डा. ध्रुवमान श्रेष्ठ: मानसिक रोगीलाई उपचार र सुरक्षा दिलाउने जेलमुक्त अभियानका अभियन्ता
भदौ २०, २०७७

डा. ध्रुबमान श्रेष्ठ मनोचिकित्सकका हिसाबमा नेपालको तेस्रो विशेषज्ञ डाक्टर । निजामती सेवाका हिसाबमा भने दोस्रो ।  काठमाडौँमै जन्मे हुर्केको नेवारको छोरो । व्यापार व्यवसाय शुरु नगरी डाक्टरी सेवामा प्रवेश गर्नुभएको व्यक्ति । 

नेपालका विकट र दुर्गम मानिने ठाउँमा समेत मानसिक स्वास्थ्य सेवा पुर्‍याउने कार्यमा उहाँको ठूलो योगदान रह्यो । समुदायमा मानसिक सेवा शुरु गर्ने श्रेय उहाँलाई जान्छ ।  
आवासीय मानसिक सेवा पनि प्रारम्भ गर्नुभयो । 

मानसिक स्वास्थ्य सेवामा आफ्नो जीवन व्यतीत गर्नुभएका डा. ध्रुबमान श्रेष्ठको यस्तै यस्तै छ जीवन कथा । 

जन्म र बाल्यकाल 

उहाँ काठमाडौँको रैथाने नेवार । हालको काठमाडौँ महानगरपालिका वडा नं.२५ मा हो जन्म । बांगेमुढा । 

उहाँको जन्म शून्य सालमा । अर्थात् २००० सालमा । तर, नागरिकताले भने उहाँलाई दुई वर्ष तन्नेरी बनाएको छ । २००२ साल छ उहाँको नागरिकतामा । 

सामान्यतया त्यो बेला आफूलाई जन्मेको साल त्यति हेक्का हुँदैनथ्यो । अनि स्कुलमा जाँदा एसएलसी दिने बेला शिक्षकहरूले फेरी न्वारन गरिदिने चलन नै थियो । त्यस्तै भयो उहाँको पनि । एसएलसी दिने बेला भर्नुपर्ने फारममा २००२ साल राखिदिए शिक्षकले । अन्य दस्ताबेजमा पनि यही दर्ज भयो । 

उमेर कम भयो भने एसएलसी दिन पाइँदैन भनेर यसो गरिएको हो त्यो बेलामा । त्यो कुरा पछि मात्रै  उहाँले थाहा भयो उहाँलाई ।  फेरि त्यो बेला जागिर अलि धेरै समय खान पाइन्छ भनेर पनि उमेर घटाउने चलन थियो । पछि उहाँले यसलाई सच्चाउन पनि खोज्नु भएको हो । तर, त्यो प्रक्रिया धेरै झन्झटिलो भएको हुनाले थाँती बस्यो । 

उहाँको बाल्यकाल टोल छिमेकका साथीभाइसँग खेल्दै रमाइलो गर्दै बित्यो । खेलमा भने डन्डी बियो अनि गुच्चा पर्दथ्यो ।  भकुन्डो पनि थियो । तर, भोगटेको । 

भोगटेको बल कति गुड्छ र । तर पनि टुँडिखेलमा भोगटेको बल कुदाउनुको रमाइलो बेग्लै थियो । टोलमै पनि साथीभाइमाझ चर्चित थियो भोगटेको बल । 

भलिबलको कुरो भने अर्कै छ । एक पटक भलिबल खेल्दा औँला भाँचिएपछि उहाँले भलिबल छोएको छैन ।

जात्रा पर्वमा टोलका साथीहरूसँग घुमघाम हुन्थ्यो । दसैँको नौ दिन नै साथीहरूसँग जहाँ जहाँ मेला लाग्थ्यो त्यहाँ पुग्नुहुन्थ्यो उहाँ । तास, कौडा खेल्ने तथा झगडा गर्नेमा भने उहाँ पर्नुभएन । 

एघार बाह्र वर्षको उमेरमा उहाँलाई एक पटक खोलाले बगाएको छ । त्यो पनि बागमतीले । त्यो बेला बागमती विशाल नै आउँथ्यो । 

असार, साउनको महिना । पानी परिरहेको थियो । एकादशीको दिन । पूजा गरेको हेर्न भनेर गएको । उहाँको मामाको छोरा र अरु तीन चार जना थिए । अरु अलि ठुला थिए । कता कता गए । 

उहाँ खोला हेर्न भनेर छेउमा गएको । स्वात्तै बगायो । हुत हुत पारेर लग्यो । कसले बचायो पनि याद छैन उहाँलाई । 

उहाँ एक्लो सन्तान । हुन त अरु नजन्मिएकै भने होइनन् । तर, ती सबै भगवानका प्यारा भएको स्मरण सुनाउनु हुन्छ । 

काठमाडौँको रैथाने नेवार भए पनि उहाँको बुबाले व्यापार भने गर्नुभएन । बरु सरकारी जागिर खानुभयो । सरकारी जागिरेको सन्तान उहाँ । खान लाउन पुग्ने मध्यम परिवार हो उहाँको । 

प्रारम्भिक शिक्षा 

प्रारम्भिक शिक्षा पद्मोदय हाइस्कूलमा । स्कूले जीवनको त्यस बेलाको फलामे ढोका अर्थात् एसएलसी पद्मोदयबाटै दिनुभएको हो उहाँले । २०१३ सालमा ।  उहाँ तीक्ष्ण विद्यार्थी पनि होइन । सारै लद्दु पनि होइन । ठिकै । परिवार पनि मध्यम खालको । विद्यार्थी पनि मध्यम । 

 अगाडि वा पछाडि कुन बेन्चमा बस्नुहुन्थ्यो याद छैन उहाँलाई । स्कुले जीवनका खासै कुराहरू त्यति सम्झनामा छैनन् उहाँको । 

स्कूलका साथीहरू पनि धेरैजसो सम्झनामा रहेनन् अहिले । स्कुलमा माड्सापहरु पनि त्यति याद छैन ।  एक दुई जना आफन्त पर्ने, टोलका र नजिकका मात्र छन् स्मृतिमा ।

उहाँहरूलाई भने चिन्नुहुन्छ । नाम पनि सम्झनुहुन्छ ।  धेरै सम्पर्कमा नहुने साथीहरू र माड सापको नाम पनि याद छैन । अनुहार त झन् याद हुने कुरै भएन । 

उच्च शिक्षा 

पद्मोदय हाइस्कूल पछि उहाँ लाग्नु भो अस्कलतिर । आइएस्सी पढ्नका लागि । आइएस्सीको पढाई त्यति सुखद रहेन । राम्रो अङ्क नआउला भनेर एक वर्ष ड्रप नै गर्नुभयो । तर, अर्को वर्ष एउटा विषय लागेर फेल नै हुनुभयो आइएस्सीमा । 

