'साहित्य पनि दिशाहीन, गन्तव्यहीन, नीतिहीन र योजनाविहीन हुन सक्तैन ।'

 प्रा. जगत्प्रसाद उपाध्याय ‘प्रेक्षित’,

 प्रा. जगत्प्रसाद उपाध्याय ‘प्रेक्षित’,​​​नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्य–सचिव  हुनुहुन्छ ।  विगत लामो समयदेखि साहित्य नीतिको बारेमा आवाज उठ्दै आएको सन्दर्भमा नेपालमा साहित्य नीति आवश्यक छ, छैन ? साहित्यलाई नीतिगत रूपमा बाँध्नु आवश्यक छ कि छैन ? भन्ने लगायतका विषयमा केन्द्रित रहेर लोकसंवाद डट कमले  सदस्य–सचिव  प्रा. जगत्प्रसाद उपाध्याय ‘प्रेक्षित’सँग अन्तर्मन्थन गरेको थियो । प्रस्तुत छ, उक्त अन्तर्मन्थनको मूलअंश: 

नेपालमा साहित्य नीति आवश्यक छ, छैन ?

संस्कृति, साहित्य, कला आदि कुनै पनि राष्ट्रका पहिचान हुन्छन् । यिनले नै राष्ट्र, जाति र समाजलाई हजारौँ वर्षसम्म अस्तित्वसहित बचाइरहेका हुन्छन् । मुलुकको चिनारीका रूपमा रहेको संस्कृति, साहित्य र कलासम्बन्धी नीतिका विषयमा कुरा गर्दा विगत पृष्ठभूमि समेत सम्झनुपर्ने हुन्छ । नेपालमा २०६२/०६३ सालको ऐतिहासिक लोकतान्त्रिक गणतन्त्रात्मक आन्दोलनको सफलतापछि  तत्कालीन संस्कृति मन्त्रालय अन्तर्गत गठित एउटा समितिले नेपालको संस्कृति सम्बन्धी नीति तर्जुमा गरी प्रस्तुत गरेको जानकारीमा आएको थियो । त्यो स्वीकृत भयो वा भएन र  त्यसलाई सार्वजनिक गरियो वा गरिएन भन्ने सम्बन्धमा जति  चासो र चर्चा हुनुपर्ने थियो, त्यति भएजस्तो लाग्दैन । परिवर्तित सन्दर्भमा सांस्कृतिक नीति आवश्यक छ भन्ने अभिमत भने सशक्त नै पाइन्छ । संस्कृति अन्तर्गत नै साहित्य परिहाल्छ नि भन्ने ठानेर पनि  नेपालमा साहित्य सम्बन्धी नीतिका विषयमा मौलिक र पृथक् ढङ्गले स्वर मुखरित नभएको हुन सक्तछ ।  साहित्य वाङ्मयको एउटा बृहद् क्षेत्रका रूपमा विकसित र विस्तारित भइसकेको आजका अवस्थामा तत्सम्बन्धी नीति आवश्यक छैन भन्न मिल्दैन । नेपालको वर्तमान संविधान अनुसार बहुजातीय, बहुसांस्कृतिक, बहुभाषिक, बहुधार्मिक राष्ट्रका रूपमा रहेको  नेपालमा पारस्परिक सद्भाव, सहिष्णुता, मैत्री, प्रेम, विश्वास, भ्रातृत्व, सृजनात्मक वातावरण आदिका निम्ति समेत साहित्य सम्बन्धी नीति आवश्यक छ । यसलाई विमर्श र बहसको विषय बनाइ दिनुभएकोमा यहाँलाई धेरै धेरै धन्यवाद दिन्छु  । 

छिल्ला समयमा अदालतहरूबाट साहित्यिक कृतिहरूमा प्रयुक्त भाषिक पदपदावलीलाई लिएर गरिएका फैसलाहरूले समेत साहित्यकार पनि कानुनी रूपमा सचेत हुनु आवश्यक छ भन्ने देखाउँछन्  । यसबाट साहित्यिक नीति मात्र होइन, साहित्यिक आचारसंहिता नै आवश्यक छ भन्ने देखिन्छ । 

 साहित्यलाई नीतिगत रूपमा बाँध्नु आवश्यक छ कि छैन ?

