मेरो प्रेमी

मेरो प्रेमी

एलिसा ढुङ्गाना  |  साहित्य  |  भदौ १९, २०७७

जीवनको आधा
उमेरमा पलाएको
प्रेम 
सुटुक्क ह्दयमा
लुकाउँदै 
नवदुलाह झैँ लजाउँदै/सर्माउँदै 
घन्टाघरको फेदैमा उभिएर 
प्रियसीको बाटो हेरिरहेको
मेरो प्रेमी !

पुरानो, अधुरो
पुरानो प्रेममा
टुसाएको नयाँ प्रेम 
कविता, गीत र
कथामा सजाउँदै 
मनमा, मष्तिष्कमा
नयाँ प्रेम सँगाल्दै 
गोधूलि साँझमा 
प्रियसीको यादमा 
आफैलाई बिर्सिएर 
सडकको किनारा
नियालिरहेको 
मेरो प्रेमी !

थाहा छैन उसलाई 
समयको गतिसँगै
आफ्नो उमेर
गएको
प्रेम बगैँचामा
बेखुसीहरू फुल्न
थालेको
मनमस्तिष्कमा
निरश धुन
बज्न लागेको 
पुरानो प्रेमको
स्मृतिले चेतनाशून्य
भएको
पर भित्तामा आफ्नै छायाले
गिज्याउँदा
पनि
प्रतीक्षाको पल
सकिँदै गर्दा पनि
असहजताभित्र
सहजै प्रेम खोज्दै 
जूनकीरीको उज्यालोमा 
प्रियसीलाई पर्खिरहेको
मेरो प्रेमी ।

थाहा छ उसलाई
समयको लयमां
हिँड्नु छ
जीवनको बाँकी
यात्रा 
तैपनि ऊ प्रेममा
हतार गर्दैन 
बैँस गयो कि भन्ने
पिर छैन
प्रेमका लागि
लाजले मुख छोप्दैन
परिवेश फरक भए
पनि डर मान्दैन
ऊ औधी माया गर्छ
आफ्नी प्रियसीलाई
त्यसैले पनि
परिवर्तनको
लहरमा
प्रेमका लागि
कहिलै नथाक्ने मन
बोकी 
मौनतामा
घोत्लिरहेको 
मेरो प्रेमी ।