बोबाङ पहिरो : सडक पहिरोको कारक

बोबाङ पहिरो : सडक पहिरोको कारक

लोकसंवाद संवाददाता  |  समाज  |  भदौ १९, २०७७

बागलुङ । गत बुधबार रातिको पहिरोले बागलुङको ढोरपाटनमा वितण्डा मच्चायो । वितण्डामा बेपत्तामध्ये १५ दिनको शिशुसमेत छन् । पहिरोमा ३१ परिवारको बिचल्ली भएको छ । कसैका परिवारका सदस्य बेपत्ता छन् भने कसैका घरगोठको नाम निसाना मेटाएको छ । 

पहिरोमा ढोरपाटन नगरपालिका–९ सुप्राङ बस्ने बिरे विकको परिवार नै बेपत्ता भएको छ । बुधबार साँझ खाना खाएर आफ्नै घरमा सुतेका उनीहरुको घरसहित चार जनाको परिवार कहाँ छ भन्ने बिहीबार साँझसम्म पत्तो नभएको हो । विककी श्रीमती र नाम नखुलेका दुई छोराछोरीसहित चार जना पहिरोले बेपत्ता भएको स्थानीयवासीले बताए ।

पहिरोमा बेपत्ता भएका अधिकांश एकै घरका सदस्य छन् । सोही ठाउँका १० महिनाका नाम नखुलेका एक बालकसमेत बेपत्ता सूचीमा परेका हुन् । बाढीपहिरोमा परी बेपत्ता भएकामध्ये १४ जनाको शव फेला परेको छ । मृत्यु हुनेमा चार जनाको मात्र सनाखत भएको छ ।

घटनामा क्षतविक्षत अवस्थामा शवहरु भेटिएकाले सनाखत रोकिएको इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीले बताउनुभयो । 'कसैको खुट्टा मात्रै फेला परेको छ, कसैको टाउको मात्रै', उहाँले भन्नुभयो, 'विभत्स शवहरु पहिचानमा कठिन भइरहेको छ ।' 

पहिरोमा हराएका दुई वर्षका बालकको टाउको च्यापिएको अवस्थामा शव फेला परेको थियो । परिचय नखुलेका एक पुरुषको झोलुङ्गे पुलमा अड्किएको अवस्थामा शरीरको आधा भाग फेला परेको थियो । भेटिएका शव बेपत्ता सूचीका हुन् वा अन्य हुन् भन्नेसमेत यकिन भइनसकेको जिल्ला प्रहरीका प्रहरी नायव उपरीक्षक राजेन्द्र रेग्मीले बताउनुभयो ।

बेपत्ता हुनेमा ढोरपाटन नगरपालिका–९ का जीवन विक, नारायण विक, उनी श्रमती टेकमाया विक र नाम नखुलेकी एक वर्षकी छोरी छन् । सोही ठाउँका मनिषा विक, शनी विक र उनीहरुका छोराहरु रोशन विक र रवि विक छन् । नाम नखुलेकी १५ दिनकी बालिका, सोही ठाउँका मनकुमारी विक, प्रेम पुन, कमारी विक, समुन्द्र विक, पूनम विक, जीतबहादुर घर्ती, राजु घर्ती, करमती बुढा, रिनाकुमारी घर्ती, दिलमाया पुन, प्रकृति पुन, डोटी पुन रहेका छन् । 

त्यस्तै, हेमबहादुर विक, उजेली विक, दलु विक, नाम नखुलेको १० महिनाको बालक, हस्तमाया विक, तुलमती घर्ती, कौशिला पुन, विशाल पुन, धनमाया विक, तीन वर्षको नाम नखुलेको बालक र बरे विकका चार जनाको परिवार बेपत्ता भएको प्रहरीले जनाएको छ । गलकोटबाट ढोरपाटन घुम्न गएका नवीन भण्डारी र ढोरपाटन नगरपालिका–९ का नाम नखुलेका अन्य तीन जना बेपत्ता भएको प्रहरीले जनाएको छ । आज पुनः खोजी कार्य हुने छ ।