अन्ततः सेकेन्ड डिभिजनमा पास हुनु भयो । छात्रवृत्ति कुनै पाइएन । अब शिक्षक भए पनि बन्नुपर्याे भने बिएस्सीका लागि फर्म भर्नुभयो ।

बिएस्सी अध्ययनका लागि भने उहाँको छनौट रह्यो त्रिचन्द्र कलेज । 

आइएस्सीको पीडाले सताएकोले होला बिएस्सीमा भने उहाँले मेहनत नै गर्नुभयो । बिएस्सी भने प्रथम श्रेणीमा पास हुनुभयो । त्यस बेला २,३ जनाको मात्र प्रथम श्रेणी आएको थियो । 

कोलम्बो प्लानको  चक्कर

कोलम्बो प्लान । आखिर के हो त ? यो धेरैलाई थाहा नहुन सक्छ ।  कोलम्बो प्लान सार्क जस्तै एउटा सङ्गठन हो । तर, क्षेत्रीय नभएर अन्तर्राष्ट्रिय । यसमा अमेरिका, बेलायतदेखि भारत लगायत अन्य मुलुकको पनि सहभागिता थियो । 

यसको मुख्य उद्देश्य गरिब मुलुकमा सहायता गर्ने हो । त्यसमा शैक्षिक छात्रवृत्ति लिएर विकासका काम पनि समावेश थिए । 

यसको मुख्य अफिस श्रीलङ्काको कोलम्बोमा भएको हुनाले यसको नाम नै  ‘कोलम्बो प्लान’ भएको हो भन्नुहुन्छ उहाँ । हाल यसको सक्रियताका बारेमा भने उहाँ अनभिज्ञ हुनुहुन्छ । 

डाक्टरी  सेवा 

उहाँको डाक्टर बन्ने इच्छा भने आइएस्सी पढ्दा देखिकै हो । त्यो पनि छात्रवृत्तिमा । अन्यत्र पनि एक दुई ठाउँमा उहाँले छात्रवृत्ति पाउनु भएको थियो । तर, छोड्नु भो । अन्ततः ‘कोलम्बो प्लान ’अन्तर्गत नै डाक्टरी पढ्न जानु भो । 

बिएस्सीमा प्रथम श्रेणी पश्चात् । भारतको लखनउमा रहेको किंग जर्ज मेडिकल कलेजमा । पहिले त्यो मेडिकल कलेजका रुपमा मात्र थियो । अहिले भने विश्वविद्यालय भएको छ । 

पाँच वर्ष डाक्टरी अध्ययन पश्चात् उहाँ फर्कनु भयो नेपाल २०२५ सालमा । ‘इन्टर्नसीप’ नै नगरी ।

‘इन्टर्नसीप’ त्यसबेला एक वर्षे थियो । तर, अनिवार्य भने थिएन । गर्नेले अनुभव बटुल्छ भन्ने मात्र हो । आएर काम गरेर अनुभव बटुल्न पनि पाइन्थ्यो ।

मानसिक अस्पतालको निर्देशक भएपछि जेलको निर्देशकसँग एउटा सम्झौता भयो । केवल मानसिक रोग लागेका कारण बिरामीलाई जेलमा राख्न पाइँदैन । यो मानव अधिकारको ठाडो उल्लङ्घन हो भनेर भन्नुभयो उहाँले ।  उनीहरूले पनि उपचार पाउनुपर्छ । सुरक्षा पाउनुपर्छ । र औषधीको अधिकार पाउनुपर्छ तथा परिवारले नै उपचार गर्नुपर्छ भन्ने एउटा नियम पनि बनाउन लगाउनु भयो उहाँले । 

पहिलो जागिर 

उहाँको पहिलो जागिर वीर अस्पतालमा । डाक्टरी पढेर फर्किएपछि । ‘इन्टर्नशीप’ नगरे पनि नोकरी भने दियो सरकारले । तर, परीक्षण कालमा राखेर । 

वीर अस्पतालको विभिन्न विभागमा खटाए बमोजिम काम गर्न थाल्नुभयो ।

उहाँको पहिलो तलब दुई सय पचास हो कि तीन सय पचहत्तर उहाँलाई ठ्याक्कै हेक्का रहेनछ । 

तर, सुनको भाउ भने त्यो बेला तीन सय पचास थियो । बहिनीको बिहेको लागि सुनको भाउ बुझ्दा याद भएको हो यो मूल्य ।

पहिलो तलब
पहिलो तलबले ठ्याक्कै यही गरेँ भन्ने हेक्का छैन उहाँलाई । तर, उहाँलाई लाग्छ घरमा आवश्यक पर्ने केही किनियो कि ! 

घरबाट लिएर आइज भनेर होइन । आफूलाई खुसी लागेर ।  शायद ! बुबालाई केही कपडा । केही खानेकुरा । यस्तै यस्तै होला । 

हुन त यो उहाँको आधिकारिक जागिर भए पनि उहाँ यसभन्दा अघि पनि ‘पार्ट टाइम’ काम भने गर्नुहुन्थ्यो । औषधी पसलमा । त्यस्तै तीन चार घण्टा । 

उबेला औषधी पसलमा काम गर्न तालिम लिनु पर्दैनथ्यो । औषधीको नाम थाहा भए पुग्थ्यो । तीस चालिस रुपैयाँ आउँथ्यो होला शायद । उहाँले घरबाट पैसा लिनुभएन । यस्तै ‘पार्ट टाइम’ कामको पैसाले आफ्नो जोहो आफैँ गर्नुहुन्थ्यो । 

घरमा पनि अलि अलि मद्दत गर्नुपर्थ्यो । त्यो बेला आइएस्सीको शुल्क मासिक ६ रुपैयाँ थियो । अरु खाजा खाने चिया खाने जस्ता फुर्मासका खर्च हुँदैनथे । 

घरबाट भात खाएर सिधा कलेज गयो । कलेजबाट फर्केर औषधी पसल । बरु त्यहाँ भने एक कप चिया खान दिन्थ्यो । बेलुका आठ नौ बजे काम बाट फर्कियो । खाना खायो सुत्यो । अनि भोलि फेरि कलेज । यस्तो थियो दैनिकी ।

घरमा चिया र कहिलेकाहीँ जेरी पनि हुन्थ्यो । 

विवाह 

उहाँको विवाह २०२९ सालमा भएको हो । प्रेम विवाह ।

दुबैजनाको काम वीर अस्पतालमा नै । घर पनि नजिक नजिकै । श्रीमती श्रेष्ठको श्रीघः । उहाँको बाँगेमुढा । देखादेख हुन्थ्यो उहाँहरूको वीर अस्पतालमा । 

प्रेम प्रस्ताव राखेको पनि होइन । घरका कसैले विवाह प्रस्ताव अघि बढाएको पनि होइन । देखादेख भयो । बिहे गरौँ भनियो । बिहे गरियो । 

उहाँहरूको दुई सन्तान । छोरीहरू । एक जना एमबिबिएस डाक्टर । अर्को पिएचडी डाक्टर । 

रुचि सर्जरी तर डाक्टरी अर्कै ! 