साहित्य सृजना मुक्त ढङ्गले गरिन्छ । स्रष्टाले आफ्नो मर्मको आँखाले जति दूरसम्मको जीवन र जगत्लाई नियाल्न सक्छ, वैयक्तिक तीव्रतम अनुभूतिमा अन्तर्घुलन गराउन सक्छ र साधारणीकृत हुने गरेर सार्थक सन्देशसहित विशिष्ट र सशक्त भाषिक अभिव्यक्ति दिन सक्तछ, उसको साहित्य पनि त्यति नै उच्च कोटिको हुन्छ । कहिलेकाहीँ साहित्य सर्वथा उन्मुक्त, फुक्का, स्वच्छन्द र अश्लील वस्तु मात्रै हो कि भन्ने भ्रम पनि परिरहेको जस्तो देखिन्छ र साहित्यलाई पनि नीतिमा बाँध्नु हुन्छ र भन्ने प्रश्न पनि उठिरहेको पाइन्छ । तर जुनसुकै विषय वा क्षेत्रमा पनि नीति र योजना  चाहिन्छ । गन्तव्य र दिशा स्पष्ट भएन भने आफू पनि कहीँ पुगिँदैन र अरूलाई पनि पुर्‍याउन सकिँदैन । साहित्य पनि दिशाहीन, गन्तव्यहीन, नीतिहीन र योजनाविहीन हुन सक्तैन । साहित्य सृजनाका सन्दर्भमा समय समयमा विभिन्न जाति, धर्म, संस्कृति, वर्ग, विचार, संस्था, व्यक्ति आदिमाथि सोझै लाञ्छना लाग्ने गरेर समेत भाव सम्प्रेषण हुने गरेको पाइएको छ र यसबाट सम्बन्धित स्रष्टा तथा तिनका सृजनाहरू विवादमा पनि परेका देखिएका छन् । यी स्रष्टाले साहित्यलाई भाषण वा नारा र गालीगलौजका रूपमा प्रस्तुत गर्दाका समस्या हुन् भन्ने मलाई लाग्दछ । त्यसैले हाम्रा प्राचीन साहित्यशास्त्रीहरूले सृजनाका सन्दर्भमा अभिधा, लक्षणा र व्यञ्जना जस्ता शब्दशक्तिको परिकल्पना गरेका हुन् । साहित्यमा अभिधात्मक वा सोझो अभिव्यक्तिभन्दा लाक्षणिक र व्यङ्ग्यात्मक अर्थात् घुमाउरो र छेडखानयुक्त अभिव्यक्ति बढी वरणीय र स्तरीय मानिन्छ । यसको तात्पर्य साहित्य बढीभन्दा बढी विम्बात्मक, बढीभन्दा बढी प्रतीकात्मक, बढीभन्दा बढी रागात्मक, बढीभन्दा बढी व्यञ्जनात्मक, बढीभन्दा बढी सन्देशप्रद, बढीभन्दा बढी सहज सम्प्रेषणीय र कोमल, ललित पदावलीयुक्त हुनुपर्दछ भन्ने हो । साहित्यले समाज र व्यक्तिमा रहेका दुर्गुणहरू अर्थात् विकृति, विसङ्गतिहरूलाई कलात्मक झटारो हानेर आह्लादको अनुभूति समेत गराउँदै सुधारको सन्देश दिन सक्नुपर्दछ । स्रष्टामा निहित कल्पनाशीलताअनुसार भावनाको उडानमा ऊ दौडन सक्तछ तर कसैप्रति असन्तुष्टि व्यक्त गर्ने नाममा भावुकतावश सोझै आक्रोश मात्र व्यक्त भयो भने त्यसले साहित्यिक उचाइ प्राप्त गर्न सक्तैन । 

