वैदिक समाजवादको ज्ञान दिने स्थान गुरुकुल नै हो । यसका लागि समाजमा जनचेतनाको विस्तार तथा गुरुकुल व्यवस्थापकलाई अझ बढी सचेत र जागरूक बनाउँदै गुरुकुलको दिगो विकास, समृद्धि तथा आदर्श स्थापित गराउने उद्देश्यले आयोजना गरिएको सम्मेलन भदौ १० गतेदेखि शुरु भएको हो । सम्मेलन प्रदेशगतरूपमा आयोजना गरिएको थियो ।

प्रविधिमार्फत् एक सातासम्म आयोजना गरिएको गुरुकुल सम्मेलनमा देशभरका ८८ वटा गुरुकुलका प्रतिनिधिले वैदिक यज्ञको प्रभावकारिता, गुणस्तरीय शिक्षा, गुरुकुललाई आत्मनिर्भर बनाउन अक्षयकोषको व्यवस्था, वैदिक संस्कारसँग जोडिएका सामग्रीको उत्पादन तथा गुरुकुल परिसरमा वैदिक जैविक कृषि र गुरुकुललाई ध्यान र ज्ञान केन्द्र बनाउनु पर्छ भन्ने विषयमा धारणा राख्नुभएको थियो । 

संस्थाका पदाधिकारी, भावातीत ध्यान र सिद्धि प्रशिक्षक तथा गुरुकुल निरीक्षक, गुरुकुलमा कार्यरत भावातीत ध्यान शिक्षक, आचार्यलगायत गुरुकुल सञ्चालक समितिका पदाधिकारीको सम्मेलनमा सहभागिता रहेको फाउन्डेसनका अध्यक्ष एवं पूर्व गृहराज्यमन्त्री दीपकप्रकाश बाँस्कोटाले राससलाई जानकारी दिनुभयो ।

'गुरुकुलले स्वावलम्बी बन्दै उच्चस्तरको शिक्षा प्रदान गरी आधुनिक समाजका उत्कृष्ट राजनेता, प्रशासक, न्यायाधीश तथा विभिन्न क्षेत्रका विज्ञ उत्पादन गर्न सक्नुपर्छ, गुरुकुल ध्यान र ज्ञान केन्द्र बन्नु पर्दछ, समाजमा आएका जुनसुकै समस्यालाई आयुर्वेद, ज्योतिष, वास्तुशास्त्र, वैदिक कृषि, यज्ञ अनुष्ठान जस्ता वैदिक प्रविधिद्वारा समाधान गर्न सक्ने केन्द्रका रूपमा गुरुकुल स्थापित हुनु पर्दछ', उहाँले भन्नुभयो ।