जुन जुन विभाग र विषयमा काम गर्दै गयो रुचि त्यसमा बस्दै जाने । तरपनि उहाँको रुचि भने सर्जरीमा थियो ।  त्यसबेला सर्जरीको कोटा त बिच बिचबाटै हराउँथ्यो । सँगै काम गर्दै गरेको साथी भोलि यो बेलायत जाने रे भन्ने सम्म सुनिन्थ्यो । कसलाई कहाँबाट सिट प्राप्त हुन्थ्याे थाहा नै हुँदैनथ्यो । 

बाबु सरकारी जागिरे । त्यो पनि ठूलो ओहोदा होइन । राजनीतिक परिवारको पनि होइन । पहुँच पनि थिएन । अनि कसरी पाइन्थ्यो र आफूले रुचाएको विषय । उहाँ गुनासो गर्नुहुन्छ । 

तर, त्यसबेला केही समय काठमाडौँ बाहिर काम गर्‍यो भने कोटा पाउने प्रावधान भने थियो । तराई, पहाड, सुदूरपश्चिम । उहाँले तीन चार वर्ष बाहिरै काम गर्नुभयो । कहिले पहाडमा । कहिले तराइमा । 

एउटा कोटा आयो साइक्याट्रिकमा । पर्खेर बस्यो भने त्यो पनि नपाइन सक्थ्यो । त्यसैले उहाँ जानुभयो त्यो साइक्याट्रिको कोटामा । त्यो पनि कोलम्बो प्लान अन्तर्गतकै थियो ।

त्यो सिट पनि अर्कैले पाइसकेको थियो । खोइ उसले के  कारणले त्यो सिट छोड्यो थाहा भएन उहाँलाई । 

त्यसपछि उहाँले विभागमा गएर निवेदन दिनुभयो । निवेदन स्वीकार भयो । उहाँ पढ्न जानुभयो भारत । दिल्लीस्थित ‘अल इण्डिया इन्स्टिच्युट’मा  ।

कोर्स थियो ३ वर्षको । उहाँ जाँदा नेपाली त्यति धेरै थिएनन् ‘इन्स्टिच्युट’मा । पछि भने धेरै नै आए । 

उहाँले २०२५ सालमा एमबिबिएस सकाउनु भएको हो । फेरि दश वर्षपछि उहाँ विद्यार्थी हुनुभयो तर एमडीको ।

उहाँ २०३५ सालमा भारतको ‘अल इन्डिया इन्स्टिच्युट’मा एमडी पढ्नका लागि दिल्ली जानु भएको थियो ।  उहाँको रुचिको विषय थिएन साइक्याट्री । घरका मान्छेले पनि किन जान लागेको यस्तो विषय पढ्न जस्तो गरेका थिए । 

तर, डाक्टर भएको दश वर्षसम्म पनि कुनै पुच्छर नझुन्ड्याए बिक्न गाह्रो थियो । त्यो कुरो उहाँले बुझ्नु भएको थियो ।  त्यसैले रुचिको विषय नभए पनि जानु भो साइक्याट्रीमा । ‘कोलम्बो प्लान’ अन्तर्गत नै ।

यो तीन वर्ष भने अलि सकस नै भो उहाँलाई । कारण थियो पढाई छुटेको दश वर्ष भैसकेको थियो । 

दश वर्षपछि फेरि विद्यार्थी भएर विद्यार्थीको अनुशासन पालन गर्न अप्ठेरो भयो ।

पढाइ सकेर डाक्टर भइसकेपछि उहाँको जीवनमा अरु थुप्रै जीवन प्रारम्भ भई सकेका थिए । बिहे भएर दुई छोरी पनि जन्मिसकेका थिए । 

पारिवारिक जीवन । सामाजिक जीवन । अनि स्वतन्त्र रुपमा रहन थालेको मान्छेलाई विद्यार्थी हुन धेरै गाह्रो हुँदो रहेछ । यो उहाँको अनुभव हो ।

उहाँको अनुभव कसैसँग मिल्ला । कसैसँग नमिल्ला । सबैसँग मिल्नुपर्छ भन्ने पनि छैन । 

मानसिक रोग विशेषज्ञ 
२०३८ सालमा उहाँ फर्कनुभयो । एमडीको पढाइ सकेर । मानसिक रोग विशेषज्ञका रुपमा ।  त्यसपछि उहाँको विशेषज्ञता पायो वीर अस्पतालले ।

त्यसबेला छुट्टै मानसिक रोगको कुनै अस्पताल थिएन । वीर अस्पतालमा एउटा इकाईको रुपमा थियो मानसिक रोग । जम्मा ६ शैय्याको । 

इकाई प्रमुख हुनुहुन्थ्यो नेपालकै पहिलो मानसिक रोग विशेषज्ञ डा. विष्णु प्रसाद शर्मा ।

छिँडीको दुई वटा कोठामा थियो मानसिक रोग इकाई ।  पढ्न जानु अघि उहाँले अनुभवका लागि ओपिडीको यही इकाईमा काम गर्नुभएको थियो । फर्केपछि पनि यही इकाईमा नै काम शुरु भयो । 

०४१–४२ सालतिर इकाईबाट विभाग नभईकन सिधै मानसिक अस्पताल बन्यो । ललितपुरको लगनखेलमा । 

डा. विष्णु प्रसाद शर्मा त्यसबेला प्रमुखको रुपमा हुनुहुन्थ्यो । अनि पछि उहाँ स्वयं । 

त्यसपछि आउनुभयो डा. काजोल चक्रवर्ती, डा. विश्वबन्धु, डा.अम्बिका, डा. निराकारमान यसरी साइक्याट्रिकको सङ्ख्या बढ्दै गयो । 

निजामती सेवामा म दोस्रो साइक्याट्रिक हुँ, उहाँ भन्नुहुन्छ । सैनिक सेवामा भने डा. देशराज बहादुर कुँवर पहिलो हो ।

तर, नेपालका सन्दर्भमा भने डा. देशराज दोस्रो र म तेस्रो हुँ, उहाँ भन्नुहुन्छ । 

वीर अस्पतालको मानसिक रोग इकाईमा ०३८ सालदेखि थालेको उहाँको सरकारी जागिरेको यात्राले २०६० सालमा मात्र विश्राम लियो । 

०४४–४५ सालमा लगनखेलको मानसिक अस्पतालबाट डा. विष्णु प्रसाद शर्माले अवकाश पाएपछि उहाँ ०६० सालसम्म निर्देशक हुनुभयो ।

बिचमा एकाध वर्ष अरु पनि निर्देशक भए । 

‘पागल’को डाक्टर !

