मेस्सीले भनेः हृदय टुटेपनि बार्सिलोनामा नै बस्छु

मेस्सीले भनेः हृदय टुटेपनि बार्सिलोनामा नै बस्छु

लोकसंवाद संवाददाता  |  खेलकुद  |  भदौ २०, २०७७

अर्जेन्टिनी स्टार लियोनल मेस्सी अन्ततः बार्सिलोनामै बस्ने भएका छन् । करिब दुई साताअघि आफूले बार्सिलोना छाड्न चाहेको पत्र पठाएर सनसनी मच्चाएका मेस्सीले पुनः बार्सिलोनमा नै बस्ने बताएका हुन् । 

गोल डटकमलाई दिएको अन्तर्वार्तामा मेस्सीले बार्सिलोनामै ‘हृदय टुटे’ पनि बार्सिलोनामै बस्ने निर्णय गरेको भन्दै त्यसको विस्तृत व्याख्या गरेका छन् । 

आफूलाई बार्सिलोनाबाट किन्नका लागि तिर्नु पर्ने ७ सय मिलियन युरो तिर्न कुनै पनि क्लबले नसक्ने तथा आफूले जीवन दिएको अति नै माया गर्ने क्लबविरुद्ध खेल्न नचाहेकाले बार्सिलोनामै बस्ने निर्णयमा पुगेको मेस्सीको भनाई छ । 

३३ वर्षीय मेस्सीले बार्सिलोना छोड्नका लागि फ्रि ट्रान्सफरको विकल्पमा छलफल गरे पनि त्यो सम्भव भएन । उनले १० जुनसम्ममा जानकारी गएको भए स्वतन्त्र मूल्यमा क्लब छोड्न पाउने थिए ।

गोलसँग मेस्सीले भनेका छन्, ‘मलाई लागेको थियो कि बार्सिलोना छोड्न म स्वतन्त्र छु । मैले अध्यक्षलाई भनेको थिए । उनले जहिले पनि सिजनको अन्त्यमा मैले क्लबमै रहने कि नहरने भनेर निर्णय लिन सक्ने बताए जहिले पनि र उनले अहिले आफ्नो सो वचन कायम गरेनन् ।’

उनले अघि भनेका छन्, ‘अब म बार्सिलोनामै बस्ने निर्णयमा पुगेको छु किनकि अध्यक्षले मलाई भने कि–क्लब छोड्नका लागि एक मात्र उपाय ७ सय मिलियन युरो तिर्नु हो । र त्यो असम्भव छ ।’

बार्सिलोनासँगको मेस्सीको सम्झौता आगामी सिजनसम्म छ । मेस्सीले भनेका छन्, ‘म स्वतन्त्र मूल्यमा बाहिरिनका लागि १० जुनमा भन्नु पर्ने रहेछ, र उनीहरु मैले त्यो बेला किन भनिन भनेका छन् । तर अहिलेको कोरोना भाइरसको महामारीका बेला ला लिगा लगभग मध्यतिर मात्रै थियो ।’

‘क्लबबाट बाहिरिने अर्को उपाय अदालती प्रक्रिया हो । तर म कहिल्यै पनि बार्सिलोनाविरुद्ध अदालत जाने छैन, मैले माया गरेको क्लब हो, जसलाई मैले आएदेखि आफ्नो सबचिज दिएको छु ।’

मेस्सीका बाबु तथा एजेन्ट जर्ज मेस्सीले यो हप्ता बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बार्तोमेउसँग भेट गरेर आफ्ना छोराले क्लब छोड्न चाहेको बताएका थिए । 

मेस्सीले क्लब छोड्ने बताएपछि उनलाई भित्र्याउने होडमा इंग्लिस क्लब म्यानचेस्टर सिटी सबैभन्दा अघि देखिएको थियो ।