काइ हाभर्टेज इंग्लिस क्लब चेल्सीमा अनुबन्धित

काइ हाभर्टेज इंग्लिस क्लब चेल्सीमा अनुबन्धित

लोकसंवाद संवाददाता  |  खेलकुद  |  भदौ २०, २०७७

इंग्लिस क्लब चेल्सीले जर्मन खेलाडी काई हाभर्टेजलाई ५ वर्षका लागि अनुबन्धित गरेको छ । 

लण्डन क्लब चेल्सीले ७१ मिलियन पाउण्डमा हाभर्टेजलाई जर्मन क्लब बायर लिभरकुसेनबाट क्लबमा भित्र्याएको हो । 

जर्मनीको राष्ट्रिय टोलीका मिडफिल्डर हाभर्टेजले बुन्डेसलिगा क्लब बायर लिभरकुसेनबाट १ सय १८ खेलमा ३६ गोल गर्दै २५ गोलको अवसर सिर्जना गरेका छन् ।

उनी चेल्सीका सर्वाधिक दोस्रो महङ्गा खेलाडी बनेका छन् । चेल्सीले सन् २०१८ मा एट्लेटिको बिल्बाओबाट गोलकिपर किपा एरिन्जाबालागालाई कीर्तिमानी ७१ दशमलव ६ मिलियन पाउण्डमा अनुबन्धन गरेको थियो ।

चेल्सी निर्देशक मारिया ग्रानोब्सकियाले काइ उनको उमेरको विश्वको सर्वोकृष्ट खेलाडी भएको बताईन् । उनले जर्मन मिडफिल्डरलाई अनुबन्धन गर्न पाउँदा खुसी लागेको बताउँदै उनको भविष्य चेल्सीमा रहेको बताईन् ।

समर ट्रान्सफरमा चेल्सीले अनुबन्धन गरेका हाभर्टेज सातौं खेलाडी हुन् । मुख्य प्रशिक्षक फ्रान्क लाम्पार्डले यसअघि फरवार्ड टिमो वार्नर, मिडफिल्डर हाकिम जियच, डिफेन्डर जाभियर बुयुम्बा, मलंग सार, बेन चिलवेल र थियागो सिल्भालाई स्टामफोर्ड ब्रिजमा अनुबन्धन गरेका थिए ।

लिभरकुसनको एकेडेमीमा हुर्किएका हाभर्टेजले गत सिजनमा मात्र ४५ खेलमा १८ गोल गरेका थिए भने ९ गोलका लागि पास मिलाएका थिए । कोरोना महामारीपछि सिजन पुन सुरु भएपछि उनले ११ खेलमा ८ गोल गरेका थिए ।