सामाजिक रुपमा मनोचिकित्सकलाई ‘पागल’को डाक्टरको रुपमा लिने गरिन्छ । समाजले त्यसै भन्छ । तर, उहाँले भने त्यो अनुभव गर्नु परेन । साथीभाइले हँसीमजाकमा जिस्काउने अर्कै कुरा हो । तर, समाजमा त्यस्तो भनेको भने उहाँले सुन्नु भएन । डाक्टरको रुपमा प्राप्त गर्ने सामाजिक प्रतिष्ठा र सम्मान उहाँले पनि प्राप्त गर्नु भयो । 

यसमा कुनै कञ्जुस्याँइ भएको उहाँलाई आजसम्म महसुस भएको छैन ।  नमस्कार गर्ने । डाक्टर साप आउनु भो भनेर नजिक आएर कुरा गर्नेहरू नै भेटिए ।

तर, मनोचिकित्सकका रुपमा तितो अनुभव भने उहाँसँग पनि नभएका होइन्न । त्यो अरु कोहीबाट नभएर स्वयं मनोरोगीबाट । आफूले हेरेका र जाँचिसकेका बिरामी भने उहाँबाट अलि टाढै पर्थे । 

यदि फिजिसियन, कार्डियाक वा सर्जन भएको भए बिरामी नजिकै आएर डाक्टर साप नमस्कार । आराम । कुशल मङ्गल भन्दै भलाकुसारी गर्दै झुम्मिन्थे भन्ने लाग्छ उहाँलाई । 
तर, उहाँले हेरिरहेको वा उपचार गराइसकेको बिरामी रैछ भने यसले त यो डाक्टरसँग उपचार गराएको रैछ भनेर अरूले थाहापाउँछन भनेर पनि बिरामी तर्किन्थे उहाँसँग । 

तर, उहाँलाइ भने कसले के भन्छ भन्ने कुराले केही फरक पारेन् । कोही भने धन्यवाद दिन पनि आउँथे ।

तर, करिब ९० प्रतिशत भने उहाँसँग तर्किएरै गएको उहाँको अनुभव छ । 

सम्मान

उहाँले राजा वीरेन्द्र स्वर्गारोहण हुनु केही अघि गोरखा दक्षिण वाहु प्राप्त गर्नु भएको थियो । ०५५ सालमा । 

अमेरिकाका पनि साना अवार्डहरू छन् एकाध ।

गैरसरकारी संस्थाले गर्ने सम्मानहरू पनि छन् । तर, उल्लेख्य भने गोरखा दक्षिणवाहु नै हो । 

समाजसेवा 
मेरीनोल नेपाल आशादीप भन्ने संस्थाको उहाँ संस्थापक अध्यक्ष । सुन्दरीजलको नयाँ पाटीमा छ यो संस्था । हालको गोकर्णेश्वर नगरपालिका । 

संस्था ०४७ मा खुलेको हो । ३० वर्ष भयो ।

संस्थाको मुख्य उद्देश्य भनेको गरिब दीर्घ मानसिक रोगीका उपचार तथा पुनर्स्थापना गर्नु ।  आवासीय सुविधा पनि छ संस्थामा । करिब २०,३० जनाले आवासीय सेवा प्राप्त गर्न सक्छन् । 
त्यहाँ राखेर दुई चार महिना उपचार गरेर ठिक भएपछि रोगीलाई उनीहरूको घरमा नै जिम्मा लगाउने गर्छ संस्थाले ।  अलि अगाडि संस्थाको रजत जयन्ती पनि मनाइयो ।

अहिले पनि संस्था सुचारु रुपमा चलिरहेको छ । पाँच वर्ष अगाडिसम्म उहाँ नै अध्यक्ष हुनुहुन्थ्यो । अहिले भने अरूले हेरिरहेका छन् ।

२० वर्षसम्म उहाँले अनवरत रुपमा त्यहाँ बिरामी हेर्ने, भर्ना गर्ने र पुनर्स्थापन काम गर्नुभयो । सरकारी सेवा र सामाजिक सेवा सँगै चलेको थियो । 

मानसिक रोगीलाई जेल 

पहिले मानसिक रोग लागेर घरमा राख्न सकिएन, थाम्न सकिएन भने जेलमा राख्ने चलन थियो । पहिले रोगीलाई मानसिक अस्पतालमा ल्याएर मानसिक रोग लागेको छ भनेपछि सिडिओलाई सिफारिस गर्न लगाएर जेलमा राख्ने प्रावधान थियो । 

उहाँ मानसिक अस्पतालको निर्देशक भएपछि जेलको निर्देशकसँग एउटा सम्झौता भयो । केवल मानसिक रोग लागेका कारण बिरामीलाई जेलमा राख्न पाइँदैन । यो मानव अधिकारको ठाडो उल्लङ्घन हो भनेर भन्नुभयो उहाँले । 

उनीहरूले पनि उपचार पाउनुपर्छ । सुरक्षा पाउनुपर्छ । र औषधीको अधिकार पाउनुपर्छ तथा परिवारले नै उपचार गर्नुपर्छ भन्ने एउटा नियम पनि बनाउन लगाउनु भयो उहाँले ।

पहिले बागदरबारमा पुरुष तथा महिला कारागार थियो । महिला कारागारमा उपचार नपाएका १५,२० जना मानसिक रोगी पनि थिए ।

कारागारमा राखेर गएपछि घरका मान्छे लिन नआउने । सरकारी हण्डी खाएर बिजोग अवस्थामा बसेका हुन्थे रोगीहरू । 

उहाँले कारागारमा दुई चार पटक भ्रमण गरेपछि ती रोगीलाई त्यहाँबाट निकाल्नु पर्छ भन्ने लाग्यो । अनि अन्य केही संस्थाको मद्दत लिएर ती रोगीलाई आशादीपमा लगेर राखियो । 

कतिपय उपचार पछि आफ्नो घरमा गइसके । कति भने अझै संस्थामा नै छन् ।

पुरुष मानसिक रोगीलाई धुलिखेल कारागारमा लगेर राख्ने चलन थियो । प्रक्रिया उही सिडिओको सिफारिस । त्यो पनि बन्द गर्न लगाउनु भयो उहाँले । 

यसलाई उहाँ गौरव भने ठान्नुहुन्न, यो आफ्नो कर्तव्यकै रुपमा लिनुहुन्छ । 

जेलमा सड्ने मानसिक रोगीले उपचार पाउने वातावरण बनाउने पनि उहाँ पहिलो र अग्रणी हो । तर, यसलाई पनि गौरवका रुपमा भने उहाँ लिनुहुन्न । 

कारागारमा मानसिक स्वास्थ्य सेवा 

त्यसभन्दा अघि पनि हरेक हप्ता कारागारमा गएर मानसिक रोगीलाई हेर्ने जाँच्ने पहिलो मनोचिकित्सक भन्नुहुन्छ उहाँ आफूलाई ।  यसमा भने उहाँलाई गर्व लाग्छ रे !