पछिल्ला समयमा अदालतहरूबाट साहित्यिक कृतिहरूमा प्रयुक्त भाषिक पदपदावलीलाई लिएर गरिएका फैसलाहरूले समेत साहित्यकार पनि कानुनी रूपमा सचेत हुनु आवश्यक छ भन्ने देखाउँछन्  । यसबाट साहित्यिक नीति मात्र होइन, साहित्यिक आचारसंहिता नै आवश्यक छ भन्ने देखिन्छ । 

धेरैलाई साहित्य अनुत्पादक लाग्ने गरेको छ । त्यसलाई उत्पादनमूलक क्षेत्र कसरी बनाउन सकिन्छ ?

 पहिलो कुरा त साहित्य अनुत्पादक हो भन्ने विचारसँग सहमत हुन सकिने कुनै आधार देखिँदैन । कुन आधारमा साहित्यलाई अनुत्पादक मान्ने ? जसले मानवीय मस्तिष्कलाई झङ्कृत पार्छ, तिखार्छ अनि  हृदयलाई आह्लादित तुल्याउँछ र जीवनलाई सही मार्गदर्शन गर्छ,  त्यसलाई अनुत्पादक मान्ने हो भने उत्पादक केलाई मान्ने ? कि त हातमा खनखन्ती गनिने रुपियाँ, पैसाबाहेक अरू सबै अनुत्पादक हुन् भन्ने मान्नुपर्‍यो । आखिर रुपियाँ, पैसा पनि त जीवनलाई सुखी बनाउनका  निम्ति उपयोग गरिएका  साधन मात्रै त हुन् नि !जसरी हामी जीवनमा शरीरलाई स्वस्थ राख्न औषधोपचार गर्छौं, व्यायाम गर्छौं, प्रातःभ्रमण गर्छौं, त्यसरी नै साहित्यको रस्वास्वादनले पनि हाम्रो मनमस्तिष्कलाई स्वस्थ राख्न र जीवनीशक्ति बढाउन मद्दत गर्दछ । मन स्वस्थ भयो भने मात्र शरीर पनि स्वस्थ रहन्छ भन्ने यथार्थलाई बुझ्नु आवश्यक छ । साहित्य मानव जीवनको स्वास्थ्यसूत्र हो । यसलाई अनुत्पादक ठान्नु त जीवनलाई नै अनुत्पादक ठान्नुसरह हो । यो आफैमा उत्पादनमूलक छ भन्ने मेरो मान्यता छ । यसलाई अझै रुचिवर्धक, पाठकीय मानसलोकलाई आकर्षित गर्न सक्ने र व्यावसायिक बनाउँदै लैजानुपर्छ । नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय स्तरमा अझै माथि उठाउन सकियो र नेपालमै पनि पाठकीय अभिरुचिमा विस्तार र परिष्कार ल्याउन सकियो भने यो व्यावसायिक पनि  हुँदै जान्छ र आफै उत्पादनमूलक क्षेत्र बन्छ । साहित्यमा गरिने लगानीलाई जीवनका लागि गरिएको लगानी ठान्नुपर्दछ । 

अहिलेको नेपालले अवलम्बन गर्ने समावेशी साहित्यसम्बन्धी नीति कस्तो हुनुपर्ला ?

