कृत्रिम गर्भाधानका लागि नयाँ प्रविधि

कृत्रिम गर्भाधानका लागि नयाँ प्रविधि

लोकसंवाद संवाददाता  |  समाज  |  भदौ १९, २०७७

तनहुँ  । तनहुँ जिल्लामै पहिलोपटक कृत्रिम गर्भाधानका लागि नयाँ प्रविधिको प्रयोग गरिएको छ । भीमाद नगरपालिकामा कृषकले पालेका बाख्रालाई गर्भाधान गर्नका लागि नगरपालिकाले नयाँ प्रविधिको प्रयोग गरेको हो ।

नगरपालिकाको पशु शाखाले भीमाद नगरपालिका–९ को पाथर्दीमा कृषकले पालेका बाख्रामा डिभाइस प्रयोग गरी कृत्रिम गर्भाधान गरिएको हो । पाथर्दी र जौपानीका कृषकले पालेका बाख्रामा पहिलोपटक डिभाइस प्रविधिको प्रयोग गरी कृत्रिम गर्भाधान गराइएको पशु शाखा प्रमुख मुक्ति पौडेलले जानकारी दिनुभयो । यसअघि सुई (इन्जेक्सन) मार्फत् मात्रै कृत्रिम गर्भाधान गरिँदै आएकामा डिभाइसको प्रयोग गरी पहिलोपटक गर्भाधान गराइएको पौडेलले बताउनुभयो ।

पाथर्दी र जौपानीका ३० वटा माउ बाख्रामा डिभाइसमार्फत कृत्रिम गर्भाधान गरिएको छ । उन्नत जातको बोकाको बीर्य राखिएको सिआइआरडी नामको डिभाइस बाख्राको पाठेघरको मुखमा राखेर १८ दिनपछि झिक्ने र त्यसपछि गर्भाधानको प्रक्रिया पूरा हुने पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार यस डिभाइस राष्ट्रिय पशु प्रजनन कार्यालय पोखराले उपलब्ध गराएको थियो ।

कृषकले विदेशबाट बोयर जातको बीउ बोका ल्याएर बाख्रा उत्पादन गर्दा महङ्गो पर्ने हुँदा बोकाको बीउ डिभाइसमार्फत बाख्राको पाठेघरमा पठाएर कृत्रिम गर्भाधान गराउने प्रविधि शुरु गरिएको पौडेलले जानकारी दिनुभयो । 

पाथर्दीका युवा कृषक कृषक शिवकुमार आलेले डिभाइस प्रविधिको कृत्रिम गर्भाधान पहिलोपटक भएको हुँदा धेरै कृषकहरु यसबारेमा अनभिज्ञ रहेको बताउनुभयो । 'नयाँ प्रविधि भएकाले यसमा कृषकलाई खासै जानकारी छैन तर प्राविधिकले भने अनुसार यो कार्यक्रम प्रभावकारी छ,' आलेले भन्नुभयो ।

जिल्ला पशु सेवा विज्ञ केन्द्र तथा भेटेरेनरी अस्पताल तनहुँका प्रमुख डा बालकुमार श्रेष्ठले बाख्राको कृत्रिम गर्भाधानमा सिआइआरडी डिभाइसको प्रयोग जिल्लामा पहिलोपटक शुरु भएको बताउनुभयो । हालसम्मको प्रयोगमा ३० देखि ४० प्रतिशतको हाराहारीमा बाख्राको कृत्रिम गर्भाधान सफल भएको डा। श्रेष्ठको भनाइ छ ।