किनकि त्यसबेला कोही थिएनन् उहाँ भन्नुहुन्छ । अर्को उहाँले प्रारम्भ गरेको काम हो सामुदायिक मानसिक उपचार । 

अर्थात् अस्पतालसम्म ल्याउन नसकिने मानसिक रोगीलाई समुदायमै गएर उपचार गर्ने । यो सेवा भक्तपुर अस्पतालबाट शुरु भएको हो ।

उहाँले हप्ताको एक पटक गएर त्यहाँ बिरामी हेर्ने काम गर्नुहुन्थ्यो । उहाँले समुदायका मान्छेलाई तालिम दिने काम पनि गर्नुभयो । औषधी पनि निःशुल्क दिने काम गर्नुभएको थियो । 

अहिले यस्तो समुदायमा आधारित मानसिक स्वास्थ्य सेवाको काम मेरीनोल नेपाल आशादीपले पनि सञ्चालन गरिरहेको छ ।  विभिन्न जिल्लामा गएर शिक्षकलाई तालिम दिने । विद्यार्थीहरूलाई मानसिक स्वास्थ्य सेवाका बारेमा चेतना जगाउने । र, एक दिने स्वास्थ्य शिविर चलाउने काम पनि मेरीनोल नेपालले गरिरहेको छ ।

मेरीनोल नेपाल आशादीपले अहिले सिन्धुलीको खुर्कोटमा यो सेवा चलाएको छ । खुर्कोटको हेल्थ पोष्टमा गएर अहिले पनि हप्ताको एक दिने मानसिक स्वास्थ्य सेवा दिने गरेको छ । यसलाई ‘स्याटलाइट क्लिनिक’ पनि भनिन्छ । 

यस्तो स्याटलाइट क्लिनिक धेरै जिल्लामा आयोजना गरेको छ आशादीपले । पूर्वमा झापा देखि सुदूरपश्चिममा धनगढीसम्म यस्ता क्लिनिक सञ्चालनमा थिए । तर, अहिले भने यसको आवश्यकता देखिएन उहाँ भन्नुहुन्छ । 

किनकि अहिले धेरै ठाउँमा मेडिकल कलेजहरू खुलेका छन् । मानसिक स्वास्थ्य सेवा त्यहीँबाट पाउन सकिने भयो ।

अर्को कुरा मनोचिकित्सकको सङ्ख्यामा पनि वृद्धि भयो । 

नजिकैको स्थानमा त्यहीँका चिकित्सकले सेवा दिने भए । जस्तै, बुटवलको चिकित्सकले पाल्पामा गएर सेवा दिने भयो । 

निजी अथवा सरकारी जुनसुकै भए पनि सेवा उपलब्ध छ । यस कारण पनि आशादीपको काम अलि होलो खुकुलो भएको छ अचेल उहाँ भन्नुहुन्छ । 

अहिले एकदमै विकट बाहेक अन्यत्र धेरै ठाउँमा २०,२५ जना मनोचिकित्सक उपलब्ध भएको अवस्था हो । जे होस अहिले मानसिक स्वास्थ्य धेरै ठाउँमा विस्तार भएको छ, उहाँ भन्नुहुन्छ । 

समुदायमा सर्वेक्षण 

समुदायमा कति प्रतिशत मानसिक रोगी छन् भन्ने सर्वेक्षण गर्ने पहिलो व्यक्ति आफू रहेको उहाँको दावी छ । उक्त सर्वेक्षण भक्तपुरको दाहाल गाउँमा भएको थियो । 

उहाँ त्यहाँ हप्ताको एक पटक जानुहुन्थ्यो । अरु बाँकी काम भने उहाँका साथीहरूले गर्नुहुन्थ्यो ।

साथीहरूले मानिसहरू जम्मा गर्ने गर्थे । अनि फारम भर्ने काम पनि ।  उनीहरूले मानसिक रोगी हो कि होइन भनेर मानिसहरू भेला गर्थे ।

अनि उहाँ गएर जाँच परख गरेर मानसिक रोगी छुट्टाउने काम गर्नुहुन्थ्यो । 

साथीहरूले यँ गाउँ, डेला गाउँमा पनि यो काम गरे । यो करिब ६–८ महिना चल्यो । उहाँले सर्वेक्षण पछि गाउँमा मानसिक रोगी यति प्रतिशत छ भनेर सार्वजनिक पनि गर्नुभयो । 
यो २०४०–४१ सालको कुरा हो । यसमा ९ वर्षदेखि माथिका उमेर समूहलाई संलग्न गराइएको थियो । कडा, मध्यम, सामान्य तथा औषधी खानु पर्ने नपर्ने पनि विभाजन गरिएको थियो ।

उक्त सर्वेक्षणमा त्यस बेला १३ प्रतिशत मानसिक रोगी रहेको पाइएको थियो । 

लागु औषधमा काम

करिब ६० वर्ष पहिले एउटा युग थियो । हिप्पी युग । त्यसबेला भियतनाम युद्ध चलिरहेको थियो । एक थरी अमेरिकीहरू युद्धबाट बिरक्तिएर आउँथे । अर्को थरी छुट्टीमा । 
उनीहरू बनारस हुँदै नेपाल आइपुग्थे ।

उक्त समयमा अहिले तरकारी बाटोमा राखेको जस्तै गाँजा खुल्लम खुल्ला बेच्न पाइन्थ्यो । 

सरकारले नै गाँजा तौलेर बेच्ने अनुमति दिने गर्थ्याे त्यसबेला । हिप्पीहरू आएर गाँजामा लठ भएर बस्थे । यहाँका युवा पनि उनीहरूसँग लागेर दुर्व्यसनी भए ।

त्यसबेला वसन्तपुर, झोछेंलाइ फ्रिक स्ट्रिट भनिन्थ्यो । र, त्यो थियो पनि फ्रिक । 

उहाँ मनोचिकित्सक हुनु अगाडी नै फ्रिक स्ट्रिटका बारेमा केही जानकार हुनुहुन्थ्यो । आफूले नताने पनि त्यसका केही अनुभव थिए । उहाँ पढेर फर्केर आएपछि दुर्व्यसनीको अवस्था देखेर बडा दुःख लाग्यो । जति औषधी गरे पनि ठिक हुने होइन ।