 अहिलेको नेपाल सङ्घीय गणतन्त्र नेपाल हो । वि.सं. २०६८ को जनगणनाअनुसार नेपालमा १२५ जाति र १२३ भाषा सूचीकृत भएका छन् । यही बहुजातीयता, बहुभाषिकता, बहुसांस्कृतिकता र बहुधार्मिकतालाई नेपालको वर्तमान संविधानले समेत स्वीकार गरेको छ । नेपालको आजको लोकतन्त्र भनेकै समावेशी लोकतन्त्र हो । अहिलेको नेपालले प्रत्येक क्षेत्रमा अवलम्बन गर्दै आएको समावेशी नीतिबाट  साहित्यमात्र अलग रहन सक्ने कुरा हुँदैन । नेपालको समावेशी साहित्य नीति भाषिक नीतिबाट समेत प्रेरित, प्रभावित हुनु स्वाभाविक छ । बहुसङ्ख्यक नेपालीको मातृभाषा र सबै नेपालीको सम्पर्क भाषाका रूपमा रहेको नेपालीका साथै अन्य राष्ट्रभाषाहरूको समेत संरक्षण, विकास र विस्तारमा भाषा आयोग लागिपरेजस्तै तत्–तत् भाषामा साहित्य सृजना गर्ने, सृजित साहित्यलाई प्रकाशनको उपयुक्त वातावरण मिलाउने, अन्तरभाषिक अनुवादको व्यवस्था गर्ने, बहुभाषिक काव्यगोष्ठी लगायतका साहित्यिक गोष्ठीहरू आयोजना गर्ने जस्ता काममा लाग्नुपर्छ । यी काम हाल नेपाल प्रज्ञा–प्रतिष्ठानले केही हदसम्म गरिरहेको छ । प्रज्ञा–प्रतिष्ठानअन्तर्गत मातृभाषा विभाग र मातृभाषा साहित्य विभागले नेपाली भाषा र साहित्यबाहेकका अरू मातृभाषा र तिनका साहित्यको अध्ययन–अनुसन्धान, प्रकाशन र विचारगोष्ठी आदि गर्दै आएका छन् । त्यस्तै नेपाली भाषा विभाग र साहित्यसँग सम्बन्धित पद्य, समालोचना र निबन्ध, अनुवाद, आख्यान, लोकवार्ता र बालसाहित्य विभागहरूले समेत  नेपाली भाषा र साहित्यसँग सम्बन्धित आ–आफ्ना विधाका अनुसन्धान, प्रकाशन तथा विचारगोष्ठीहरू वार्षिक रूपमा गर्दै आएका छन् । यी गतिविधि पनि समावेशी साहित्य नीतिअन्तर्गत नै चलिरहेका छन् । घोषित रूपमै भने समावेशी साहित्य नीति भनेर सार्वजनिक गरिएको छैन । अब नेपालका सबै भाषामा सबै विधाको सृजना, प्रकाशन, प्रसारण, अनुसन्धान र पारस्परिक अनुवादसमेत गर्न, गराउन मार्गदर्शक हुने गरी  समावेशी साहित्यसम्बन्धी नीति बनाउनुपर्दछ । यही नीतिमा टेकेर अल्पकालिक, मध्यकालिक र दीर्घकालिक योजना र कार्यक्रमसहित अगाडि बढ्नुपर्दछ भन्ने मलाई लाग्दछ ।

नेपालको साहित्यसम्बन्धी मूल नीति केबाट निर्देशित हुनुपर्ला ?

