सिन्धुपाल्चोकमा निरन्तर प्रकोपले समस्या

सिन्धुपाल्चोकमा निरन्तर प्रकोपले समस्या

लोकसंवाद संवाददाता  |  समाज  |  भदौ १९, २०७७

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले सिन्धुपाल्चोकमा निरन्तर प्रकोपले समस्या परेको बताउनुभएको छ । अहिलेसम्म बाढी र पहिरोबाट ५६ जनाको मृत्यु भएको छ भने २३ जना अझै पनि बेपत्ता छन् । 'धेरै मानिस विस्थापित छन्', उहाँले भन्नुभयो,  'जिल्ला विपद् व्यवस्थापन समितिले तत्काल राहत तथा उद्धारको काम गरिरहेको अवस्था छ । सुरक्षाकर्मी परिचालन भएका छन् । स्थानीय पालिकालगायत विभिन्न निकायसँग समन्वय गर्दै प्रभावकारी ढङ्गले कामहरु अगाडि बढाइरहेको अवस्था छ ।' केन्द्रीयस्तरमा पनि सभामुख अग्निप्रसाद सापकोटाको पहलमा बैठकहरु बसेर धरै निर्णय भएको र कामहरु  अगाडि बढिरहेको उहाँले बताउनुभयो ।

कोरोना भाइरसको उच्च जोखिममा रहेको सिन्धुपाल्चोकमा सङ्क्रमण  नफैलियोस् भन्नका लागि यही भदौ १ गतेदेखि जिल्लामा निषेधाज्ञा जारी गरिएको प्रजिअ ढकालले बताउनुभयो । राजधानीसँग नजिक रहेको जिल्ला र बढी आवतजावत राजधानीमा हुने भएकाले पनि सिन्धुपाल्चोक पनि कोरोनाको उच्च जोखिममा रहेको उहाँले बताउनुभयो । सिन्धुपाल्चोकमा हालसम्म चार जनाको मृत्यु भएको छ भने १०९ सङ्क्रमित भएकामा ७७ जना निको भएर घर फर्किसकेको उहाँले जनाकारी दिनुभयो ।

'अहिले हामीले जिषेधाज्ञा जारी गरेका छौँ, त्यसैले सङ्क्रमण नफैलिएको स्थिति छ । निषेधाज्ञा जारी नगरेको भए स्थिति भयावह भइसक्ने थियो', उहाँले भन्नुभयो, 'बजारलाई व्यवस्थित गर्ने, अति आवश्यक पसललाई निश्चित समयमा खोल्ने, केही निमार्णका कामलाई अगाडि बढाउने र अनावश्यक कामलाई बन्द गर्ने हिसाबले काम अगाडि बढाउने निर्णय गरेका छौँ ।'