परिवार तहस नहस भएको छ । धनी परिवार दुर्व्यसनी सन्तानका कारण गरिब भएका छन् । महिलाहरू बिधुवा भए । बाबुआमा टुहुरा भए । कारण थियो दुर्व्यसन । 

यसले सामाजिक समस्या, आर्थिक समस्या र स्वास्थ्यको विकराल समस्या लिएर आयो । उहाँको अध्ययनमा त्यो बेला अमेरिका, हंङकंङ, बैंककमा दुव्र्यसनीलाइ एउटा औषधी दिइन्थ्यो । 

औषधी थियो मेथाडन । 

उहाँलाई लाग्यो नेपालमा पनि मेथाडन किन शुरु नगर्ने । र, मेथाडन शुरु गर्नुपर्ने अर्को कारण पनि थियो त्यसबेला दुर्व्यसनीमा एचआइभी व्यापक रुपमा फैलँदै थियो ।
एचआइभी फैलनुको प्रमुख कारण थियो सुइँद्वारा लागु पदार्थको प्रयोग । र, प्रयोगका लागि सुइँ साटासाट गर्ने प्रवृत्ति ।

मेथाडनको प्रयोग गरियो भने कमसेकम एचआइभी रोकथाममा थोरै भए पनि मद्दत पुग्छ कि भन्ने सोच थियो उहाँको । मेथाडन मुखले खाने औषधी हो । 

मेथाडन शुरु गर्ने पहिलो 

साउथ इष्ट एसियामै मेथाडनको ‘ओरल सब्स्टिट्युसन थेरापी’ शुरुवात गर्ने पहिलो व्यक्ति मान्नुहुन्छ उहाँ आफूलाई । हुन त त्यो बेला हंङकंङ तथा बैंकक मा शुरु भैसकेको थियो । 

मेथाडन कसरी प्रयोग गर्ने भन्ने अध्ययनका लागि उहाँलाई डब्लुएचओ र युएनले हङकङ र बैंकक पठायो । मेथाडन नेपालमा पनि चलाउनु पर्छ भन्ने उहाँ एक्लो व्यक्ति हुनुहुन्थ्यो त्यो बेला ।

सरकारले अनुमति दिएको थिएन । उहाँले एक्लो हिम्मतले शुरु गर्नुभएको हो यसको प्रयोग । 

उहाँले त्यसबेला मानसिक अस्पतालका नर्सहरूलाई मेथाडन चलाउन साथ दिन्छौ भन्दा सकारात्मक जवाफ आएपछि यसमा अगाडि बढ्नु भएको हो । 

यसका लागि एक जना डाक्टर र नर्सलाई १५ दिन तालिम लिन पनि पठाउनु भयो बैंकक । त्यो पनि सरकारको अनुमति विना ।  सरकारको अनुमति लिन सक्नु भएन उहाँले ।

तर, डब्लुएचओको दिल्ली अफिसले भने उहाँलाई ‘ग्रिन सिग्नल’ दियो । अनुमति दिन सक्ने उसको अधिकार क्षेत्र पनि थिएन, उहाँ भन्नुहुन्छ । 

त्यसबेला उहाँका सहकर्मी तथा जुनियर डा. कृष्ण गौतमले उहाँलाई दह्रो साथ दिनुभयो । मेथाडनको कार्यक्रम २०५०–५१ मा शुरु भएको हो नेपालमा ।

उहाँले शुरुमा डब्लुएचओ दिल्ली अफिसलाई औषधी पनि तिमीहरू पठाइदेऊ र अहिलेलाई पैसा पनि तिमीहरू नै हाल भन्नुभयो । 

उहाँले चार सय जनालाई दैनिक सात वर्षसम्म मेथाडन चलाउनु भयो । लगनखेलको मानसिक अस्पतालबाट । अब मेथाडन सकियो । नपाउनेलाई कसरी रोक्ने समस्या भयो । 
बुप्रोनर्फिन ख्वाउनुपर्छ भन्नेहरू पनि आए । केही पनि ख्वाउनु हुँदैन भन्ने नार्कोनन पनि आयो । मेथाडन भनेको विष हो भन्नेहरू पनि आए । 

उहाँ फेरि पनि एक्लै पर्नुभयो । उहाँ कायल भएर यो बन्द गर्नुभयो ।

पोखरामा बुप्रोनर्फिन शुरु पनि उहाँले नै गर्नु भएको हो ।

पछि चीन, मलेशिया तथा फिलिपिन्समा पनि मेथाडन शुरु भयो । 

साउथ एसियामा मेथाडन शुरु गर्ने उहाँ भन्ने नामै रहेको छ । अरु कसैले यो नामको दाबी गर्न सक्दैन भन्नुहुन्छ उहाँ ।

त्यसबेला निराकारमान तथा अरु मनोचिकित्सक पनि आइसक्नु भएको थियो । तर, उहाँहरूले समर्थन गर्न गाह्रो मान्नुहुन्थ्यो । 

मेथाडन यति लामो समयसम्म उहाँले ख्वाउनुको तरिका बेग्लै थियो । उहाँले कहिले पनि निःशुल्क ख्वाउनु भएन । खाने मात्रा अनुसार पैसा तिर्नुपर्थ्यो । 

डब्लुएचओले भने उहाँलाई निःशुल्क उपलब्ध गराउँथ्यो । उहाँले मेथाडनको पैसा जम्मा गर्दा गर्दा झण्डै पचास लाख पुगेछ । 

उहाँले आफू रिटायर्ड हुने बेलामा यो मेथाडनको पैसा भनेर मानसिक अस्पताल पाटनलाई जिम्मा लगाउनु भयो । 

यदि डब्लुएचओले मेथाडन दिएन भने त्यसबाट किन्न सकिने पनि भयो । साथै मेथाडनका अन्य कार्यक्रम सञ्चालन गर्न त्यसलाई बीउपूँजीका रुपमा प्रयोग गर्न पनि सकिने भयो भन्नुहुन्छ उहाँ । 

उपेन्द्र देवकोटाले समेत उहाँलाई यो मेथाडनको पैसा सङ्कलन गर्ने विधि हामीलाई समेत सिकाइदिनु पर्‍यो भनेर भन्नु भएको थियो ।  पछि उहाँले मेथाडन काठमाडौँमा मात्र सञ्चालन गरेर भएन । अन्यत्र पनि सञ्चालन गर्नु पर्‍यो भनेर सरकारलाई भन्नुभयो । 

पोखरा, विराटनगर, नेपालगन्ज जस्ता अन्यत्र दुर्व्यसनी भएका ठाउँमा सञ्चालन गर्नुपर्‍यो भनेर उहाँले भन्नुभएको हो । अहिले ती सबै ठाउँमा मेथाडन कार्यक्रम चलिरहेको छ । मेथाडनलाई समर्थन नगर्नुमा अर्को कारण रहेको उहाँ बताउनुहुन्छ । 