नीतिहरूमध्येमा उत्तम नीति राजनीति नै हो । राजनीतिको सर्वोच्च दस्तावेज संविधान हो । नेपालको अहिलेको संविधान त झनै छ दशक लामो लोकतान्त्रिक सङ्घर्षको प्रतिफलस्वरूप संविधान सभाबाट प्राप्त ऐतिहासिक सहमतिको दस्तावेज हो । यो संविधान जारी गराउने स्थितिसम्म ल्याइपुर्‍याउन स्रष्टाहरूको पनि सशक्त भूमिका छ । त्यसैले  सबै जात, जाति, लिङ्ग, वर्ग, तह आदिको सम्मान र हकलाई प्रत्याभूत गरेको यस  संविधानले निर्धारण गरेका निर्देशक सिद्धान्तहरूबाट नै नेपालको साहित्यसम्बन्धी मूल नीति पनि निर्देशित हुनुपर्दछ । नेपालको संविधानको धारा ५० को निर्देशक सिद्धान्तहरूअन्तर्गत उपधारा (२) मा लेखिएको ‘ धर्म, संस्कृति, संस्कार, प्रथा, परम्परा, प्रचलन वा अन्य कुनै पनि आधारमा हुने सबै प्रकारका विभेद, शोषण र अन्यायको अन्त्य गरी सभ्य र समतामूलक समाजको निर्माण गर्ने एवम् राष्ट्रिय गौरव, लोकतन्त्र, जनपक्षीयता, श्रमको सम्मान, उद्यमशीलता, अनुशासन, मर्यादा र सहिष्णुतामा आधारित सामाजिक सांस्कृतिक मूल्यहरूको विकास गर्ने तथा सांस्कृतिक विविधताको सम्मान गर्दै सामाजिक सद्भाव, ऐक्यबद्धता र सामञ्जस्य कायम गरी राष्ट्रिय एकता सुदृढ गर्ने राज्यको सामाजिक र सांस्कृतिक उद्देश्य हुनेछ ’ भन्ने व्यवस्थालाई नै नेपालको साहित्यसम्बन्धी मूल नीतिको पनि  सैद्धान्तिक आधार मान्नुपर्दछ र संविधानमा नै व्यवस्था गरिएको  सामाजिक र सांस्कृतिक रूपान्तरणसम्बन्धी नीतिको साहित्यिक संस्करणका रूपमा विशिष्टीकृत ढङ्गले साहित्य सम्बन्धी मूल नीति ल्याउने प्रयास हुनुपर्दछ । यसमा सरोकारवालाहरूसँगको निरन्तर अन्तरक्रिया, परामर्श, विमर्श आदि पनि त्यत्तिकै अपेक्षित छन् । 

नेपाली साहित्यको लेखकीय आधारभूमि के हुन सक्छ ?

नेपाली साहित्यको लेखकीय आधारभूमि के हुन सक्छ भन्ने प्रश्नलाई मैले तीनओटा कोणबाट लिनु उपयुक्त ठानेको छु । पहिलो, लेखनकर्म गरेरै वा लेखक भएरै साहित्यमा टिकिरहने आधारभूमि । दोस्रो, लेखकले सम्बद्ध विधामा लेखनकर्म प्रारम्भ गर्नुभन्दा अगाडि उपजीव्य सामग्रीका रूपमा चयन गर्ने विषयक्षेत्र वा अन्तर्वस्तुको आधारभूमि । तेस्रो, विचार वा भावसम्प्रेषणको आधारभूमि । यी तीनओटै कोण त्यत्तिकै समयसापेक्ष र सान्दर्भिक छन् भन्ने मलाई लाग्दछ ।

वास्तवमा  नेपाली साहित्यमा  पूर्णकालिक लेखक भएर बाँच्न सक्ने अवस्था अझै बनिसकेको छैन । नेपाली साहित्यमा तीन किसिमका स्रष्टाहरू भेटिन्छन् । यीमध्ये कतिपय स्रष्टाहरू युवा  रहरसँगै सृजनामा आउँछन् र रहरमा कहर मिसिन थालेपछि सृजनाबाट पलायन हुन्छन् । कतिपय स्रष्टाहरूले आफ्नो जीविकाको माध्यमका रूपमा अर्कै मूल पेसा वा व्यवसाय अपनाएका हुन्छन् र बचेको समयमा फाट्टफुट्ट सृजना गर्दछन् । केही सीमित स्रष्टाहरूले भने पूरै समय लेखनमा दिएका हुन्छन् तर साहित्यिक लेखनले जीविकोपार्जनमा टेवा पुग्न नसकेकैले तिनको कलमसमेत अखबारी लेखनतर्फ प्रवृत्त हुँदै गएको देखिन्छ । उच्च कोटिको र गम्भीर साहित्य सृजनाका निम्ति यी बाधक पक्ष हुन् । यस्ता बाधाहरूबाट मुक्त गरेर केही विशिष्ट प्रतिभाशाली स्रष्टाहरूलाई चयन गरी उनीहरूलाई पूर्णतः लेखनमा मात्र  लगाउनुपर्दछ । राज्यका तहबाट पर्याप्त बजेटको व्यवस्था गरेर यो काम प्रज्ञा–प्रतिष्ठानहरूद्वारा गराउन सकिन्छ । यसबाट नेपाललाई अन्तर्राष्ट्रिय रूपमा चिनाउन सक्ने स्तरका गहन र सुरुचिपूर्ण साहित्यिक कृतिहरू लेखाउन सकिन्छ र नेपाली साहित्यमा लेखकीय  आधारभूमि पनि बलियो बन्छ । यसलाई मैले पहिलो लेखकीय आधारभूमि ठानेको छु । 

नेपाली साहित्यको लेखकीय आधारभूमिका रूपमा स्रष्टाले सृजनाका सन्दर्भमा चयन गर्ने विषय क्षेत्र वा अन्तर्वस्तुलाई पनि लिन सकिन्छ । यस कोणबाट हेर्दा आजको नेपाली साहित्यको क्षितिज धेरै फराकिलो बनिसकेको छ । हिजोसम्म नेपाली लेखकहरूका निम्ति वेद, इतिहास, पुराण, आर्ष काव्यहरू आदि अर्थात् हिमवत्खण्डको समृद्ध वाङ्मयिक परम्पराका कथाप्रसङ्गहरू, चरित्रहरू र घटनाहरू मात्र उपजीव्य थिए । पछि इतिहासप्रसिद्ध नायकहरू र तिनका गाथाहरूका साथै शृङ्गार, प्रकृति, समाज, लोकजीवन आदि उपजीव्य बने । आज परिदृश्य परिवर्तन भएको छ । नेपाल स्वयम् भूमण्डलीकरण र विश्वव्यापीकरणको तीव्र प्रभावमा छ । सूचना प्रविधिले पनि भौगोलिक दूरीलाई घटाएको छ । नेपालीहरू आफै एसियादेखि युरोप, अमेरिका लगायतका महादेशहरूमा फैलिएका छन् । नेपाली स्रष्टाहरूका साहित्यिक सञ्जालहरू विश्वव्यापी बनेका छन् । यस अवस्थामा नेपाली साहित्यको लेखकीय आधारभूमि वा आधार क्षेत्र व्यापक बनेको छ । नेपाली स्रष्टाहरूले सृजना गर्ने कृतिहरूमा नवीनतम उपजीव्यहरूको प्रयोग बढ्न थालेको छ । यो सबल पक्ष हो । यसलाई मैले दोस्रो लेखकीय आधारभूमि मानेको छु ।  जहाँ बसेर लेखे पनि र उपजीव्य सामग्री जेलाई बनाए पनि  नेपाली स्रष्टाहरूका सृजनाले गर्ने विचार वा भावसम्प्रेषण सर्वाधिक महत्त्वपूर्ण पक्ष हो भन्ने मलाई लाग्दछ । हामी स्रष्टाहरू समेतले लामो बलिदानपूर्ण सङ्घर्षबाट नेपालमा गणतन्त्र ल्यायौँ । यो बाहिरी या रूपको परिवर्तन त भयो । तर गणतन्त्रअनुरूपको सांस्कृतिक रूपान्तरण भने हुन सकेको छैन । हाम्रा विधि, व्यवहार, चिन्तन, चरित्र, आचारविचार, संस्कार, बोली आदि लोकतन्त्र र गणतन्त्रमा अनुवाद हुन सकेका छैनन् । यो समस्या घरपरिवार, समाज, राजनीति, प्रशासन, शिक्षा आदि सबै क्षेत्रमा छ । त्यसैले अबको नेपाली साहित्यको लेखकीय आधारभूमि सांस्कृतिक रूपान्तरण अर्थात् गणतन्त्रअनुरूपको संस्कृति निर्माणको दिशा पनि हुनुपर्दछ । यसलाई मैले तेस्रो लेखकीय  आधारभूमि ठानेको छु । 
 

                                                                                                                                                                                                        प्रस्तुतिः त्रिभुवनचन्द्र वाग्ले