भारतमा बुप्रोनर्फिन उत्पादन हुन्छ । त्यसकारण उसले आफ्नो उत्पादन बिक्री गर्न पनि यहाँ ‘लबिङ’ गरेको हुनसक्छ । अहिले भने बुप्रोनर्फिन र मेथाडन दुबै चलाउने गरेको छ । 
सन् २००२ पछि उहाँले मेथाडनलाई निरन्तरता दिन सक्नुभएन । उहाँले पनि ती दुर्व्यसनीलाइ बुप्रोनर्फिन नै ख्वाउनु पर्‍यो । 

पाँच वर्ष पछि २००७ बाट टिचिङ अस्पतालमा फेरि मेथाडन शुरु भएको छ । अहिले पनि मेथाडन खानेको सङ्ख्या धेरै नै छ । 

ती महिलालाई कम्पोजको ‘एलर्जी’ भयो । महिलाले म मरेँ भन्न थालिन् । कहिलेकाहीँ ‘एलर्जी’ले मान्छे तत्काल मर्न सक्ने सम्भावना पनि हुन्छ, उहाँ भन्नुहुन्छ ।  एम्बुलेन्स बोलाउने कुरो हुँदै थियो । उहाँले तत्काल ह्वील चेयरमा राखेर होटेलकै गाडीमा वीर अस्पताल पुर्‍याउनु भयो ।आफैँ अगाडि बसेर डाक्टरलाई इभिल लगायत अन्य इन्जेक्सन र स्लाइन चढाउन लगाउनु भयो । केही बेरमा बल्ल ती महिलाको होस आयो । नाडी आयो । अनुहार रातो देखियो । नत्र निलो भैसकेको थियो ।

सुस्त मनस्थिति कल्याण सङ्घको बोर्ड सदस्य 

उहाँ केही समय सुस्त मनस्थिति कल्याण सङ्घको बोर्ड सदस्य पनि हुनुहुन्थ्यो । सुस्त मनस्थितिमा पनि उहाँले अनुसन्धान गर्नुभएको छ । 

अवकाश पछि 

अवकाश पछि हालका ३–४ महिनादेखि भने उहाँ फुर्सदमा हुनुहुन्छ ।

तर, अवकाश पछि उहाँ ब्लु क्रस अस्पताल त्रिपुरेश्वरमा बिरामी हेर्नुहुन्थ्यो । २०६० साल देखि ७२ साल सम्म । करिब १२ वर्ष । 

                                                                                                                                           त्यो पनि नियमित जस्तै । बेलुकाको समय ३–४ घण्टा ।

०७२ को भूकम्प पछि उहाँ २ वर्ष जति अमेरिका जानुभयो । घुमघामका लागि ।  अमेरिकाबाट फर्केपछि हरेक दिन नगईकन एक दिन बिराएर जान थाल्नुभयो 'ब्लु क्रस' । 

तर, भाइबर लगायत अन्य सामाजिक सञ्जालबाट भने अहिले पनि सेवा दिइरहनु भएको छ । निःशुल्क । यो काम फोनबाट पनि गर्नुहुन्छ उहाँ । 

भन्नुहुन्छ पिर, चिन्ता केही छैन । सन्तान हुर्किसकेका छन् । सबै आफ्नो लाइनमा छन् । उनीहरूको सुर्ता लिनु परेको छैन ।

बुढा बुढी दुबै स्वस्थ छौँ, भगवानको कृपाले यहाँ भन्दा बढी के चाहियो अब । उहाँले सन्तुष्टि व्यक्त गर्नुभयो । 

बिरामीसँगका स्मरण

उहाँ निर्देशक हुनुहुन्थ्यो मानसिक अस्पतालको । एक जना बालक सहितको महिला मानसिक बिरामीले घर जान्छु, घर पठाइदिनुस् भनेर ३–४ दिन देखि भन्दै हुनुहुन्थ्यो । 
त्यसबेला अस्पताल भित्र ठिक्कको एउटा रुख थियो । उक्त महिला बच्चा बोकेर उक्त रुखमा चढ्दै गरेको देख्नुभयो उहाँले झ्यालबाट । 

रुखको माथि पुगेपछि म यहाँबाट हाम फाल्छु भन्दै महिला कराउन थालिन । अब रुख चढेर कसैले जोगाउन पनि सक्दैन । यदि हाम फाल्यो भने ज्यान ठहरै हुन्छ । अब सबैलाई आपत् पर्‍यो । के गर्ने कसो गर्ने !

तर, उहाँलाई एउटा जुक्ति फुर्‍यो अनायासै । उहाँले फोन गर्नुभयो दमकललाई । 

उनीहरू तत्कालै आए । रुखमा भर्‍याङ हाले । एक जनाले तलबाट पख पख भन्दै गर्‍यो । अर्को भर्‍याङ चढेर रुख माथि गएर महिलालाई लिएर आयो । 

उहाँले ज्यान जोगाएकोमा स्याबासी सहित दुई सय दिनुभयो ।

पहिले त लिन मानेको थिएनन् । तर, धेरै कर गरेपछि लिए ।  केही मद्दत चाहिएमा पनि सम्पर्क गर्नका लागि भन्नुभयो उहाँले । 
 

अर्को घटना 

उहाँ त्यस बेला धुलिखेलमा हप्ताको एक पटक जाने गर्नुहुन्थ्यो । त्यसबेला कारागारमा मानसिक रोगी राख्ने गरिन्थ्यो । 

उहाँले त्यसबेला कारागारको सुपरिटेण्डेन्ट डाक्टरलाई भनेर भारतबाट इसीटी दिनका लागि मेशिन मगाउनु भयो । ‘इलेक्ट्रिक शक’का लागि । 

औषधी खाएर ठीक नभएका, बरबराउने, कराउने, चिच्याउने बिरामीलाई ‘इसीटी’ दियो भने ३–४ दिन आरामले बस्छ, उहाँ भन्नुहुन्छ । यो उहाँको अनुभव हो ।

त्यहाँ पनि एक जना बिरामी नसुत्ने । हल्ला गर्ने । चिच्याउने कराउने गर्ने गर्दो रहेछ । मान्छे पनि हेर्दै तगडा । 

‘इसीटी’ दिन मान्छेलाई थिच्नुपर्ने हुन्छ । अब यसलाई ‘इसीटी’ दिनुपर्‍यो भनेर उहाँले त्यहाँको डाक्टरलाई दुई चार जना गार्ड पठाइदिन आग्रह गर्नुभयो ।  उहाँले यो विधि लगनखेलमा दैनिक आठ दश जनामा गरिराखो । त्यसैले ढुक्क पनि हुनुहुन्थ्यो ।

उक्त दिन सम्पूर्ण तयारी पछि उहाँले त्यो बिरामीलाई ‘इसीटी’ दिनुभयो । एक छिनमा बिरामी उठ्नुपर्ने । तर, बिरामी उठ्ने त के चल्ने चटपटाउने नाम पनि लिंदैन् ।

अब पर्‍यो आपत् ! उहाँको पसिना छुट्यो । निलो कालो भएर आयो अनुहार । 

पानी छम्कियो । हात खुट्टा माडियो । अहँ केही जोड चलेन् । धेरै बेर पछि बिरामी बिस्तारै चल्यो । बल्ल उहाँले सास फेर्नुभयो । बिरामी मरेको भए के हुन्थ्यो होला !

अहिले सम्झनुहुन्छ उहाँ । डाक्टरले हुँदा खाँदाको बिरामी मार्‍यो भनेर के के मात्रै हुन्थेन होला ।  डाक्टरले राम्रो गर्न खोज्दा खोज्दै पनि कहिलेकाहीँ यस्ता घटना हुने गर्छन्, उहाँ भन्नुहुन्छ ।

दोस्रो घटना 

कहिलेकाहीँ ग्रह दशा बिग्रेको बेलामा यस्ता घटना हुन जान्छन् । यसमा हाम्रो केही हात हुँदैन, उहाँ भन्नुहुन्छ ।

डाक्टरी पेसा यस्तो हो कि सय जना निको बनाएर एक सय एकमा बिग्रियो भने पनि त्यो डाक्टर काम नलाग्ने हुन्छ । किनकि उसको कर्तव्य भनेकै निको बनाउने हो । 

होटेल सोल्टीमा एक जना भारतीय इलेक्ट्रिक इन्जिनियर थिए । उहाँको श्रीमती नेपाल घुम्न आउनु भएको रहेछ । ती श्रीमतीको दाइ पन्जाबको एउटा युनिभर्सिटीमा साइक्याट्रिका प्राध्यापक हुनुहुँदो रहेछ । 

उहाँलाई त्यो थाहा थिएन । गुरुमुख सिंह । उहाँको पनि प्राध्यापक । जाँच लिएको उहाँलाई । 

श्रीमती नेपाल घुम्न आएका बखत अचानक मानसिक रोगले भेटेछ । उहाँ भित्रबाट कोठा लक गरेर मलाई मार्न आयो भनेर चिच्याएर कराएर बस्नु भएको रहेछ ।
कोही भित्र पस्न सकेको हैन । उहाँलाई खबर आयो । बिरामी ल्याउन सक्ने अवस्था छैन । आफैँ जानु पर्ने भयो । 

उहाँलाई सहयोगी अनमी होटेलमै छन् भन्ने खबर आयो । बिरामी अलि उद्दण्ड देखिएकोले एउटा सुइँ पनि लिएर आउन भनियो । ‘कम्पोज सुइ’ बोकेर उहाँ जानुभयो होटेल सोल्टी । 

बिरामी अलि उग्र देखिएकोले सिसा तोडफोड गर्ला, झ्यालबाट हाम फाल्ला भन्ने डर पनि भयो । पहिले अलि शान्त गराऊँ भनेर नर्सलाई समाउन लगाएर उहाँले कम्पोज सुइँ आफैँले लगाइदिनुभयो ।  यस्तो सुइँ मानसिक अस्पतालमा दिनमै कति लगाइन्थ्यो, उहाँ भन्नुहुन्छ । 

तर, सुइँ लगाउने बित्तिकै ती महिलाको शरीर भरी ह्वार्रै डाबर आयो । ती महिलालाई कम्पोजको ‘एलर्जी’ भयो । महिलाले म मरेँ भन्न थालिन् । कहिलेकाहीँ ‘एलर्जी’ले मान्छे तत्काल मर्न सक्ने सम्भावना पनि हुन्छ, उहाँ भन्नुहुन्छ । 

एम्बुलेन्स बोलाउने कुरो हुँदै थियो । उहाँले तत्काल ह्वील चेयरमा राखेर होटेलकै गाडीमा वीर अस्पताल पुर्‍याउनु भयो ।आफैँ अगाडि बसेर डाक्टरलाई इभिल लगायत अन्य इन्जेक्सन र स्लाइन चढाउन लगाउनु भयो । 

केही बेरमा बल्ल ती महिलाको होस आयो । नाडी आयो । अनुहार रातो देखियो । नत्र निलो भैसकेको थियो । महिलाको स्थिति अलि स्थिर भएपछि अरु सहकर्मीको जिम्मा लगाएर उहाँ हिंडनु भयो घरमा खाना खान । 

पछि महिलालाई लिन उहाँको प्रोफेसर दाजु आफैँ आउनु भयो । उहाँले यस्तो यस्तो भनेर विस्तार लगाउनु भयो ।

‘कम्पोज’ले असर गरेको मेरो जीवनमा पहिलो घटना हो यो भनेर उहाँले प्रोफेसरलाई भन्नु भयो ।

प्रोफेसरले यस्तो कहिले काहीँ हुन्छ । तपाईँले मेरो बहिनीलाई बचाइदिएकोमा धन्यवाद भन्दै बिदा माग्नुभयो । 

त्यसपछि ‘कम्पोज’ दिनु अगाडि उहाँ अलि डराउनु हुन्छ रे ! उहाँ । यो यस्तो घट्न हो । जुन अविस्मरणीय भएर रहेको छ डा. धु्रबमान श्रेष्ठको जीवनमा । 

अन्त्यमा 

काठमाडौँको रैथाने नेवारको छोरो । त्यो पनि सरकारी जागिरेको । आफ्नो मेहनत र लगनले एउटा उचाइमा पुग्यो । समाज र राष्ट्रलाई समेत केही योगदान दियो । 

अहिले पनि सरकारले गरिब निमुखालाई मानसिक सेवा निःशुल्क दिन सके राम्रो । त्यसका उपाय पनि छन् । खालि सरकार जिम्मेवार भयो भने यो सम्भव देख्नुहुन्छ उहाँ ।

निःसहाय रोगीका प्रति उहाँको मनमा अझै केही गर्न सकिन्छ भन्ने भाव छ ।  एउटा मनोचिकित्सक भएका नाताले उहाँ अझै त्यसमा चिन्ता व्यक्त गर्नुहुन्छ । 

सरकारलाई उपाय अझै रहेको बताउन भुल्नुहुन्न । तर, सरकारले सुनिरहेको छैन ।  उहाँले पनि भन्न छोड्नु भएको छैन । 

यस्तै जुहारी चल्दै छ । उहाँको र सरकारको ।